Thursday 15 May 2014

62. No. 34 श्लोक 39 हे पार्थ ! यो समबुद्धि तिम्रोलागि पहिले सांख्ययोगमा भनि सकियो ।

No. 34
श्लोक 39
हे पार्थ ! यो समबुद्धि तिम्रोलागि पहिले सांख्ययोगमा भनि सकियो । अव यसलाई तिमी कर्मयोगको विषयमा सुन ।
यो समताको वारेमा सांख्ययोगको प्रसंगमा एघारौँ श्लोकदेखि तीसौं श्लोकसम्म विस्तृत वर्णन गरियो । देह-देहीको ठीक-ठीक विवेक भएपछि समतामा आफ्नो स्वतःसिद्ध स्थितिको अनुभव हुन्छ, किनकि देहमा राग रहँदा नै विषमता आउने हो । अव यही समबुद्धि कर्मयोगको सन्दर्भमा प्रस्तुत हुँदैछ ।

यो समबुद्धि कर्मयोगमा कसरी प्राप्त हुन्छ ? यसको स्वरूप के हो ? यसको महिमा के हो ? यी कुराहरुकोलागि यो बुद्धिलाई योग (कर्मयोग) को विषयमा सुन्नकोलागि भगवान आज्ञा गर्नुहुन्छ । अर्जुनलाई युद्ध गर्दा पाप लाग्छ भन्ने थियो । तर भगवानको मतमा कर्महरुमा विषम बुद्धि (राग-द्वेष) हुँदा नै पाप लाग्छ । कर्ममा समबुद्धि हुनसके पाप लाग्दैन । संसारमा पाप पुण्यका  अनेक घटनाहरु घटी रहन्छन, तर तिनीहरुवाट हामीलाई पाप लाग्दैन । किनकि तिनीहरुमा हाम्रो समबुद्धि रहन्छ, अर्थात् तिनीहरुमा हाम्रो कुनै पक्षपात, आग्रह, राग-द्वेष रहँदैनन् ।  भगवान अर्जुनलाई फेरि भन्नुहुन्छ, 'यदि तिमी पनि समबुद्धिले युक्त भयौ भने तिमीलाई पनि पाप-पुण्य लाग्दैन ।'

कर्मयोगी लोकसंग्रहकोलागि सबै कर्म गर्छ । यसरी लोकसंग्रहकोलागि  कर्म गर्दा अर्थात् नि:स्वार्थभावले लोक-मर्यादा सुरक्षित राख्नकोलागि, सामान्य जनतालाई नराम्रो वाटोवाट हटाएर संमार्गतिर लगाउनकोलागि कर्म गर्दा समताको प्राप्ति सुगमतासंग हुन्छ । समता प्राप्त भएपछि कर्मयोगी कर्मबंधनवाट सजिलै छुट्छ ।  

कर्मयोगका दुई बिभाग छन् -- कर्ताव्यविज्ञान र योगविज्ञान । यी भन्दा पहिलेका श्लोकहरुमा कर्तव्य-कर्म गर्दा लाभ र नगर्दा हानि को वर्णन गरियो । अव यहाँदेखिका केही पछिका श्लोकसम्म योगविज्ञानको प्रसंग आउँछ ।

शरीर र शरीरीको विभागलाई जानेर शरीर बिभागदेखि सम्बन्ध-विच्छेद गर्नु 'सांख्ययोग  हो तथा कर्तव्य र अकर्तव्यको विभागलाई जानेर अकर्तव्य विभागको त्याग र कर्तव्यको पालन गर्नु 'कर्मयोग' हो । मनुष्यले यी दुइमध्ये कुनै पनि एक साधनको अनुष्ठान गरेर यो समतालाई प्राप्त गर्नुपर्छ । कारण कि समता आएपछि मनुष्य कर्म-बन्धनदेखि मुक्त हुन्छ ।

यो दोस्रो अध्यायमा धर्मशास्त्र र मोक्षशास्त्रको कुरा छ । एकतीसौं श्लोकदेखि सैतीसौं  श्लोकसम्म धर्मशास्त्रको र उनन्चालीसौं श्लोकदेखि त्रिपन्नौं श्लोकसम्म मोक्षशास्त्रको कुरा आउँछ । धर्मशास्त्रमा कर्तव्य पालन मुख्य हुन्छ । धर्म भने पनि कर्तव्य भने पनि कुरा उही हो । जे गर्नु पर्छ, त्यसलाई नगर्नु अकर्तव्य हो र जुन गर्नु हुँदैन, त्यसलाई गर्नु  अकर्तव्य हो । आफ्नो सुखको इच्छाको त्याग गरेर अरुलाई सुख पुर्याउनु, जुनमा आफ्नो पनि हित होस्, अर्कोको पनि हित होस् , त्यसलाई कर्तव्य भनिन्छ । कर्तव्यको पालन गर्दा आफैं योग प्राप्त हुन्छ । कर्तव्य-पालन नगरी मनुष्य योगारूढ हुन सक्तैन । योग प्राप्त भएपछि तत्वज्ञान स्वतः हुन्छ । तत्वज्ञान कर्मयोग र ज्ञानयोग दुबैको परिणाम हो ।

हालैका प्रसंगहरुलाई मेरा मित्रहरुले अलि वढी ध्यान दिएर पढे हुन्थ्यो जस्तो लाग्छ मलाई ।
एक जना सन्तको वचन:
हामीलाई यो माथि वर्णन गरिएको तत्वज्ञान बुझन पनि जिज्ञासा छ, तर त्यो ज्ञान हामीले भने जस्तो बुझ्न सकिरहेका छैनौं भन्ने पनि हामीलाई थाहा छ । यस्तो हुनुको कारण के हो भन्दा सन्त वचन अनुसार हाम्रो चित्तको अशुद्धि हो ।

चित्त शुद्ध भएको ज्ञान धेरैलाई हुँदैन, तर हाम्रो चित्त अशुद्ध  भएको ज्ञान हामी सबैलाई हुन्छ । यदि यस्तो ज्ञान नहुँदो हो त चित्त-अशुद्ध भन्ने प्रश्न नै आउने थिएन । हामीले आफ्नो चित्त अशुद्ध भएको कसरी जान्ने ?

जव हामी आफ्नो चित्तलाई आफ्नो अधीन पाउँदैनौं, त्यो वेला हामीलाई थाहा हुनु पर्छ कि हाम्रो चित्तमा कुनै दोष छ । यदि हाम्रो चित्त हाम्रो अधीनमा छ भने हामी यसलाई (चित्तलाई) कुनै विषयमा लगाउन र कुनै विषयमा नलगाउन आफूलाई स्वाधीन पाउँथ्यौ ।  तर यसो गर्न हामी आफूलाई असमर्थ पाउँछौं । हाम्रो यही असमर्थताले हामीलाई वताउँछ, हाम्रो चित्तमा कुनै अशुद्धि छ ।

कुनैमा, केहीमा अस्वाभाविकता आउनु नै अशुद्धि हो । यो दृष्टिले हामीले आफ्नो अनुभूतिको आधारमा जान्नु पर्यो, हाम्रो चित्तमा के अस्वाभाविकता आएको छ, जसले गर्दा हामी आफ्नो चित्त अधीनमा राख्न पाउँदैनौं।
संकल्पको उत्पत्ति तथा पूर्तिलाई नै हामी आफ्नो जीवन मानिरहेका छौं । यद्यपि संकल्पहरु उत्पत्ति हुनुभन्दा पहिले पनि जीवन छ, संकल्पहरुको पूर्ति भैसकेपछि पनि जीवन छ; तर हामी त्यो 'स्वाभाविक' जीवनतर्फ ध्यान दिंदैनौं र सकल्पहरुको उत्पत्ति तथा तिनको पूर्तिको द्वन्द्वात्मक परिस्थितिलाई नै जीवन मान्छौं, यही अस्वाभाविकता हो । यो अस्वभाविकताको प्रभावले नै चित्त अशुद्ध भएको छ हाम्रो । यो दृष्टिले संकल्पहरुको उत्पत्ति-पूर्तिमा नै जीवन-बुद्धि स्वीकार गर्नु र संकल्पहरुदेखि अतीत जीवनको जिज्ञासा तथा लालसा जाग्रत नहनु नै चित्तको अशुद्धि हो ।

मेरो वचनलाई अन्यथा नलिइयोस्, हालै वर्णन भैरहेको विषय पत्रिका पढेको जस्तो होइन, हामीले कमाई खाने विषय भन्दा पनि निकै गहिरो छ, यसलाई अझ विस्तृत किसिमले बुझ्न अझ बढी श्रद्धा र तत्परताको अपेक्षा गर्छ वेदान्त ।  

No comments:

Post a Comment