Friday 29 August 2014

155. No. 122 श्लोक १६ कर्म के हो र अकर्म के हो -- यस्तो प्रकारले यो विषयमा विद्वान् पनि मोहित हुन्छन्, अतः

No. 122
श्लोक १६

कर्म के हो र अकर्म के हो -- यस्तो प्रकारले यो विषयमा विद्वान् पनि मोहित हुन्छन्, अतः त्यो कर्म तत्व म तिमीलाई राम्रोसँग भन्नेछु । यो कर्म तत्व जानेर तिमी अशुभ संसारबन्धनदेखि मुक्त हुनेछौ ।

साधारणतः हामी शरीर र इन्द्रियहरुका क्रियाहरुलाई नै कर्म मान्छौं तथा शरीर र इन्द्रियहरुका क्रियाहरु बन्द हुनुलाई अकर्म मान्छौं । परन्तु भगवानले शरीर, वाणी र मनवाट हुने समस्त क्रियाहरुलाई पनि कर्म मान्नुभएको छ ।

भाव अनुसार नै कर्मलाई कर्म भनिन्छ । भाव वदलिंदा कर्मको नाम पनि वदलिन्छ । जस्तो, कर्म स्वरूपले सात्विक देखिए पनि कर्मको भाव राजस या तामस भयो भने त्यो कर्म राजस या तामस हुन्छ । जस्तो, कोही देवीको उपासनारुप सात्विक कर्म गरिरहेछ । तर त्यही कर्म कुनै कामना सिद्धिकोलागि गरिएको छ भने त्यो राजस हुन्छ र कसैको नाश गर्न गरिएको छ भने त्यही कर्म राजस हुन्छ । यही प्रकारले कर्तामा फलेच्छा, ममता र आसक्ति छैन भने ऊद्वारा गरिएका कर्म 'अकर्म' हुन्छन् अर्थात् फलमा वाँध्ने हुँदैनन् । तात्पर्य, केवल वाहिरी क्रिया गर्नु र नगर्नुले कर्मको वास्तविक स्वरूपको ज्ञान हुँदैन । यो विषयमा शास्त्रहरू जान्ने ठूला ठूला विद्वान् पनि मोहित हुन्छन् अर्थात् कर्मको तत्वको यथार्थ निर्णय गर्न सक्तैनन् । उनीहरुले मानेको क्रिया कर्म पनि हुन सक्छ, अकर्म पनि हुन सक्छ र विकर्म पनि हुन सक्छ । कारण, कर्ताको भाव अनुसार कर्मको स्वरूप वदलिन्छ । यसैले भगवान भन्नुहुन्छ, 'वास्तविक कर्म के हो ? त्यसले किन वाँध्छ ? कसरी वाँध्छ ? यसवाट व्यक्ति कुन तरहले मुक्त हुन सक्छन् ? -- यी सबै कुराको म विवेचन गर्छु । यो विवेचन बुझेर त्यही प्रकारले कर्म गरे ती कर्महरु वाँध्ने खालका हुन सक्तैनन् ।

यदि मनुष्यमा ममता, आसक्ति र फलेच्छा छ भने कर्म नगर्दा पनि वास्तवमा कर्म भइरहेछ अर्थात् कर्महरुमा लिप्तता छ । परन्तु यदि कर्ममा ममता, आसक्ति र फलेच्छा छैन भने कर्म गरिरहँदा पनि कर्म भइरहेको हुँदैन अर्थात् कर्महरुसँग निर्लिप्तता छ । तात्पर्य, यदि कर्ता निर्लिप्त छ भने कर्म गर्नु अथवा नगर्नु -- दुवै अकर्म नै हुन् र यदि कर्ता लिप्त छ भने कर्म गर्नु अथवा नगर्नु -- दुवै नै कर्म हुन् र वाँध्ने खालका हुन् ।

भगवानले कर्मको दुई भेद वताउनु भएको छ -- कर्म र अकर्म । कर्मले जीव वाँधिन्छ र अकर्मले (अरुकोलागि कर्म गर्दा)  जीव मुक्त हुन्छ ।

कर्महरुको त्याग अकर्म होइन । मोहपूर्वक गरिएका कर्महरुको त्यागलाई भगवानले भगवानले 'तामस' त्याग भन्नुभएको छ । त्यस्तै, शारीरिक कष्टको डरले गरिएका; त्यसैले  कर्मको त्यागलाई 'राजस' त्याग भन्नुहुन्छ भगवान ।


तामस र राजस त्यागमा कर्महरुको स्वरूपले त्याग हुँदा पनि कर्महरुसँग सम्बन्ध-विच्छेद हुँदैन । कर्महरुमा फलेच्छा र आसक्तिको त्याग 'सात्विक' त्याग हो ।  सात्विक त्यागमा स्वरूपले कर्म गर्नु पनि वास्तवमा अकर्म नै हो; किनकि सात्विक त्यागमा कर्महरुसँग सम्बन्ध-विच्छेद हुन्छ । अतः गरिरहँदा पनि निर्लिप्त रहनु वास्तवमा अकर्म हो ।

शास्त्रहरू तत्वले जान्ने विद्वान् पनि अकर्म के हो -- यो विषयमा मोहित हुन्छन् । अतः कर्म गर्दा पनि र नगर्दा पनि जीव नबाँधियोस्, यो तत्व सम्झंदा (बुझ्दा) नै कर्म के हो र अकर्म के हो भन्ने कुरा बुझ्न सकिन्छ । अर्जुन युद्धरुप कर्म नगर्न कल्याणकारक सम्झन्छन् । यसैले भगवान भन्नुहुन्छ, 'युद्धरूप कर्महरु त्यागेर मात्रै तिम्रो अकर्म-अवस्था (बन्धनवाट मुक्ति) हुँदैन, वरु युद्ध गर्दा गर्दै पनि तिमी अकर्म-अवस्था प्राप्त गर्न सक्छौ; त्यसैले अकर्म के हो भन्ने तत्व बुझ्नु पर्यो तिमीले।'

निर्लिप्त रही रही कर्म गर्ने र कर्म गरिरहँदा निर्लिप्त रहने अवस्था नै वास्तवमा अकर्म-अवस्था हो । साधारण मनुष्यहरूमा कर्म र अकर्मको तात्विक निर्णय गर्न सक्ने सामर्थ्य छैन । शास्त्रहरुका ठूला ठुला जानकारहरुवाट  पनि यो विषयमा भूल हुन्छ । कर्म र अकर्मको तत्व जान्न उनीहरुको बुद्धि अलमलिन्छ । तात्पर्य, कर्मको र अकर्मको तत्व कि त कर्मयोगवाट सिद्ध भएका अनुभवी महापुरुष जान्दछन् कि त भगवान जान्नुहुन्छ ।

कर्ममा फसेको जीव कर्मवाट मुक्त हुन पनि सक्छ । यहाँ भगवान प्रतिज्ञा गर्नुहुन्छ, 'म त्यो कर्म-तत्व तिमीलाई भलिभाँती भन्नेछु, जसवाट कर्म गर्दा गर्दै पनि ती कर्म बन्धनकारक नहून् । अर्को शब्दमा, म तिमीलाई कर्म गर्ने त्यो विद्या सिकाउँछु, जुन जानेर कर्म गर्दा गर्दै पनि तिमी जन्म-मरणरुप बन्धनदेखि मुक्त हुनेछौ ।'

कर्म गर्ने दुई मार्ग छन् -- प्रवृत्ति मार्ग र निवृत्ति मार्ग । प्रवृत्तिमार्गलाई 'कर्म गर्ने' र निवृत्तिमार्गलाइ 'कर्म नगर्ने' भन्छन् । यी दुवै मार्गले बाँध्ने होइनन् हामीलाई । चाहे प्रवृत्तिमार्ग होस्, चाहे निवृत्तिमार्ग, हामीलाई बाँध्ने त हाम्रै आसक्ति, कामना, ममता हो । यदि कामना, ममता र आसक्ति छैन भने प्रवृत्तिमार्ग र निवृत्तिमार्ग दुवैमा मनुष्य स्वतः मुक्त छ । यो कुरा बुझ्नु नै कर्म-तत्व बुझ्नु हो ।

दोश्रो अध्यायमा भगवानले 'कर्महरुमा योग नै कुशलता हो' भनेर कर्म तत्व वताउनु भएको छ । तात्पर्य हो, कर्मबन्धनवाट छुट्ने वास्तविक उपाय 'योग' अर्थात् समता नै हो । परन्तु अर्जुनले यो कुरा बुझ्न सकेनन् । यसैले भगवान यो तत्व फेरि सम्झाउने प्रतिज्ञा गरिरहनु भएको छ ।

कर्मयोग कर्म होइन, सेवा हो । सेवामा त्यागको मुख्यता हुन्छ । सेवा र त्याग -- यी दुवै कर्म होइनन् । यी दुईमा विवेकको नै प्रधानता छ ।  हामीसँग भएका शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि वस्तुहरु सबै हामीले पाइएका हुन् र हामीवाट छुट्छन  । पाइएका वस्तुलाई आफ्नो मान्ने अधिकार हामीलाई छैन । संसारवाट पाइएका वस्तुहरु संसारको नै सेवामा लगाइदिने हाम्रो अधिकार हो । हाम्रो आफ्नो वस्तु स्वरूप) को त्याग हुनै  सक्तैन र आफ्नो नभएको वस्तु (शरीर र संसार) सँग त्याग स्वतःसिद्ध छ । त्याग त्यसैको हुन्छ, जुन आफ्नो होइन, तर जसलाई भूलले आफ्नो मानिएको छ । वास्तवमा आफ्नोपनको  मान्यताको नै त्याग हुन्छ । जुन वस्तु आफ्नो हुँदै होइन, त्यसलाई आफ्नो नमान्नु कसरी त्याग हुन्छ ? यो त विवेक हो ।

विवेक कुनै कर्मको फल होइन । यो विवेक सबै प्राणीहरुलाई अनादिकालदेखि स्वतः प्राप्त छ । विवेक कुनै शुभ कर्मको फल भए विवेक विना त्यो शुभ कर्म को गर्थ्यो ? किनकि विवेक द्वारा नै मनुष्य शुभ र अशुभ कर्मको भेदलाई जान्दछ तथा अशुभ कर्म त्यागेर शुभ कर्मको आचरण गर्छ । अतः विवेक शुभ कर्मको कारण हो, कार्य होइन । यो विवेक स्वतःसिद्ध छ । यसैले कर्मयोग पनि स्वतःसिद्ध छ, अर्थात् कर्मयोगमा परिश्रम छैन । यस्तै ज्ञानयोगमा आफ्नो असंग स्वरूप स्वतःसिद्ध छ र भक्ति-योगमा भगवानसँग सम्बन्ध स्वतःसिद्ध छ ।

जीव स्वयं शुभ छ र परिवर्तनशील संसार अशुभ छ । जीव स्वयं परमात्माको नित्य अंश हुँदा पनि परमात्मासँग विमुख भएर अनित्य संसारमा फँसेको छ । भगवान भन्नुहुन्छ, 'म त्यो कर्म तत्वको वर्णन गर्छु, जुन जानेर कर्म गरे तिमी अशुभदेखि मुक्त हुनेछौ ।

कर्मयोगको तात्पर्य, 'कर्म' संसारकोलागि र 'योग' आफ़्नोलागि । कर्मका दुई अर्थ हुन्छन् -- कर्म गर्नु र नगर्नु । यी दुवै (कर्म गर्नु र नगर्नु) प्राकृत अवस्थाहरु हुन् । यी दुवै अवस्थाहरुमा अहंता रहन्छ । कर्म गर्दा 'कार्य' रूपले अहंता रहन्छ, र कर्म नगर्दा 'कारण' रूपले । अहंता रहुन्जेल संसारसँग सम्बन्ध छ । परन्तु 'योग' दुवै अवस्थाहरु भन्दा अतीत छ । त्यो योगको अनुभव गर्न अहंतादेखि रहित हुनु आवश्यक छ । अहंतादेखि रहित हुने उपाय हो -- कर्म गरी गरी अथवा नगरी योगमा स्थित रहने र योगमा स्थित रहेर कर्म गर्ने  अथवा नगर्ने । अर्थ, कर्म गर्नु अथवा नगर्नु -- दुबै अवस्थामा निर्लिप्तता रहोस् ।

 कर्म गर्दा संसारसँग र कर्म नगर्दा परमात्मासँग प्रवृत्ति हुन्छ -- यस्तो मान्दै संसारदेखि निवृत्त भएर एकान्तमा ध्यान र समाधि लगाउनु पनि कर्म नै हो । एकान्तमा ध्यान र समाधि लगाउँदा तत्वको साक्षात्कार हुनेछ -- यस्तो प्रकारले भविष्यमा परमात्मतत्व प्राप्ति गर्ने भाव पनि कर्मको सूक्ष्म रुप हो । कारण कि गर्ने आधारमा नै भविष्यमा तत्वाप्रप्तिको आशा हुन्छ । परन्तु परमात्मतत्व गर्ने र नगर्ने -- दुबैदेखि अतीत छ । 

भगवान भन्नुहुन्छ, 'म तिमीलाई त्यो कर्म-तत्व भन्नेछु जुन जानेर तिमीलाई तत्काल परमात्मतत्वको प्राप्ति हुनेछ । यसकोलागि भविष्यको आशा गर्नु पर्दैन; किनकि परमात्मतत्व सम्पूर्ण देश, काल, वस्तु, व्यक्ति, शरीर, इन्द्रियहरु, मन, बुद्धि, प्राण आदिमा समानरूपमा परिपूर्ण छ । मनुष्य जहाँ छ, परमात्मा त्यहीं हुनुहुन्छ । कर्म गर्दा अथवा नगर्दा -- दुवै अवस्थाहरुमा परमात्मतत्वको हामीसंग सम्बन्ध जस्ताको तस्तो रहन्छ । केवल प्रकृतिजन्य क्रिया र पदार्थसँग सम्बन्ध मानेको कारण नै त्यसको अनुभूति भइरहेको छैन ।

अहंतापूर्वक गरिएका साधन र साधनको अभिमान रहुन्जेल अहंता हट्दैन, झन् झन् दृढ हुन्छ; चाहे त्यो अहंता स्थूलरूपले (कर्म गर्नेसँग) रहोस् अथवा सूक्ष्मरूपले (कर्म नगर्नेसँग) रहोस् ।

'म गर्छु' भन्दा हुने अहंता 'म गर्दिन' भन्दा पनि छ । आफ़्नोलागि केही नगरे अर्थात् कर्ममात्र संसारको हितकोलागि गरे अहंता संसारमा विलीन हुन्छ । 

No comments:

Post a Comment