Monday 30 June 2014

111. No . 79 पहिलो श्लोकको वांकी हामीहरु धेरै जसो कर्म नगर्नमा जोड दिन्छौं ।

No . 79
पहिलो श्लोकको वांकी
हामीहरु धेरै जसो कर्म नगर्नमा जोड दिन्छौं । हामी कर्मदेखि उपरत भएर (हटेर) समाधिमा स्थित हुन चाहन्छौं । यस्तो गरे केही फाइदा त होला, तर यो नै अन्तिम लक्ष भने होइन । प्रवृत्ति (गर्नु) भन्दा निवृत्ति (नगर्नु) श्रेष्ठ हो, तर यो तत्व होइन ।
प्रवृत्ति (गर्नु) र निवृत्ति (नगर्नु) -- दुवै प्रकृतिको राज्य अन्तर्गत हुन् । निर्विकल्प समाधिसम्म सबै प्रकृतिका राज्य हुन्; किनकि निर्विकल्प समाधिवाट पनि व्युत्थान हुन्छ । समस्त क्रिया प्रकृतिमा हुन्छ, क्रिया नभई व्युत्थान हुन सम्भव नै छैन । यसैले, हिंड्ने, वोल्ने, हेर्ने, सुन्ने आदि जस्तो सुत्ने, उठ्ने, उभिने र मौन हुने, मुर्छित हुने र समाधिस्थ हुने पनि क्रिया नै हो । वास्तविक तत्व (चेतन-स्वरूप)मा प्रवृत्ति र निवृत्ति -- दुवै छैनन् । यो (चेतन-स्वरूप) प्रवृत्ति र निवृत्ति -- दुबैको प्रकाशक हो ।
शरीरसँग तादात्म्य भएर नै (शरीरलाई लिएर) 'गर्ने' र 'नगर्ने' -- दुई बिभाग (द्वन्द्व) हुन्छन् । वास्तवमा 'गर्ने' र 'नगर्ने' दुबैको जाति एकै हो । शरीरसँग सम्बन्ध राखेर 'नगर्नु' पनि वास्तवमा 'गर्नु' नै हो । 'जानु' एक क्रिया भए जस्तै 'उभिनु' पनि एक क्रिया नै हो । स्थूल दृष्टिले हेर्दा 'जानु'मा क्रिया छ, 'उभिनु'मा क्रिया छैन । तर सूक्ष्म दृष्टिले हेर्दा 'उभिनु'मा पनि क्रिया छ । यही कारण 'गर्नु' र नगर्नु', दुबैमा क्रिया छ । यसरी क्रियाहरु स्थूलरूपले देखिनु (प्रवृत्ति) प्रकृतिमा नै छ, त्यसै गरी स्थूल दृष्टिले क्रियाहरु नदेखिनु (निवृत्ति) पनि प्रकृतिमा नै छ । तर कर्मयोगी महापुरुषलाई प्रकृति र उसको कार्यवाट भौतिक तथा आध्यात्मिक र लौकिक तथा पारलौकिक कुनै प्रयोजन रहँदैन । त्यसैले उसलाई 'गर्न' र 'नगर्न'मा कुनै स्वार्थ रहँदैन ।

जडतासँग सम्बन्ध रहंदा नै 'गर्नु' र 'नगर्नु'मा प्रश्न हुन्छ; किनकि जडतासँग सम्बन्ध नभई कुनै क्रिया नै हुँदैन । कर्मयोगी सिद्धको जडतादेखि पूरापूर सम्बन्ध विच्छेद भएर प्रवृत्ति र निवृत्ति -- दुवैदेखि अतीत सहज निवृत्त तत्वमा आफ्नो स्वाभाविक स्थितिको अनुभव हुन्छ । त्यसैले हामीहरुलाई शरीरमा अहंता र ममतादेखि सम्बन्ध-विच्छेद गर्ने आवश्यकता छ । तत्व त सँधै जस्ता-को-तस्तै विद्यमान नै छ ।
शरीर तथा संसारसँग किञ्चित् मात्र पनि स्वार्थको सम्बन्ध नरहेको हुँदा त्यो महापुरुषको समस्त क्रियाहरु स्वतः अरुको हितकोलागि हुन्छन् । हाम्रो शरीरका सबै अंगहरु स्वतः शरीरको हितमा लागिरहे जस्तै त्यो महापुरुषको आफ्नो भनिने शरीर (संसारको सानो अंग) स्वतः संसारको हितमा लागिरहन्छ । उसको शरीरको भाव र त्यसका सम्पूर्ण चेष्टाहरु संसारको हितकोलागि नै हुन्छन् । आफ्नै हातहरुले आफ्नै मुख धुँदा आफूमा कुनै स्वार्थ, प्रत्युपकार अथवा अभिमानको भाव नरहे जस्तै आफ्नो भनिने शरीरद्वारा संसारको हित हुँदा पनि त्यो महापुरुषमा अलि कति पनि अभिमान हुँदैन ।
अहिले वर्णन भइरहेको महापुरुषकोलागि भगवानले तीन कुरा वताउनु भयो । ती हुन्, (१) कर्म गर्न उसको कुनै प्रयोजन रहँदैन, (२) कर्म नगर्नमा पनि उसको कुनै प्रयोजन रहँदैन, (३) कुनै पनि प्राणी र पदार्थसँग उसमा अलि कति पनि स्वार्थको सम्बन्ध रहँदैन अर्थात् केही पाउने  पनि उसको कुनै प्रयोजन रहँदैन ।
विचार  गर्दा, स्वरूपमा 'गर्ने' र 'नगर्ने'को कुनै प्रयोजन छैन र कुनै व्यक्ति तथा वस्तुसँग कुनै सम्बन्ध पनि छैन । किनकि शुद्ध स्वरूपद्वारा कुनै क्रिया हुँदैन । सबै क्रियाहरु प्रकृति र प्रकृतिजन्य पदार्थहरुको सम्बन्धले नै हुन्छ । यसैले आफ्नो केही गर्ने विधान छैन ।

 गर्ने राग, पाउने इच्छा, वाँच्ने आशा र मर्ने भय रहुन्जेल हामीमा कर्तव्यको दायित्व रहन्छ । तर यदि हामीमा कुनै क्रिया गर्ने अथवा नगर्नेमा कुनै राग छैन भने, संसारको कुनै पनि वस्तु  पाउने इच्छा छैन भने, जीवित रहने आशा छैन भने र मृत्युको भय छैन भने हामीलाई कर्तव्य गर्नु पर्दैन, वरु हामीवाट स्वतः कर्तव्य-कर्म भइरहन्छ । 'अकर्तव्य' हुने अवस्थामा मात्र 'कर्तव्य' पालनको प्रेरणा हुन्छ ।        
यस्ता कुराहरु पढ्दा हामीलाई लाग्छ, यी कुराहरु 'absurd' हुन् । तर, हामीलाई अध्यात्ममा साँच्चि नै चाख र श्रद्धा छ भने हामी यो ज्ञानमा अघि वढ्न सक्छौं । शास्त्र भन्छ, हामी धनी हुन, सुख पाउन पुण्य चाहिन्छ, तर सत्सँग पाउन 'ईश्वरकृपा'को जरुरत छ । त्यसो भनेर 'ईश्वरकृपा' भनेर यो प्रसङ्गलाई नै 'dismiss' गर्ने पनि होइन । यो पनि विचार गर्नु पर्यो हामीले, 'ईश्वरकृपा'कोलागि विशेष योग्यता पनि आवश्यकता छ हामीलाई । त्यसैले यी योग्यता पनि हासिल गर्नु छ हामीलाई ।हजुरहरुको हौसला वढाउनकोलागि पनि मैले भन्नु पर्ने कुरा हुन्छ, तर हजुरहरु आफूले नै विचार गर्नु पर्ने कुरो हो, 'मलाई ढिलो भैसक्यो ।'
यही प्रसंगको एउटा घटना प्रस्तुत गरौँ ।
हजुरहरुले हाम्रो काठमाडौँको एयरपोर्ट नजीक 'ध्रुवस्थली' भन्ने एउटा स्थान देखेको हुनुपर्छ । त्यो स्थान 'शिवपुरी वावा'को तपस्थली हो । हाम्रा स्वर्गीय राजा महेन्द्रको राज्याभिषेककोलागि भारतवाट तत्कालीन उपराष्ट्रपति सर्वपल्ली राधाकृष्णन  आउनु भयो नेपालमा ।  उहाँ  Delhi वाट काठमाडौँ आइपुग्नु भयो । त्यसपछि उहाँ आफ्नो guest house मा नै नगई शिवपुरी वावाको आश्रम 'ध्रुवस्थली' जानु भयो । त्यो वेलाको भेटघाटको वारेमा शिवपुरी वावा आफैंले वर्णन गर्नु भएको केही अंश:
राधाकृष्णनले  ध्रुवस्थली पुगेर शिवपुरी वावालाई उभिएर नमस्कार गरे र भुइँमा वसे । त्यसपछि उनले वावालाई प्रश्न गरे, 'what do you teach ?' (तपाईं के सिकाउनु हुन्छ ?)
जवाफ: I teach three disciplines -- social, moral and spiritual. (म तीन अनुशासन सिकाउँछु, सामाजिक, नैतिक र आध्यात्मिक)
प्रश्न: the whole truth in so few words? (त्यति ठूलो सत्य त्यति थोरै शब्दमा?)
त्यसपछि राधाकृष्णनले आफ्नो  पूरा entourage लाइ त्यही 'थोरै' शब्दको व्याख्या करीव पन्ध्र मिनेट लगाएर वहुत सुन्दर ढंगले गर्नुभयो । शिवपुरी वावाकै शब्दमा, राधाकृष्णनको व्याख्यावाट उहाँ आफैं पनि अत्यन्त प्रभावित हुनु भयो । उपराष्ट्रपतिले  आश्रमवाट फर्कने वेलामा शिवपुरी वावालाई 'दण्डवत्' गर्नु भयो । शिवपुरी वावाकै शब्दमा, त्यो वेला उहाँले राधाकृष्णनको चेहरामा 'दिक्दारी' (remorse) देख्नुभयो, 'अव म बुढो भइसकें, अव मैले यो ज्ञान यो जीवनकालमा पाउने हो या होइन भनेर' । शिवपुरी वावाको ज्ञानको विस्तृत वर्णन एउटा ब्रिटिशले एक नेपालीको सहायता लिएर लेखेको 'The Long Pilgrimage' भन्ने कितावमा छ । उक्त किताव रत्नपुस्तक भण्डारमा पाइन्छ जस्तो लाग्छ मलाई ।              
 

No comments:

Post a Comment