Thursday 15 May 2014

64. No. 36 चालीसौं श्लोकको नै विस्तार:

No. 36 
 
चालीसौं श्लोकको नै विस्तार:
 
अहिले यो प्रसंग समताको नै छ । समबुद्धिरूप धर्मको ज्यादै कम अनुष्ठान पनि जन्म-,मरणरूपी महान् भयवाट हाम्रो रक्षा गर्छ । सकाम कर्म फल (राम्रो, नराम्रो) दिएर नष्ट हुन्छ, तर समता धन-सम्पति आदि कुनै फल दिएर नष्ट हुँदैन अर्थात् यसको फल नाशवान धन-सम्पति आदिको प्राप्ति हुने होइन । साधकको अन्तःकरणमा अनुकूल-प्रतिकूल वस्तु, व्यक्ति, घटना, परिस्थितिमा जति समता आउँछ,  त्यति नै उसको समता अटल (नहराउने) हुन्छ । यो समताको कुनै पनि कालमा नाश हुन सक्तैन ।
 
जस्तो योगभ्रष्ट (गीताकै छैठौँअध्यायमा आउने प्रसङ्ग) लाइ साधन सामग्रीमा  समता आउँछ, अर्थात्, त्यो योगभ्रष्ट साधकलाई आफूसँग भएको साधन सामग्रीमा आसक्ति र ममता हुँदैन । उसका साधन-सामग्री द्वारा ऊ  स्वर्ग आदि उँचा  लोकहरुमा धेरै वर्षसम्म सुख भोग पनि गर्छ, त्यसपछि उसको जन्म  मृत्युलोकमा श्रीमानहरुको घरमा हुन्छ । त्यो नयाँ जन्ममा पनि उसले  ती साधन सामग्री भोग्दा पनि ती साधन-सामग्रीको नाश हुँदैन । त्यो समता, ती साधन-सामग्री अलिकति पनि खर्च हुँदैन, जस्ता-को-तस्तो सुरक्षित रहन्छ, किनकि यो समता सत् हो, सदा सर्वदा रही  रहने स्वभावको हो ।
 
पहिले पनि भनी  सकियो, सम परमात्माको अर्को नाम हो. सम परमात्मासँग एक भएको व्यक्तिलाई यहाँ समतामा स्थित व्यक्ति भनिएको हो । वास्तवमा, समता ज्ञानीकै लक्षण हो । अध्यात्म भनौं, वेदान्त भनौं, विषय नै नयाँ भएकोले शुरु शुरुमा हामीलाई यस्ता प्रसंग अनौठो लाग्न सक्छ । तर के गर्ने हजुर, गीताले हामीहरुलाई आफ्नो जीवनको सत्यतर्फ नै हिंड्न लगाउँछ, आफूले गरेका सम्पूर्ण कृयाकलापहरुमा निष्पक्ष तरिकाले, वकिल भएर होइन, न्यायाधीश भएर अवलोकन गर्न सिकाउँछ । choice हाम्रै हातमा छ, गीता अनुसार चल्ने कि अहिलेसम्म हामीले जे जस्तो गरेर वसेका छौँ, वांकी जीवन पनि त्यसै गरी विताएर आफ्नो आयु समाप्त गर्ने । शास्त्रले, अझ गीताले यी दुइमध्ये कुनै एकको चयन गर्ने  स्वतन्त्रता हामीलाई दिएको छ ।
 
धर्म दुइ थरी हुन्छन् -- (१) दान गर्नु, प्राणीहरुलाई पानी पिउनकोलागि आवश्यक व्यवस्था मिलाउनु, अन्नक्षेत्र खोल्नु आदि परोपकारको कार्य गर्नु र (२ ) वर्ण-आश्रम अनुसार शास्त्र-विहित आफ्नो कर्तव्य-कर्म तत्परताले पालन गर्नु । यी धर्महरु निष्कामभावले पालन गरे समतारूप धर्म स्वतः आउँछ, किनकि यो समतारूप धर्म स्वयमको  धर्म अर्थात् स्वरूप हो । यही कुरालाई लिएर यहाँ समबुद्धिलाई धर्म भनियो ।
 
गीताको दृष्टिमा समता अत्यन्त ऊँचो चीज हो । अरु लक्षण हुन्, अथवा नहुन, तर कुनै साधकमा समता छ भने उसलाई गीता सिद्ध भन्छ । तर, जसमा अरु लक्षण सबै छन् र समता छैन भने उसलाई गीता सिद्ध भन्दैन ।
 
समता दुइ किसिमको हुन्छ -- अन्तःकरणको समता र स्वरूपको समता । समरूप परमात्मा सर्वत्र परिपूर्ण छ । त्यो समरूप परमात्मामा जो स्थित भएको छ, उसले सम्पूर्ण संसारमा बिजय पायो, ऊ जीवनमुक्त भयो । तर यसको परिचय साधकको अन्तःकरणको समताले हुन्छ । अन्तःकारणको समता हो -- सिद्धि-असिद्धिमा सम रहनु । प्रशंसा होस् या निन्दा, कार्य सफल होस् अथवा नहोस् लाखौँ  रुपियाँ आओस या लाखौं रुपियाँ जाओस्, तर तिनवाट उसको अन्तःकरणमा कुनै हलचल हुँदैन, सुख-दुख, हर्ष-शोक आदि हुँदैन । यो समताको नाश कहिले पनि हुँदैन । कल्याण सिवाय यो समताको अर्को कुनै फल नै छैन ।   
 
हामीले गर्ने अथवा गरेका तप, दान, तीर्थ, व्रत, आदि कुनै पनि पुण्य-कर्म फल दिएर नष्ट हुन्छ, तर साधन गर्दा गर्दा अन्तःकरणमा  थोरै मात्र पनि समता आयो भने त्यो नष्ट हुँदैन, उल्टो त्यसले साधकको कल्याण नै गर्छ । साधनमा समता जस्तो ठूलो मनको एकाग्रता पनि होइन । मन एकाग्र हुँदा सिद्धिहरु त आउँछन्, तर कल्याण हुँदैन । परन्तु समता आउँदा मनुष्य संसार-बन्धनदेखि सुखपूर्वक मुक्त हुन्छ ।
 
श्लोक ४१ 
 
हे कुरुनन्दन ! यो समबुद्धिको प्राप्तिको विषयमा निश्चयात्मिका बुद्धि एक नै हुन्छ । जसको एक निश्चय हुँदैन, त्यस्ता मनुष्यहरुको बुद्धिहरु अनन्त र धेरै शाखाहरु भएका हुन्छन् ।
 
कर्मयोगको साधकले प्राप्त गर्न खोजेको लक्ष समता हो, त्यो समता परमात्माको स्वरूप नै हो । त्यो परमात्मस्वरूप समताको प्राप्तिकोलागि अन्तःकरणको समता साधन हो, अन्तःकरणको समतामा संसारको राग वाधक हो । त्यही वाधक राग हटाउन अथवा पामत्मतत्व प्राप्त गर्ने एक निश्चयलाइ व्यवसायात्मिका बुद्धि भनिन्छ ।
 
व्यवसायात्मिका बुद्धि एक किन हुन्छ ?
 
यो बुद्धिमा सांसारिक वस्तु, व्यक्तिको कामनाको त्याग हुन्छ । यो त्याग एक नै हुन्छ, चाहे धनको कामनाको त्याग होस्, चाहे मान-वड़ाईको त्याग होस् । तर ग्रहण गर्दा अनेक चीजहरु हुन्छन्; किनकि एक-एक चीज नै अनेक तरहका हुन्छन् । यी अनेक तरहका चीजको कामनाहरु पनि अनेक, अनन्त हुन्छन् ।
 
गीतामा कर्मयोगमा र भक्तियोगमा व्यवसायात्मिका बुद्धिको वर्णन छ, तर ज्ञानयोगमा व्यवसायात्मिका बुद्धिको वर्णन छैन । कारण कि ज्ञानयोगमा पहिले स्वरूपको बोध  हुन्छ,फेरि परिणामस्वरूप बुद्धिमा  स्वतः एक निश्चय हुन्छ र कर्मयोग र भक्तियोगमा पहिले बुद्धिको एक निश्चय हुन्छ, त्यसपछि स्वरूपको बोध हुन्छ । ज्ञानयोगमा ज्ञानको मुख्यता हुन्छ, कर्मयोग र भक्तियोगमा निश्चयको मुख्यता हुन्छ ।
 
सकाम भाव भएका (आफ्नो कर्मको फल आफूले चाहेको जस्तो खोज्ने) व्यक्तिहरु अव्यवसायी हुन्छन्,  त्यसैले उनीहरु भोग र संग्रहमा आसक्त हुन्छन् । कामनाले गर्दा यस्ता व्यक्तिहरुको बुद्धि अनन्त हुन्छन्, ती अनन्त बुद्धिहरुका पनि अनन्त शाखाहरु हुन्छन् । जस्तो धन चाहिएको छ -- यो एक बुद्धि भयो, अव धन पाउनकोलागि व्यापार गर्ने, चोरी गर्ने, धोखा दिने, अरुलाई ठग्ने, आदि बुद्धिका अनन्त शाखा भए । यस्ता व्यक्तिहरुको बुद्धिमा परमात्मप्राप्तिको एक निश्चय हुँदैन ।
 
वास्तविक उद्देश्य एक नै हुन्छ । जवसम्म एउटा मात्र उद्देश्य हुँदैन, तवसम्म उसका उद्देश्य अनेक  हुन्छन् र एक एक उद्देश्यका अनेक अनेक शाखाहरु हुन्छन् । त्यो व्यक्तिका कामना अनेक हुन्छन्, ती कामना पूर्तिका उपायहरु पनि अनेक अनेक हुन्छन् ।     

No comments:

Post a Comment