No. 39
श्लोक ४७
कर्तव्य-कर्म गर्नमा नै तिम्रो अधिकार छ, फलहरुमा छैन। अतः तिमी कर्मफलको हेतु पनि नवन र तिम्रो कर्म नगर्नमा पनि आसक्ति नहोस् ।
यो श्लोक हामीमध्ये
सबैलाई थाहा नै भएको श्लोक हो, कर्मयोगको सिद्धान्तको सार हो, निचोड हो ।
यहाँ भगवान अर्जुनलाई माध्यम वनाएर हामीलाई भन्नुहुन्छ, तिम्रो सामुन्ने
उपस्थित कर्तव्य-कर्म पालन गर्नमा नै तिम्रो अधिकार छ । यसमा तिमी
स्वतन्त्र छौ । कारण कि मनुष्य कर्मयोनि हो । मनुष्ययोनि सिवाय अरु कुनै
पनि योनि नयाँ कर्म गर्नकोलागि होइन । नयाँ कर्म गर्ने अधिकार केवल
मनुष्यलाइ मात्रै छ । नयाँ कर्म गरेर केवल आफ्नो उद्धार गर्नकोलागि नै यो
अन्तिम मनुष्यजन्म हामीले पाएका हौँ । यदि हामी यस्तो कर्म
आफ्नोलागि गर्छौँ भने बन्धनमा पर्छौं र यदि कर्महरु नगरेर आलस्य-प्रमादमा
पर्छौँ भने वारम्वार जन्मने,मर्ने गरिरहन्छौं । त्यसैले, सेवारुप
कर्तव्य-कर्म गर्ने अधिकार मनुष्यमा, अझ हामीमा मात्रै छ ।
मनुष्यको अगाडि
देश, काल, घटना,पैस्थिति आदिलाई लिएर शास्त्रविहित कर्म त भिन्न-भिन्न
हुन्छन्, तर एक समयमा एक मनुष्य कुनै एक कर्म मात्रै तत्परतापूर्वक गर्न
सक्छ । जस्तो, क्षत्रिय हुनाले अर्जुनकोलागि युद्ध गर्नु, दान दिनु आदि
कर्तव्यकर्महरुको विधान छ, तर वर्तमानमा अर्जुनकोलागि युद्धको वेला ऊ एक
युद्धरूप कतव्य-कर्म मात्रै गर्न सक्छ, दान दिने आदि अरु कर्तव्य-कर्म गर्न
सक्तैन ।
मनुष्य-शरीरमा दुइ
कुराहरु हुन्छन् -- पुराना कर्महरुको फलभोग र नयाँ पुरुषार्थ । अरु
योनिहरुमा खालि पुराना कर्महरुको फलभोग हुन्छ अर्थात्, कीट-पतंग,
पशु-पक्षी, देवता, ब्रह्मलोक सम्मका योनिहरु भोगयोनि हुन् । त्यसैले,
तिनीहरुलाई 'यसो गर र यसो नगर' भन्ने विधान छैन । पशु-पक्षी, कीट-पतंग आदि
जे पनि कर्म गर्छन् , उनीहरुले गर्ने ती कर्म पनि फलभोग हो । कारण कि
उनीहरुवाट हुने कर्म उनीहरुको प्रारब्ध अनुसार पहिले नै रचिएका हुन्छन् ।
उनीहरुको जीवनमा अनुकूल-प्रतिकूल परिस्थितिको भोग हुन्छ, ती भोगहरु पनि
फलभोग नै हुन् । परन्तु मनुष्य-शरीर केवल नयाँ पुरुषार्थकोलागि, आफ्नो
उद्धार गर्नकोलागि मिलेको छ । ।
यो मनुष्यशरीरमा
पनि दुइ बिभाग छन् -- (१) यसको अगाडि पुराना कर्महरुको फल्ररूपमा
अनुकूल-प्रतिकूल परिस्थिति आउँछन् र अर्को मनुष्य नयाँ पुरुषार्थ (नयाँ
कर्म) गर्छ । यहाँ गरेको कर्महरु अनुसार नै उसको भविष्यको निर्माण हुन्छ
। यसैले, शास्त्र,सन्त- महापुरुषहरुको विधि-निषेध, राज्य आदिको शासन केवल
मनुष्यहरुकोलागि नै हुन्छ, किनभने मनुष्यमा पुरुषार्थको प्रधानता छ, नयाँ
कर्महरु गर्ने स्वतन्त्रता छ । तर पहिले गरिएका कर्महरुको फलस्वरूप मिल्ने
अनुकूल-प्रतिकूल परिस्थिति वदल्न मनुष्य परतन्त्र छ । तात्पर्य, मनुष्य
कर्म गर्न स्वतन्त्र छ र फल-प्राप्तिमा परतन्त्र छ । अनुकूल-प्रतिकूलरूपले
प्राप्त परिस्थितिको सदुपयोग गरेर मनुष्य तीनलाई आफ्नो उद्धारको सामग्री
वनाउन सक्छ । किनकि यो मनुष्य शरीर आफ्नो उद्धारकोलागि नै मिलेको
हो । हाम्रो मनुष्य शरीर हाम्रो उद्धारकोलागि पाइएको हो र पुराना
कर्महरुको फल फलरूपले प्राप्त परिस्थिति पनि उद्धारकोलागि पाइएको हो ।
मनुष्य जीवनमा
प्रारब्ध अनुसार शुभ अथवा अशुभ परिस्थिति आउँछन्, हामी त्यो परिस्थितिलाई
सुखदायी, दुःखदायी मान्न सक्छौं, तर ती परिस्थितिवाट सुखी या दुःखी हुनु
हाम्रो कर्मको फल होइन, हाम्रो मूर्खताको फल हो । किनकि परिस्थिति
वाहीरवाट आउँछ, तर सुखी र दुःखी स्वयम् हुन्छ । त्यो परिस्थितिसँग
तादात्म्य गरेर नै हामी सुख-दुःखको भोक्ता वन्छों । यदि हामी त्यो
परिस्थितिसँग तादात्म्य नगरेर त्यसको सदुपयोग गर्छों भने त्यही परिस्थिति
हाम्रो उद्धारको साधन-सामग्री वन्छ। सुखदायी परिस्थितिको सदुपयोग हो --
अरुको सेवा गने र दुःखदायी परिस्थितिको सदुपयोग हो -- सुखाभोगको इच्छाको
त्याग गर्ने ।
यसरी लेखी रहँदा
मलाइ लाग्छ, मेरा मित्रहरुलाई एउटा कुराको नै repetition भैरहेको भन्ने
होला । तर विडम्बना यो छ कि, यो वेदान्तको ज्ञान नै चेलालाई घोकाई घोकाई
दृढ गराउने हो. महर्षि उद्दालकले आफ्नो चेलो (छोरो)लाइ 'तत्वमसि'
महावाक्य वुझाउन नौ पटक उपदेश गर्नु परेको थियो । झन् हामी जस्ता सिकारुलाई
त जन्म जन्म भने पनि पुग्दैन । वेदान्त भनेको नै यो ज्ञान भने पछि वेद पनि
मौन हुन्छ, अर्थात् यो भन्दा माथिल्लो ज्ञान वेदमा पनि छैन । अहिलेसम्म
हामीले मानेको ज्ञान नै अज्ञान हुने भयो वेद अनुसार । कारण, हामीले जानेका
ज्ञान हाम्रा, पांच इन्द्रियहरु, मन, बुद्धिद्वारा जानिने ज्ञान हो । तर यो
वेदान्तको ज्ञानको अनुभव गर्न हाम्रा इन्द्रिय, मन, बुद्धि सक्तैनन् । जुन
ज्ञानद्वारा, जुन प्रकाश द्वारा हाम्रा इन्द्रिय, मन, बुद्धि, संचालित
हुन्छन्, ती संचालित वस्तुले आफ्नो संचालकको अनुभव कसरी गर्ने ?
शुरु शुरुमा, मैले
धेरै पटक निवेदन पनि गरिसकें, हामीलाई यो ज्ञान सिक्न, बुझ्न झन्झट लाग्छ ।
तर, शास्त्रले भन्छ, धेरै धेरै जन्मको पुण्य जम्मा भएपछि नै हामीलाई यो
ज्ञान सुन्ने, सिक्ने, त्यही सिकेको ज्ञानलाई नै आफ्नो व्यवहारमा ल्याउनु
पर्ने हुन्छ । यो ज्ञान सिक्न, बुझ्न र व्यवहारमा ल्याउन खोज्ने
व्यक्तिलाई 'पुण्य कर्मा' भन्छ गीता ।
साधारण भाषामा यो
ज्ञान जाने क्रमलाई information, interaction र implementation भन्छन्,
वेदान्तमा श्रवण, मनन र निदिध्यासन । के गर्ने हजुर, हामीले जानेदेखि
जीवनमा यो जड शरीरकोलागि धेरै डंडा पेलिसक्यों, अव पनि कति पेल्ने, अव त
आफ्नोलागि पनि केही गरौं न । खालि खानु,वच्चा जन्माउनु त पशु-पक्षीले पनि
गर्छन् । यही पशु-जीवन कति लिई रहने हामीले । अलिकति यता पनि प्रयास गर्ने
हो कि !
No comments:
Post a Comment