Sunday 27 April 2014

49. No. 20 श्लोक १९ जो मनुष्य यो अविनाशी शरीरीलाई मार्ने मान्छ, र जो मनुष्य यसलाई मरेको मान्छ, ती दुवै यसलई (यो आत्मालाई) जान्दैनन् ।

No. 20 

श्लोक १९  

जो मनुष्य यो अविनाशी शरीरीलाई मार्ने मान्छ, र जो मनुष्य यसलाई मरेको मान्छ, ती दुवै यसलई (यो आत्मालाई) जान्दैनन् । किनभने यो (आत्मा) न मार्छ, न त मारिन्छ ।  

यो श्लोकको तात्पर्य, शरीरी कुनै क्रियाको कर्ता पनि होइन, कर्म पनि होइन, यसमा कुनै विकार पनि आउँदैन । जो  शरीर जस्तो शरीरीलाई पनि मार्ने र मर्ने किसिमको भन्ने ठान्छन्, तिनीहरु वास्तवमा शरीर र शरीरीको विवेकलाई महत्त्व दिंदैनन्, यो विचारमा अड्न सक्तैनन् । यस्ता व्यक्तिहरु त अविवेकलाई नै महत्त्व दिन्छन् ।           

शरीर र शरीरीको विवेकलाई महत्त्व नदिने भनेको, 'नित्य र अनित्य वस्तुको विवेक' नगर्ने भनेको हो । किनभने पहिले पनि हामीलाई कति चोटी बुझाइसकियो, शरीर अनित्य हो र शरीरी नित्य हो । त्यही पनि नबुझेर त्यही कुरा गरिरहनेलाई भगवानले 'विवेकलाई महत्त्व नदिने' भन्नुभयो, अर्को शब्दमा 'अविवेकी' भन्नुभयो ।    

तत्त्वज्ञानमा पुगिने विवेकले नै हो भन्ने कुराको चर्चा केही अघिको पत्रमा पनि भैसक्यो । विवेकलाई महत्त्व नदिने व्यक्तिले ज्ञानलाई पनि महत्त्व दिएन । त्यसो भए विवेकलाई महत्त्व नदिने अज्ञानी भयो । भगवानले गीतामा हामीलाई धेरै शब्दले गाली गर्नुभएको छ । उहाँ कहिले हामीलाई जन्तु भन्नुहुन्छ, कहिले आसुरी भन्नुहुन्छ, कहिले 'अल्पमेधसा' (छोटो बुद्धि भएको) भन्नुहुन्छ । साथै, उहाँ आफ्नो भक्तलाई 'महात्मा' (महान आत्मा, जसले आत्माको महानतालाई बुझेको छ) पनि भन्नुहुन्छ ।   भक्तको विषयमा उहाँको भनाइ:

'मच्चित्ता: मद्गतप्राणा: बोधयन्त: परस्परम् । कथयन्त्तश्च माम् नित्यं तुष्यन्ति च रमन्ति च ।।'        

अर्थ,  मच्चित्ताः = ममा चित्त भएका  मद्गतप्राणा = ममा प्राण अर्पण गर्ने भक्तजनहरु   परस्परम् = एक आपसमा  बोधयन्त: = मेरो गुण, प्रभाव आदि बुझाउँदै  च = र    कथयन्त: = ती गुण, प्रभावको कथन गर्दै    
नित्यम् = नित्य-निरन्तर  तुष्यन्ति = सन्तुष्ट रहन्छन्   च = र  माम् = ममा   च = नै   रमन्ति = प्रेम गर्छन् ।       

यहाँ भगवान आफ्ना अविचल (नडगमगाउने) भक्तको वर्णन गर्नुहुन्छ । भगवानको भक्तहरुको चित्त एक भगवानलाई छोडेर अन्त कहीं जाँदै जाँदैन । उनीहरुको दृष्टिमा जव एक भगवान सिवाय अरु केही छँदै छैन भने उनीहरुको मन कहाँ जाने, कसरी जाने, र किन जाने ?  ती भक्तहरु भगवानकोलागि नै वाँचछन् र उनीहरुको सम्पूर्ण चेष्टाहरु पनि भगवानको लागि नै हुन्छन् । कोही सुन्ने व्यक्ति आए भने उनीहरु भगवानको गुण, प्रभाव आदि भगवानका विलक्षण कुराहरु सुनाउँछन्, भगवानको लीला कथाको वर्णन गर्छन्, कोही सुनाउने व्यक्ति आए भने ती व्यक्तिहरुवाट प्रेमपूर्वक भगवानका लीला, कथाहरु सुन्छन् । न भन्ने व्यक्ति नै तृप्त हुन्छ, न सुनाउने नै तृप्त हुन्छ ।          

वृन्दावनका गोपिनीहरु, भक्त प्रल्हाद र सनतकुमार जस्ता भक्तहरु यो श्लोकमा वर्णित भक्तहरुका उदाहरण हुन् ।  

यही हो  हजुर, म पनि यहीं विदा लिन्छु ।

हजुरहरुको 

इन्दिरा 

Song from Hajurma's Cassette Collection: Hami Bhule chaun  

No comments:

Post a Comment