Monday 30 June 2014

110 No. 78 श्लोक १८ त्यो कर्मयोगद्वारा सिद्ध महापुरुषलाई न त यो संसारमा कर्म गर्ने कुनै प्रयोजन रहन्छ र न

No. 78
श्लोक १८
त्यो कर्मयोगद्वारा सिद्ध महापुरुषलाई न त यो संसारमा कर्म गर्ने कुनै प्रयोजन  रहन्छ र न कर्म नगर्न कुनै प्रयोजन रहन्छ । तथा सम्पूर्ण प्राणीहरुमा कुनै पनि प्राणीसँग उसको किञ्चित मात्र पनि स्वार्थको सम्बन्ध रहँदैन ।

हरेक व्यक्तिलाई केही न केही गर्ने प्रवृत्ति हुन्छ । यो गर्ने प्रवृत्ति संसारको कुनै वस्तुको प्राप्तिकोलागि हुन्छ । यो प्रवृत्ति रहुन्जेल आफ्नोलागि गरिरहिन्छ । आफ़्नोलागि केही न केही पाउने इच्छाले नै हामी बाँधिन्छौँ । यही इच्छाको निवृत्तिकोलागि कर्तव्य-कर्म गर्ने आवश्यकता छ ।

यहाँ वारम्वार आइरहेको 'आफ़्नोलागि' भन्ने शब्दले हामीलाई अलि अल्मल्याउन खोजे जस्तो पनि लाग्छ । 'आफ़्नोलागि'मा हामीले आफ्नै, अझ आफैं मानिरहेका शरीर, मन, बुद्धि पर्दैनन् । हाम्रो शरीरको सम्बन्ध संसारसँग भए जस्तै हाम्रा इन्द्रियहरुको सम्बन्ध पनि संसारसँग नै छ | 'आफ़्नोलागि'को 'आफू' शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि समस्त संसारिक पदार्थदेखि सर्वथा अलग छ । त्यो 'आफू'मा कहिं, कतै, कुनै संसारको गन्ध छँदै छैन । त्यो आफू आफैंमा परिपूर्ण छ, यसमा कुनै अभाव पनि छैन । अभाव नभएकोलाई के को आवश्यकता? त्यही 'स्वयम्' आफू हो, त्यही हजुर, हामी हो । सिद्ध महापुरुषले त्यो 'आफू'को अनुभव गरेका हुन्छन् ।
कर्म दुई किसिमले गरिन्छ -- कामना पूर्तिकोलागि र कामना निवृत्तिकोलागि । साधारण मनुष्य कामना पूर्तिकोलागि कर्म गर्छन्, तर कर्मयोगी कामना निवृत्तिकोलागि कर्म गर्छ । कर्मयोगवाट सिद्ध महापुरुषको कुनै कामना नभएको कारणले उसलाई कुनै पनि कर्तव्यसँग  किञ्चित मात्र पनि सम्बन्ध रहँदैन । ऊवाट निःस्वार्थ भावले  समस्त सृष्टिको हितकोलागि स्वतः कर्तव्य कर्म हुन्छन् ।
कर्मयोगी महापुरुषलाई कर्महरुद्वारा आफ़्नोलागि (व्यक्तिगत सुख आरामकोलागि) कुनै सम्बन्ध रहँदैन । उसको अनुभव यस्तो हुन्छ, पदार्थ, शरीर, इन्द्रियहरु, अन्तःकरण आदि केवल संसारकालागि हुन्, संसारवाटै पाइएका हुन्, व्यक्तिगत होइनन् । ऊ मान्छ,  यिनीहरुद्वारा केवल संसारकोलागि नै कर्म गर्ने हो, आफ्नोलागि होइन । किनकि सबै कर्म संसारको सहायतावाट नै हुन्छन् । फेरि, हामीलाई मिलेका कर्म-सामग्रीको सम्बन्ध पनि संसारसँग नै छ, हामीसँग छैन । यसैले हाम्रो आफ्नो केही पनि छैन । व्यष्टिकोलागि समष्टि हुनै सक्तैन । हामीवाट हुने गल्ति नै यही हो, हामी आफ़्नोलागि समष्टिको उपयोग गर्न खोज्छौं, हामीलाई अशान्ति हुने कारण पनि यही हो । यदि हामीले  शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थ आदिलाई समष्टिकोलागि उपयोग गर्न सक्यौं भने हामीलाई महान शान्ति मिल्न सक्नेछ । कर्मयोगवाट सिद्ध महापुरुषको विशेषता नै यही हो, उसको शरीर, इन्द्रियहरु, मन, बुद्धि, पदार्थ आदिको उपयोग खालि संसारकोलागि मात्रै हुन्छ । अतः उसको शरीर आदिको क्रियासँग  उसको आफ्नो कुनै पनि प्रयोजन हुँदैन । प्रयोजन नरहँदा नरहंदै पनि त्यो महापुरुषवाट स्वाभाविक नै अरुको हितकोलागि आदर्शरुप उत्तम कर्म हुन्छन् । जसलाई आफ्नोलागि कर्म गर्ने प्रयोजन रहन्छ, ऊवाट आदर्श कर्म हुन सक्तैन ।
जो मनुष्य शरीर, इन्द्रियहरु, मन, बुद्धिसँग आफ्नो सम्बन्ध मान्छ र आलस्य, प्रमाद आदिमा रुचि राख्छ, ऊ कर्महरु गर्न चाहँदैन, उसको प्रयोजन प्रमाद, आलस्य, आरामको तामस सुख रहन्छ । तर, अहिले हामीले चर्चा गरिरहेको महापुरुष त सात्विक सुखभन्दा पनि माथि उठिसकेको हुन्छ, ऊ तामस सुखमा प्रवृत्त हुने प्रश्न नै उठ्दैन, किनकि उसले आफ्नो शरीर आदिसँग कुनै पनि सम्बन्ध मानेको हुँदैन, अनि आलस्य-आराम आदिमा उसको रुचि रहने सम्भाबना नै छैन ।

No comments:

Post a Comment