Friday 2 May 2014

54. No. 26 श्लोक २४ यो शरीरीलाई काट्न सकिंदैन, यसलाई पोल्न सकिंदैन, यसलाई भिजाउन सकिंदैन र यसलाई सुकाउन सकिंदैन ।

No. 26

श्लोक २४

 यो शरीरीलाई काट्न सकिंदैन, यसलाई पोल्न सकिंदैन, यसलाई भिजाउन सकिंदैन
र यसलाई सुकाउन सकिंदैन । किनभने यो शरीरी नित्य रहने, सबैमा परिपूर्ण,
अचल, स्थिर स्वभाव भएको र अनादि छ ।

शस्त्रले  यसलाई काट्न नसक्नुको कारण: छेदनरूपी क्रिया यो शरीरीमा  हुनै
सक्तैन, यो शरीरीमा वाल्ने क्रिया हुन सक्तैन, यो देहीलाइ भिजाउनै
सकिंदैन । यो शरीरी यस्तो छ कि यसमा क्रियाको प्रवेश हुनै सक्तैन । यो
देही नित्य-निरन्तर रहने स्वभावको छ । यो देही सबै समयमा जस्ता-को-तस्तो
रहन्छ, अर्थात् यो सम्पूर्ण व्यक्ति, वस्तु, र शरीरहरुमा एकरूपले
विराजमान छ । यो शरीरी सर्वगत छ ।
 ,
 यो देही स्थिर स्वभाव भएको, कहिले यसमा हुने, कहिले उसमा नहुने होइन,
यसमा आउने-जाने क्रिया हुँदैन । यो देही स्थाणु छ, यसमा हल्लाउने क्रिया
हुनै सक्तैन । हल्लाउन सकिने वस्तु सीमित हुनुपर्छ, असीमित तत्वलाई कसरी,
कसले हल्लाउने?

यो देही सनातन छ, यो कहिले भएको, कहिले नभएको हुनै सक्तैन ।

 'सर्वगतः' स्वयम् देहगत होइन, यो त सर्वगत छ--यस्तो अनुभव हुनु नै
जीवनमुक्ति हो । जस्तो शरीर संसारमा वसेको छ, त्यस्तै हामी शरीरमा वसेका
छौं । शरीरसँग हाम्रो मिलन कहिले भएकै छैन । शरीर हामीवाट धेरै टाढा छ ।
तर हाम्रो आफ्नै कामना, ममता र तादात्म्यले गर्दा हामीलाई शरीरसँग एकता
भए जस्तो लाग्छ । वास्तवमा शरीरीलाई शरीरको आवश्यकता नै छैन । शरीरी शरीर
नभए पनि आनन्दले रहन्छ ।

 श्लोक २५

यो देही प्रत्यक्ष देखिंदैन, यो चिन्तनको विषय होइन, र यसलाई निर्विकार
भनिन्छ । अतः यो देहीलाई यस्तो जानेर शोक गर्नु हुँदैन । यही विषयको नै
विस्तार:

जस्तो शरीर र संसार स्थूल-रूपले देख्नमा आउँछ, त्यस्तै यो शरीरी
स्थूल-रूपले देख्नमा आउँदैन ; किनकि यो शरीरी स्थूल-सृष्टिदेखि रहित छ ।
तर मन, बुद्धि त देख्नमा आउँदैनन्, तर चिन्तनमा आउँछन्,यिनीहरु सबै
चिन्तनका विषय हुन् । परन्तु यो देही चिन्तनको विषय पनि होइन; किनकि यो
सूक्ष्म सृष्टिदेखि पनि रहित छ ।

यो देहीलाई विकाररहित भनिन्छ, अर्थात् यसमा कहिले अलिकति पनि परिवर्तन
हुँदैन । प्रकृति सबैको कारण हो, त्यो कारणभूत प्रकृतिमा पनि विकृति
हुन्छ । परन्तु यो देहीमा कुनै प्रकारको विकृति  हुँदैन, किनकि यो कारण
सृष्टि देखि पनि रहित छ । यो देहीको वर्णन विधिमुखले गरिन्छ । तर
वास्तवमा यसको वर्णन हुनै सक्तैन; किनकि यो देही वाणीको  विषय पनि होइन ।
जसवाट वाणी आदि प्रकाशित हुन्छन्, त्यो देहीलाई यिनीहरु कसरी प्रकाशित
गर्न सक्छन् र ? अतः यो देहीको वारेमा यस्तो अनुभव गर्नु नै यसको वर्णन
गर्नु हो ।

 यसैले यो देहीलाई काट्न नसकिने, शोषन नसकिने, नित्य, सनातन, अविकारी आदि
जान्नु पर्छ । यस्तो जानेपछि हामीलाई शोक हुँदैन ।

 केही प्रश्नोत्तरहरु:

प्रश्न: महाराजजी ! के भगवत्-प्रेम पनि कामी र कामिनीको प्रेम जस्तो नै हुन्छ ?

उत्तर: कामी कामिनीलाई प्रेम गर्दैन । उनीहरु एक अर्कालाई नष्ट गर्छन् ।
भगवत्-प्रेम त प्रेमी र प्रेमास्पद  दुबैलाई  आल्हादित गर्छ ।


प्रश्न: के दुःख आउनु मानव पतित अथवा पापी भएको परिचय हो ?

उत्तर: दुःख आउनु पतित भएको फल होइन । दुःख त हाम्रो सुख-भोगको आसक्ति
मेटाउनलाई आउँछ ।

प्रश्न: महाराजजी ! धर्मात्मा कुन्  हुन्छ ?

उत्तर: समाजलाई जसको आवश्यकता हुन्छ ।

प्रश्न: व्यर्थ-चिन्तनवाट कसरी वच्ने ?

व्यर्थ-चिन्तन गरिसकिएको र गर्न वांकी भोगको प्रभाव हो । तिमीले त्यो
व्यर्थ-चिन्तनलाई असहयोग गर्नु पर्छ । त्यो व्यर्थलाई दवाउने पनि होइन,
त्यसवाट सुख लिने पनि होइन, भयभीत हुने पनि होइन, त्योसँग तादात्म्य
राख्ने पनि होइन । यसो गर्यो भने व्यर्थ चिन्तन प्रकट भएर नाश हुनेछ ।

मेरो आफ्नो अनुभवमा, सन्तहरुको यस्ता उपदेशहरूको विचारले  हाम्रो
चिन्तनको प्रवाहमा निकै मदत् पुग्छ ।

आजलाई यत्ति, अरु पछि ।

हजुरहरुको

इन्दिरा

No comments:

Post a Comment