Thursday 15 May 2014

65. No. 37 श्लोक ४२, ४३ हे पृथानन्दन ! कामनामा नै तन्मय भइरहेका,स्वर्गलाई नै श्रेष्ठ मान्नेहरु

No. 37 
श्लोक ४२, ४३ 
हे पृथानन्दन ! कामनामा नै तन्मय भइरहेका,स्वर्गलाई नै श्रेष्ठ मान्नेहरु वेदहरुमा भनिएका सकाम कर्महरुमा प्रीति राख्ने हुन्छन् । उनीहरुको विचारमा 'भोगहरु सिवाय अरु केही छँदै छैन' भन्ने हुन्छ । त्यस्ता अविवेकी मनुष्यहरु वेदका   पुष्पित (दिखाउ, शोभायुक्त) वाणी भन्ने गर्छन्, तिनवाट जन्म-मरणरूपी फल पाइन्छ । त्यस्ता वाणीहरुले  भोग र ऐश्वर्यको प्राप्तिकोलागि धेरै क्रियाहरुको वर्णन गर्छन् । 
त्यस्ता व्यक्तिहरु कामनाहरुमा यति भिजेका हुन्छन्, उनीहरु कमनारूप नै वनि दिन्छन् । उनीहरुलाई आफूमा र कामनामा कुनै भिन्नता नै देखिंदैन । उनीहरुको सोचाइ हुन्छ, कामना विना व्यक्ति वाँच्न नै सक्तैन , कुनै काम हुन सक्तैन ।                 
स्वयम् त नित्य-निरन्तर जस्ता-को-तस्तो रहन्छ, उसमा कहिले पनि घट - बढ़ हुँदैन । तर कामना आउने जाने गर्छ र घट्ने वढ्ने पनि गर्छ । स्वयम् परमात्माको अंश  हो र कामना संसारको अंशको पनि धेरै सानो अंश   हो ।  स्वयम् र कामना सर्वथा छुट्टा छुट्टै हुन् । तर संसारमा नै भिजेका व्यक्तिकालागि कामना भन्दा आफ्नो स्वरूप  छुट्टै हो भन्ने विचार आउँदैन ।  स्वर्गमा धेरै दिव्य सुख-भोग मिल्ने भएकोले उनीहरुको लक्षमा स्वर्ग नै सर्वश्रेष्ठ हुन्छ र उनीहरु त्यसैको प्राप्तिमा रात-दिन लागी रहन्छन् । उनीहरुकोलागि भोगहरु सिवाय परमात्मा, तत्वज्ञान, मुक्ति, भगवत-प्रेम आदि कुनै चीज छँदै छैन । यस्ता अविवेकी व्यक्तिहरु संसार र भोगहरुको वर्णन भएका वेदका वाणीहरुमा नै  विश्वास गर्छन् । तर उनीहरुलाई यो थाहा हुँदैन, स्वर्गको भोग देख्नमा मात्रै राम्रो हो, तिनीहरुमा स्थायीपन छैन । वेदका 'पुष्पित' वाणी जन्मरूपी कर्मफल  मात्रै दिन्छन्,किनकि तिनमा सांसारिक भोगहरुलाई नै महत्व दिइएको छ । भोगमा हुने राग नै अघिल्लो जन्मको कारण हुन्छ ।
श्लोक ४४ 
ती पुष्पित वाणीले अन्तःकरण हरिएका, भोगहरुतिर खिंचिएकाहरु, भोग तथा ऐश्वर्यमा अत्यन्त आसक्त ती व्यक्तिहरुको परमात्मामा एक निश्चय हुँदैन । 
शब्द. स्पर्श, रुप,रस र गन्ध -- शरीरको आराम, मान र नामको वडाइ --यीवाट सुख लिनेको नाम भोग हो । भोगहरुकोलागि पदार्थ, रुपियाँ-पैसा, घर आदिको संग्रहलाई ऐश्वर्य भनिन्छ । यी भोग र ऐश्वर्यमा हुने आसक्ति, प्रियता, खिंचाव अर्थात् महत्व-बुद्धिलाई 'भोगैश्वर्यप्रसक्तानाम्' भनिन्छ ।
मनुष्य-जन्मको मूल ध्येय परमात्मा प्राप्ति हो, यही उद्देश्यले मनुष्य शरीर मिलेको हो भन्ने 'व्यवसायात्मिका' बुद्धि यो श्लोकमा वर्णन गरिएका व्यक्तिमा हुँदैन । 
परमदयालु प्रभुले कृपा गरेर दिनुभएको यो मनुष्यशरीरमा यस्तो विलक्षण विवेकशक्ति छ, जुनद्वारा मनुष्य सुख-दुःखवाट माथि उठ्न सक्छ, आफ्नो उद्धार  गर्न सक्छ, सबैको सेवा गरेर भगवत-प्राप्ति गर्न सक्छ । यसैमा मनुष्य-जीवनको सार्थकता छ । परन्तु यस्तो अमूल्य विवेकशक्तिको अनादर गरेर नाशवान भोग र संग्रहमा आसक्त हुनु 'पशुबुद्धि' हो । कारण, पशु-पक्षी पनि  भोगमा लागिरहन्छन्, मनुष्य पनि त्यसैगरी भोगमा नै लागि रहन्छ भने पशु-पक्षी र मनुष्यमा फरक नै के रह्यो ? 
पशु-पक्षीको योनि त भोगयोनि हो; अतः उनीहरुलाई कर्तव्यको प्रश्न छैन । तर मनुष्यजन्म त केवल आफ्नो कर्तव्यको पालन गरेर आफ्नो उद्धार गर्नकोलागि पाइएको हो, भोगकोलागि  होइन।
यसैले  मनुष्यलाई मिल्ने जस्तो सुकै अनुकूल-प्रतिकूल परिस्थिति  साधन-सामग्री हुन्, भोग-सामग्री होइनन् । यी साधन-सामग्रीलाई भोग-सामग्री मान्ने मनुष्यहरूको  मन 'भोग र संग्रह'मा लाग्ने भयो ।तिनीहरुमा व्यवसायात्मिका बुद्धि' हुँदैन । वास्तवमा हामीलाई परमात्म-प्राप्तिमा वाधा दिने  सांसारिक पदार्थ होइनन्,  हामीमा भएको भोगको महत्व नै हो । भोग र संग्रहलाई महत्व दिईदिई कसैले परमात्मा प्राप्त गर्न चाह्यो भने, परमात्मा प्राप्त गर्ने त कुरै  छोडौं, त्यो प्राप्तिको एक 'निश्चय पनि गर्न   सक्तैन । किनभने हाम्रो रूचि एउटा नै छ, कि त यो भोगतिर जान्छ, कि त परमात्मातिर जान्छ । जवसम्म भोग र  संग्रहमा, मान वड़ाईमा रुचि हुन्छ, कोही पनि एक निश्चय गरेर परमात्मामा लाग्न सक्तैन । किनभने उसको अन्तःकरण भोगहरुको रुचिले हरिएको हुन्छ । उसको अन्तःकरणको शक्ति नै भोग र संग्रहमा लाग्ने भयो ।       
हाम्रो कल्याणमा सब भन्दा ठूलो वाधा नै भोग र संग्रह (ऐश्वर्यको इच्छा) हो । जालमा परेको माछो अघि वढ्न नसक्ने जस्तै भोग र संग्रहमा फसेको मनुष्यको दयनीय स्थितिको चित्रण गरिएको छ प्रस्तुत श्लोकमा ।   
यो प्रसंगले सांसारिक मनुष्यहरुको भोग र ऐश्वर्यमा हुने रुचिको  निन्दा  गरेको  छ । यो प्रसंग केवल निन्दाकोलागि निन्दा नभई साधक्मा  यसको परिहारको संकेत छ, भगवानवाट ।  

No comments:

Post a Comment