No. 121
श्लोक १५
अर्जुन
मुमुक्षु थिए अर्थात् आफ्नो कल्याण चाहन्थे । परन्तु युद्धरूपले प्राप्त
आफ्नो कर्तव्य-कर्म गर्न उनले कल्याण देख्दैनन् । यही कारण उनी यो
युद्धरूप कर्मलाई घोर-कर्म ठानेर त्यसको त्याग गर्न चाहन्छन् । यसैले
भगवान अर्जुनलाई पहिलेका मुमुक्षुहरुको उदाहरण दिंदै भन्नुहुन्छ, 'उनीहरुले
पनि आफ्नो-आफ्नो कर्तव्य-कर्महरु पालन गरेर कल्याण प्राप्त गरे, तिमी पनि
उनीहरु जस्तो आफ्नो कर्तव्यको पालन गर ।
तेस्रो अध्यायमा
जनक राजाहरुको उदाहरणले भनिएको कुरो यहाँ भनिएको छ । शास्त्रमा प्रसंग छ,
मुमुक्षुता जाग्रत भएपछि कर्महरु स्वरूपले नै छोडिदिनु पर्छ; किनकि
मुमुक्षापछि मनुष्य कर्मको अधिकारी हुँदैन; ज्ञानको अधिकारी हुन्छ । तर
यहाँ भगवान भन्नुहुन्छ, मुमुक्षुहरुले पनि कर्मयोगको तत्व जानेर कर्म गरेका
छन् । यसैले मुमुक्षा जाग्रत भएपछि आफ्नो कर्तव्य-कर्महरुको त्याग
गर्नु हुँदैन, वरु निष्कामभावपूर्वक कर्तव्य-कर्म गरिरहनु पर्छ ।
कर्मयोगको तत्व
हो -- कर्म गरी गरी योगमा स्थित रहने र योगमा स्थित भई भई कर्म गर्ने ।
कर्म संसारकोलागि र योग आफ्नोलागि हुन्छ । कर्महरु गर्ने र नगर्ने दुई
अवस्थाहरु छन् । अतः प्रवृत्ति (कर्म गर्ने) र निवृत्ति (कर्म नगर्ने) --
दुवै नै प्रवृत्ति (कर्म गर्ने) हुन् । प्रवृत्ति र निवृत्ति -- यी दुवैवाट
माथि उठ्नु योग हो, त्यही नै पूर्ण निवृत्ति हो । पूर्ण निवृत्ति कुनै
अवस्था होइन ।
यो कर्मयोग
(विद्या) जानेर फलेच्छा त्यागेर कर्म गर्ने मनुष्य वांधिदैन, कारण कि
फलेच्छावाट नै मान्छे वाँधिन्छ । आफ्नो सुखाभोगकोलागि अथवा धन, मान, वड़ाई,
स्वर्ग आदि पाउन व्यक्तिले कर्म गर्दा ती कर्म उसलाई वाँध्ने हुन्छन् ।
परन्तु उसको लक्ष प्राप्ति उत्पत्ति-विनाशशील संसार छैन भने उ संसारसँग
सम्बन्ध विच्छेद गर्न निःस्वार्थभावले केवल अरुको हितकोलागि कर्म गर्छ ।
यसो गर्दा उसलाई कर्मले वाँध्दैनन् । किनकि अरुको हितकोलागि कर्म गर्दा
कर्महरुको प्रवाह संसारतर्फ हुन्छ । यसरी व्यक्तिको कर्महरुको सम्बन्ध हट्छ
र फलेच्छा नरहँदा नयाँ सम्बन्ध पैदा हुँदैन ।
यी शब्दहरुले
भागवान् अर्जुनलाई आज्ञा दिइरहनुभएको छ, 'तिमी मुमुक्षु हौ, यसैले
मुमुक्षुले पहिले पहिले लोकको हितकोलागि कर्म गरे जस्तै तिमी पनि संसारको
हितकोलागि कर्म गर ।'
शरीर,
इन्द्रियहरु, मन, बुद्धि सबै आफू भन्दा भिन्न तथा संसारदेखि अभिन्न छन् ।
ती चीजहरु संसारका हुन् र संसारको सेवाकोलागि नै पाइएका हुन् । तिनलाई
आफ्नो मानेर कर्म गर्दा कर्महरुको सम्बन्ध आफूसँग हुन्छ । जव सम्पूर्ण कर्म
केवल अरुको हितकोलागि गरिन्छन्, त्यो वेला कर्महरुको सम्बन्ध हामीसँग
हुँदैन । कर्महरुसँग सर्वथा सम्बन्ध-विच्छेद भएपछि 'योग' अर्थात्
परमात्मासँग सम्बन्धको अनुभव हुन्छ, जुन सम्बन्ध पहिलेदेखि नै छ ।
यो श्लोक भन्दा
अघिका केही श्लोकहरुमा भगवानले वताउनु भयो, कर्तृत्वाभिमान र फलेच्छादेखि
रहित भएर सृष्टि-रचना आदि गरेको कारण ती कर्म मलाई वाँध्दैनन् । यहाँ
भगवान भन्नुहुन्छ, मुमुक्षुहरुले पनि यसै गरी कर्तृत्वाभिमान फलेच्छाको
त्याग गरेर कर्म गरेका थिए । कारण कि कर्तृत्वाभिमान र फलेच्छा हुँदा नै
कर्म बन्धनकारक हुने हुन् । यसैले तिमी पनि त्यही किसिमले कर्म गर ।
ज्ञानयोगमा
पहिले कर्तृत्वाभिमानको त्याग गरिन्छ, त्यसपछि फलेच्छाको त्याग स्वतः हुन्छ
। कर्मयोगमा पहिले फलेच्छाको त्याग गरिन्छ, त्यसपछि कर्तृत्वाभिमानको
त्याग सजिलोसँग हुन्छ ।
No comments:
Post a Comment