Sunday 27 April 2014

48. No. 19 श्लोक १८ अविनाशी, जान्नमा नआउने, र नित्य रहने यो शरीरीको यी देहहरु अन्त हुने भनिएका छन् ।

No. 19  

श्लोक १८ 

अविनाशी, जान्नमा नआउने, र नित्य रहने यो शरीरीको यी देहहरु अन्त हुने भनिएका छन् । यसैले हे अर्जुन ! तिमी युद्ध गर ।    

भगवानले आफ्नो उपदेशको आरम्भमा 'गतासून्' (मृत) र 'अगतासून्' (जीवित) -- यी दुई प्राणीहरुलाई अशोच्य भन्नुभयो । त्यसपछि वारहौं-तेर्हौं श्लोकहरुमा 'गतासून्'लाई अशोच्य वताउनकोलागि 'सत्' (नित्य)को वर्णन गर्नुभयो र चौधौं र पन्ध्रौँ श्लोकहरूमा। फेरि सत् र असत् --दुबैको वर्णन सोह्रौं श्लोकमा गर्नुभयो । यसपछि सत् को भाव र असत् को अभावको विवेचन मुख्यरूपले सत्रौं-अठारौँ श्लोकहरुमा गरेर एक प्रकरण पूरा गर्नुभयो ।              

यद्यपि भाव (हुनुपना) आत्माको नै हो, शरीरको होइन, तैपनि हामीवाट यो भूल हुन्छ, हामी पहिले शरीरलाई हेरेर त्यो शरीरमा आत्मालाई देख्छौं, पहिले आकृतिलाई हेरेर फेरि भावलाई  देख्छौं । माथि माथि लगाएको पालिश कहिलेसम्म टिक्छ? हामीले यो विचार गर्नु पर्यो कि आत्मा पहिले थियो कि शरीर पहिले थियो ? विचार गरेपछि सिद्ध हुन्छ, आत्मा पहिले छ, शरीर पछि छ, भाव पहिले छ, आकृति पछि छ । यसैले, गीता भन्छ, हाम्रो दृिष्ट पहिले भावरूप आत्मा तर्फ हुनुपर्छ, शरीर तर्फ होइन ।  

यही सन्दर्भमा मेरो गुरुजीको प्रवचनको याद आयो ।

मानौं, एउटा ड्रममा पानी छ, त्यो ड्रम भित्र ठूलो वरफको टुक्रा छ । त्यो वरफको माथिल्लो भागमा वरफमा   एउटा गहिरो कचौराको आकार छ, त्यसमा पनि पानी भरी छ । तर, वरफ छुट्टै छ, पानी छुट्टै छ, जुन काम वरफ ले गर्छ, त्यो काम पानीले गर्न सक्तैन । जस्तो, एक डल्ला वरफले कसैलाई हान्यो भने उसलाई चोट लाग्न सक्छ, तर एक वाल्टिन पानी कसैलाई छ्याप्यो भने उसलाई चोट लाग्दैन । तर एक छिन पछि त्यो ड्रममा गएर हेर्दा  वरफ छैन, पानी पानी छ । त्यो वरफ कहाँ गयो त ? भन्न खोजिएको, पानी विना वरफको स्वतन्त्र सत्ता छैन, तर वरफ  विना पानीको स्वतन्त्र सत्ता छ । 

अर्को कुरा, वरफ भित्र पनि पानी छ, वाहिर पनि पानी छ, तल पनि पानी छ, माथि पनि पानी छ । त्यो वरफ मा कुन् ठाउँमा पानी छैन त ? यसै गरी यो सम्पूर्ण ब्रह्माण्डमा, अझ हामीलाई ज्ञात, अज्ञात अनेकौं ब्रह्माण्डहरुमा त्यो सत्ता व्याप्त छ । हाम्रो सत्ता पनि त्यही पानीको ड्रममा वरफ भए जस्तै त्यो सर्वव्यापक सत्तामा ओतप्रोत छ ।  (अहिले हाम्रो आफ्नो भनिएको शरीर पानीमा देखिएको वरफ जस्तै केही क्षणकोलागि शरीर प्रकृतिद्वारा वरफ वन्यो, तर त्यो हाम्रो शरीर वनाउने प्रकृति पनि परमात्मा नै हो)    यो संसार र संसारका समस्त पंचमहाभूत, पंचतन्मात्रा, अव्यक्त प्रकृति माया हामीले, हाम्रो मनले कल्पना गरे जति समस्त व्यक्ति, वस्तु, पदार्थ त्यही ड्रममा देखिएको वरफ जस्तै हुन् । यही कारण, हामीले त्यही सर्वव्यापक प्रभुको शरण पर्ने हो, हामीलाई परेको समस्त घटना र परिस्थितिहरु त्यही परमात्माको खटनवाट भएका हुन् भन्ने ठान्ने हो । 'म त यो सृष्टिको भुसुना समान हुँ, मेरो अस्तित्त्व अथवा सत्ता पनि त्यही सत्ता नै हो ।' भन्ने  विचार वारम्वार गरिरहने, यही कुरामा आफ्नो मन बुद्धि स्थिर गर्ने, यसैमा हामीलाई आनन्द छ । स्वयं परमात्माले नै जीव (हामी) लाई 'मेरो' अंश भन्नुभएकै छ, 'ममैवांशो जीवलोके', अर्थ, 'जीव मेरो नै अंश हो'  भनेर । यही नै हामीले जान्नु पर्ने अन्तिम ज्ञान हो, यो भन्दा वाहेक केही छंदै छैन, हुनै सक्तैन, हुने  सम्भावना पनि छैन ।                
 
लौ त हजुर, यस्तै छन् मेरा कुरा ।

हजुरहरुको 

इन्दिरा 

No comments:

Post a Comment