Monday 30 June 2014

113. No. ८१ पहिलो श्लोकको वांकी मनुष्ययोनिमा हाम्रो जन्म हुँदा हामीले पाएका शरीर, धन, घरजग्गा आदि

No. ८१

पहिलो श्लोकको वांकी

मनुष्ययोनिमा हाम्रो जन्म हुँदा  हामीले पाएका शरीर, धन, घरजग्गा आदि सबै  सामान हामी यहाँवाट जाँदा छुट्ने कुरा त हामीलाई थाहा  छ । यो पनि भन्न सकिन्छ, शरीर आदि सबै सामग्री हामीले पाएका हौँ, हाम्रा आफ्ना होइनन् । यी शरीर आदि सामग्री संसारका सेवा गर्नलाई हुन्, आफ्नो मान्नलाई होइनन् । कर्मयोग भनेको नै संसारमा मिलेका सबै सामानलाई संसारको नै मानेर सेवा गर्ने हो, आफ्नो मानेर उपभोग होइन । यसरी संसारको हितकोलागि हामीवाट काम भयो भने  संसारसँग सम्बन्ध-विच्छेद हुन्छ र (परमात्मासँग नित्य सम्बन्ध)को अनुभव हुन्छ हामीलाई  । यसरी 'कर्म' र 'योग' मिलेर कर्मयोग हुन्छ । कर्म संसारकोलागि हुन्छ र योग आफ्नोलागि । यहाँ भनिएको 'योग ' हामीले कुनै काम गरेर पाउने 'ज्याला' जस्तो भयो ।
संसार साधन-क्षेत्र हो । यहाँका सबै सामग्री साधनको रूपमा पाइन्छन्, भोग र संग्रहकोलागि होइनन् । संसारिक सामग्री आफ्नो र आफ़्नोलागि हुँदै होइनन् । आफ्नो वस्तु--परमात्म तत्व पाइएपछि फेरि अरु कुनै वस्तु पाउने इच्छा नै रहँदैन । तर संसारिक वस्तु, चाहे जति नै होस्, जति पाउँदा पनि अरु पाउने इच्छा हराउँदैन ।

हामी संसारमा बाँधिने एक मात्र कारण नै संसारमा पाइएको वस्तुलाई आफ्नो र आफ़्नोलागि मान्नु हो । यस्तो गल्ति हटाउन नै कर्मयोगको अनुष्ठान वताइयो शास्त्रमा । कर्मयोगी कुनै  पनि वस्तुलाई आफ्नो र आफ़्नोलागि नमानेर ती वस्तुहरुलाई अरुको सेवामा लगाइदिन्छ । यसरी ऊ सुखपूर्वक संसार-बन्धनवाट मुक्त हुन्छ ।

कर्म त सबै प्राणीहरु गर्छन्, तर साधारण व्यक्ति र कर्मयोगीवाट हुने कर्ममा धेरै ठूलो भिन्नता छ । साधारण व्यक्ति आसक्ति, ममता, कामना लिएर कर्म गर्छ र कर्मयोगी आसक्ति, ममता, कामना आदि छोडेर कर्म गर्छ । कर्मी (आसक्ति राखेर कर्म गर्ने व्यक्ति)को कर्महरुको प्रवाह आफूतिर हुन्छ र कर्मयोगीको कर्मको प्रवाह संसारतिर हुन्छ । यही कारण कर्मी बाँधिन्छ, कर्मयोगी बाँधिदैन ।
हामी नै आसक्तिले संसारसँग सम्बन्ध जोडछौं, संसार हामीसँग सम्बन्ध जोड़दैन । त्यसैले हाम्रो कर्तव्य संसारको हितकोलागि सबै कर्म गर्ने हो र वदलामा ती कर्मको कुनै पनि फल नचाहने हो । यसरी आसक्तिरहित भएर कर्म गर्दा  संसारवाट हाम्रो सम्बन्ध-विच्छेद हुन्छ । अर्को कुरा, सेवाभावले अरुको सेवा गर्दा र अरुवाट मान, सम्मान केही नचाहँदा हामीलाई संसारको सम्झना पनि आउँदैन । यसरी हामी सजिलैसँग संसार-वन्धनवाट मुक्त हुन सक्छौं ।

कर्म त सबैवाट हुन्छ, तर कर्मयोग आसक्ति छोडेर अरुको हितकोलागि कर्म गर्दा नै हुन्छ । हाम्रो आसक्ति मेटिने शास्त्रले भने जस्तो कर्तव्य कर्म गर्दा हो । शास्त्र विपरीत कर्म गर्दा आसक्ति कहिले पनि छुट्दैन ।

कर्मयोगीको कुनै पनि क्रिया उसको  आफ़्नोलागि हुँदैन । यसो हुँदा उसमा कर्तृत्वाभिमान रहँदैन ।
कर्तृत्वको कारण भोक्तृत्व हो । कर्मयोगी भोगको आशा राखेर कर्म गर्दैन । भोगको आशा राख्ने व्यक्ति कर्मयोगी हुन सक्तैन । जस्तो हामीले आफ्नो हातले आफ्नै मुख धुँदा हामीलाई कुनै ठूलो उपकार गरे जस्तो लाग्दैन, त्यस्तै कर्मयोगी आफ्नो शरीरलाई पनि संसारको अंश मान्छ, आफ्नो मान्दै मान्दैन । एक अंगले अर्को अंगको सेवा गर्दा कर्तृत्वाभिमान कसरी हुने ?
परमात्माको उद्देश्यले कर्म गर्ने व्यक्तिको परमात्मासँग एकता हुन्छ; किनकि 'स्वयम्'को परमात्मासँग तात्विक एकता हुन्छ । यसरी जव कर्ता नै 'कर्तव्य' वनेर आफ्नो उद्देश्य (परमात्म-तत्व) सँग  एक हुन्छ भने कर्तृत्वाभिमानको प्रश्नै उठ्दैन । कर्मयोगीको सबै कर्मको उद्देश्य परमात्मप्राप्ति हुन्छ । त्यो परमात्मतत्वमा कर्तृत्वाभिमान छैन । हरेक क्रियाको शुरुमा र अन्तमा परमात्म उद्देश्यसँग एकता अनुभव हुने कर्मयोगीमा कर्तापन हुँदैन ।
आफ़्नोलागि कर्म नगर्ने व्यक्तिको कर्तापन भए पनि कर्म गरुन्जेल मात्रै रहन्छ, कर्म  सकिने वित्तिकै उसको कर्तापन आफ्नै उद्देश्यमा (परमत्मप्राप्ति)मा नै लीन हुन्छ । 

कर्मयोगीका समस्त कर्महरु रंगमंचमा काम गर्ने कलाकारको जस्तो हुन्छ । त्यस्तै कर्मयोगीको कर्तापन उसले नाटक गरुन्जेल रहन्छ, नाटक सकियो, कर्तापन सकियो । कर्मयोगी शरीर आदि सबै पदार्थहरुलाई आफ्नो नमानेर संसारको नै सेवामा लगाइदिन्छ । यसो हुँदा कुनै पनि अवस्थामा कर्मयोगीमा कर्तृत्वाभिमान हुँदैन । कर्मयोगी संसारसँग आफ्नो सम्बन्ध नमाने जस्तै यहाँका नाता-सम्बन्धलाई पनि आफ्नो मान्दैन । जव शरीर नै आफ्नो होइन भने शरीरको सम्बन्ध कसरी आफ्नो हुने ? आफ्ना शरीरका नाता सम्बन्धलाई पनि नाटक गरुन्जेल ऊ आफ्नो मान्छ, त्यसपछि ऊ शरीरलाई पनि आफ्नो मान्दैन । तर त्यो कर्मयोगी संसारमा पिता, पुत्र, पति, भाईको रुपमा मिलेको नाटकको भाग एकदम ठीक ढंगले पूरा गर्छ, तर अरुले आफ्नो  कर्तव्य पालन गरुन् या नगरुन्, त्यसमा मतलव हुँदैन उसको ।                      

No comments:

Post a Comment