Thursday 15 May 2014

66. No 38 श्लोक ४५ वेदहरु तीनै गुणहरुको कार्यको नै वर्णन गर्छन्; हे अर्जुन !

No 38 
 
श्लोक ४५ 
 
वेदहरु तीनै गुणहरुको कार्यको नै वर्णन गर्छन्; हे अर्जुन ! तिमी तीनै गुणहरुदेखि रहित होऊ, राग-द्वेष आदि द्वन्दहरुदेखि रहित होऊ । निरन्तर नित्य वस्तु परमात्मामा स्थित होऊ । योगक्षेमको चाहना पनि नराख र परमात्मपरायण होऊ । 
 
यहाँ वेद भन्नाले, वेदको त्यो अंश जसमा तीनै गुणहरुको र तीनै गुणहरुका कार्य स्वर्गादि भोग-भूमिहरुको वर्णन छ । यहाँ वेदहरुको निन्दा गरिएको होइन, वरु निष्कामभावको महिमाको चर्चा भएको छ । निष्कामभावको महिमा वताउनकोलागि नै वेदहरुमा चर्चित सकाम भावको कुरा आएको हो, उद्देश्य सकाम भावको निन्दामा होइन । वेदहरुमा परमात्मा र उहाँको प्राप्तिको साधनहरुको पनि वर्णन भएको छ । 
 
भगवान भन्नुहन्छ, हे अर्जुन ! तिमी तीनै गुणहरुको कार्यरूप संसारको इच्छा त्यागेर असंसारी वन अर्थात् संसारदेखि माथि उठ । संसारवाट माथि उठ्नकोलागि राग-द्वेष आदि द्वन्द्वदेखि रहित हुनु जरूरी छ । किनकि यिनीहरु नै तिम्रा शत्रुहरु हुन् । 
 
भगवान यहाँ अर्जुनलाई निर्द्वन्द्व हुने आज्ञा  दिनुहुन्छ । किनभने द्वन्द्वहरुवाट सम्मोह हुन्छ; संसारमा फंसिन्छ । जव साधक निर्द्वन्द्व हुन्छ, त्यसपछि मात्रै ऊ दृढ भएर भजन गर्न सक्छ । निर्द्वंद हुँदा साधक सुखपूर्वक संसार-बन्धनदेखि मुक्त हुन्छ । निर्द्वंद हुँदा हाम्रो मूढता हराउँछ । निर्द्वंद भएको साधक कर्महरु गर्दा पनि बाँधिदैन  । अर्को शब्दमा, हाम्रो साधना दृढ हुने नै  निर्द्वंद हुँदा हो ।
 
संसारमा एउटा वस्तुमा राग हुँदा अर्को वस्तुमा द्वेष भइरहेको हुन्छ । जव हाम्रो भगवानमा प्रेम, प्रियता, आफ्नोपन हुनेछ, त्यो वेला संसारमा हाम्रो द्वेष रहँदैन, वरु यो सँग स्वाभाविक उपरति हुनेछ । संसारदेखि उपरति भएको पहिलो  अवस्था -- हामीलाई प्रतिकूलतामा द्वेष नभएर त्यसमा उपेक्षा हुनेछ । दोस्रो अवस्था प्रतिकूलतामा  उदासीनता हो, र तेस्रो अवस्था उपरति हो । उपरतिमा राग-द्वेशका संस्कार सर्वथा मेटिन्छन् । अझ वढी सुक्ष्मरूपले  विचार गर्ने हो भने उपेक्षामा राग-द्वेषका संस्कार रहन्छन्, उदासीनतामा राग-द्वेशको सत्ता रहन्छ, उपरतिमा न राग-द्वेषको संस्कार रहन्छ, न सत्ता रहन्छ, यसमा राग-द्वेषको सर्वथा अभाव हुन्छ । 
 
भगवानको अर्जुनसहित हामीलाई आदेश,  द्वन्द्वदेखि  रहित हुने एक मात्र उपाय हो -- नित्य-निरन्तर रही रहने सर्वत्र परिपूर्ण परमात्मामा स्थित रहने ।  साथै, आफ्नो कल्याण खोज्ने हामी जस्तो साधकले आफ्नो योगक्षेमको इच्छा पनि नगर्ने, किनभने भगवानको आज्ञा छ, 'ममा मात्रै चित्त लागेको, ममा परायण भक्तको योगक्षेमको वहन म आफैं गर्नेछु ।'
 
फेरि भगवान भन्नुहुन्छ अर्जुनलाई, 'तिमी खालि त्यही सर्वव्यापक परमात्माको आश्रय लेऊ ।' वास्तवमा, यो श्लोकमा 'निर्द्वन्द्व' शब्दको धेरै महत्व छ । जड-चेतन, सत्-असत्, नित्य-अनित्य, नाशवान्-अविनाशी, आदिको भेद नै द्वन्द्व हो । द्वन्द्व हुँदा 'सबै परमात्मा हो' -- यो वास्तविकताको अनुभव हुँदैन । कारण कि जव सबै भगवान नै हो भने जड-चेतनको द्वन्द्व कसरी रहन सक्छ ? यही कारण, भगवान अमृत र मृत्यु, सत् र असत्, दुबैलाई आफ्नो स्वरूप वताउनु हुन्छ । 
 
श्लोक ४६
 
सबैतिरवाट परिपूर्ण  महान जलाशय पाएपछि सानो-सानो खाल्डामा भरिएका जलमा कसैलाई वास्ता हुँदैन । त्यस्तै, वेदहरु र शास्त्रहरूलाई तत्वले जान्ने ब्रह्मज्ञानीलाई सम्पूर्ण वेदहरुमा कुनै पनि प्रयोजन रहँदैन । 
 
यहाँ भन्न खोजिएको,, महान् सरोवर पाइएर त्यसमा सबै व्यवहार गर्दा पनि त्यो जलमा कुनै फरक पर्दैन, अर्थात्, त्यो जलको स्वच्छता, निर्मलता, पवित्रता त्यस्तै नै रहन्छ । त्यस्तै, परमात्मतत्वको बोध भएका तत्वज्ञ महापुरुषकोलागि वेदमा वर्णन गरिएका यज्ञ, दान, तीर्थ, व्रत, आदि पुण्यकारी कार्यहरुको कुनै मतलव रहँदैन, अर्थात्, ती पुण्यकारी कार्यहरु ती महापुरुषकोलागि साना-साना जलाशय जस्ता हुन्छन् ।   यही दृष्टान्त यही अध्यायको सत्तरीयों श्लोकमा छ, त्यो ज्ञानी महात्मा समुद्र जस्तो गम्भीर हुन्छ । उसका अगाडि कति नै भोग-सामग्री आउन्, तर ती भोग-पदार्थले त्यो ज्ञानीमा कुनै पनि विकार पदा गर्न सक्तैनन् । 
 
परमात्म-तत्वको प्राप्ति भएपछि  साधक तीनै गुणहरुदेखि रहित हुन्छ । ऊ  निर्द्वन्द्व हुन्छ अर्थात्  उसमा राग-द्वेष रहँदैनन् । ऊ नित्य तत्वमा स्थित हुन्छ । ऊ निर्योगक्षेम हुन्छ, अर्थात्  कुनै वस्तु मिलोस् र मिलेको वस्तुको रक्षा भइरहोस् भन्ने भाव पनि उसमा हुँदैन । ऊ सँधै नै परमात्म-परायण रहन्छ । 
 
सांसारिक भोगहरुको अन्त छैन । अनन्त  ब्रह्माण्ड छन्, तिनमा पनि अनन्त किसिमका भोगहरु छन् । तिनीहरुको त्याग गरिदिए, तिनीहरुवाट असंग भए तिनीहरुको अन्त आउँछ । यस्तै, कामनाहरु पनि अनन्त हुन्छन् । तर तिनीहरुको त्याग गरिदिए, निष्काम भए तिनीहरुको पनि अन्त आउँछ ।

No comments:

Post a Comment