No. 21
श्लोक २०
यो
शरीरी न कहिले जन्मन्छ र कहिले मर्छ तथा यो उत्पन्न भएर फेरि हुने पनि यो
होइन । यो जन्मरहित, नित्य-निरन्तर रहिरहने, शाश्वत र अनादि छ । शरीर
मारिंदा पनि यो (शरीरी) मारिंदैन ।
हाम्रो (स्वयंको) र शरीरको स्वभाव विल्कुल अलग अलग छ ।
हामी शरीरसँग टाँसिएका छैनौं, शरीरसँग जोडिएका छैनौं । शरीर हामीसँग
जोडिएको पनि छैन । यसैले शरीर नरहँदा पनि हामीलाई कुनै फरक पर्दैन ।
अहिलेसम्म हामीले असंख्य शरीरहरू धारण गरिसक्यौं, र ती शरीरहरू छोडिपनि
सक्यौं, तर त्यसले हाम्रो सत्तामा कुनै फरक पर्यो र ? हामीलाई कुनै नोक्सान
भयो र ? हामी त जस्ता-को-तस्तो नै रह्यौं । यही किसिमले यो शरीर
छोडेपछि पनि हामी स्वयं जस्ता-को-तस्तो नै रहन्छौं ।
अर्को कुरा, हाम्रा हात, खुट्टा आदि हाम्रा शरीरका अंग भए
जस्तै यो शरीर शरीरीको अंश पनि होइन । वगेर जाने र विकारी हाम्रो अंग
हुँदैन; जस्तो कफ , पिसाव आदि वगेर जाने र घाउ, खटिरा आदि विकारी हुनाले
यी शरीरका अंग होइनन्, त्यस्तै वग्ने (परिवर्तनशील) र विकारी हुँदा यिनीहरु
शरीरको पनि अंग होइनन् ।
पहिले पहिलेका श्लोकहरुमा जस्तै यो शरीरको अनित्यता र
शरीरीको नित्यताको वारेमा नै विशद विस्लेषण गरिएको छ । वारम्वार यही
तथ्यको चर्चा भइरहेको किन होला जस्तो पनि हामीलाई लाग्छ । तर, विषय नै यति
गम्भीर भैदियो कि शरीर र शरीरी वीचको भेद वुझ्नै हामीलाई कठिनाइ पर्ने
गर्छ, त्यसमाथि यी दुई वीचको भेद बुझेर शरीरीलाइ आफू मान्नु पर्ने र
शरीरलाई आफू होइन भन्ने मान्नु पर्ने भयो । त्यो भेद मानेर हामीलाई हुने
फाइदा यत्ति मात्रै हो, त्यो सत्यलाई हामीले पूरापूर आत्मसात् गर्न सक्यौं
भने हाम्रो चिन्ता, शोक, मोह र भय हट्ने भयो । यहाँ यो प्रकरणमा हाम्रो
मनोवैज्ञानिक रोगको मनोवैज्ञानिक उपचार भैरहेको छ ।
एक व्यक्तिले एक जना महात्मालाई सोधेछ, 'किन स्वामीजी, म
हजुरको प्रवचनमा आउंछु, प्रवचन सुनुन्जेल मलाई हजुरको प्रवचन बुझेको जस्तो
लाग्छ,तर जव मेरो जीवनमा हजुरको प्रवचनको आवश्यकता महशूस हुन्छ, त्यो
वेलामा मलाई हजुरको प्रवचन अलिकति पनि सम्झना हुँदैन । आफ्नो विषय
पढेको विद्यार्थीलाई परीक्षामा उत्तर लेख्नु पर्ने ऐन मौकामा उसलाई आफूले
पढेको एक जात पनि नआएको जस्तै हुन्छ । किन यस्तो भएको होला ?'
ती महात्माको उत्तर: 'म तिमीलाई तिम्रो प्रश्नको उत्तर प्रश्नमा नै दिन्छु । मलाई भन, म विहान उठ्छु, मलाई भोक लाग्छ, म के गरौं ?'
अर्को व्यक्तिको उत्तर:'हजुरले भोजन गर्नुपर्यो ।'
महात्माको प्रश्न: 'फेरि दिउँसो मलाई भोक लाग्छ, म के गरौँ ?'
उत्तर: 'फेरि भोजन गर्नुहोस् ।'
फेरि प्रश्न: 'वेलुकी फेरि भोक लाग्छ, के गर्ने ?'
उत्तर: 'फेरि खानुहोस् ।'
महात्माले भन्नुभयो: 'ति म्रो प्रश्नको उत्तर तिमीले मैले तिमीलाई गरेको प्रश्नवाट थाहा पाइसक्यौ ।'
अव केही प्रश्नको उत्तरसँग म विदा लिन्छु ।
प्रश्न: स्वामीजी! सृष्टिको सेवा गर्ने व्यक्ति भगवानलाई कस्तो लाग्छ?
उत्तर: जस्तो तिम्रो छोराको सेवा गर्ने व्यक्ति तिमीलाई प्यारो लाग्छ ।
प्रश्न: स्वामीजी ! भगवानको दर्शन कसरी हुन सक्छ ?
उत्तर: भगवत् -प्रेमको महत्व हो, भगवत्-दर्शनको कुनै
महत्व छैन । भगवान दिनहुँ दिखियो र प्यारो लागेन भने तिम्रो विकास हुँदैन ।
भगवत्-विश्वास, भगवत्-संबन्ध र भगवत्-प्रेमको महत्व छ ।
आजलाई यत्ति । अरु पछि ।
हजुरहरुको
इन्दिरा
No comments:
Post a Comment