Wednesday 30 April 2014

53. No. 24 तेइसौं श्लोकको नै विस्तार: यो श्लोक यही अध्यायको तेर्हौं श्लोकको नै विस्तार हो ।

No. 24 
तेइसौं श्लोकको नै विस्तार: 
यो श्लोक यही अध्यायको तेर्हौं श्लोकको नै विस्तार हो । यहाँ मनुष्यवाट लुगा फेर्ने दृष्टान्त दिइएको छ । तर वास्तवमा विचार गर्दा समस्त प्राणीहरुमध्ये लुगा लगाउने त मनुष्यले नै हो । त्यसैले यहाँ लुगा लगाउने मानिसले मात्रै हो भनेर यो श्लोकमा 'नर' शब्दको प्रयोग भएकोछ ।
यो सन्दर्भ आत्माले पुरानो शरीर छोडेर अरु नयाँ शरीरहरु धारण गर्छ भन्ने कुरा गर्छ । यो प्रसंगले यो बुझायो, पुरानो शरीर छोड्नुलाई 'मर्ने' भन्ने रहेछ, नयाँ , शरीर धारण गर्नुलाई 'जन्मने' भन्ने रहेछ ।  ग्रन्थले हामीलाई यो भन्छ, जवसम्म प्रकृतिसँग सम्बन्ध रहन्छ, तवसम्म यो देही पुराना  शरीरहरु छोडेर उसको आफ्नो कर्महरु अनुसार अथवा उसको अन्तकालीन चिन्तन अनुसार नयाँ नयाँ शरीरहरू प्राप्त गरी रहन्छ । 
गीताको आठौं अध्यायमा अन्तकालीन चिन्तनको विशद व्याख्या छ ।
'यं यं वापि स्मरन्भावं त्यजत्यन्ते कलेवरम् ।
तं तमेवैति कौन्तेय सदा तद्भावभावितः ।
अर्थ, कौन्तेय ! = हे कुन्तीपुत्र अर्जुन ! अन्ते = मनुष्य, उसको अन्तकालमा, यम् ,यम् = जुन-जुन, वा, अपि =  पनि, भावम् =  भावको, स्मरन् =  स्मरण गर्दै, कलेवरम् = शरीर छोड्छ, सदा, तद्भावभावितः = ऊ त्यो अन्तकालको भावले सदा भावित वन्दै,  तम्, तम् = त्यो-त्यो, एव = नै, एति = प्राप्त हुन्छ अर्थात् त्यो त्यो योनिमा नै जान्छ ।
अर्थात्, हे कुन्तिनन्दन ! मनुष्य अन्तकालमा जुन-जुन पनि भावको स्मरण गर्दै शरीर छोड्छ , उ त्यो अन्तकालको भावले  सँधै  भावित हुँदै त्यही त्यही नै गति प्राप्त गर्छ अर्थात् त्यही त्यही योनिमा नै जान्छ   
यो श्लोकमा प्रस्तुत 'कुन्तिनन्दन' पदको नै व्याख्या गरौँ न त !
कुन्तीका छोरा भएकाले अर्जुनको नाम कुन्तिनन्दन भयो । हुन त यो शब्द कुन्तीका पाँचै छोरा र कर्णलाई पनि लागु हुन्छ । तर गीतामा वर्णित 'कुन्तिनन्दन' पद अर्जुनलाई मात्रै लागु हुन्छ । कुन्ती भक्तिको प्रतीक हुन् । उनको भगवत भक्ति, अझ सन्त भक्तिले नै दुर्वासा ऋषीलाई खुशी गरायो । भागवतमा कुन्तीको चरित्रले भक्तिको अनुपम उदाहरण प्रस्तुत गर्छ ।
महाभारतको युद्ध सकियो । भगवान कृष्ण द्वारका फर्कन लाग्नुभयो । उहाँले  आफ्नी फुपू कुन्तिलाई एउटा वर माग्ने निवेदन गर्नुभयो । त्यो वेला कुन्तीले कृष्णलाई भन्नुभयो, 'हे प्रभु, मलाई दुःख दिनुहोस्, जुन दुःखको प्रभावले म हरवखत हजुरलाई सम्झिरहन सकौं ।' कुन्तीको विचारमा, दुःख परेको वेलामा व्यक्तिले भगवानलाई सम्झन्छ, सुख परेको वेलामा सम्झंदैन । किनभने उहाँलाई थाहा थियो, उनका छोराहरुलाई दुःख परेको वेला उही भगवानले पाण्डवको सहायता गर्नुभएको थियो । हामी जस्ताहरु वर माग्नु पर्यो भने सुख माग्छौं, तर कुन्तीले दुःख माग्नु भयो ।
यही वरको रोचक प्रसङ्ग: कुनै गाउँमा कुनै बुढाबुढी वस्थे । बुढो रोगी थियो । बुढीले जंगलमा दाउरा खोजेर वेच्ने र आफ्नो दुलहालाई पाल्ने गर्थिन् । एक दिन दाउरा लिन जंगलमा गएको वेलामा बुढीले   आफूले भारी वनाएको दाउरा उचालेर आफ्नो टाउकोमाथि राख्न सकिनन् । उनले त्यही वेला भगवानलाई भनिन् , 'हे महादेव ! लौ न, यो भारी मैले कसरी बोक्ने होला ।' त्यही वेला लहडी महादेव त्यहाँ प्रकट हुनुभयो । उहाँले भन्नुभयो, 'ल, म तिमीलाई तीन ओटा वर दिन्छु, त्यसवाट तिमी सुखसंग वस ।'
ती बुढीले त्यो दाउराको भारी बोक्नकोलागि आफू युवती हुने वर् मागिन् । सो अनुसार आफू तरुनी पनि भइन्, दाउराको भारी वोकेर वजार गइन्, खाने सामान किनेर खुशी हुँदै घर आइन् । तर अचम्म, घरमा वसेको उनको दुलाहाले उनलाई चिन्न सकेनन्, उनले सबै वेली विस्तार लगाएपछि पनि उनले ती युवती वनेकी बुढीलाई स्वीकार गरेनन् ।  त्यसपछि फेरि उनले अर्को वरद्वारा आफ्नो श्रीमान्ले आफूलाई स्वीकार गरुन् भन्ने वर् मागिन् । ती बुढा श्रीमानले उनलाई  स्वीकारे।  त्यसपछि ती युवती वनेकी बुढीले राम्रोसँग  कमाइ गर्न थालिन् । केही समयपछि एउटा जवान केटाले उनीसँग विवाह गर्ने इच्छा प्रकट गर्यो । ती वनेकी युवतीलाई अर्को समस्या पर्यो । अव के गर्ने, कुनै किसिमले समस्या समाधान नभएपछि वांकी भएको तेस्रो वरले उनी फेरि बुढीको बुढी नै भइन् ।
फेरि यस्तै अर्को प्रसङ्ग :
एक जना युवक कतै कामको खोजमा हिंडेका थिए । भगवानको कृपा, एक दिन उनलाई भगवानसँग भेट भयो । भगवानले उनलाई एउटा मात्रै वर् माग्ने आज्ञा दिनुभयो । वर् माग्नको लागि सल्लाह लिन उनी आफ्नो घरमा आफ्नो मातापिता र श्रीमतीसंग 'के वर् मागौं' भनेर सोधे । उनका वावु अन्धा थिए । त्यसैले वावुले आफूले आँखा देख्न सक्ने वर् माग्ने कुरा छोरालाई भने । त्यसपछि उनकी आमाले नातिको मुख हेर्ने इच्छा प्रकट गरिन् । उता उनकी श्रीमतीले भनिन्,' धन न सन, यसै नाति मागेर के गर्ने, मलाइ त अकुत सम्पत्ति चाहिन्छ ।'
अव ती युवकलाई चिन्ता पर्यो । वर एउटा छ, लिस्ट तीनटा छ । उनले धेरै वेर विचार गरेर भगवानसँग भने, 'मेरो बाबुले मेरो घरको सातौं तलामा वसेर मेरो छोराले तल आँगनमा सुनको झोलुङ्गोमा खेलेको देख्न पाऊन् ।' 
अव विचार गरौं, पाएको वरलाई कसरी उपयोग गर्नलाई पनि विवेकको जरुरत पर्ने रहेछ । के थाहा, हामीलाई पनि भगवानबाट त्यस्तै अवसर मिलिरहेको तर हाम्रो गति  त्यही बुढीको जस्तो भइरहेको छ कि !
यो श्लोकले इंगित गर्ने अर्को कुरा, जवसम्म शरीरीलाई आफ्नो वास्तविक स्वरूपको यथार्थ बोध  हुँदैन , तवसम्म यो शरीरी अनन्तकालसम्म शरीर धारण गरी नै रहन्छ ।  यो प्रसंगमा भनिएको 'शरीरी' सूक्ष्म शरीर हो । गीताले हामीलाई यो पनि भनिरहेछ, पुरानो लुगा फुकाल्न र नयाँ लुगा लगाउन त मनुष्य आफैं सक्छ, यस्तो गर्न ऊ स्वतन्त्र छ, तर पुराना शरीरहरू छोड्न र नयाँ शरीरहरू धारण देहीको स्वतन्त्रता छैन । यहाँ भगवानको तात्पर्य स्वतन्त्रता र परतंत्रताको कुरा गर्ने नभएर शरीरको वियोगवाट हुने शोकलाई मेटाउने हो । जस्तो पुरानो कपडाहरु फुकालेर नयाँ कपडाहरु लगाउँदा हामी उहीको उही रहन्छौं, त्यस्तै पुराना शरीरहरू छोडेर नयाँ शरीरहरूमा जाँदा पनि देही जस्ताको तस्तो, निर्लिप्तरूपले नै रहन्छ;यसैले शोक गर्नुपर्ने कुनै कारण नै छैन । मलाई लाग्छ, हाम्रो शोक र चिन्ता हटाउन यही एक श्लोक नै पर्याप्त छ, अरु सबै कुरा त वाणीका विकार मात्र हुन् । यो कुरा मान्न हामीलाई कुनै वाधा, अड्चन छ भने हाम्रो 'अहंकार' मात्र हो । गीताको एक सन्देश नै हाम्रो अहंकारको नाश गर्नु हो ।
हस् त हजुर, कति वोलौं, कति लेखौँ, आजको पुण्यतिथिमा हामी सबैको अहंकारको नाश होस् ।
ओं असतो मा सद्गमय तमसो मा ज्योतिर्गमय मृत्योर्मा अमृतम् गमय । ओं शान्ति: शांतिः शान्ति: । हरि: ओं  श्री गुरुभ्यो नमः हरिः ओं ।
हजुरहरुको
इन्दिरा   

Song from Hajurma's Cassette Collection: Tan Man Bachan Le

No comments:

Post a Comment