Thursday 3 July 2014

116. No. 84 श्लोक २१ श्रेष्ठ मनुष्य जस्तो जस्तो आचरण गर्छन्, अरु मनुष्य पनि त्यस्तै त्यस्तै आचरण गर्छन् ।

No. 84

श्लोक २१

श्रेष्ठ मनुष्य जस्तो जस्तो आचरण गर्छन्, अरु मनुष्य पनि त्यस्तै त्यस्तै आचरण गर्छन् । श्रेष्ठ मनुष्य आफ्नो आचरण द्वारा जस्तो प्रमाण दिन्छ, अरु मनुष्य उही अनुसार आचरण गर्छन् । संसारलाई (शरीर आदि पदार्थ)लाई र स्वयं -(आफ्नो स्वरूप)लाइ तत्वले जान्ने व्यक्ति श्रेष्ठ हो । श्रेष्ठ व्यक्तिलाई हरदम यो अनुभव हुन्छ, शरीर, इन्द्रियहरु, मन, बुद्धि, धन, कुटुम्ब, जमीन आदि पदार्थ संसारको हो, आफ्नो होइन। यति मात्रै होइन, त्यो श्रेष्ठ पुरुष त्याग, वैराग्य,  प्रेम,ज्ञान,सद्गुण आदिलाई पनि आफ्नो मान्दैन; किनकि तिनीहरुलाई पनि आफ्नो मान्दा व्यक्तित्व पुष्ट हुन्छ। व्यक्तित्व नै कल्याणप्राप्तिमा वाधक हो ।  श्रेष्ठ पुरुषमा, जडताको सम्बन्धले हुने 'व्यष्टि अहंकार' त हुँदै हुन्न र 'समष्टि अहंकार' पनि व्यवहारकोलागि मात्रै हुन्छ । यो समष्टि अहंकार संसारको सेवामा लाग्छ, किनकि अहंकार पनि संसारको नै हो ।

संसारवाट पाइएको शरीर, धन, परिवार, पद, योग्यता, अधिकार आदि सबै पदार्थ सदुपयोग गर्न अर्थात् अरुको सेवामा लगाउने नै हो, उपभोग गर्न अथवा आफ्नो अधिकार जमाउनकोलागि होइन । संसारका वस्तुहरु आफ्नो र आफ़्नोलागि मान्ने व्यक्तिलाई भगवान चोर भन्नुहुन्छ । संसारका सबै पदार्थ समष्टिका हुन्, व्यष्टिका हुँदै होइनन्। यी पदार्थहरुसँग हाम्रो कुनै पनि सम्बन्ध छैन।  श्रेष्ठ पुरुषको आफ्नो भनिएका शरीर आदि पदार्थ, संसारको भएकोले स्वतः स्वाभाविक संसारको सेवामा लाग्छन् । सम्पूर्ण प्राणीहरुको हितमा श्रेष्ठ पुरुषको प्रवृत्ति हुन्छ।

'दिने' भावले समाजमा एकता, प्रेम  हुन्छ र 'लिने' भावले संघर्ष हुन्छ। 'दिने' भावले उद्धार गर्छ र 'लिने' भावले पतन गर्छ । शरीरलाई 'म' र 'मेरो' मान्दा नै 'लिने' भाव हुने हो शरीरसँग आफ्नो कुनै सम्बन्ध नमान्दा श्रेष्ठ पुरुषमा 'लिने' भाव किञ्चित मात्र पनि हुँदैन । यही कारण उसको प्रत्येक क्रिया अरुको हितकोलागि हुन्छ । यस्तो श्रेष्ठ पुरुषको दर्शन, स्पर्श, वार्तालाप, चिन्तन आदिवाट स्वतः अरुको हित हुन्छ । अझ, यस्ता व्यक्तिलाई स्पर्श गरेर वहने वायुवाट पनि अरुको हित हुन्छ ।

श्रेष्ठ पुरुष दुई प्रकारका हुन्छन् -- (१) अवधूत कोटीका र (२) आचार्य कोटीका । अवधूत कोटीका श्रेष्ठ पुरुष अवधूतहरुकोलागि नै आदर्श हुन्छन्, साधारण व्यक्तिकोलागि होइन । तर आचार्य कोटीका श्रेष्ठ पुरुष मनुष्य मात्रकोलागि आदर्श हुन्छन्। यहाँ वर्णन भएका श्रेष्ठ पुरुष आचार्य कोटीका हुन् । यस्ता श्रेष्ठ पुरुषका आचरण सँधै शास्त्र मर्यादा अनुकूल नै हुन्छ । कसैले देखोस् अथवा नदेखोस्, अहंता-ममता नभएको कारण उनीहरुवाट स्वाभाविक नै कर्तव्य-पालन हुन्छ । उसमा, कसैलाई थाहा भए पनि, नभए पनि, परहितको भाव भएको कारणले संसारैको उपकार हुने गर्छ । व्यक्तित्व भनेकै अहंता र ममता हो, त्यही अहंता र ममता मेटिएपछि, भगवानको त्यो पालन-शक्तिसँग उसको एकता हुन्छ। त्यही एकतावाट संसारको नै हित भइरहेको हुन्छ ।

एकै शरीरका सबै अंग भिन्न-भिन्न हुँदा पनि एक नै हुन्; किनभने जुन अंगमा पीडा हुँदा पनि मनुष्य आफ्नै पीडा सम्झन्छ। त्यस्तै संसारका सबै प्राणी छुट्टा-छुट्टै हुँदा पनि एक नै हुन्। शरीरको कुनै रोगी अंग स्वस्थ भयो भने शरीरको कल्याण (हित) हुन्छ, त्यस्तै मर्यादामा रहेर प्राप्त वस्तु, समय, परिस्थिति आदि अनुसार आफ्नो कर्तव्य-पालन गर्ने मनुष्यद्वारा सम्पूर्ण संसारको स्वतः हित हुन्छ ।

श्रेष्ठ पुरुषको भाव र आचरणवाट अरु व्यक्तिलाई धेरै प्रभाव पर्छ । आफ्नो वर्ण, आश्रम, सम्प्रदाय आदि आचरणहरु राम्रोसँग पालन गर्ने महापुरुषले भनेको वचनवाट अर्को वर्ण, आश्रम, सम्प्रदायका व्यक्तिहरुमा पनि धेरै प्रभाव पर्छ ।

वास्तवमा, श्रेष्ठ मनुष्य आफ्नोलागि कुनै आचरण गर्दैन र उसमा कर्तृत्वाभिमान पनि हुँदैन, तर अरुको दृष्टिमा उसले गरेको आचरण श्रेष्ठ जस्तो देखिन्छ । ऊ द्वारा सबैको उपकारकोलागि स्वतःस्वाभाविक क्रियाहरु हुन्छन्। आफ्नो कुनै स्वार्थ नभएको हुँदा ऊवाट हुने साना ठूला सबै क्रिया स्वतः अरुको हित गर्ने खालका हुन्छन्। खासै भन्नु पर्दा उसकोलागि कुनै कर्तव्य नै छैन र उसमा 'गर्ने' अभिमान पनि हुँदैन। तर ऊद्वारा सुचारुरूपले कर्तव्य पालन भइरहेको हुन्छ, ऊद्वारा स्वतःस्वाभाविक लोकसंग्रह हुन्छ।

समाजमा श्रेष्ठ देखिएको व्यक्तिको अनुसरण साधारण व्यक्ति गर्छन्, त्यस्तै आचरण पनि गर्छन्। अन्तःकरणमा धन र पदको महत्व, त्यस्तै, लोभ रहनाले हामीहरु धेरै धनी (लखपति,करोडपति) तथा ठूला ठूला पदमा आसीन (नेता, मंत्री) पुरुषहरुलाई श्रेष्ठ मान्छौं र उनीहरुलाई धेरै आदरको दृष्टिले हेर्छौं। जड वस्तुहरु  (धन, पद)को महत्व भएका व्यक्तिहरु न त आफैं श्रेष्ठ हुन्छन् र न श्रेष्ठ व्यक्तिलाई नै बुझ्न सक्छन्। उनीहरुले श्रेष्ठ भन्ने व्यक्ति पनि वास्तवमा श्रेष्ठ हुँदैन।  तर, गीता धनी, पदीय व्यक्तिहरुलाई श्रेष्ठ मान्दैन। यहाँ वर्णन भैरहेको श्रेष्ठ व्यक्तिको अन्तरिक स्थितिको वर्णन भैरहेको छ। गीता अनुसार, अझ हाम्रै अनुभवले पनि भनिरहेछ, हामीले आफ्नो होश सम्हाल्न सक्ने भएदेखि अहिलेसम्म जानेका, गरेका काम कारवाहीले के हामीलाई कहिले पनि नाश नहुने शान्ति दियो त !

मलाइ कसैले सोध्छ, 'तिम्रो वजन कति हो?' म भन्छु, 'पचास केजी' वास्तवमा यो वजन मेरो होइन; किनकि शरीर पनि 'मेरो' नै हो 'म' होइन। म मेरो परिचय हजुरहरुलाई शरीरद्वारा दिन सक्तिन। फेरि प्रश्न आउँछ, मेरो शरीरको वजन मेरो जन्म हुँदा कति थियो ? जवाफ छ, 'दुई केजी'। त्यो दुई केजी वजन पनि मैले मेरी आमाले खाएको अन्नको हो, मेरो होइन। जन्म हुँदाको दुई केजी अन्न अहिले वढेर पचास केजी भयो। मैले मेरो भनेको वजन त अन्नको रहेछ, मेरो होइन रहेछ। 'म' त वजनदेखि रहित रहेछु। यस्तो वजन नै नभएको 'म' कसरी धनी-गरीव, डाक्टर-इन्जिनियर, मन्त्री-नेता भएँ त? 'म' मा कुनै,केही उपाधि नै छैन, उपाधि पनि कल्पित हुन्, मिथ्या हुन्। त्यस्तो मिथ्या मान-सम्मान, मोटो-दुब्लो, धनी-गरीव, स्वस्थ-रोगी शरीरलाई लिएर म भन्ने र त्यही नक्कली 'म'लाई नै सत्य मानेर आचरण गर्ने हामीलाई कसरी शान्ति हुन्छ? जीवनको उत्तरार्धमा हुने मानसिक अशान्ति नहोस् भन्ने तात्पर्य छ गीताको। आदि गुरु शंकराचार्यको 'भज गोविन्दम्'मा यही कुराको विस्तृत वर्णन छ ।

'भज गोविन्दम् भज गोविन्दम् गोविन्दम् भज मूढ़मते ।
प्राप्ते सन्निहिते मरणे  न हि न हि रक्षति डुक्रियंकरणे ।
हे मूर्ख, गोविन्द भज, गोविन्द भज, गोविन्द भज ।
तिमी मर्ने वेला तिम्रा नाता-गोता, धन-सम्पत्ति, विद्या-वुद्धिले केही गर्न सक्तैनन् ।

No comments:

Post a Comment