Friday 29 August 2014

153. No 120 श्लोक १३, १४ गुणहरु र कर्महरुको विभागपूर्वक चारै वर्णहरुको रचना मवाट गरियो ।

No 120
श्लोक १३, १४

गुणहरु र कर्महरुको विभागपूर्वक चारै वर्णहरुको रचना मवाट गरियो । त्यो सृष्टि रचना आदिको कर्ता भएर पनि म अविनाशी परमेश्वरलाई तिमी अकर्ता नै जान । किनकि कर्मका फलहरुमा मलाई स्पृहा छैन, यसैले मलाई कर्महरु लिप्त गर्दैनन् । यसरी मलाई तत्वले जान्ने व्यक्ति पनि  कर्महरुदेखि वाँधिंदैन ।

पूर्वजन्ममा गरिएका कर्महरु अनुसार सत्व, रज र तम -- यी तीनै गुणहरुमा घटी या वढी रहनछ । सृष्टि-रचनाको वेला ती गुणहरु र कर्महरु अनुसार भगवान ब्राह्मण, क्षत्रिय, वैश्य र शुद्र वर्णहरुको रचना गर्नुहुन्छ । मनुष्य वाहेक देव, पितृ, तिर्यक आदि अरु योनिहरुको रचना पनि गुणहरु र कर्महरुको अनुसार नै भगवान गर्नुहुन्छ । यसमा भगवानको किञ्चित् पनि विषमता छैन ।

मनुष्य मात्रै चार प्रकारका हुने होइनन्, पशु, पक्षी, वृक्ष पनि चार प्रकारका नै हुन्छन् । जस्तै, पक्षीहरुमा परेवा आदि ब्राह्मण, वाज आदि क्षत्रिय, चील आदि वैश्य र काग आदि शुद्र पक्षीहरू हुन् । यस्तै, वृक्षहरुमा पिपल आदि ब्राह्मण, नीम आदि क्षत्रिय, अमिली आदि वैश्य र ववुल आदि शुद्र हुन् । तर, अहिले वर्णित चार वर्ण पदले मनुष्यहरू मात्रै लिनुपर्छ; किनकि वर्ण-विभागलाई बुझ्न मनुष्य मात्रै सक्छन् र त्यही अनुसार कर्म गर्न सक्छन् । कर्म गर्ने अधिकार मनुष्यलाई नै छ ।

भगवान भन्नुहुन्छ, 'चारै वर्णको रचना मैले नै गरेको हो ।' यहाँ  भगवानको भाव छ, 'एक त मनुष्यहरु  मेरै अंश हुन्, अर्को, म सम्पूर्ण प्राणीहरुको सुहृद् हुँ, यसैले मनुष्यले आफ्नो वर्ण अनुसार समस्त कर्तव्य कर्महरुले मेरो नै पूजन गर्नु पर्छ । भगवान समस्त कर्महरु गर्दा पनि अकर्ता हुनुहुन्छ । सृष्टिको समस्त रचना, पालन, संहार आदि सम्पूर्ण कर्म गरिरहँदा पनि भगवान ती कर्महरुदेखि सर्वथा अतीत, निर्लिप्त नै रहनुहुन्छ ।

सृष्टि-रचनामा भगवान नै उपादान कारण हुनुहुन्छ र उहाँ नै निमित्त कारण हुनुहुन्छ । माटोवाट वनेका भाँडाहरु उपादान कारण हुन् र कुमाले निमित्त कारण हो । माटोवाट भाँडो वन्दा माटो खर्च हुन्छ र त्यो भाँडो वनाउन कुमालेको शक्ति पनि खर्च हुन्छ; तर सृष्टि-रचनामा भगवानको केही पनि खर्च हुँदैन । उहाँ जस्ता-को-तस्तै रहनुहुन्छ ।  यसैले भगवानलाई अव्यय भनिन्छ । जीव पनि भगवानको अंश भएकोले अव्यय नै छ ।

विचार गर्यो भने शरीर आदि सबै वस्तुहरु संसारका नै हुन् र संसारवाट नै पाइएका हुन् । अतः ती वस्तुहरु संसारको सेवामा लगाइदिए आफ्नो के खर्च भयो ? हामी पनि स्वरूपतः अव्यय नै रहने भयौं । यसैले साधकले शरीर, इन्द्रियहरु, मन, बुद्धि, धन, सम्पत्ति आदि आफूले पाएका सांसारिक पदार्थहरुलाई आफ्नो र आफ़्नोलागि नमाने उसलाई पनि आफ्नो अव्ययताको अनुभव हुनेछ ।

भगवान हामीहरुलाई आफ्नो कर्महरुको दिव्यता बुझ्ने आज्ञा दिनुहुन्छ । कर्म गरिरहँदा पनि कर्म, कर्म-सामग्री र कर्मफलमा आफ्नो कुनै सम्बन्ध नरहनु नै कर्महरुको दिव्यता हो ।
विश्व-रचना जस्ता समस्त कर्म गरिरहँदा पनि भगवानको ती कर्महरुसँग कुनै सम्बन्ध छैन । उहाँको कर्महरुमा विषमता, पक्षपात जस्ता दोष लेश भर पनि छैनन् । उहाँलाई कर्मफलमा अलिकति पनि आसक्ति, ममता या कामना छैन । त्यसैले ती कर्म भगवानलाई लिप्त गर्दैनन् ।

सम्पूर्ण उत्पत्ति-विनाशशील वस्तुहरु कर्मफल हुन् । भगवान भन्नुहुन्छ, 'जस्तो मलाई कर्मफलमा स्पृहा छैन, त्यस्तै तिमीलाई पनि कर्मफलमा स्पृहा हुनुहुन्न । कर्मफलमा स्पृहा भएन भने सम्पूर्ण कर्म गर्दा गर्दै पनि तिमी कर्मसँग बाँधिंदैनौ ।'

भगवान भन्नुहुन्छ, समस्त कर्महरुको कर्ता भएर पनि म अकर्ता छु अर्थात् ममा कर्तृत्वाभिमान छैन । उहाँ फेरि भन्नुहुन्छ, कर्मफलमा मेरो स्पृहा छैन अर्थात् ममा भोक्तृत्वाभिमान पनि छैन । अतः साधकले पनि यी दुई -- कर्तृत्वाभिमान र भोक्तृत्वाभिमान देखि रहित हुनुपर्छ । फलेच्छाको त्याग गरेर केवल अरुकोलागि कर्म गर्दा कर्तृत्व र भोक्तृत्व रहँदैनन् । कर्तृत्व र भोक्तृत्व नै संसार हो । अतः यिनीहरु नरहँदा मुक्ति स्वतःसिद्ध नै छ ।

कामना उत्पन्न भएको वेला हाम्रो दृष्टि उत्पत्ति-विनाशशील पदार्थहरुमा रहन्छ । उत्पत्ति र विनाशशील (अनित्य) पदार्थहरुमा दृष्टि रहँदा हामी नित्य भगवानलाई तत्वले जान्न सक्तैनौं । तर कामनाहरु मेटिएपछि हाम्रो अन्तःकरण शुद्ध हुन्छ र हाम्रो दृष्टि भगवानतिर स्वतः जान्छ । भगवानतिर दृष्टि गएपछि हामी स्वतः जान्दछौं कि भगवान हाम्रो परम सुहृद हुनुहुन्छ, यसैले उहाँद्वारा हुने सबै क्रियाहरु हाम्रो हितकोलागि नै हुन्छन् । भगवान जीवहरुलाई कर्म-बन्धनवाट रहित गर्न नै उनीहरुलाई मनुष्य शरीर दिनुहुन्छ, तर जीव यो कुरा मान्दैन र नयाँ नयाँ सम्बन्ध मानेर अरु बन्धन निम्त्याउँछ । यसैले कर्तापन र फलेच्छा नभए पनि उहाँ केवल कृपा गरेर जीवहरुलाई कर्मवन्धनदेखि रहित गरेर उनीहरुको उद्धार गर्नकोलागि नै सृष्टि रचनाको काम गर्नुहुन्छ । भगवानलाई यसरी जानेपछि मनुष्य भगवानतिर खिंचिन्छ ।

भगवानका कर्महरु त दिव्य छन् नै, सन्त-महात्माहरुका कर्म पनि दिव्य हुन्छन् । सन्त-महात्मा मात्रै होइन, सबै मनुष्य आफ्ना कर्महरु दिव्य वनाउन सक्छन् । मलिनता, (कामना, ममता, आसक्ति) भएका कर्महरुले बाँध्छन् व्यक्तिलाई । मलिनता हटेपछि हाम्रा कर्म दिव्य हुन्छन् । दिव्य कर्ममा व्यक्तिलाई बाँध्नॆ शक्ति हुँदैन । 

आफ्नो कर्म दिव्य वनाउने सरल उपाय हो -- संसारवाट पाइएको वस्तुलाई आफ्नो र आफ्नोलागि नमानेर संसारकै सेवामा लगाइदिने । 

हामीले विचार गर्नुपर्यो, हामीसँग भएका शरीर आदि बाह्य वस्तुहरु हामीले जन्म लिंदा लिएर आएका थिएनौं र यहाँवाट जाने वेलामा सँगै लिएर जान सक्तैनौं, ती वस्तुहरु रहिरहँदा पनि आफ्नो इच्छा अनुसार परिवर्तन गर्न सक्तैनौं, तिनीहरुलाई आफ्नो इच्छा अनुसार राख्न पनि सक्तैनौं अर्थात् ती वस्तुमा हाम्रो कुनै आधिपत्य छैन । यस्तै, जन्म-जन्मान्तरदेखि सँगै आएका सूक्ष्म र कारण-शरीर पनि परिवर्तनशील र प्रकृतिका कार्य हुन्, यसैले तिनीहरुसँग पनि हाम्रो सम्बन्ध छैन । यी वस्तुहरु आफ्नालागि पनि होइनन्; किनकि यिनीहरु पाउँदा 'अरु पाइयोस्, अरु पाइयोस्' भन्ने इच्छा रहिरहन्छ । यदि यी वस्तुहरु आफ्ना हुँदा हुन् त अरु पाउने इच्छा नहुनु पर्ने । यसो हुँदा हुँदै पनि ती वस्तुहरुलाई आफ्नो र आफ़्नोलागि मान्नु कति ठूलो भूल ? ती वस्तुहरुमा देखिएको आफ्नोपन खालि तिनको सदुपयोग गर्न हो, तिनमा आफ्नो अधिकार जमाउन होइन ।

सेवा गर्न त सबै आफ्ना हुन्, तर लिनकोलागि कोही आफ्ना होइनन् । संसारको त कुरै के गर्ने, भगवान पनि लिनकोलागि आफ्नो हुनुहुन्न अर्थात् भगवानसँग पनि केही लिनुहुन्न हामीले, वरु आफूले आफैंलाई भगवानमा समर्पित गर्ने हो । कारण, हामीलाई चाहिने र हाम्रो हितको वस्तु भगवानले पहिले नै हामीलाई दिइसक्नुभएको छ; धेरै दिनुभएको छ, थोरै होइन । हाम्रो जरुरत भगवानले जति हामी जान्न सक्तैनौं; किनकि भगवानको उदारता अपार छ । उहाँको अगाडि हाम्रो समझ ज्यादै थोरै छ । यसैले उहाँसँग किन माग्ने ? हामीले  जे जस्तो पाएका छौं, तिनैको सदुपयोग गर्ने हो हामीले । वस्तुहरुलाई आफ्नो र आफ्नोलागि नमानेर निष्कामभावपूर्वक अरुको हितमा लगाइदिनु नै वस्तुहरुको सदुपयोग हो ।
यसो गर्दा वस्तुहरुसँग र पदार्थहरुसँग सम्बन्ध-विच्छेद हुन्छ र महान् आनन्दस्वरूप परमात्माको अनुभव हुन्छ ।
सृष्टि रचना गर्दा पनि भगवानको अकर्तापन सुरक्षित (जस्ताको तस्तै) रहे जस्तै जीवको पनि स्वरूपले अकर्तापन सुरक्षित रहन्छ । परन्तु ऊ मूढ़तापूर्वक आफूमा कर्तापन स्वीकार गर्छ ।

कर्म, क्रिया र लीला -- यी तिनै एकै देखिए पनि सर्वथा अलग छन् । कर्तृत्वाभिमानपूर्वक गरिएको र अनुकूल-प्रतिकूल फल दिने क्रिया 'कर्म' भनिन्छ । तर कर्तृत्वाभिमानपूर्वक नगरिएको र फल पनि नदिने 'क्रिया' हुन्छ; जस्तो, स्वासहरु आउनु-जानु, आँखा खुल्नु र बन्द हुनु, नाडीहरु चल्नु, मुटु धड्किनु । कर्तृत्वाभिमान र फलेच्छादेखि रहित दिव्य तथा दुनियाँको नै हित गर्ने क्रियालाई 'लीला' हुन्छ । संसारिक मनुष्य द्वारा 'कर्म' हुन्छ, मुक्त पुरुषद्वारा 'क्रिया' हुन्छ र भगवान द्वारा 'लीला' हुन्छ अर्थात् संसार नभएर पनि देखिए जस्तै भगवानको सृष्टि-रचना आदि कार्य केवल लीला मात्रै हो । तात्पर्य, भगवान कर्ता नहुँदा नहुँदै पनि लीलाले कर्ता देखिनुहुन्छ ।

यो श्लोकले सिद्ध हुन्छ, गीता जन्म (उत्पत्ति) देखि नै जाति मान्छ । मनुष्य जुन जातिको माता-पितावाट जुन वर्णमा पैदा हुन्छ, उसको त्यही जाति (माता-पिताको) मानिन्छ । 'जाति'को पूर्ण रक्षा त्यही जाति अनुसार कर्तव्य-कर्म गरेर नै हुन्छ ।       


'प्रसंग हालै महिलाहरुले मान्ने चाड 'तीज'को छ । पहिले 'तीज'को अर्थ 'तीन' मान्नु पर्ला जस्तो लाग्छ मलाई । वेदान्तमा 'तीन' शब्दको धेरै अर्थ लिन सकिन्छ । तर, यहाँ यो सृष्टिको लागि आवश्यक तीन गुण हरु लिनु आवश्यक ठान्छु म । ती हुन् -- सत्व, रज र तम । यो संसार नै तीन गुणमय छ । भगवान भन्नुहुन्छ: 'दैवी ह्येषा गुणमयी', अर्थ, 'मेरो त्रिगुणात्मिका माया दैवी छ ।' शास्त्र भन्छ, सृष्टि नै यी गुणहरु द्वारा रचना भएकोले हामीमा पनि यी तीनै गुणहरु छन्, यिनीहरुको हरदम घट अथवा वढ़ भइरहन्छ । सत्वगुण वढ्दा हामीमा शान्ति (क्षणिक नै भए पनि) हुन्छ, रजोगुण वढ्दा हामीलाई लोभ लाग्छ, तमोगुण वढ्दा हामीलाई निद्रा लाग्छ, मूढ़ता हुन्छ । यी तीनै गुण हाम्रा जीवनका अपरिहार्य अंग हुन् । यी तीनै नभई हामी वाँच्न सक्तैनौं, तर सत्वगुण कम भएर वांकी अरु गुण वढ़दा हाम्रो जीवन अत्यन्त दुःखदायी, पशु समान हुन्छ । यही सन्दर्भमा यस्तो देखिन्छ, यो 'तीज'को व्रत महिलाले मात्र होइन, पुरुषले पनि लिने जरुरत छ ।
अर्को कुरा, 'व्रत' शब्दले हाम्रो विचारको वृत्ति (प्रवाह) (flow of thoughts) लाई वुझाउँछ । हामीले हाम्रो विचारलाई नकारात्मक वनाउनु भएन, सकारात्मक वनाउनु पर्यो । सकारात्मक विचार निर्माणात्मक हो र नकारात्मक विचार ध्वंसात्मक हो ।
'निराहार' भन्ने शब्द ज्ञानीमा देखिने लक्षणहरुमध्ये एक हो । निराहार शब्दले पानी पनि नखानु भन्ने होइन । हाम्रा पाँच इन्द्रियहरुवाट ग्रहण हुने विषयहरु जम्मै हाम्रा खाना हुन् । हाम्रा आँखाले 'रुप' खान्छ (ग्रहण गर्छ), कानले शब्द खान्छ (ग्रहण गर्छ), रसनाले (जिव्रो) स्वाद खान्छ, नाकले गन्ध खान्छ, छालाले स्पर्श खान्छ । गीता भन्छ, 'निराहारस्य योगिनः', अर्थ, योगीहरू निराहारी हुन्छन् । यसो हुँदा उनीहरु खाँदै खाँदैनन् भन्ने होइन, उनीहरुका पाँचै इन्द्रियहरुवाट ग्रहण हुने खाना नियन्त्रित हुन्छ । गीता फेरि भन्छ छैठौं अध्यायमा, 'धेरै खानेलाई योग हुँदैन, खाँदै नखानेलाई पनि योग हुँदैन, धेरै सुत्नेलाई योग हुँदैन, सुत्दै नसुत्नेलाइ पनि योग हुँदैन ।' फेरि तुरुन्तै गीता भन्छ, 'दुःखहरुको नाश गर्ने योग त यथायोग्य (जरुरत अनुसार) आहार र विहार (ग्रहण र त्याग) गर्ने, कर्महरुमा यथायोग्य (जरुरत अनुसार) कोशीश गर्ने र यथायोग्य (शरीरको जरुरत अनुसार) सुत्ने र उठ्नेलाई नै सिद्ध हुन्छ ।'            
                        
यस्ता शास्त्रसम्मत विचारलाई मध्य नजर गर्दा हालै हामीले लिइरहेको 'तीज'को व्रत र शास्त्रीय 'तीज'को व्रतमा धेरै अन्तर देखिन्छ । शास्त्रीय अर्थले साधकको दृष्टि व्यापकतामा लग्न खोज्छ, अहिले 'फेशन' (अक्कल नभएको नक्कल)मा आएको 'तीज'को व्रतले साधकलाई व्यापकतावाट संकीर्णतामा लग्न खोज्छ ।
अव महिलाले पुरुषको खुट्टा ढोग्ने अथवा पुरुषले महिलाको खुट्टा ढोग्ने भन्ने वहसले पनि दृष्टिको संकीर्णताको नै परिचय दिन्छ । एकातिर अहिले नै तल माथि परे पुरुषले महिलालाई divorce गर्ने र महिलाले पुरुषलाई divorce भन्ने दलील पनि जारी नै छ, अर्कोतिर तीजको व्रतमा कसले कसको खुट्टा ढोग्ने भन्ने वहस पनि जारी नै छ । सुन्दा  पनि हाँसो उठ्छ मलाई त !
छोटोमा भन्नु पर्दा, हालैको तीजको व्रत 'वाहिरी' हो, मैले निवेदन गरेको तीजको व्रत 'आन्तरिक' हो । choice हजुरहरुकै हो हजुर, मैले आफूले जानेको कुरा हजुरहरुलाई भनेको मात्रै हो । 'तीज'को धेरै धेरै शुभकामना !!! 

No comments:

Post a Comment