Thursday 3 July 2014

115. No. 83 पहिलो श्लोकको नै वांकी हामी परमात्मा प्राप्त गर्न सांसारिक वस्तु पाउने जस्तै कर्मजन्य

No. 83
पहिलो श्लोकको नै वांकी 

हामी परमात्मा प्राप्त गर्न सांसारिक वस्तु पाउने जस्तै कर्मजन्य (कर्मवाट प्राप्त हुने) भन्ने ठान्छौं । हामीलाई यो पनि लाग्छ, हामीलाई यो संसारका प्रख्यात व्यक्तिहरुसँग  भेट्न 
त कति परिश्रम गर्नुपर्छ भने परमात्मा भेट्न कति परिश्रम गर्नु पर्ला । तर यस्तो विचार हामीमा आउनुको कारण हाम्रो अज्ञान हो । 

मनुष्ययोनिको कर्मसँग धेरै सम्बन्ध छ । यसैले मनुष्यलाई 'कर्मसंगी' पनि भनिन्छ ।यही कारण हामीलाई कर्म गर्ने विशेष प्रवृत्ति रहेको र हामीले कर्मद्वारा नै आफूले चाहेको वस्तु प्राप्त गर्न चाहेको । प्रारब्धले साथ दिंदा हामी कर्मद्वारा नै आफूले खोजेको वस्तु प्राप्त गरिरहेका पनि छौं । यही अनुभवको आधारमा नै हामी कर्मद्वारा नै परमात्मा प्राप्ति गर्ने प्रयास गर्छौं । तर वास्तविकता हो, हामी परमात्मा कर्मले पाउन सक्तैनौं । यो विषयलाई निकै गम्भीरतापूर्वक बुझ्नुपर्छ हामीले ।

कर्मद्वारा नाशवान वस्तुको प्राप्ति हुन्छ, अविनाशी (परमात्मा)को प्राप्ति हुँदैन; किनकि सम्पूर्ण कर्म नाशवान्  (शरीर, इन्द्रियहरु, मन आदि)को सम्बन्धले नै हुन्छन् ।  तर परमात्माको प्राप्ति नाशवान् पदार्थसँग सर्वथा सम्बन्ध-विच्छेद भएपछि नै हुन्छ ।

हरेक कर्मको आरम्भ र अन्त हुन्छ, यसैले कर्मद्वारा प्राप्त फल पनि उत्पन्न र नष्ट हुन्छ । कर्म द्वारा पाइने वस्तु पनि उत्पन्न र नष्ट हुने खालका हुन्छन् । कर्मद्वारा पाइने वस्तु देश-कालको दृष्टिले अप्राप्त हुन्छन् ।संसारिक वस्तु एक देश, काल आदिमा रहने, उत्पन्न र नष्ट हुने एवं प्रतिक्षण वदलिइरहने हुन् । अतः तिनीहरुको प्राप्ति कर्म-साध्य छ । परन्तु परमात्मा सबै देश, काल, वस्तु, व्यक्ति आदिमा परिपूर्ण (नित्यप्राप्त) एवं उत्पत्ति-विनाश र परिवर्तनरहित छ । त्यसैले परमात्माको प्राप्ति स्वतःसिद्ध छ, कर्म-साध्य होइन । यही कारण संसारिक पदार्थको प्राप्ति चिन्तनवाट हुँदैन, तर परमात्माको प्राप्तिमा चिन्तन मुख्य छ । चिन्तनवाट पाइने वस्तु हामी आफूसँग अत्यन्त नजीक हुनुपर्छ । वास्तवमा परमात्मा हामीसंग अत्यन्त समीप भएकोले परमात्माको प्राप्ति चिन्तनरुप क्रियाले पनि हुँदैन । परमात्माको चिन्तन गर्ने सार्थकता नै अरु (संसार)को चिन्तनको नगर्न  हो । संसारको चिन्तन सर्वथा छुट्ने वित्तिकै नित्यप्राप्त परमात्माको अनुभव हुन्छ ।
सर्वव्यापी परमात्मा हामीवाट टाढा हुँदै हुनुहुन्न, जसवाट हामी आफूलाई अत्यन्त टाढा मान्दैनौं, त्यो 'म' पनावाट पनि परमात्मा अत्यन्त समीप हुनुहुन्छ । 'म' पना परिच्छिन्न छ, तर परमात्मा परिच्छिन्न हुनुहुन्न। यस्तो अत्यन्त समीपस्थ, नित्यप्राप्त परमात्माको अनुभव गर्नकोलागि सांसारिक वस्तुहरुको प्राप्ति जस्तो तर्क तथा युक्तिहरु लगाउने हो भने आफूले आफूलाई नै धोखा दिनु हुन्छ ।

सांसारिक वस्तुहरुको प्राप्ति इच्छा गरेर मात्रै हुँदैन, तर परमात्माको प्राप्ति उत्कट अभिलाषा मात्रैले हुन्छ । यस्तो उत्कट अभिलाषा जाग्रत हुन संसारिक भोग र संग्रहको इच्छा नै वाधक हुन्छ । हामीलाई परमात्मा प्राप्तिको उत्कट इच्छा अहिले नै जाग्रत भयो भने अहिले नै परमात्मा प्राप्त हुन सक्छ।

मनुष्यजीवनको उद्देश्य कर्म गर्नु र त्यसको फल भोग्नु होइन । संसारिक भोग र संग्रहको इच्छाको त्यागद्वारा परमात्माप्राप्तिको उत्कट अभिलाषा जाग्रत हुनलाई साधकको जीवनभरीको उद्देश्य परमात्मा प्राप्ति मात्रै हुनुपर्छ । परमात्माप्राप्ति सिवाय अरु कुनै पनि कार्यको महत्व हुनुहुन्न हामीमा । खासै भन्नु पर्दा, हाम्रो जन्मको प्रयोजन पनि परमात्मा प्राप्ति नै हो ।

यहाँ उद्देश्य र फलेच्छा -- दुवैको भेद बुझ्नु जरूरी छ । नित्य परमात्म तत्व प्राप्त गर्ने उद्देश्य  हुन्छ र अनित्य (उत्पत्ति-विनाशशील) पदार्थहरु प्राप्त गर्ने 'फलेच्छा' हुन्छ । उद्देश्य पूरा  हुन्छ, तर फलेच्छा मेटिने खालको हुन्छ । स्वरूपबोध र भगवत्-प्राप्ति --यी दुवै उद्देश्य हुन्, फल होइनन् । उद्देश्यप्राप्तिकोलागि गरिएको कर्मलाई  सकाम भनिंदैन । यसैले निष्काम-पुरुष-(कर्मयोगी)का सबै कर्म उद्देश्यलाई लिएर हुन्छन्, फलेच्छालाई लिएर हुँदैनन् ।

कर्मयोगमा गरिने  कर्महरु (जडता)सँग सम्बन्ध-विच्छेदको उद्देश्य राखेर शास्त्रविहित हुन्छन् । सकाम पुरुष फलको इच्छा त्यागेर अरुकोलागि कर्म (सेवा) गर्छ । कर्म नै फलरूपले परिणत हुन्छ । त्यसैले फलको सम्बन्ध कर्मसँग हुन्छ। उद्देश्यको सम्बन्ध कर्मसँग हुँदैन । निश्कम भावपूर्वक केवल अरुको हितकोलागि कर्म गर्दा 'परमात्मा हामीवाट टाढा हुनुहुन्छ' भन्ने धारणा हट्छ ।

'लोकसंग्रह' भनेको लोक मर्यादा सुरक्षित राख्न, अरुलाई असत् वाट विमुख गरेर सत् को सम्मुख गर्न निःस्वार्थभावपूर्वक कर्म गर्नु हो । यही कर्मलाई गीतामा 'यज्ञार्थ कर्म'को नामले पनि भनिन्छ । आफ्नो आचरण र वोलीवचनद्वारा अरुलाई असत् वाट विमुख गरेर सत् को सम्मुख गरिदिनु धेरै ठूलो सेवा हो; किनकि सत् को सम्मुख हुँदा व्यक्तिको सुधार एवं उद्धार हुन्छ।

कुनै पनि कर्तव्य-कर्म ठूलो र सानो हुँदैन । सानो या ठूलो कर्म कर्तव्य सम्झेर गर्दा समान नै हुन्छ । देश, काल, परिस्थिति, अवसर, वर्ण, आश्रम, सम्प्रदाय आदि अनुसार जे कर्तव्यकर्म आफ्नो सामुन्ने आउँछ, त्यही कर्म ठूलो हुन्छ । कर्मको स्वरूप र फलको दृष्टिले नै कर्म ठूलो अथवा सानो, घोर अथवा सौम्य हुन्छ । फलेच्छा त्याग गरेपछि सबै कर्म उद्देश्य सिद्धि गर्ने हुन्छन् । जडतासँग सम्बन्ध-विच्छेद भएपछि  साना ठूला सबै कर्म एकै हुन् ।

कर्मयोग मुक्तिको स्वतन्त्र साधन हो । यही क्रममा भगवान अर्जुनलाई भन्नुहुन्छ, तिमीले कर्मयोग अनुसार चल्यो भने परमसिद्धि मिल्छ भन्ने आदर्श स्थापित गर्नुपर्छ ।                  

No comments:

Post a Comment