Friday 29 August 2014

151. No. 118 श्लोक ११ हे पृथानन्दन ! यस्तो प्रकारले मेरो शरण पर्ने भक्तलाई म त्यही किसिमले आश्रय दिन्छु ;

No. 118
श्लोक ११
हे पृथानन्दन ! यस्तो प्रकारले मेरो शरण पर्ने भक्तलाई म त्यही किसिमले आश्रय दिन्छु ; किनकि सबै मनुष्य सबै प्रकारले मेरै मार्गको अनुसरण गर्छन् ।

भक्त जुन भावले, जुन सम्बन्धले भगवानको शरण लिन्छ, भगवान पनि त्यो भक्तलाई त्यही भावले, त्यही सम्बन्धले आश्रय दिनुहुन्छ । जस्तो, भक्तले भगवानलाई आफ्नो गुरु मान्छ भने भगवान पनि श्रेष्ठ गुरु वनिदिनुहुन्छ, माता-पिता मान्छ भने उहाँ श्रेष्ठ माता-पिता वनिदिनुहुन्छ, पुत्र मान्छ भने श्रेष्ठ पुत्र वनिदिनुहुन्छ, भाइ मान्छ भने श्रेष्ठ भाइ वनिदिनुहुन्छ, सखा मान्छ भने श्रेष्ठ सखा वनिदिनुहुन्छ, नोकर मान्छ भने श्रेष्ठ नोकर वनिदिनुहुन्छ । भक्त भगवान नपाएर व्याकुल वन्छ भने उहाँ पनि भक्त विना व्याकुल हुनुहुन्छ ।

अर्जुनलाई भगवान श्रीकृष्णप्रति सखा भाव थियो तथा उनी भगवानलाई सारथि वनाउन चाहन्थे; त्यसैले भगवान पनि सखाभावले अर्जुनको सारथि वनिदिनुभयो । विश्वामित्र ऋषिले भगवान श्रीरामलाई आफ्नो शिष्य माने, भगवान पनि उनको शिष्य वनिदिनुभयो । यसरी भक्तको श्रद्धाभाव अनुसार त्यस्तै वनिदिने भगवानको स्वभाव छ ।

अनन्त ब्रह्माण्डहरुका स्वामी भगवान पनि आफूले नै वनाएका साधारण मनुष्यहरुको भाव अनुसार व्यवहार गर्नुहुन्छ; यो उहाँको कति विलक्षण उदारता, दयालुता र आफ्नोपन हो ?
यो प्रकरणले यो सिद्ध हुन्छ, भगवान विशेषरूपले भक्तहरुकोलागि नै अवतार लिनुहुन्छ । भक्तहरु जुन भावले, जुन रूपमा भगवानको सेवा गर्न चाहन्छन्, भगवानलाई ती भक्तहरुकोलागि त्यही रूपमा आउनु पर्छ । जस्तो, उपनिषदमा आउँछ, भगवानलाई एक्लै रमाइलो लागेन । त्यसपछि भगवान अनेक रुपहरुमा प्रकट भएर खेल खेल्न लाग्नुभयो । यसैगरी भक्तहरुको मनमा भगवानसँग खेल खेल्ने इच्छा भएको वेला भगवान पनि उनीहरुसँग खेल खेल्ने लीला गर्न प्रकट हुनुहुन्छ । भक्त भगवान विना वस्न सक्तैन भने भगवान पनि भक्त विना रहन सक्नुहुन्न ।

भक्त र भगवानको किसिम एकै जस्तो भए पनि भगवान भक्तको चालमा चल्नुहुन्न, आफ्नै चाल (शक्ति)मा चल्नुहुन्छ । भगवान सर्वत्र विद्यमान, सर्वसमर्थ, सर्वज्ञ, परम सुहृद र सत्यसंकल्प हुनुहुन्छ । भक्तले खालि आफ्नो पूरा शक्ति लगाउनु छ, त्यसपछि भगवान पनि आफ्नो पूरा शक्तिले भक्तलाई प्राप्त हुनुहुन्छ ।

भगवतप्राप्तिमा वाधा साधक स्वयं लगाउँछ; किनकि भागवतप्राप्तिकोलागि ऊ समझ, समय र सामर्थ्यलाई आफ्नो मानेर ती साधनहरुलाई जम्मै लगाउँदैन, आफूसँग अलिकति वचाएर राख्छ । यदि उसले ती साधन सामग्रीहरुलाई आफ्नो नमानेर पूरै अरुको सेवामा लगाइदिन्छ भने उसलाई छिट्टै भगवत्प्राप्ति हुन सक्छ । किनकि उसको समझ, सामग्री आदि उसका आफ्ना होइनन्; भगवानवाट मिलेका हुन्, भगवानकै हुन् । त्यसैले यी साधन सामग्रीहरूलाई आफ्नो मान्नु नै वाधा हो । साधक स्वयं पनि भगवानको नै अंश हो । उसले आफैंलाई भगवानदेखि छुट्टै मानेको छ, भगवानले मान्नु भएको छैन ।

भक्ति (प्रेम) कर्मजन्य अर्थात् कुनै साधन विशेषको फल होइन । सबै प्रकारले भगवानको शरण हुने व्यक्तिलाई भक्ति स्वतः प्राप्त हुन्छ । दास्य, सख्य, वात्सल्य, माधुर्य आदि भावहरुमा सबै भन्दा श्रेष्ठ भाव शरणागति हो । यहाँ भगवान अर्जुनलाई भन्नुहुन्छ, 'तिमीले आफ्नो सबै कुरा मलाई दियौ भने म पनि सबै कुरा तिमीलाई दिन्छु र यदि तिमी आफैं समेत मलाई दिन्छौ भने म पनि आफू नै तिमीलाई दिनेछु ।'
 
यो एघारौँ श्लोकमा द्वैत-अद्वैत, सगुण-निर्गुण, सायुज्य-सामीप्य आदि शास्त्रीय विषयको वर्णन छैन, खालि भगवानसँग आफ्नोपनको वर्णन छ । यो भन्दा केही अघिको श्लोकमा भगवानको जन्म-कर्मको दिव्यता जाने भगवत्प्राप्ति हुने वर्णन भयो । 'खालि भगवान नै मेरो हो र म भगवानको नै हुँ; अरु कोही पनि मेरो छैन र कसैको पनि होइन' -- यस्तो प्रकारले भगवानमा आफ्नोपन गरे उहाँको प्राप्ति चांडै र सजिलोसँग हुन्छ । अतः साधकले केवल भगवानमा नै आफ्नोपन मान्नु पर्छ, चाहे आफ्नो समझमा आओस् या नआओस् । मान्यताले संसारको झूठो सम्बन्ध पनि साँचो लाग्न थाल्छ भने भगवानसँगको सँधै भइरहेको सम्बन्ध अनुभवमा किन नआउनु ?

भगवानको सुहृतताको त के कुरा गर्नु, भक्त पनि समस्त प्राणीहरुका सुहृत हुन्छन् । भक्तहरुवाट कसैको किञ्चित् मात्र पनि अहित हुँदैन भने भगवानवाट कसैको अहित कसरी हुन सक्छ र ? भगवानसँग जस्तो सम्बन्ध जोडिए पनि त्यो सम्बन्धले  कल्याण नै गर्छ, किनकि भगवान परम दयालु, परम सुहृत, र चिन्मय हुनुहुन्छ । जस्तो गंगामा गरिएको स्नानको महत्व बैशाखमा गरिए पनि माघमा गरिए पनि एकै हो, तर वैशाखमा गरिएको गंगा स्नानको प्रसन्नता माघको स्नानमा आउँदैन । यसै गरी भक्ति-प्रेमपूर्वक भगवानसँग सम्बन्ध जोड्नेलाई जस्तो आनन्द वैर-द्वेषपूर्वक भगवानसँग सम्बन्ध जोड्नेलाई हुँदैन । सर्व साधारण व्यक्ति श्रेष्ठ पुरुषहरुको जस्तो आचरण गर्छन् । भगवान सब भन्दा श्रेष्ठ हुनुहुन्छ, यसैले सबै व्यक्ति उहाँको मार्गको अनुसरण गर्छन् ।
साधक भगवानसँग जस्तो सम्बन्ध मान्छ, भगवान पनि उसँग त्यस्तै सम्बन्ध मान्न तयार हुनुहुन्छ । महाराज दशरथजी भगवान श्रीरामलाई पुत्रभावले स्वीकार गर्छन्, भगवान पनि उनको इमान्दार पुत्र वन्नुहुन्छ र सामर्थ्यवान् भएर पनि 'पिता' दशरथजीको वचन नमान्न सक्नुहुन्न । यसरी आचरणहरुद्वारा  भगवान् यस्तो रहस्य प्रकट गर्नुहुन्छ, 'यदि तिम्रो संसारमा कसैसँग प्रियता छ भने त्यही सम्बन्धको हिसावले मसँग प्रियता गर । तिमीलाई आफ्नो मातामा प्रियता छ भने  मलाई आफ्नो माता मान, पितामा प्रियता छ भने मलाई आफ्नो पिता मान, पुत्रमा प्रियता छ भने मलाई आफ्नो पुत्र मान । यस्तो माने ममा वास्तविक प्रियता हुनेछ र मेरो प्राप्ति सजिलोसँग हुनेछ ।'          
अर्को कुरा, भगवान आफ्नो आचरणवाट यस्तो शिक्षा दिनुहुन्छ, जो व्यक्ति मसँग जस्तो सम्बन्ध मान्छ, म पनि त्यस्तै वन्छु, त्यस्तै, तिमी पनि अरुले तिमीसँग जस्तो सम्बन्ध राख्छ, तिमी पनि उसकोलागि त्यस्तै भइदेऊ -- जस्तो, माता-पिताकोलागि  सुपुत्र वन, पत्नीकोलागि योग्य पति वनिदेउ, वहिनीकोलागि श्रेष्ठ भाई वनिदेउ । परन्तु त्यसको वदलामा तिमी केही पनि नखोज । जस्तो, माता-पिताको सेवा गर्दा उनीहरुवाट केही लिने इच्छा नगरेर खालि सेवा भावले उनीहरुलाई आफ्नो मान ।   यस्तो मान्नु नै भगवानको मार्गको अनुसरण गर्नु हो । अभिमानरहित भएर निःस्वार्थभावले अरुको सेवा गरे चांडै नै अरुसँग ममता छुटेर भगवानमा प्रेम हुन्छ, भगवानको प्राप्ति हुन्छ ।
अहंकाररहित भएर निःस्वार्थभावले कहिं पनि प्रेम गरियो भने त्यो प्रेम स्वतः प्रेममय भगवान तर्फ जान्छ । कारण, आफ्नो अहंकार र स्वार्थ नै भगवतप्रेममा वाधा हुन्छ । यी दुईको कारण मनुष्यको प्रेमभाव सीमित हुन्छ, र यी दुईको त्याग भएपछि उसको प्रेमभाव व्यापक हुन्छ । प्रेमभाव व्यापक भएपछि उसले मानेका सबै वनावटी सम्बन्ध मेटिन्छन् र भगवानको स्वाभाविक नित्य-सम्बन्ध जाग्रत हुन्छ ।
सम्पूर्ण जीवहरुको परमात्मासँग स्वतः नित्य सम्बन्ध छ । परन्तु जीवले यो सम्बन्धलाई नचिनुन्जेल ऊ जन्म-मरणको बन्धनमा परिरहन्छ । उसको यो बन्धन दुईतिरवाट हुन्छ, (१) जीव भगवानसँग आफ्नो नित्य-सम्बन्ध चिन्दैन; (२) आफूसँग वास्तवमा नित्य-सम्बन्ध नभएकोसँग सम्बन्ध मानिदिन्छ ।  जीवले आफ्नो नित्य सम्बन्ध भगवानसंग मात्रै मान्यो भने उसलाई भगवानसँग आफ्नो नित्य-सम्बन्धको अनुभव हुनेछ ।
भगवानसँगको नित्य सम्बन्ध चिन्नु नै भगवानको शरण हुनु हो । शरण भएपछि भक्त, निश्चिन्त, निर्भय, निःशोक र निःशंक हुन्छ । त्यसपछि उवाट भगवानको आज्ञा विरुद्ध कुनै क्रिया कसरी हुन सक्छ ? उसका सम्पूर्ण क्रियाहरु भगवानको आज्ञा अनुसार नै हुन्छन् ।
यो संसार साक्षात् परमात्माको अंश भए पनि यसलाई जसले जुन रूपले देख्छ, भगवान पनि त्यही रूपले प्रकट हुनुहुन्छ । हामी आफूलाई शरीर मानेर आफ्नोलागि वस्तुहरुको आवश्यकता मान्छौं र तिनको इच्छा गर्छौं भने भगवान पनि ती वस्तुहरुको रूपमा हाम्रो अगाडि आउनुहुन्छ । हामी असत् मा स्थित भएर हेर्छौं भने भगवान पनि असत्-रूपले देखिनु हुन्छ । सानो वालकले खेलौना मागेको वेला उसको पिताले खेलौना ल्याइदिन्छ, त्यस्तै परम दयालु भगवान (स्वयं सदा सत्स्वरूप रहेर पनि) हामीले चाहेको जस्तो रुप लिएर हाम्रो अगाडि आउनुहुन्छ । यदि हामीले भोग खोज्दैनौं भने भगवान हाम्रो अगाडि भोगरूपमा किन आउने ?
भगवानको स्वभावमा 'यथा-तथा' भए पनि जीवमा उहाँको धेरै ठूलो कृपा छ; किनकि कहाँ जीव र कहाँ भगवान ! अभिमान सिवाय जीवमा अरु के सामर्थ्य छ ? फेरि पनि जीवको भगवानमा आकर्षण भयो भने भगवानको पनि जीवमा आकर्षण हुन्छ ।
भगवानको स्वभावमा 'यथा-तथा' केवल क्रियामा छ, भावमा होइन । भगवानको आस्तिक भन्दा आस्तिक प्रति हुने स्नेह, कृपा नास्तिक भन्दा नास्तिक व्यक्ति प्रति पनि छ । यही कारण, भगवानको 'यथा-तथा'मा स्वार्थ-भाव छैन, वरु यो त भगवानको महत्ता हो । तैपनि उहाँ जीवलाई आफ्नो मित्र वनाउनु हुन्छ, उसलाई आफू समान दर्जा दिनुहुन्छ । भगवान आफूमा वडप्पनको भाव राख्नु हुन्न -- यही उहाँको महत्ता हो ।

No comments:

Post a Comment