Monday 30 June 2014

114. No. 82 श्लोक २० यही कर्मयोगद्वारा नै राजा जनक जस्ता धेरै महापुरुषहरुले परम सिद्धि पाए ।

No. 82
श्लोक २०
यही कर्मयोगद्वारा नै राजा जनक जस्ता धेरै महापुरुषहरुले परम सिद्धि पाए । यसैले लोकसंग्रहको विचार गर्दै तिमी पनि निष्कामभावले कर्म गर्न योग्य छौ । अर्थात् तिमीले पनि आफ्नो कर्तव्य-कर्म गर्नै पर्छ । 

भगवान भन्नुहुन्छ, राजा जनक र अरु धेरै राजाहरुले  गृहस्थाश्रममा रहेर सबै कर्महरु निष्कामभावले गर्दै सिद्धि पाए । गीताको  चौथो अध्यायमा भनिन्छ, यो कर्मयोग धेरै पुरातन योग हो । यो कर्मयोगको पालन सूर्यले, वैवस्वत मनु आदि राजाले पनि गरेका थिए । यही क्रममा अव वर्तमानमा र पछि पनि अरु कसैले यो कर्मयोग अनुसार आफ्नो जीवन चलाउँछ भने उसको कल्याण हुन्छ । कर्मयोगमा आफूले पाएको शरीर आदिलाई कहिले पनि आफ्नो र आफ्नोलागि  नमान्ने, किनकि यी हाम्रा हुँदै होइनन्, केवल संसारको सेवाकोलागि पाइएका हुन् । हामीले यो वास्तविकतालाई बुझ्नु पर्छ र कर्मयोगको आचरण गर्नुपर्छ । संसारसँगको सम्बन्ध विच्छेद गर्नु नै कर्मयोगको पहिलो र अन्तिम लक्ष हो । कर्मयोग नै परमात्मप्राप्तिको सुगम, श्रेष्ठ र स्वतन्त्र साधन हो -- यसमा कुनै पनि सन्देह छैन ।

यहाँ यो पनि भन्न खोजिएको हो, आसक्तिरहित भएर कर्म गरे नै मनुष्य कर्मबन्धनदेखि मुक्त हुन्छ, कर्म मात्रै गरे त उ कर्म बन्धनमा पर्छ ।
गीतामा एक श्लोकको व्याख्या गर्दा पहिलो श्लोकको पनि (पहिले गरिए पनि) व्याख्या भइरहेको हुन्छ , अर्को श्लोकको भूमिका पनि वनिरहेको हुन्छ । धेरै सन्तहरुको वचन छ, गीताको एक एक श्लोक नै एक एक गीता हो । एक श्लोकको अर्को श्लोकसंग  मीठो सम्बन्ध छ । यसरी यहाँका सबै श्लोक नै एक अर्कासँग स्वतन्त्र रहँदै एक अर्काका पूरक पनि छन् ।

वास्तवमा चिन्मय परमात्माको प्राप्ति जड कर्मवाट हुँदै हुँदैन । नित्य-प्राप्त परमात्माको अनुभव हुन भएको वाधा नै हाम्रो आसक्ति, कामना, ममता हो । हामीलाई केही गर्नु छैन, हाम्रो स्वरूपमा पनि हामीले केही गर्नु छैन, केवल हाम्रो अन्तःकरणको शुद्धि गर्नु छ । नित्य, शुद्ध, बुद्ध, मुक्त, सनातन परमात्मा छ, त्यस्तै नित्य, शुद्ध, बुद्ध, मुक्त, सनातन शाश्वत जीव छ । यी दुइमा  तात्विक भेद छँदै छैन, केवल उपाधि भेद छ । परमात्मामा 'परम' उपाधि छ, जीवात्मामा 'जीव' उपाधि छ । उपाधि पनि कल्पित हो । कल्पितमा विश्वास गर्नु नै अज्ञान हो । कल्पितलाई कल्पित नै मानेर व्यवहार गर्दा शोक, मोह हुँदैन । जस्तो, हामो प्रियजनको निधनवाट हामीलाई शोक भइरहेको हुन्छ । त्यो शोक त्यस्तो कुनै अवसर आउने वित्तिकै हामीवाट प्रकट हुन्छ । तर वास्तविकता हो, यहाँवाट शरीर छुटेर गैसकेको आत्मा (सूक्ष्म शरीर)ले एक क्षण पनि, आफूले छोडेर गैसकेका नाता सम्बन्ध, घर-परिवार, कुटुम्ब सम्झंदैन । उसले स्वार्थी भएर यस्तो गरेको पनि होइन । गीताले हामीलाई भनिरहेछ, 'यो शरीर त केवल एउटा लुगा हो । पहिले लगाएको पुरानो लुगा फुकालेर नयाँ लुगा लगाउँदा मनुष्यले शोक नगरे जस्तै यहाँवाट शरीर छुटिसकेको आत्माले पहिलेको शरीर सम्झने फुर्सत नै उसलाई कहाँ हुन्छ र ?' नभए त हामीलाई  पनि पहिले छुटिसकेको शरीरको, परिवारको, धन सम्पत्ति आदिको सम्झना हुनु पर्ने । हाम्रा पहिलेका सम्बन्ध आदि अहिले हामी वसेका क्षेत्र वरिपरि नै पनि हुन सक्छन्, हामी तिनीहरुलाई सम्झंदैनौं त, वास्ता गर्दैनौं त ! किनभने वितिसकेका व्यक्ति, घटना आदिलाई लिएर शोक गर्नेलाई कसैले पनि 'ठीक' भन्दैन । शोक, मोह हुने नै अज्ञानले हो । ज्ञानले व्यक्तिलाई शोक गराउँदैन । कहिले काहिं हजुरलाई लाग्न सक्छ, 'आआआ ! जे सुकै होस्, किन जान्नु पर्यो यस्तो ज्ञान, पछि जे जे हुन्छ हुन्छ, के वास्ता !' तर शास्त्र भन्छ, 'तिमीले त्यसो भन्नु तिम्रो अज्ञान हो, तिमीलाई अरु कसैले दुःख दिएको छैन, केवल तिम्रो अज्ञानले दुःख दिइरहेछ । जुन कुरोले दुःख दिएको छ, त्यो नै हटाउन तिमी कटिवद्ध छैनौ भने, आतुर छैनौ भने तिमीलाई के भन्ने ?' अहिले मैले हजुरहरुलाई लेखिरहेको र हजुरहरुले पढिरहेको कुरोको प्रयोजन नै हामीमा रहेको अज्ञान फाल्नु नै हो । जवसम्म हामीमा अज्ञान रहन्छ, तवसम्म हामीलाई शोक, मोह भइरहन्छ । हामीलाई वेला वेलामा लाग्छ, हाम्रा प्रियजनको सम्झनामा रुनु, उसलाई सम्झेर विलौना गर्नु स्वाभाविक हो, यो सबैले गर्छन् । तर शास्त्र भनिरहेछ, 'तिमी यसो  गर्छौ भने तिमी मूर्ख हौ' । अरु साधारण व्यवहारमा त हामीलाई कसैले मूर्ख भनेको मन पर्दैन, गीताले पनि मूर्ख भनिरहेको हामी स्वीकार गर्छौं भने ठीकै छ । यसपछि शास्त्र मौन रहन्छ, किनभने उसले बुझेको छ, अज्ञानीलाई ज्ञान दिनु हुँदैन ।   


Song: Ram Namo Adhara
courtesy Hajurma's Cassette Collection

No comments:

Post a Comment