112. No. 80 श्लोक १८ यही कारण तिमी निरन्तर आसक्तिरहित भएर कर्तव्य-कर्मको राम्ररी आचरण गर;
यही
कारण तिमी निरन्तर आसक्तिरहित भएर कर्तव्य-कर्मको राम्ररी आचरण गर; किनकि
आसक्तिरहित भएर कर्म गर्दा गर्दै मनुष्य परमात्मा प्राप्त गर्छ ।
पूर्वश्लोकमा वर्णित महापुरुषको आचरण
अनुसार नै आचरण गर्ने आज्ञा दिनुहुन्छ भगवान अर्जुनलाई । अर्थात् आफ्नोलागि
कर्म गर्ने आवश्यकता नरहँदा पनि सिद्ध महापुरुषवाट लोक-संग्रहकोलागि
क्रियाहरु भए जस्तै अर्जुनले पनि निष्कामभावले कर्तव्य-कर्म गरिरहे
परमात्मा प्राप्ति हुन्छ भन्ने आशय छ भगवानको । किनकि आफ्नो स्वरूप --
'स्व'कोलागि कर्म गर्नु र नगर्नुमा कुनै प्रयोजन छैन । कर्म सँधै
'पर'कोलागि, अरुकोलागि नै हुन्छ, 'स्व'कोलागि हुँदैन । त्यसैले अरुकोलागि
कर्म गर्दा कर्म गर्ने राग मेटिन्छ र स्वरूपमा स्थिति हुन्छ ।
आफ्नो स्वरूपदेखि भिन्न (जड) पदार्थहरु
प्रतिको आकर्षणलाई आसक्ति भनिन्छ । आसक्तिरहित हुन आसक्तिको कारण जान्न
पर्ने हुन्छ । 'म शरीर हुँ' र 'शरीर मेरो हो' -- यस्तो मान्दा शरीर आदि
नाशवान् पदार्थहरुको महत्व अन्तःकरणमा अंकित हुन्छ, र ती पदार्थहरुमा
आसक्ति हुन्छ ।
हामीलाई पतन गर्ने आसक्ति नै हो, कर्म
होइन । आसक्तिले गर्दा नै मनुष्य शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि जड
पदार्थहरुसँग सम्बन्ध मान्छ र आफ्नो आराम, सुखभोगकोलागि किसिम किसिमको कर्म
गर्छ । जडतासँग आसक्तिपूर्वक मानिएको सम्बन्ध नै मनुष्यलाई फेरि फेरि सुख र
दुःख दिइरहन्छन् । भन्न खोजिएको, हामीले आसक्तिरहित भएर जडतासँग
सम्बन्ध-विच्छेद गर्नुपर्छ सुख पाउनकोलागि ।
आसक्ति गर्ने मनुष्य अरुको हित गर्न
सक्तैन । आसक्तिरहित मनुष्यवाट स्वतःस्वाभाविक नै सम्पूर्ण प्राणीहरुको हित
भइरहन्छ । ऊवाट हुने सबै कर्म खालि अरुको हितकोलागि हुन्छ ।
संसारमा पाइएका साधन (शरीर आदि)वाट हामीले अहिलेसम्म
आफ़्नोलागि कर्म गरेका छौं । ती साधन सामग्रीलाई आफ़्नै सुखभोग र संग्रहमा नै
लगाएका छौं । यही कारण हामीलाई संसारको ऋण छ । त्यही ऋण तिर्न पनि हामीले
संसारको हितकोलागि कर्म गर्नुपर्छ । अव पनि आफ़्नोलागि कर्म गर्दा पुरानो ऋण
सकिंदैन, अरु नयाँ ऋण वढ्छन् । ऋणदेखि मुक्त हुन हामीलाई फेरि फेरि यही
संसारमा आइरहनु पर्छ । तर खालि अरुको हितकोलागि कर्म गरे पुरानो ऋण सकिन्छ र
आफ्नोलागि केही नगरे र केही नचाहे नयाँ ऋण वन्दैन । पुरानो ऋण सकिए र
नयाँ ऋण नबने वन्धनको कुनै कारण नै हुँदैन ।
कर्म निरन्तर रहँदैन, तर आसक्ति निरन्तर
रहिरहन्छ । यही कारण भगवान यो श्लोकमा हामीलाई निरन्तर आसक्तिरहित रहने
आज्ञा दिनुहुन्छ । 'मलाइ त कहिं पनि आसक्त हुनु छैन' भन्ने जागृति सँधै
हुनुपर्छ हामीलाई । यस्तो भावले निरन्तर जाग्रत हुँदै आफ्ना सामुन्ने आएका
सबै विहित कर्म कर्तव्य मात्र मानेर गर्नुपर्छ हामीले ।
आफ्नो स्वार्थको त्याग गरेर अरुको हित
गर्नु अर्थात् अरुको शास्त्रविहित माग पूरा गर्नु पर्ने हुन्छ गीता अनुसार ।
अर्को शब्दमा, कर्तव्यको सम्बन्ध परहितसँग छ ।
कर्तव्य-पालन
गर्न हामी सबै स्वतन्त्र र समर्थ छौं । प्रमाद र आलस्यले गर्दा अकर्तव्य
गर्ने खराव वानी वसिसकेको छ हाम्रो । त्यस्तै, फलको इच्छा रहंदा नै
वर्तमानमा कर्तव्य-पालन गर्न गाहारो पनि लाग्छ हामीलाई । नभए कर्तव्य-पालन
गर्न एकदम सजिलो छ । कर्तव्य-पालन परिस्थिति अनुसार हुन्छ । मनुष्य
प्रत्येक परिस्थितिमा स्वतन्त्रतापूर्वक कर्तव्य-पालन गर्न सक्छ । आसक्ति
मेट्ने उपाय नै कर्तव्य-पालन हो । अकर्तव्य गरे अथवा कर्तव्य नगरे आसक्ति
झन् वढ्छ । कर्तव्य अथवा अरुको हितकोलागि वर्तमानको आसक्ति र आफ़्नोलागि
केहि नखोजे भविष्यको आसक्ति मेटिन्छ ।
हामीले कर्तव्य-कर्म अत्यन्त सावधानी,
उत्साह तथा तत्परतासँग गर्नुपर्छ । कर्तव्य-कर्म गर्दा अलिकति मात्रै पनि
वेहोसी भयो भने कर्मयोगको सिद्धिमा वाधा लाग्छ । वर्ण, आश्रम, प्रकृति
(स्वभाव) र परिस्थिति अनुसार वताइएको कर्मलाई नै सहज कर्म पनि भन्छन् ।
भगवान अर्जुनलाई भन्नुहुन्छ, 'तिमी क्षत्रिय हौ, अतः तिमीलाई यो युद्ध
'घोर' लागे पनि यो युद्ध तिम्रो सहज कर्म हो ।' यसैले आफ्नो अगाडि आएको सहज
कर्मलाई अनासक्त भएर गरिदिनु पर्छ । अनासक्त हुँदा नै समता आउँछ हाम्रो
जीवनमा ।
No comments:
Post a Comment