No. 40
श्लोक ४७ को विस्तार
दुःखदायी
परिस्थिति आइपर्दा साधकले कहिले पनि डराउनु हुन्न । हामीले यो बुझ्नु
पर्यो कि हामीलाई हालै परेको दुःखदायी परिस्थिति हामीले नै गरेको सुख-भोगको
इच्छा, त्यही अनुसार गरेको हाम्रो नराम्रो कर्मको फल हो भनेर । दुःख पर्दा
हामीलाई यस्तो चेतावनी मिलिरहेको छ, अवदेखि हामीले कहिले पनि सुखको भोगको
इच्छाले काम नगरी सबै प्राणीको हितकोलागि काम गर्नु पर्छ। अर्को शब्दमा,
पशु-पक्षी, कीट-पतंग आदि योनिहरुकालागि पुराना कर्महरुका फल र नया कर्म --
दुवै भोगरुप नै हुन् र मनुष्यकोलागि पुराना कर्महरुका फल र नया
कर्म (पुरुषार्थ) -- दुवै उद्धारका साधन हुन् ।
भगवान भन्नुहुन्छ,
फलमा तिम्रो कुनै पनि अधिकार छैन अर्थात् फल प्राप्तिमा पनि तिम्रो
स्वतन्त्रता छैन, किनकि फलको विधान त मेरो अधीन छ । त्यसैले तिमीले फलको
इच्छा नराखी कर्तव्य-कर्म गर्नुपर्छ ।फलको इच्छा राखेर कर्म गर्यौ भने
तिमी बन्धनमा पर्छौ ।
अर्को कुरा, जति
पनि कर्म हुन्छन् ती सबै प्राकृत पदार्थहरु र व्यक्तिहरुको संगठनले
हुन्छन् । पदार्थ र व्यक्तिको संगठन नभई स्वयम् कर्म गर्नै सक्तैन ।
त्यसैले संगठनवाट गरिएका कर्मको फल आफ्नोलागि खोज्नु वेइमानी हो । कर्मको
फल खोज्नु व्यक्तिकोलागि ठीक होइन ।
'फलमा तिम्रो
अधिकार छैन' भन्ने वाक्यले जनाउँछ, फलसँग सम्बन्ध जोड्न र नजोड्न मनुष्य
स्वतन्त्र छ । फेरि गीता भन्छ, हामी एउटा कर्म गर्छौं, तर त्यो कर्मको फल
अनेक चाहन्छौ । कुनै एउटा कर्म गर्दा हामी पुण्य पनि चाहन्छौँ, ससारमा
कीर्ति पनि चाहन्छौ, मलाई सबैले असल भनून् भन्ने पनि चाहन्छौ, मेरो आदर,
सत्कार होस् भन्ने पनि चाहन्छौँ, मलाई यति धन प्राप्त होस्, आदि आदि ।
यो श्लोकमा कसरी 'निष्काम' हुने भन्ने विवेचन पनि गरिन्छ ।
(१) कामना
पैदा हुँदा अभाव हुन्छ,कामनाको पूर्ति भएपछि परतन्त्रता र पूर्ति नभएपछि
दुःख हुन्छ, तथा कामना-पूर्तिको सुख लिंदा नयाँ कामनाको उत्पत्ति हुन्छ र
सकामभावपूर्वक नयाँ-नयाँ कर्म गर्ने रुचि वढ़दै जान्छ -- यो तथ्य ठीक ठीक
सम्झिए निष्कामता स्वतः आउँछ ।
(२) कर्म नित्य
होइन; किनकि त्यसको आरम्भ र अन्त हुन्छ तथा त्यो कर्मको फल पनि नित्य छैन;
किनकि तिनको पनि संयोग र वियोग हुन्छ । परन्तु स्वयम् नित्य छ । अनित्य
कर्म र कर्मफलवाट नित्य स्वरूपलाई कुनै लाभ हुँदैन । यो कुरालाई राम्ररी
सम्झन सके निष्कामता स्वतः आउँछ ।
हे अर्जुन! भगवान
फेरि भन्नुहुन्छ,तिमी कर्मफलको हेतु (कारण) पनि नवन । तात्पर्य, शरीर,
इन्द्रियहरु, मन, बुद्धि आदि कर्म-सामग्रीसँग आफूले अलिकति पनि ममता राख्नु
हुँदैन, किनकि यिनीहरुमा ममता भयो भने मनुष्य कर्म-फलको हेतु वन्छ ।
शुभ क्रियाहरुमा
फलको इच्छा हुँदा पनि 'मवाट कसैको उपकार भयो, कसैको हित भयो, कसैलाई सुख
भयो'-- यस्तो भाव भयो भने यो पनि कर्म फलको हेतु हुन्छ । किनभने, यस्तो
भाव हुँदा शुभ कर्मको मन, बुद्धि, इन्द्रियसँग सम्बन्ध हुन्छ, यस्तो
सम्बन्ध असत् को सम्बन्ध हो । वास्तवमा अन्तःकरण, वहि:करण र क्रियाहरुसँग
हाम्रो कुनै सम्बन्ध नै छैन ।
यिनीहरुको
सम्बन्ध त समष्टि संसारसँग छ । जस्तो एउटा कुनै व्यक्तिवाट अर्को कुनै
व्यक्तिको हित भयो भने हामी त्यो कुरालाई मतलव राख्दैनौं, त्यसमा
आफूलाई निमित्त मान्दैनौं । त्यस्तै आफ्नो भनिने शरीर आदिवाट कसैको हित
भयो भने त्यसमा आफूलाई निमित्त नमान्ने । आफूलाई कुनै क्रियामा निमित्त,
हेतु नमाने हामी कर्मफलको हेतु पनि वन्दैनौं ।
कर्म नगर्न पनि
हाम्रो आसक्ति हुनु हुँदैन । कारण कि कर्म नगर्न आसक्ति हुँदा आलस्य,
प्रमाद हुन्छन् । कर्मफलमा आसक्ति हुँदा जति बन्धन हुन्छ, त्यस्तै बन्धन
कर्म नगर्न आसक्ति हुँदा हुन्छ; किनकि आलस्य-प्रमाद पनि एउटा भोग नै हो ।
आलस्य-प्रमादवाट हुने सुख तामसी सुख हो, तामसी सुखको फल हो अधोगति । अर्को
शब्दमा, राग, आसक्ति जहाँ भए पनि बन्धन नै हो ।
हामी मध्ये कोहीलाई
यस्तो पनि लाग्न सक्छ, 'कर्म नगरे सांसारिक र परमार्थिक उन्नति हुनेछ'--
यस्तो भन्नु पनि कर्ममा आसक्ति नै हो । किनकि वास्तविक तत्व कर्म गर्ने र
नगने भन्दा पनि अतीत छ ।
यो श्लोकको समग्र
अर्थ, परिवर्तनशील वस्तु, व्यक्ति, पदार्थ, क्रिया, घटना, परिस्थिति,
अवस्था,स्थूल-सूक्ष्म-कारण शरीर आदिवाट साधकले (हामीले) सर्वथा निर्लिप्त
हुनुपर्छ । यिनीहरूसँग स्वयम् को अलिकति मात्र पनि सम्बन्ध हुनु हुँदैन ।
यो श्लोकमा चार कुराहरु चार चरणमा प्रस्तुत छन्
(१) कर्म गर्न नै तिम्रो अधिकार छ ।
(२) फलमा कहिले पनि तिम्रो अधिकार छैन ।
(३) कर्मफलको हेतु नवन ।
(४) कर्म नगर्न तिम्रो आसक्ति नहोस् ।
यी मध्ये पहिलो र
चौथो चरणको एक विचार छ, दोस्रो चरण र तेस्रो चरणको एक विचार छ । पहिलो
चरणमा कर्म गर्नमा अधिकार छ वताइएको छ र चौथो चरणमा कर्म गर्नमा आसक्तिको
त्याग वारे व्याख्या छ । दोस्रो चरणमा फलको इच्छाको निन्दा छ र तेस्रो
चरणमा फलको हेतु नवन्ने आदेश छ ।
मुख्य कुरो,
अकर्मण्यतामा रुचि हुँदा प्रमाद, आलस्य आदि तामसी वृत्तिसँग साधकको सम्बन्ध
हुनेछ । कर्म एवम् कर्मफलसँग सम्बन्ध जोडे हाम्रो 'राजसी' वृत्तिसंग
सम्बन्ध हुनेछ । प्रमाद, आलस्य, कर्म, कर्मफलसँग सम्बन्ध नरहँदा जुन
विवेकजन्य सुख हुन्छ, प्रकाश मिल्छ, ज्ञान मिल्छ, त्यो प्रकाशसँग, त्यो
ज्ञानसँग सम्बन्ध जोडिंदा 'सात्त्विकी वृत्ति'सँग सम्बन्ध हुन्छ । यी तीनै
वृत्तिहरुसँग सम्बन्ध हुनु नै जन्म-मरणको कारण हो । अतः हामीले कर्म,
कर्मफल, र यिनको त्यागको सुख --यी मध्ये कसैसँग पनि सम्बन्ध जोड्नु
हुँदैन, यिनमा राग, आसक्ति गर्नु हुँदैन । कर्म गर्दा यिनीहरूसँग सम्बन्ध
नजोड्नु नै कर्मयोग हो ।
एउटा कर्म-बिभाग छ र एउटा फल-बिभाग छ । मनुष्यलाई
कर्म-विभागमा नै अधिकार छ, फल-विभागमा छैन । कारण, नयाँ पुरुषार्थ हुँदा
कर्म-बिभाग (गर्नु) मनुष्यको अधीन छ, र पहिले गरिएको कामहरुको भोग हुँदा
फल-बिभाग (हुनु) प्रारब्धको अधी न छ । कर्मयोगको दृष्टिले हेर्दा
मनुष्यलाई साधन-सामग्री (वस्तु, योग्यता, सामर्थ्य) मिलेको छ,
त्यसलाई 'प्रारब्ध' भनिन्छ । त्यही 'प्रारब्ध'को सदुपयोग गर्नु अर्थात् ती
साधन-सामग्रीलाई आफ्नो र आफ़्नोलागि नमानेर अरुको र अरुकोलागि मान्दै ती
साधन-सामग्रीलाई अरुको सेवामा लगाउनु 'पुरुषार्थ' हो ।
कर्मयोगमा मुख्य
कुरो -- आफ्नो कर्तव्य द्वारा अरुको अधिकारको रक्षा गर्नु र कर्मफलको
अर्थात् आफ्नो अधिकारको त्याग गर्नु । अरुको अधिकारको रक्षा गर्दा पुरानो
राग हराउँछ र आफ्नो अधिकारको त्याग गर्दा नयाँ राग पैदा हुँदैन । यसरी
पुरानो राग मेटिएपछि र नयाँ राग नवनेपछि कर्मयोगी वीतराग हुन्छ । वीतराग
भएपछि उसलाई तत्वज्ञान हुन्छ ।
No comments:
Post a Comment