Thursday 8 May 2014

61. No. 33 श्लोक ३५ महारथीहरू तिमीलाई भयको कारण युद्धवाट भागेको भन्ने ठान्ने छन् ।

No. 33
 
श्लोक ३५ 
 
महारथीहरू तिमीलाई भयको कारण युद्धवाट भागेको भन्ने ठान्ने छन् ।  जसको धारणामा तिमी वहुमान्य भैसकेका छौ, अव यदि तिमीले युद्ध छोड्यौ भने उनीहरुको दृष्टिमा तिमी  गिर्नेछौ ।
 
भगवानको आशय: अहिले तिमीले युद्ध गर्दिन भनेर गरेको निश्चय मोहको कारण  हो । यदि तिम्रो निश्चय पहिले नै यस्तो  थियो भने तिमी पहिले नै युद्ध लड्दिन भन्ने थियौ, पहिले नै एकान्तमा वसेर भजन-स्मरण गर्थ्यौ, तिम्रो प्रवृत्ति युद्धमा हुने नै थिएन । तर तिमी एकान्तमा नवसेर अहिले युद्धकोलागि तत्पर भएर यो युद्धभूमिमा उपस्थित छौ ।
 
यस्तो अवस्थामा यदि तिमीले युद्ध छोड्यौ भने यी युद्ध गर्न तयार भएका महारथीहरुले तिमीलाई दयाले नभई कातरताले युद्ध छोडेको हो त भन्ने नै छन् ।
 
अझ तिम्रा गुरु द्रोणाचार्य र पितामह भीष्माचार्यले तिमीलाई कति ठूलो महारथी छौ भन्ने मानेका छन् । उनीहरुको यस्तो विश्वास छ, युद्ध गर्ने नामी शूरवीर अर्जुन छ भन्ने । तिमीले अरु अरु पहिलेका युद्धमा दैत्यहरु, देवताहरु र गन्धर्वहरु पनि हराई सकेका छौ । यदि तिमी यो युद्धवाट हट्यौ भने ती तिम्रा पूज्यहरुका दृष्टिमा पनि तिमी गिर्नेछौ ।
 
श्लोक ३६
 
तिम्रा शत्रुहरु पनि तिम्रो सामर्थ्यको निन्दा गर्दै तिमीलाई धेरै भन्नै नहुने वचन भन्नेछन् । त्यो वेला तिम्रोलागि कस्तो दुःखदायी अवस्था होला ?
 
यी दुर्योधन, दु:शासन, कर्ण आदि तिम्रा शत्रुहरु तिमीले वैरभाव नगर्दा पनि तिमीलाई अहित गर्ने स्वभावका छन् । तिनीहरुलाई यो पनि थाहा छ कि तिमी धेरै ठूलो शूरवीर छौ । यदि तिमीले युद्ध छोड्यौ भने तिनीहरुले पनि तिम्रो सामर्थ्यको निन्दा गर्ने छन् । उनीहरु भन्नेछन्, 'हेर, यो अर्जुन त नपुंषक रहेछ, यो त युद्धको वेला  भाग्यो । यसले हामीसँग के युद्ध गर्न सक्थ्यो ?' एकातिर तिमी युद्धवाट हटी सक्छौ, अर्कोतिर तिमीलाई भन्नै  नहुने वचनहरु भनेर  तिम्रो मन दुखाउने छन् । तिनीहरुको त्यस्तो वचन तिमी कसरी सहन्छौ ?
 
तिमीलाई यो भन्दा अत्यन्त  कष्ट के होला ? यो संसारमा देखिएकै कुरो हो, जस्तै तुच्छ मनुष्य पनि अरु व्यक्तिहरुवाट तिरस्कृत हुँदा त्यो तिरस्कार सहन सक्तैन र आफ्नो योग्यताले, आफ्नो शूरवीरताले धेरै काम गर्न मरि मेट्छ । त्यस्तै, जव शत्रुहरुद्वारा तिम्रो सर्वथा अनुचित तिरस्कार होला, त्यो वेला तिमी त्यो तिरस्कार सहन सक्तैनौ र दौडेर यही युद्धमा हाम्फाल्ने छौ ।
 
श्लोक ३७
 
यो श्लोकमा र अघिल्ला केही श्लोकहरुमा भगवान श्रीकृष्ण गुरुरूपमा आफ्नो चेलालाई सम्झाउनु हुन्छ । अर्जुन मोहमा छन्, मोह राजोगुणवाट हुन्छ, तर अर्जुनका गुरु गुणातीत हुनुहुन्छ । अर्जुन मोह उठेको र र मोह वढेको वेलामा आफू युद्ध नगर्ने निर्णय लिन तम्सिरहेका छन् । तर उनका गुरु यस्तो निर्णय नलिन अर्जुनलाई सिकाइरहनु भएको छ । चौध अध्यायमा तीन गुणहरुको विस्तृत व्याख्या दिइएको छ । गीता भन्छ,'रजोगुण वढेको वेलामा कुनै पनि निर्णय नगर्नु, आफूलाई धेरै खुशी लागेको वेलामा कसैसँग कुनै पनि प्रतिज्ञा नगर्नु' रजोगुण भनेको राग-द्वेष हो ।  यसको वेगमा परेर गरेको निर्णय सँधै गलत नै हुन्छ । गलत निर्णयको दुःखमय  फल त भोग्नु परिहाल्यो ।
 
यो श्लोकमा अर्जुनलाई 'कौन्तेय' भन्ने सम्बोधन गर्दै  भगवान अर्जुनलाई भन्नुहुन्छ, म सन्धिको प्रस्ताव लिएर कौरवहरुकहाँ गएको वेलामा तिम्री माता कुन्तीले तिमीहरुलाई युद्ध गर्ने सन्देश पठाएको पनि तिमीलाई सम्झना नै होला । त्यसैले, तिमीले युद्धवाट हट्नु हुँदैन । 
 
अर्जुनले युद्ध नगर्ने निश्चय गरेका थिए र भगवानले यही अध्यायको तेस्रो श्लोकमा युद्ध गर्ने आज्ञ आज्ञा दिनुभयो । यसवाट अर्जुनको मनमा युद्ध गर्नु ठीक हो के कि होइन भन्ने सन्देह भयो । त्यसैले  अन्तर्यामी प्रभुले भन्नुभयो, 'तिमी युद्ध गर्ने निस्चय गर, यसमा कुनै पनि सन्देह नराख ।'                                      
 यहाँ भगवानको तात्पर्य, मनुष्यले कुनै पनि हालतमा आफ्नो कर्तव्यको त्याग गर्नु हुँदैन । यो कर्तव्यकर्मलाइ उत्साह र तत्परतापूर्वक पालन गर्नुपर्छ । कर्तव्यपालनमा नै  मनुष्यको मनुष्यता छ ।
 

धर्मको पालन गरे लोक-परलोक दुवै सुध्रन्छ । तात्पर्य, कर्तव्यको पालन र अकर्तव्यको त्याग गर्दा लोकको पनि सिद्धि हुन्छ र परलोकको पनि ।  

Song from Hajurmas Cassette collection: Saaja badai ayo

No comments:

Post a Comment