104
पहिला दुई श्लोकको वांकी
स्थूल
शरीर 'विषय' हो, इन्द्रियहरु 'बहिःकरण' हुन् र मन-बुद्धि 'अन्तःकरण' हुन् ।
स्थूल शरीर भन्दा इन्द्रिय पर (श्रेष्ठ, सबल, प्रकाशक, व्यापक र सूक्ष्म)
छन् तथा इन्द्रियहरु भन्दा बुद्धि पर छ । बुद्धि भन्दा पनि पर 'अहम्' छ ।
यो 'अहम्' नै कर्ता हो । त्यही 'अहम्' कर्तामा 'काम' अर्थात् लौकिक इच्छा
रहन्छ ।
हाम्रो सत्ता (हुनुपना)
अर्थात् हाम्रो स्वरूप चेतन, निर्विकार, र सत्-चित्-आनन्दरूप छ । जव यो
चेतन जड (प्रकृतिजन्य शरीर)शरीरसँग तादात्म्य गर्छ, त्यो वेला 'अहम्'
उत्पन्न हुन्छ र स्वरूप 'कर्ता' वन्छ । यसरी कर्तामा जड-अंश र चेतन-अंश
हुन्छ । जड-अंशको मुख्यताले संसारतर्फ र चेतन-अंशको मुख्यताले
परमात्मातर्फ आकर्षण हुन्छ । तात्पर्य, जड-अंशको प्रधानताले हामीमा लौकिक
(संसारको) इच्छाहरु रहन्छन् र चेतन-अंशको प्रधानताले पारमार्थिक
(परमात्माको) इच्छा रहन्छ । जड-अंशको स्वभाव मेटिने छ, यसैले लौकिक
इच्छाहरु मेटिन्छन् र चेतन-अंश सँधै रहने खालको छ । यसैले पारमार्थिक
इच्छाहरु पूरा हुन्छन् । यही हुनाले लौकिक इच्छाहरु (कामनाहरु) को निवृत्ति
र पारमार्थिक इच्छा (संसारवाट छुट्ने इच्छा, स्वरूपबोधको जिज्ञासा र
भगवत्प्रेमको अभिलाषा) को पूर्ति हुन्छ । लौकिक इच्छाहरु उत्पन्न हुन
सक्छन्, तर अड्न सक्तैनन् । तर पारमार्थिक इच्छा दब्न सक्छ, तर मेटिन
सक्तैन । कारण, लौकिक इच्छाहरु अवास्तविक र पारामार्थिक इच्छा वास्तविक हो ।
यसैले साधकले न त लौकिक इच्छाहरुको पूर्तिको आशा गर्ने हो, न पारमार्थिक
इच्छाको पूर्तिमा निराश हुने हो ।
खासै भन्दा, आफ्नो अंशी
परमात्मासँग मिल्ने इच्छा मात्रै साँचो इच्छा हो । तर जडसँगको सम्बन्धले
यो इच्छाको पनि दुई भेद हुन्छ र हामी आफ्नो वास्तविक इच्छा पूर्ति
परिवर्तनशील संसारद्वारा गर्न कोशीश गर्छौं । यही नै हाम्रो भूल हो । कारण,
लौकिक इच्छाहरु 'परधर्म' र पारमर्थिक इच्छा 'स्वधर्म' हो । परन्तु हामीमा
लौकिक र पारमार्थिक दुवै इच्छा रहँदा द्वन्द्व हुन्छ । यही द्वन्द्वले
गर्दा हामीमा भजन, ध्यान, सत्संग गर्ने वेलामा पारमर्थिक इच्छा जाग्रत
रहन्छ, तर अरु वेला हाम्रो पारमर्थिक इच्छा दब्छ र लौकिक (भोग एवं
संग्रह)को इच्छाहरु उत्पन्न हुन्छन् । लौकिक इच्छाहरु रहँदा हामीमा
परमात्मप्राप्ति मात्र गर्ने दृढ निश्चय हुँदैन । परमात्मप्राप्तिको मात्र
इच्छा हामीमा भए हाम्रो द्वन्द्व हट्छ र पारमार्थिक इच्छा मात्रै प्रवल
रहन्छ । यसो भयो भने हामी सजिलैसँग आफ्नो लक्ष्य (परमात्मप्राप्ति)मा पुग्न
सफल हुन्छौं । यसैले लौकिक इच्छा र पारमार्थिक इच्छाको द्वन्द्व मेटाउन
धेरै आवश्यक छ हामीलाई ।
शुद्ध स्वरूपमा आफ्नो अंशी
परमात्मातिर स्वतः एक आकर्षण अथवा रुचि रहन्छ । यो रूचिलाई नै 'प्रेम'
भनिन्छ । हामीले संसारसँग सम्बन्ध मान्दा त्यो 'प्रेम' दब्छ र 'काम'
उत्पन्न हुन्छ । 'काम' रहुन्जेल 'प्रेम' जाग्रत हुँदैन । 'प्रेम' जाग्रत
नहुन्जेल 'काम'को नाश हुँदैन । जड-अंशको मुख्यताले जसमा संसारिक भोगहरुको
इच्छा (काम) रहन्छ, त्यसैमा चेतन-अंशको मुख्यताले परमात्माको इच्छा पनि
रहन्छ । अतः वास्तवमा 'काम'को निवास जड-अंशमा नै छ, तर त्यो पनि चेतनको
सम्बन्धले नै हो । चेतनको सम्बन्ध छुट्ने वित्तिकै 'काम'को नाश हुन्छ ।
तात्पर्य, चेतनद्वारा जडसँग सम्बन्ध विच्छेद गर्ने वित्तिकै जड-चेतनको
तादात्म्यरूप 'अहम्'को नाश हुन्छ र 'अहम्'को नाश हुने वित्तिकै 'काम' पनि
नष्ट हुन्छ ।
'अहम्'मा भएको जड अंशमा
'काम' रहन्छ । दृश्यरूपले देखिने संसार, त्यो संसार देख्ने इन्द्रियहरु
तथा बुद्धि र बुद्धिलाई पनि देख्ने 'स्वयं' भोक्ता -- यी तीनैमा जातीय
एकता नभई भोक्तालाई भोग्यतिर आकर्षण हुन सक्तैन । कारण, आकर्षण सजातीयतामा
नै हुन्छ, विजातीयतामा होइन । जस्तो, आँखालाई रुपतिर नै आकर्षण हुन्छ, शब्द
प्रति हुँदैन । यही कुरा सबै इन्द्रियहरुमा लागु हुन्छ, । बुद्धिलाई पनि
उसको सम्झने विषय (विवेक-विचार) मा नै आकर्षण हुन्छ, शब्द आदि विषयमा
होइन । त्यस्तै, स्वयं (चेतन)को परमात्मामा तात्विक एकता हुन्छ, यसैले,
'स्वयं'को परमात्मातिर आकर्षण हुन्छ । यो तात्विक एकता जड-अंशको सर्वथा
त्याग गर्दा अर्थात् जडसँग मानिएको सम्बन्ध पूरापूर विच्छेद गर्दा नै
अनुभवमा आउँछ । त्यस्तो अनुभव हुने वित्तिकै 'प्रेम' जाग्रत हुन्छ ।
प्रेममा जडता (असत्)को अंश पनि शेष रहँदैन अर्थात् जडताको अत्यन्त अभाव
हुन्छ ।
प्रकृतिको कार्य महत्तत्व (समष्टि बुद्धि)को अत्यन्त सूक्ष्म अंश
'कारणशरीर' नै 'अहम्'को जड-अंश हो । यही कारणशरीरमा 'काम' रहन्छ ।
कारणशरीरको तादात्म्यले 'काम' स्वयंमा देखिन्छ । तादात्म्य मेटिएपछि
'काम'को लेश पनि नभएको शुद्ध स्वरुपको अनुभव हुन्छ । स्वरूपको अनुभव भएपछि
'काम' सर्वथा निवृत्त हुन्छ ।
पहिले शरीर भन्दा
इन्द्रियहरु, इन्द्रियहरु भन्दा पर मन, मन भन्दा पर बुद्धि र बुद्धि
भन्दा पार 'काम' भन्ने वताइयो । अव भनिन्छ, यो 'काम' 'अहम्'मा रहन्छ ।
आफ्नो वास्तविक स्वरूपमा 'काम' छैन । स्वरूपमा 'काम' हुने भए यो कहिले
मेटिने थिएन । नाशवान् जडसँग तादात्म्य गर्दा नै 'काम' उत्पन्न हुने हो
। तादात्म्यमा पनि काम त जडमा नै छ, तर देखिन्छ स्वरूपमा । यसैले बुद्धि
भन्दा पर रहने यो 'काम' जानेर त्यसको नाश गर्नु पर्छ ।
बुद्धि भन्दा पर
'अहम्'मा रहने 'काम'लाई मार्ने उपाय हो -- आफूद्वारा आफैंलाई वशमा गर्ने
अर्थात आफ्नो सम्बन्ध केवल आफ्नो शुद्ध स्वरूपसँग अथवा आफ्नो अंशी भगवानसँग
राख्ने ।
स्वरूप 'स्वयं'
साक्षात् परमात्माको अंश हो र शरीर-इन्द्रियहरु-मन-बुद्धि संसारका अंश हुन्
। स्वरूप आफ्नो अंशी परमात्मासँग विमुख भएर प्रकृति (संसार)को सम्मुख
हुँदा स्वरूपमा कामनाहरु उत्पन्न हुन्छन् । कामनाहरुवाट अभाव उत्पन्न
हुन्छन् र अभाव संसारको सम्बन्धले हुन्छ, किनभने संसार अभावरूप नै हो ।
संसारसँग सम्बन्ध-विच्छेद हुने वित्तिकै कामनाहरुको नाश हुन्छ, किनकि
स्वरूपमा अभाव छैन ।
परमात्मादेखि विमुख
भएर संसारसँग आफ्नो सम्बन्ध मान्दा पनि जीवको वास्तविक इच्छा (आवश्यकता या
भोक) आफ्नो अंशी परमात्मा प्राप्त गर्ने हुन्छ । 'म सँधै वाँची रहुँ; म
सबै जान्न सकूँ; म सँधैकोलागि सुखी होउँ' भन्ने विचार
सत्-चित्-आनन्द-स्वरूप परमात्माको नै इच्छा हो, तर संसारसँग सम्बन्ध
मानेकोले हामी यी इच्छाहरु संसारवाट नै पूरा गर्न चाहन्छौं -- यही 'काम'
हो । यो 'काम'को पूर्ति कहिले पनि हुन सक्तैन । त्यसैले यस्तो कामको
नाश गर्नै पर्छ ।
संसारसँग सम्बन्ध
जोड्ने व्यक्तिले त्यो सम्बन्ध तोड्न पनि सक्छ । यसैले भगवान आफूद्वारा नै
संसारसँग आफ्नो सम्बन्ध-विच्छेद गरेर 'काम' मार्ने आज्ञा दिनुहुन्छ
हामीलाई ।
आफूद्वारा नै आफैंलाई वशमा गर्ने कुनै अभ्यास छैन;
किनकि अभ्यास संसार (शरीर, इन्द्रियहरु,मन, बुद्धि)को सहायताले नै हुन्छ ।
अभ्यासमा संसारको सम्बन्धको सहायता लिनु पर्छ । वास्तवमा आफ्नो स्वरूपमा
स्थिति र अथवा परमात्माको प्राप्ति संसारको सहायताले हुने होइन, संसारको
त्याग (सम्बन्ध-विच्छेद)ले आफू-आफैंवाट हुन्छ ।
No comments:
Post a Comment