No. 22
श्लोक २१
हे पृथानन्दन ! जो मनुष्य यो शरीरीलाई अविनाशी, नित्य, जन्मरहित र अव्यय जान्दछ, ऊ कसरी कसलाई मार्ला र कसरी कसैलाई मराउला ?
उत्पन्न हुने वस्तु त स्वतः मेटिन्छ, त्यसलाई मेटाउन पर्दैन । तर जुन वस्तु
उत्पन्नै हुँदैन, त्यो कहिले पनि हराउँदैन । हामीहरुले चौरासी लाख शरीर
धारण गरिसक्यौं, तर कुनै पनि शरीर हामीसँग रहेनन् र हामी पनि कुनै शरीरसँग
रहेनौं, तर हामी जस्ता-को-तस्तो अलग रह्यौं । तर यो कुरा जान्ने
विवेक्शक्ति अरु जन्ममा छैन, केवल मनुष्य शरीरमा मात्रै छ । यही जन्ममा
हामीले यो कुरा जानेनौं भने भगवानले हामीलाई दिएको विवेकलाइ हामीले
निरादर हुन्छ ।
यो शरीरीको नाश कहिले पनि हुँदैन, यसमा कहिले कुनै
परिवर्तन हुँदैन, यसको कहिले जन्म हुँदैन र यसमा कहिले कुनै किसिमको कमी
आउँदैन । यी कुरालाई जसले ठीक ठीक अनुभव गरेको हुन्छ, त्यस्तो पुरुषले कसरी
कसलाई मारोस् र कसरी कसलाई मराओस्, अर्थात् अर्कोलाई मार्न र मराउन त्यो
पुरुषको प्रवृत्ति नै हुन सक्तैन । यो शरीरी कुनै क्रियाको न कर्ता वन्न
सक्छ र न कारयीता नै वन्नसक्छ ।
यहाँ भगवानले यो शरीरीलाई अविनाशी,, नित्य, अज र अव्यय
भनेर त्यसमा हुने छ विकारहरुको निषेध गर्नुभएको छ । यो शरीरीलाई 'अविनाशी'
भनेर मृत्युरूप विकारको, 'नित्य' भनेर अवस्थान्तर हुने (एक अवस्थावाट
अर्को अवस्था प्राप्त हुने, अर्थात् वढ्नेरूप) विकारको, 'अज' भनेर जन्म
हुने र जन्मेपछि हुने सत्तारूप विकारको तथा 'अव्यय' भनेर क्षयरुप विकारको
निषेध गरिएको छ । यो शरीरीको कुनै पनि क्रियासँग अलिकति पनि कुनै पनि विकार
हुँदैन ।
यो प्रकरणमा भगवानले युद्धको प्रसंग भएकोले मार्ने,
मराउने कुरा गर्नु भएको हो । यसैले हामीले यो कुरा बुझ्नु पर्छ, युद्ध
भनेको हाम्रो जीवन हो, हाम्रो जीवनलाई कसरी कुनै पनि गुनासो
(grievances) विना नै चलाउन सक्ने शक्तिको विकास गर्नु हो । हामीले
भूतकालमा गरिएको घटनालाई लिएर हामीलाई पछुतो हुन सक्छ । हाम्रोलागि सबभन्दा
सुखी जीवन नै हामी स्वतन्त्र र स्वाधीन वन्नु हो । यो सन्दर्भमा म फेरि
हजुरहरुलाई उही हाम्रो स्वामीजीको प्रश्नोत्तर तर्फ लैजान्छु ।
प्रश्न: स्वामीजी ! स्वाधीनताको स्वरूप के हो ?
उत्तर: स्वाधीनताको अर्थ हो, आफूमा सन्तुष्ट हुनु, कुनै वस्तु अथवा परिस्थितिमा आवद्ध हुनु होइन ।
यो
उत्तरवाट हामीले यो बुझ्नुपर्यो, अहिलेसम्म हामीले स्वतन्त्रताको परिभाषा
नै गलत गरिरहेका रहेछौं । हाम्रो विचार अनुसार, हामीलाई सबै कुरा आफूले
सोचेको जस्तो हुनु पर्छ, अहिलेको जमाना अनुसार सम्पूर्ण सुख सुबिधा हामीले
पाउनु पर्छ, परिवारका हरेक सदस्यले आफूले भनेको जस्तो गर्न पाउनु पर्छ,
आदि, आदि । तर, विडम्वना यो छ कि हाम्रा परिवारका र समाजका सवै सदस्यले नै
यही धारणा राखेका हुन्छन् । यो सन्दर्भमा, के हामी हाम्रो धारणा अनुसार
कहिले स्वाधीन हुन सकौंला त ! तर सन्त वाणी त हाम्रो मान्यतालाई पूरापूर
खण्डन गर्छ ।
शास्त्र भन्छ, आफूमा सन्तुष्ट हुनु नै स्वाधीनता हो, यो
स्वाधीनतामा कुनै व्यक्ति, वस्तु र परिस्थितिको आवश्यकता पर्दैन । गीताको
तेस्रो अध्यायमा एक श्लोक आउँछ,
'यस्त्वात्मरतिरेव स्यादात्मतृ पश्च मानव: । आत्मन्येव च सन्तुष्टस्तस्य कार्यं न विद्यते ।।'
अर्थ, तु = परन्तु यः = जो मानवः = मनुष्य
आत्मरतिः, एव = आफू आफैंमा नै रमण गर्ने च = र आत्मतृप्त: = आफू
आफूमा नै तृप्त च = तथा आत्मनि = आफू आफैंमा एव = नै सन्तुष्ट: =
सन्तुष्ट स्यात् = छ, तस्य = उसकोलागि कार्यम् = कुनै कर्तव्य
छैन ।
परन्तु जो मनुष्य आफू-आफैंमा नै रमण गर्ने र आफू-आफैंमा नै तृप्त तथा आफू-आफैंमा नै सन्तुष्ट छ, उसकोलागि कुनै कर्तव्य छैन ।
यसवाट
यो बुझ्नु पर्यो हामीले, हाम्रो जीवनमा आफूले आफूलाई सुखी राख्ने काम नै
हाम्रो आफ्नो आफूप्रतिको कर्तव्य रहेछ । तर यो पनि विर्सनु भएन, हामीले
पाउने तृप्ति कुनै वस्तु, व्यक्ति र पदार्थमा आधारित हुनु भएन, कुनै वाहिरी
सुख साधनमा आश्रित हुनु भएन । यो कथन बुझ्नु त्यति सजिलो पनि छैन । किनभने
हामीले अहिले सम्म मानेको तृप्ति नै वाहिरी वस्तु, व्यक्ति र पदार्थमा
आधारित छ । अर्को शब्दमा, यो कथनले हाम्रो आफ्नो अहिलेसम्मको धारणामा नै
आघात गर्छ । यस्तो कुरा हामी जस्ता सिकारु साधकलाई पक्कै मीठो लाग्दैन ।
यही कारण, हामी मध्ये धेरैलाई यो विषयको चाख नै हराउन सक्छ । त्यसैले,
पहिले पनि प्रस्तुत भइसक्यो, हामीले ग्रन्थको यथार्थतालाई स्वीकार गर्न
सक्नु पर्छ । त्यसैले भगवान ले गीतामा वेदान्तमा चाख लिने
साधकलाई 'करोडौंमा एक' भन्नुभएको छ । गीताको विस्तृत अध्ययन गर्दा हामीलाई
यी कुराहरुको ज्ञान हुन्छ ।
यो श्लोकले यो भन्न खोजेको छ, कर्मयोगी निःस्वार्थ भावले
संसारको सेवाकोलागि नै सम्पूर्ण कर्म गर्छ । जस्तो गंगाजलले गंगाको नै पूजन
गरिन्छ, त्यस्तै संसारवाट मिलेको शरीर, इन्द्रियहरु, मन, बुद्धि र अहम्
लाइ संसारको नै सेवामा लगाई दिएपछि चिन्मय स्वरूप शेष रहन्छ । यसैले नै
उसको (त्यो कर्मयोगीको) प्रीति, तृप्ति र सन्तुष्टि स्वरूपमा नै हुन्छ ।
सांसारिक विधि र निषेध दुवै नै वास्तवमा निषेध नै हुन्;
किनकि यी दुवै नै सँधै रहिरहने होइनन् । यसैले संसारसँग सम्बन्ध विच्छेद
भएपछि कर्मयोगीकोलागि कुनै विधि-निषेध नै रहँदैन ।
हस् त, अहिलेलाई यत्ति, अरु पछि ।
हजुरहरुको
इन्दिरा
No comments:
Post a Comment