Wednesday 30 April 2014

52. No.23 श्लोक २२ जस्तो मनुष्यले पुरानो लुगाहरु छोडेर अरु नयाँ लुगाहरु धारण गर्छ, त्यस्तै

No.23 
  
 श्लोक २२ 
 
जस्तो मनुष्यले पुरानो लुगाहरु छोडेर अरु नयाँ लुगाहरु धारण गर्छ, त्यस्तै देही पुराना शरीरहरू छोडेर अरु नयाँ शरीरहरूमा जान्छ ।
 
मनुष्य नयाँ नयाँ वस्तु चाहन्छ भने भगवान पनि उसलाई नयाँ नयाँ वस्तु (साधन सामग्री) दिइ रहनुहुन्छ । शरीर बुढो भयो भने भगवान उसलाई नयाँ शरीर दिनुहुन्छ । अतः नयाँ नयाँ इच्छा गर्नु भए पछि  नै जन्म मरणको हेतु हो । नयाँ नयाँ इच्छा गर्नेलाई अनन्तकालसम्म नयाँ-नयाँ वस्तु मिली नै रहन्छ । मनुष्यहरुका दुई शक्ति हुन्छन् -- इच्छाशक्ति र प्राणशक्ति । इच्छा शक्ति रहँदा रहँदै प्राणशक्ति नष्ट भयो भने नयाँ नयाँ जन्म भैरहन्छ ।  तर, तर जीवित अवस्थामा नै इच्छाशक्ति रहेन भने प्राणशक्ति नष्ट भएपछी  पुनः जन्म हुँदैन ।
 
यही कुरालाई हाम्रो स्वामीजीको प्रश्नोत्तरले पनि पुष्टि गर्छ ।
 
प्रश्न: जीवन्मुक्तिको स्वरूप के हो ?
 
उत्तर: इच्छाहरु रहँदा रहँदै प्राण छुट्यो भने मृत्यु हुन्छ । फेरि जन्म लिनु पर्छ र प्राण रहँदा नै इच्छाहरु समाप्त भए भने मुक्ति भयो । जस्तो, हामी वजार जाँदा खर्च गर्ने पैसा सकियो, तर किन्नुपर्ने सामान वांकी रह्यो भने हामीलाई फेरि वजार जानुपर्छ । त्यस्तै, हामीसँग पैसा वांकी रहँदा नै हाम्रो जरुरत समाप्त भयो भने हामीलाई किन वजार जानु पर्यो र ! अर्थात्, हाम्रो प्राण वांकी रहंदा नै हाम्रा इच्छा सकिए  भने हाम्रो अर्को जन्म हुने भएन । त्यसैले जीवनमुक्त भइसकेका तर आयु नसकिएका व्यक्तिहरुको शरीर छुट्नु  भन्दा पहिले हुने गरेका व्यवहार हामी मध्ये धेरैले प्रत्यक्ष देखेको पनि हुनुपर्छ । 
 
अघिल्लो पत्रमा पनि यही इच्छा वारे नै व्याख्या भएको थियो । त्यसको रुप अलि अर्कै थियो -- हाम्रो स्वीधनताको वारेमा । शास्त्र अनुसारको स्वाधीनतामा साधकलाई स्वाधीन हुन कुनै वाह्य वस्तु, व्यक्ति र पदार्थको जरुरत नपर्ने भयो । उसलाई आफैंमा रति, (कुनै विषय विना नै) हुने भयो । आफैंमा 'रति' हुनु भनेको त्यही एक अत्मतत्वमा, आफ्नै स्वरूपमा मग्न हुनु हो, त्यसैले त्यो 'आत्मरत' महापुरुषलाई आनन्दकोलागि भौतिक साधनको किञ्चित्  मात्र पनि जरुरत नपर्ने भयो, ती भौतिक विषयहरुको भोगको त कुरै छोडौं, चिन्तन मात्रले पनि उसको स्वरूप चिन्तनमा वाधा पर्ने भयो । त्यही कारणले नै उसलाई आफैंमा आफैंवाट तृप्ति हुने भयो । किनभने, शास्त्रले निर्वाधपूर्वक यस्तो घोषणा गर्छ, 'हे मनुष्य तिम्रो आफ्नो स्वरूप नै पूर्ण छ , तिमी सत, चित, आनन्द हौ, तिमीमा कुनै अपूर्णता छँदै छैन' । त्यो महापुरुषले आफ्नो साधनाकालदेखि  नै अनुभव गरिसकेको छ, कहिले पनि नमेटिने 'सन्तुष्टि' प्राप्त गर्न कुनै वाह्य सामग्रीको जरुरत पर्दैन, त्यसैले उ वाह्य वस्तुमा आकर्षित हुने कुरो नै आएन, अनि अनायास नै ऊ परमात्माको सृष्टिमा, उसको विधि विधानमा पूरा विश्वास र भरोसामा सन्तुष्ट हुँदै आफ्नो जीवन विताइरहेको हुन्छ । जस्तो केरा खाइसकेपछि हामीलाई वोक्राको मतलव हुँदैन, त्यस्तै, जीवनमुक्तले  उसको शरीरको प्रयोजन परमात्मप्राप्तिकोलागि हो भन्ने  बुझिसकेको हुन्छ, त्यही अनुसार उसलाई आफ्नो स्वरूपको अनुभव पनि भैसकेको हुन्छ, अव त्यो महापुरुषलाइ  यो शरीरमा अलिकति पनि आसक्ति रहँदैन । यही कारण, उसको वांकी जीवन वितिरहेको हुन्छ, तर, उसको स्वरूप चिन्तनमा  कहिले पनि, कुनै पनि उतारचढाव हुँदैन । यसैले शास्त्र भन्छ,
 
'आपूर्यमाणमचलप्रतिष्ठम्  समुद्रमापः प्रविशन्ति यद्वत् ।
तद्वत्कामा  यं प्रविशन्ति सर्वे स शान्तिमाप्नोति न कामकामी ।।
 
अर्थ, यद्वत् = जस्तो  आपः = सम्पूर्ण नदीहरुका जल  आपूर्यमाणम् = चारैतिरवाट आएका जलहरुद्वारा परिपूर्ण  समुद्रम् = समुद्रमा प्रविशन्ति =   आएर  मिल्छन्, तर  अचलप्रतिष्ठम् = समुद्र आफ्नो मर्यादामा अचल स्थित रहन्छ, तद्वत्  =  त्यस्तै   सर्वे = सम्पूर्ण  कामाः = भोग पदार्थ यम् = जुन  संयमी मनुष्यलाई,विकार उत्पन्न नै  नगरी  प्रविशन्ति = प्राप्त हुन्छन्, सः = त्यही मनुष्यलाई  शान्तिम् = परमशान्ति  आप्नोति = प्राप्त हुन्छ,  कामकामी = भोगहरुको कामना गर्नेलाई प्राप्त हुँदैन ।
 
यस्तै हो हजुर, मलाई मुख चिलाउँछ, हजुरहरुसंग कुरा गर्छु, हात चिलाउँछ , हजुरहरुलाई चिठी लेख्छु, हजुरहरुको आँखा चिलाएको छ, मेरो चिठी पढ्नु हुन्छ । यो भन्दा वढी केही होइन ।
 
हजुरहरुको
 
इन्दिरा         

No comments:

Post a Comment