Friday 29 August 2014

150. No. 117 श्लोक १० राग, भय र क्रोधले सर्वथा रहित भएका, ममा तल्लीन, मेरो नै आश्रित तथा

No. 117
श्लोक १०


राग, भय र क्रोधले सर्वथा रहित भएका, ममा तल्लीन, मेरो नै आश्रित तथा ज्ञानरूप तपले पवित्र भएका धेरै भक्तले मेरो स्वरूप प्राप्त गरिसके ।
परमात्मासँग विमुख हुँदा नाशवान् पदार्थहरुमा राग हुन्छ । रागवाट पाइएको वस्तु, व्यक्तिमा 'ममता' र नपाइएकोमा 'कामना' हुन्छ । राग भएका (प्रिय) पदार्थहरु पाइएपछि 'लोभ' हुन्छ, तर ती पदार्थहरुको प्राप्तिमा वाधा पुग्यो भने (वाधा पुर्याउनेसँग) 'क्रोध' हुन्छ । वाधा पुर्याउने व्यक्ति आफू भन्दा वलवान् भए र उसलाई आफ्नो वश गर्न नसके 'भय' हुन्छ । यसरी नाशवान् पदार्थहरुप्रतिको रागले नै भय, क्रोध, लोभ, ममता, कामना आदि सबै दोषहरु उत्पन्न हुन्छन् । राग मेटिएपछि ती सबै दोष मेटिइन्छन् । पदार्थहरुलाई आफ्नो र आफ्नोलागि नमानेर अरुको र अरुकोलागि मानेर सेवा गरे राग मेटिन्छ । कारण, वास्तवमा पदार्थ र क्रियासँग हाम्रो सम्बन्ध छँदै छैन ।
आफ्नो केही प्रयोजन नहुँदा पनि भगवान केवल हाम्रो कल्याणको हेतुले अवतार लिनुहुन्छ । कारण, उहाँ सबै प्राणीको परम सुहृद हुनुहुन्छ र उहाँका सम्पूर्ण क्रियाहरु खालि जीवहरुको कल्याण गर्न नै हुन्छ । यसरी भगवानको परम सुह्रित्तामा विश्वास भयो भने भगवानमा हाम्रो आकर्षण हुन्छ । भगवानमा आकर्षण भएपछि संसारको आकर्षण (राग) स्वतः मेटिन्छ । जस्तो, वालककालमा केटाकेटीहरुलाई खेलौनामा आकर्षण हुन्छ, उनीहरु खेलौनासँग खेल्छन् । खेलमा उनीहरु खेलौनाकोलागि झगडा पनि गर्छन् ।  तर तिनै वालकहरु ठूला भएपछि खेलौनामा आकर्षण रुपियाँमा जान्छ । यसै गरी मनुष्यलाई जव परमात्मामा लगन लाग्छ, उसकोलागि संसारको रुपियाँ र सबै पदार्थहरु आकर्षक नभएर फीका लाग्छन् । उसको संसारप्रतिको आकर्षण अथवा राग मेटिन्छ । राग मेटिने वित्तिकै भय र क्रोध मेटिन्छ, किनकि यी दुवै रागका नै आश्रित रहन्छन् ।
भगवानको जन्म र कर्मको दिव्यता तत्वले जानेपछि मनुष्यलाई भगवानमा प्रियता हुन्छ, प्रियता भएपछि उनीहरु भगवानको नै शरण हुन्छन् र शरण भएपछि उनीहरु भगवन्मय हुन्छन् ।

सांसारिक भोगहरुमा आकर्षण भएका मनुष्य भोगहरुको कामनामा तन्मय हुन्छन् र भगवानमा आकर्षण भएका मनुष्य भगवानमा तन्मय हुन्छन् । उनको विचारमा, आचरणमा भगवानको नै मुख्यता रहन्छ । प्रेमको अधिकताको कारण उनीहरु भगवत्स्वरूप वन्छन् । यस्तो लाग्छ, उनीहरुको भगवानदेखि छुट्टै सत्ता नै छैन ।
यहाँ भन्न खोजिएको, 'वीतरागभयक्रोधा:' मा संसारसँग सम्बन्ध विच्छेद हो र 'मन्मया: माम् उपाश्रिता:' मा भगवानको तल्लीनता हो ।
कुनै न कुनै आश्रय नलिई मनुष्य रहन नै सक्तैन । भगवानको अंश जीव भगवानसँग विमुख भएर अरुको आश्रय लिन्छ, तर उसले लिएको त्यो आश्रय टिक्तैन, झन् झन् मेटिन्छ । धन आदि नाशवान् पदार्थहरुको आश्रय पतन गर्ने हुन्छ । यति मात्रै होइन, शुभ-कर्महरु गर्न बुद्धिको, भगवत्प्राप्तिमा साधनहरुको तथा भोग र संग्रहको त्यागको आश्रय लिंदा नै भगवतप्राप्ति ढिलो हुन्छ । मनुष्य स्वयं (स्वरूप)ले भगवानको आश्रित नहुन्जेल उसको पराधीनता हट्दैन र ऊ दुःख पाई नै रहन्छ ।
संसारको पदार्थहरुमा मनुष्यको आकर्षण र आश्रय छुट्टा-छुट्टै हुन्छ । जस्तो, मनुष्यको आकर्षण स्त्री-पुत्र आदिमा हुन्छ र आश्रय ठूला वडाको हुन्छ । परन्तु भगवानमा लागेका मनुष्यको भगवानमा नै आकर्षण हुन्छ र भगवानको नै आश्रय हुन्छ; किनकि उनीहरुकोलागि प्रिय भन्दा प्रिय पनि भगवान नै हुनुहुन्छ र
ठूलो भन्दा ठूलो पनि भगवान नै हुनुहुन्छ ।   

यहाँ भगवानको जन्म र कर्मको दिव्यता तत्वले जान्नुलाई 'ज्ञान' भनिएको छ । यो ज्ञानले मनुष्य पवित्र हुन्छ; किनकि भगवान पवित्र भन्दा पनि पवित्र हुनुहुन्छ । भगवानको नै अंश भएकोले जीवमा पनि स्वतः स्वाभाविक पवित्रता छ । नाशवान् पदार्थहरुलाई महत्व दिएर, उनीहरुलाई आफ्नो मानेर नै यो (जीव) अपवित्र हुन्छ; किनकि नाशवान् पदार्थहरुको ममता नै मल (अपवित्रता) हो । भगवानको जन्म-कर्म तत्वले जानेपछि नाशवान् पदार्थहरुको आकर्षण, तिनीहरुको ममता सर्वथा मेटिन्छ । त्यसपछि जीवमा भएको सबै मलिनता पनि नष्ट हुन्छ र मनुष्य परम पवित्र हुन्छ ।
यहाँ आएको 'ज्ञान' शब्दलाई कर्मयोगको 'ज्ञान' मान्नुपर्छ । कर्मयोगको ज्ञान हो -- शरीर, इन्द्रियहरु, मन, बुद्धि, पद, योग्यता, अधिकार, धन, जग्गा, आदि पाइएका सबै वस्तुहरु संसारको र संसारकोलागि हुन्, आफ्नो र आफ़्नोलागि होइनन् । किनकि स्वयं (स्वरूप) नित्य छ; अतः नित्य वस्तुसँग अनित्य वस्तु कसरी रहन सक्छ तथा नित्यलाई काम कसरी लाग्न सक्छ र ? शरीर आदि वस्तुहरु जन्म भन्दा पहिले पनि थिएनन् र मरेपछि पनि रहँदैनन् तथा अहिले पनि उनीहरुको हामीसँग प्रतिक्षण सम्बन्ध-विच्छेद भइरहेछ । यी मिलेका वस्तुहरुको सदुपयोग गर्ने हाम्रो अधिकार छ, आफ्नो मान्ने अधिकार छैन । यी वस्तुहरु संसारका नै हुन्; अतः यिनीहरुलाई संसारको सेवामा नै लगाउनु पर्छ, ती वस्तुहरुको सदुपयोग यही नै हो । वस्तुहरुलाई आफ्नो र आफ़्नोलागि मान्नु नै वास्तवमा बन्धन अथवा अपवित्रता हो ।
यसरी नाशवान् वस्तुहरुलाई आफ्नो र आफ़्नोलागि नमान्नु 'ज्ञानतप' हो; यो तपले मनुष्य परम पवित्र हुन्छ । हामीले जान्नमा आएका तपहरुमध्ये 'ज्ञानतप' श्रेष्ठ छ । यस्तो किसिमले ज्ञानतप द्वारा जडसँग मानिएको सम्बन्धको सर्वथा सम्बन्ध-विच्छेद हुन्छ । मनुष्यले जडसँग सम्बन्ध राखुन्जेल अरु सबै तपस्या गरे पनि ती तपस्याले उसलाई पवित्र गर्दैनन् जति  'ज्ञानतप'ले गर्छन् । किनकि ज्ञानतपले मात्रै जडसँग सम्बन्ध-विच्छेद गर्न सक्छ । यो ज्ञानतपले पवित्र भएर मनुष्य भगवानको भाव (सत्ता) अर्थात् सच्चिदानन्दघन परमात्मतत्व पाउँछ । तात्पर्य, भगवान नित्य-निरन्तर रहे जस्तै ऊ पनि भगवानमा नित्य-निरन्तर रहन्छ; भगवान निर्लिप्त-निर्विकार रहे जस्तै ऊ पनि निर्लिप्त-निर्विकार रहन्छ; भगवानकोलागि केही गर्न वांकी नभए जस्तै उसकोलागि पनि केही गर्न वांकी रहँदैन। ज्ञानमार्गले  पनि मनुष्यलाई यस्तै किसिमले भगवानको भाव प्राप्त गराउँछ । 
पहिले पनि धेरै भक्तहरुले ज्ञानतपद्वारा पवित्र भएर भगवान प्राप्त गरिसके । अतः साधकहरुले पनि अहिलेदेखि (जुन वेला यो कुराको ज्ञान भयो, त्यो वेलादेखि) नै ज्ञानतपले पवित्र भएर भगवान प्राप्त गर्नु पर्छ । भगवान प्राप्त गर्न सबै स्वतन्त्र छन्, कोही पनि परतन्त्र छैनन् । कारण, मानव-शरीर भगवत्प्राप्ति गर्न नै पाइएको हो ।                 

गीताको चारौं अध्यायका अहिले व्याख्या गरिएका श्लोकहरु भगवानका अवतारका अत्यन्त महत्वपूर्ण बुँदाहरु हुन् । हामीले गुरुहरुवाट उपनिषद् अध्ययन गर्दा यो सृष्टि कसरी भयो भन्ने विस्तृत अध्ययन गर्नु पर्छ । उपनिषद् भन्छ, यो जगत् परमात्माकै रुप हो । सृष्टि हुनु भन्दा पहिले पनि परमात्मा हुनुहुन्थ्यो, सृष्टि हुँदा पनि परमात्मा हुन्छ, यो सृष्टिको नाश हुँदा पनि परमात्मा रहनुहुन्छ । सृष्टि परिच्छिन्न छ, परमात्मा अपरिच्छिन्न हुनुहुन्छ । सृष्टि गर्न परमात्मालाई मायाको (प्रकृति) सहायता लिनुपर्छ, तर त्यो मायाको सृष्टि पनि परमात्मावाट नै भएको हो । हामीले अध्ययन गर्दा सृष्टिको प्रक्रिया process को अध्ययन गर्नु पर्छ । पहिले परमात्मादेखि, माया, अव्यक्त प्रकृति, आकाश, वायु, तेज, जल, पृथ्वीको सृष्टि भयो । त्यसपछि मनुष्य आदिको सृष्टिकोलागि आवश्यक raw material को सृष्टिगर्न पृथ्वी, जल, तेज, वायु र आकाश (यिनलाई पंचमहाभूत भन्छन्)लाई पंचिकरण गरियो । यिनै पंचीकृत महाभूत द्वारा समस्त जीवहरुको स्थूल शरीर, सूक्ष्म शरीर र कारण शरीरको रचना भयो । सबै रचना पश्चात् स्वयं परमात्मा नै समस्त जीवहरुको शरीरमा पसेर उनीहरुमा चेतनाको संचार गर्नुभयो । यही चेतना द्वारा अहिले हामी हजुरहरुलाई चिठी लेख्न सक्ने, चिठी पढ्न सक्ने, हाँस्ने, खेल्ने, रुने, कराउने, समस्त व्यवहार गर्न सक्ने भएका छौं । हामीले यो बुझ्नु पर्छ, हाम्रो शरीरको महत्व होइन कि हामीमा भएको चेतनाको महत्व छ । यो चेतना भएन भने हाम्रो शरीर मुर्दा हुन्छ । अहिले मैले हजुरहरुलाई आफ्नो छोटो समझद्वारा यही बुझाउन खोजेको, त्यो चेतनालाई चेतनता दिने चेतन अर्कै हो । त्यो चेतन अहिले हामीले चिन्तन गरिरहेको चौथो अध्यायका श्लोकमा वर्णन गरिएको परमात्माको स्वरूप हो । त्यो चेतन हाम्रो शरीर होइन, तर त्यो चेतन विना हाम्रो शरीर चल्न सक्तैन, त्यो चेतन हाम्रो इन्द्रियहरु होइनन्, तर त्यो चेतनको सत्ता विना हाम्रा इन्द्रियहरु चल्न सक्तैनन्, त्यो चेतन हाम्रो मन होइन, तर त्यो चेतन विना हाम्रो मन चल्न सक्तैन, त्यो चेतन हाम्रो बुद्धि होइन, तर त्यो चेतन विना हाम्रो बुद्धि चल्न सक्तैन। त्यो चेतन सर्वव्यापक छ, सर्वाधार छ, सर्वाश्रय, सर्वाधिश्ठान छ । त्यो चेतनको सत्ताले समस्त सृष्टि सत्तावान् भएको छ । छुट्ट्याएर हेर्दा यस्तो र त्यस्तो भन्ने हो, सबै जोड्दा सवै त्यही हो । यो सृष्टिको हरेक कण त्यसैको  नियन्त्रणमा, त्यसैको शासनमा वसेर काम गर्ने भएपछि सबै त्यही भएन त ।
गीतामा अरु अरु अध्यायमा पनि प्रसंग छन् । भगवान आफ्नो विश्वरूप देखाइसकेपछि भन्नुहुन्छ, 'म काल हुँ, अहिले तिमी सहित् सबै कुरुवंशीलाई पनि मार्न तत्पर छु' । पन्ध्रौं अध्यायमा भगवान भन्नुहुन्छ, 'सूर्य तेज, चन्द्रमाको प्रकाशकता र आल्हादकता, अग्निको दाहकता मेरो हो' । यति मात्रै होइन हजुर, हामीले खाने, लगाउने, वस्ने, सुत्ने आदि सबै पदार्थहरु त्यही सृष्टि अन्तर्गत परेनन् त ! सबै सृष्टि भइरहेछ, समस्त रचना भइरहेछ, तर सृष्टिकर्ता देखिंदैन । जस्तो हामीले कसैको घरमा राम्रो furniture देख्यौं भने त्यो furniture वनाउने सिकर्मीको अस्तित्व स्वतः ज्ञात हुन्छ, त्यस्तै यत्रो समस्त सृष्टि देखेर पनि सृष्टिकर्तामा विश्वास नगर्ने हामीलाई हामीले नै के भन्ने ? त्यो परमात्मा हामी भित्र पनि छ, हामी वाहिर पनि छ, हामी माथि पनि छ, हामी भन्दा तल पनि छ, कुनै तलाउको पानीमा माछा रहे जस्तै । अर्को शब्दमा, त्यो परमात्मा समस्त जगतमा ओतप्रोत भएर रहेको छ ।
यस्तै हुन् हजुर मेरा कुरा । आजलाई यत्ति । 

No comments:

Post a Comment