Saturday 31 May 2014

69. No 41 श्लोक ४८ हे धनन्जय ! तिमी आसक्ति त्यागेर सिद्धि-असिद्धिमा सम भएर योगमा स्थित हुँदै कर्महरु गर, किनकि समत्व नै योग हो ।

No 41 
 
श्लोक ४८ 
 
हे धनन्जय ! तिमी आसक्ति त्यागेर सिद्धि-असिद्धिमा सम भएर योगमा स्थित हुँदै कर्महरु गर, किनकि समत्व नै योग हो ।
 
कुनै पनि  कर्ममा, कुनै पनि कर्मको फलमा, कुनै पनि देश, काल, घटना, परिस्थिति अन्तःकरण, वहिःकरण आदि प्राकृत वस्तुमा हाम्रो आसक्ति नभए हाम्रो कर्म निर्लिप्ततापूर्वक हुन सक्छ । यदि हामी  कर्म,फल आदि केहीमा पनि टाँसिन्छौँ भने हामी कसरी निर्लिप्त रहन सक्छौं ? निलिप्त नभई हाम्रो कर्म मुक्ति दिने कसरी हुन्छ ? 
 
यहाँ प्रश्न आउँछ:
 
आसक्तिको त्यागको परिणाम के हुन्छ ? यसको उत्तर हो, सिद्धि र असिद्धिमा समता हुनेछ ।
 
कर्म पूरा होस् अथवा नहोस्, सांसारिक दृष्टिले आफूले गरेको कर्मको फल अनुकूल होस् अथवा नहोस्, त्यो कर्म गर्दा आदर-निरादर, प्रशंसा-निन्दा होस् या नहोस, अन्तःकरणको शुद्धि होस् या नहोस् आदि आदि जति पनि सिद्धि र असिद्धिहरु छन्, तिनमा सम रहनु पर्छ ।        
 
कर्मयोगमा समता भएको व्यक्तिलाई आफ्नो मुक्तिको पनि मतलव हुँदैन । उसलाई लाग्छ,'जे सुकै होस्, मैले त खालि कर्तव्य-कर्म गर्ने हो ।' त्यो समता हाम्रो अन्तःकरणमा  निरन्तर वनी रहनुपर्छ । हामीलाई असंगता नभए पनि, समता नआए पनि हाम्रो उद्देश्य असंग हुने, सम हुने नै हुनु पर्छ । यो त नियम नै छ कि उद्देश्यमा भएको कुरो अन्तमा सफल भएरै छोड्छ । त्यसैले, साधनरुप समताले अर्थात् अन्तःकरणको समताले साध्यरुप समता स्वतः आउँछ । 
 
सिद्धि-असिद्धिमा सम भएपछि त्यो समतामा निरन्तर अटल भएर स्थित रहनु नै 'योगस्थ' हुनु  हो । यही समतामा हरदम स्थित रहँदै हामीले कर्तव्य-कर्म गर्नुपर्छ । समता नै योग हो, समता परमात्माको स्वरूप हो । 
 
 
'समता नै योग हो' --यो योगको परिभाषा हो ।  यो श्लोकको तात्पर्य, स्थूल, सूक्ष्म र कारण-शरीरवाट हुने सम्पूर्ण क्रियाहरु केवल संसारको सेवारूपले गर्ने हो, आफ्नोलागि होइन । यसो गरेर नै समता आउँछ ।
 
यही सन्दर्भमा बुद्धि र समता सम्बन्धि विशेष कुरोको  पनि वर्णन छ ।
 
बुद्धिका दुइ किसिम छन् --अव्यवसायात्मिका र व्यवसायात्मिका । जसमा संसारिक सुख, भोग,  आराम,मान-वडाई आदि प्राप्त गर्ने ध्येय हुन्छ, त्यो बुद्धि 'अव्यवसायात्मिका'  हुन्छ । जसमा समता प्राप्त गर्ने, आफ्नो कल्याण गर्ने नै उद्देश्य  रहन्छ,त्यो बुद्धि 'व्यवसायात्मिका' हुन्छ । अव्यवसायात्मिका बुद्धि अनन्त हुन्छ र व्यवसायात्मिका बुद्धि एक हुन्छ । बुद्धि अव्यवासायात्मिका भएको व्यक्ति स्वयम् अव्यवसायी हुन्छ, संसारी हुन्छ । व्यवसायात्मिका बुद्धि भएको व्यक्ति स्वयम् व्यवसायी हुन्छ, तथा ऊ साधक हुन्छ ।  
 
समता पनि दुइ प्रकारका हुन्छन् -- साधनरुप समता र साध्यरुप समता । साधनरुप समता अन्त:करण सम्बन्धी हुन्छ र साध्य रुप समता परमात्मस्वरूपको हुन्छ । सिद्धि -असिद्धि, अनुकूलता - प्रतिकूलता आदिमा सम रहनु, अर्थात् अन्तःकरणमा राग - द्वेष नहुनु साधनरुप समता हो । यो समताको वर्णनको  गीतामा विस्तृत व्याख्या गरिएको छ । यो साधनरुप समतावाट जुन स्वतः सिद्ध समताको प्राप्ति हुन्छ, त्यो साध्यरुप   समता हो, जसको वर्णन यही अध्यायको त्रिपन्नौं श्लोकमा  छ ।                    
 
एक संसारी हुन्छ, एक साधक हुन्छ, एक साधन हुन्छ,  एक साध्य हुन्छ । भोग भोग्ने र संग्रह गर्ने मात्रै उद्देश्य भएको व्यक्तिलाई संसारी भन्छन्, त्यो संसारीको व्यवसायात्मिका बुद्धि हुँदैन, उल्टो उसका बुद्धिहरु अनन्त हुन्छन्, अनन्त कामनाहरुको कारणले ।  व्यवसायात्मिका बुद्धि भएका साधकलाई यस्तो निश्चय हुन्छ, 'मलाई  त समता नै प्राप्त गर्नु छ, चाहे जे सुकै होस् ।' यस्तो निश्चय भएको व्यवसायात्मिका साधक व्यवहारमा आइपर्ने सिद्धि-असिद्धिमा, लाभ-हानिमा, अनुकूल-प्रतिकूल परिस्थितिमा सम रहन्छ,, राग-द्वेष गर्दैन । यस्तो साधनरुप समताले ऊ  संसारवाट माथि उठ्छ ।  यही साधनरुप समताले उसलाई स्वतःसिद्ध समरुप  परमात्माको प्राप्ति हुन्छ ।        

No comments:

Post a Comment