Friday 29 August 2014

152. No. 119 श्लोक १२ कर्महरुको सिद्धि (फल) चाहने मनुष्य देवताहरुको उपासना गर्छन्,

No. 119
श्लोक १२
कर्महरुको सिद्धि (फल) चाहने मनुष्य देवताहरुको उपासना गर्छन्, किनकि यो मनुष्यलोकमा कर्महरुवाट उत्पन्न हुने सिद्धि चांडै नै पाइन्छ ।
नयाँ कर्म गर्न मनुष्यलाई अधिकार छ । प्रत्यक्ष देखिएको छ -- कर्म गरे  सिद्धि हुन्छ । यसैले मनुष्यको अन्तःकरणमा यो कुरा दृढतासँग वसेको छ कि कर्म नगरी कुनै पनि वस्तु मिल्दैन । उनीहरु ठान्छन्, सांसारिक वस्तुहरु जस्तो भगवानको प्राप्ति पनि कर्म (तपस्या, ध्यान, समाधि) गरेर नै हुन्छ । नाशवान् पदार्थहरुको कामनाले गर्दा सांसारिक वस्तुहरु कर्मजन्य हुन्, एकदेशीय हुन्, हामीलाई नित्य-प्राप्त छैनन्, हामीदेखि छुट्टै छन् र परिवर्तनशील छन्, यसैले तिनको प्राप्तिकोलागि कर्म गर्नु आवश्यक छ भन्ने वास्तविकतातिर उनीहरुको दृष्टि जाँदै जाँदैन । तर भगवान कर्मजन्य हुनुहुन्न, सर्वत्र परिपूर्ण हुनुहुन्छ, हामीलाई नित्य-प्राप्त हुनुहुन्छ, हामीदेखि अलग पनि हुनुहुन्न र अपरिवर्तनशील हुनुहुन्छ । यही कारण, भगवतप्राप्तिमा संसारिक वस्तुहरुको प्राप्तिको नियम चल्न सक्तैन ।  यसको प्राप्ति त उत्कट अभिलाषावाट हुन्छ । उत्कट अभिलाषा जाग्रत नहुने खास कारण सांसारिक भोगहरुको कामना नै हो ।

भगवान हाम्रो पिता जस्तो हुनुहुन्छ र देवताहरु पसले जस्ता ।  पसलेले सामान दिंदैन भने हामीसँग पैसा लिने अधिकार उसलाई छैन । तर पितालाई पैसा लिने अधिकार पनि छ र वस्तु दिने पनि । वालकलाई पितासँग कुनै वस्तु लिन पैसा तिर्नु पर्दैन, तर पसलेसँग वस्तु लिन पैसा तिर्नु पर्छ । त्यस्तै भगवानसँग कुनै वस्तु लिन कुनै मूल्य तिर्नु पर्दैन, तर देवताहरुसँग केही लिन विधिपूर्वक कर्म गर्नु पर्छ । पसलेसँग वालक सलाई, चक्कु आदि हानि हुने वस्तु पनि पैसा तिरेर लिन सक्छ, तर त्यही वालकले त्यही वस्तु पैसा तिरेर लिन खोज्यो भने पिताले उसलाई ती वस्तु दिंदैनन्, उल्टो उसँग भएको पैसा पनि खोस्छन् । अर्को शब्दमा, वालकको हित हुने वस्तु पिता वालकलाई दिन्छन् । यही किसिमले देवताहरु आफ्ना उपासकहरुलाई (उपासकहरुको उपासना विधिपूर्वक भएपछि) उनीहरुको हित-अहितको वास्ता नगरी उनीहरुले इच्छा गरेका वस्तुहरु दिन्छन्, तर परमपिता भगवान आफ्नो भक्तहरुलाई आफ्नो इच्छाले उनीहरुको परमहित हुने वस्तु आफ्नै इच्छाले दिनुहुन्छ । यस्तो हुँदा पनि नाशवान् वस्तुहरुको आसक्ति, ममता र कामनाले गर्दा अल्प-बुद्धि भएका मनुष्य भगवानको महत्ता र सुह्रित्ता जान्दैनन् । यसैले उनीहरु अज्ञानवश देवताहरुको उपासना गर्छन् ।
यो मनुष्यलोक कर्मभूमि हो । अरु लोकहरु भोगभूमि हुन् । मनुष्यलोकमा पनि नयाँ कर्म गर्ने अधिकार मनुष्यलाई मात्रै छ, पशु-पक्षी आदिलाई छैन । मनुष्य-शरीरमा गरिएका कर्महरुको फल नै लोक तथा परलोकमा भोगिन्छ। 
मनुष्यलोकमा कर्ममा आसक्ति भएका मनुष्य वस्छन् । कर्महरुको आसक्तिको कारण उनीहरु कर्मजनित सिद्धिमा नै लुब्ध हुन्छन् । कर्महरुवाट सिद्धि हुन्छ, त्यो सिद्धि चांडै मिल्ने भए पनि सँधै रहने खालको हुँदैन । कर्मको आदि र अन्त हुने हुनाले कर्मको फलको पनि त आदि र अन्त हुन्छ नि, सँधै रहिरहन कसरी सक्छ र ! यसैले नाशवान् कर्महरूको फल पनि नाशवान् नै हुन्छ । परन्तु कामना भएका मनुष्यको दृष्टि चांडै पाइने फलमा नै जान्छ, तर फलको नाशतिर जाँदैन । विधिपूर्वक गरिएका कर्महरुको फल देवतहरुवाट छिटै पाइन्छ, त्यसैले त्यस्ता कामना भएका मनुष्यहरु ती देवताहरुकै शरण पर्छन् र उनीहरुकै आराधना गर्छन् । कर्मजन्य फल चाहेको कारण उनीहरु कर्मबन्धनदेखि मुक्त हुँदैनन् र अन्तमा जन्मनु र मर्नु गरिरहन्छन् ।     
                       
वास्तविक सिद्धि कर्मजन्य नभएर 'भगवत्प्राप्ति' हो ।  भगवत्प्राप्तिको साधन -- कर्मयोग, ज्ञानयोग र भक्तियोग पनि कर्मजन्य नै हुन् । योगको सिद्धि कर्महरु द्वारा हुँदैन, कर्महरुको सम्बन्ध-विच्छेदले हुन्छ ।
कर्मयोगमा कर्महरुदेखि र कर्म-सामग्रीदेखि सम्बन्ध-विच्छेद गर्न नै कर्म गरिन्छन् । योग (परमात्माको नित्य-सम्बन्ध) त स्वतःसिद्ध र स्वाभाविक छ । अतः योग अथवा परमात्माप्राप्ति कर्मजन्य होइन । वास्तवमा कर्म सत्य होइन, प्रत्युत परमात्मप्राप्तिको साधनरूप कर्महरुको विधान सत्य हो । कुनै पनि कर्म जव सत् कोलागि गरिन्छ, त्यसको परिणाम सत् भएकोले त्यो कर्मको नाम पनि सत् हुन्छ ।
आफ़्नोलागि कर्म गर्दा नै 'योग' (परमात्मासँग नित्ययोग) को अनुभव हुँदैन । कर्मयोगमा अरुकोलागि नै सबै कर्म गरिन्छन्, आफ़्नोलागि अर्थात् फल-प्राप्तिकोलागि होइन । आफ़्नोलागि कर्म गर्दा मनुष्य वाँधिन्छ र अरुकोलागि कर्म गर्दा ऊ मुक्त हुन्छ । कर्मयोगमा अरुकोलागि नै सबै कर्म गर्दा कर्म र फलसँग सम्बन्ध-विच्छेद हुन्छ । यो सम्बन्ध-विच्छेद 'योग'को अनुभव गराउन हेतु हो ।
कर्म गर्न 'पर' अर्थात् शरीर, इन्द्रियहरु, मन, बुद्धि पदार्थ, व्यक्ति, देश, काल जस्ता परिवर्तनशील वस्तुहरुको सहायता लिनुपर्छ । 'पर'को सहायता लिनु परतन्त्रता हो । स्वरूप जस्ता-को-तस्तो छ । उसमा कहिले कुनै परिवर्तन हुँदैन । यसैले स्वरूपको अनुभूतिमा 'पर' भनिने शरीर आदि पदार्थहरुको सहयोगको लेश मात्र पनि अपेक्षा, आवश्यकता छैन । 'पर'सँग मानिएको सम्बन्धको त्याग भए स्वतःसिद्ध स्थितिको अनुभव हुनेछ ।      

यसरी सरसरी मेरा चिठीहरु पढ्दा त धेरै कुराहरु नबुझिएको जस्तो पनि हुन सक्छ । किनभने, विषय नै जटिल पर्यो । मैले पहिलेदेखि भन्दै आएको, यो ज्ञानले हामीलाई कुनै विशेष कुरा दिने होइन, हाम्रो अज्ञान नास्ने हो । अज्ञान हाम्रा इन्द्रियले देखिन सकिने पनि होइन, यो त हाम्रो अन्तःकरणको क्रिया हो । हामीमा भएको अज्ञान हाम्रो कामले, हाम्रो व्यवहारले, हाम्रो वोली वचनले देखाउँछ । एक जना स्वामीजी भन्नुहुन्छ, 'धर्म र अध्यात्ममा विल्कुल फरक छ, धर्म आजकल वजारमा देखिन्छ, अध्यात्म आफ्नो जीवनमा लागु गरिन्छ ।' गीतामा भगवान भन्नुहुन्छ, 'अध्यात्म ज्ञान नित्यत्वं तत्वज्ञानार्थ दर्शनम्, एतत् ज्ञानम् इति प्रोक्तम्, अज्ञानम् यदतोन्यथा' ।  अर्थ, अध्यात्मज्ञानमा सँधै लागिरहनु, यसैको चिन्तन गरिरहनु, तत्वज्ञानको विचार गरिरहनु -- यी दुई ज्ञान हुन्, यीदेखि वाहेक अज्ञान हुन् । गीता अनुसार, समस्त भौतिक ज्ञान अज्ञान नै हुन् । भौतिक ज्ञानले हामीलाई भोग र संग्रहमा लगाउँछ, आफूमा केन्द्रित हुन सिकाउँछ, तर अध्यात्म ज्ञानले साधकलाई भोग र संग्रह भन्दा माथि उठ्न सिकाउँछ, आफ्नो सानो घेरालाई विस्तार गर्न सिकाउँछ, सँधै शोक, चिन्ता र भयको जीवनवाट पार हुने कला सिकाउँछ । शास्त्रले हामीलाई शाश्वत ज्ञान प्रदान गर्छ, ती गुरुप्रदत्त शास्त्रीय ज्ञानलाई शिष्यले मनन गर्नु पर्छ, चिन्तन गर्नु पर्छ, ती ज्ञानलाई आफूले आफ्नो जीवनमा कसरी apply गर्ने भनेर सोच्नु पर्छ, त्यही अनुसार आचरण गर्नुपर्छ । यसो  हेर्दा यो काम गाह्रो लाग्छ, तर निरन्तरको धैर्य र उत्साहले सफलता प्राप्त हुन्छ । गीताको ज्ञानले हामी कसैलाई जोगी वन्न सिकाउँदैन, यसले जोगी वन्न तयार भएका अर्जुनलाई कर्मयोगी वन्न सिकायो, आफ्नो कर्तव्यको बोध गर्न सिकायो । पहिले त यस्तो कुरामा रुचि हुनु पर्यो, जिज्ञासा हुनु पर्यो, सँधै भोग र संग्रह गरिरहेका व्यक्तिहरुलाई यो ज्ञानको महानताको महत्व नै हुँदैन । त्यसैले गीता भन्छ, 'अनेक जन्म संसिद्ध: ततो याति पराम् गतिम्' । अर्थ, यस्तो ज्ञानको परिपूर्णताकोलागि धेरै जन्मको प्रयासको आवश्यकता पर्छ ।

यहाँ जन्म भनेको धेरै धेरै जन्म लिन सकिन्छ, धेरै धेरै समय पनि लिन सकिन्छ । सबभन्दा ठूलो, यो ज्ञानको महत्व बुझ्न यो ज्ञानप्रतिको आकर्षणले लगाउँछ । आकर्षण हुन पनि आकर्षण हुने व्यक्तिलाई यो ज्ञानको वारे केही न केही अग्रिम ज्ञान पनि हुनु पर्यो । मुख्य कुरो, अघिल्ला अघिल्ला प्रसंगमा भनिएको जस्तै, भोगको कामना नै यो ज्ञानको प्राप्तिमा मुख्य वाधा हो । हामीले गर्ने केही होइन, यसको प्राप्तिमा आएको वाधा हटाउने मात्रै हो ।
यस्तै हुन् हजुर, मेरा कुरा । अरु पछि ।

No comments:

Post a Comment