Friday 22 August 2014

149 No 116 श्लोक ९ मेरा जन्म र कर्म दिव्य छन् ।

No 116
श्लोक ९

मेरा जन्म र कर्म दिव्य छन् । यसरी मेरो जन्म र कर्मलाई तत्वले जान्ने, दृढतापूर्वक मान्ने मनुष्य शरीर त्याग गरेपछि पुनर्जन्म प्राप्त गर्दैन; मलाई प्राप्त गर्छ ।

भगवान जन्म मृत्युदेखि सर्वथा अतीत, अजन्मा र अविनाशी हुनुहुन्छ । उहाँको मनुष्यरूपमा भएको अवतार साधारण मनुष्यहरूको जस्तो हुँदैन । उहाँ सम्पूर्ण जीवहरुको हितकोलागि स्वतन्त्रतापूर्वक मनुष्य आदिको रूपमा जन्म-धारणको लीला गर्नुहुन्छ । उहाँको जन्म कर्महरुको परवश हुँदैन । उहाँ आफ्नो इच्छाले नै शरीर धारण गर्नुहुन्छ ।

भगवानको साकार विग्रह जीवहरुको जस्तो हाड-मांसको हुँदैन । जीवहरुको शरीर त पापपुण्य-मय, अनित्य, रोगग्रस्त, लौकिक, विकारी, पाञ्चभौतिक र रज-वीर्यवाट उत्पन्न-हुने हुन्छन्, तर भगवानको विग्रह पाप-पुण्यदेखि रहित नित्य, अनामय, अलौकिक, विकाररहित, परम दिव्य र प्रकट हुने खालका हुन्छन् । अरु जीवहरु भन्दा देवताहरुको शरीर पनि दिव्य हुन्छन्, तर भगवानको शरीर देवताहरुको भन्दा पनि अत्यन्त विलक्षण हुन्छ, जुन शरीरको दर्शन देवताहरु पनि गर्न चाहन्छन् ।

भगवान श्रीराम तथा श्रीकृष्णरूपमा यो पृथ्वीमा आउनुहुँदा उहाँहरु माता कौसल्या तथा देवकीको गर्भवाट उत्पन्न हुनु भएन । उहाँहरुले आफ्ना माताहरुलाई पहिले शंख-चक्र-गदा-पद्मधारी स्वरूपको दर्शन दिनुभयो । त्यसपछि उहाँहरुले  माताको प्रार्थनामा वालकरूपले लीला गर्न लाग्नुभयो ।
भगवानको लीलाहरू सुन्दा, पढ्दा, याद गर्दा सर्वसाधारण व्यक्तिहरुको अन्तःकरण निर्मल, पवित्र हुन्छ र उनीहरुको अज्ञान हट्छ । यही नै भगवानका कर्महरुको दिव्यता हो । ज्ञानस्वरूप भगवान शंकर, ब्रह्माजी, सनकादिक ऋषि, देवर्षि नारद आदि ऋषि-मुनिहरु पनि भगवानको लीलाहरु गाएर र सुनेर मग्न हुन्छन् । भगवानको अवतारका लीलास्थलहरुमा आस्तिकभावले निवास गर्यो भने र ती स्थलहरुको दर्शन गरे पनि मनुष्यको कल्याण हुन्छ । तात्पर्य, भगवान सबै जीवहरुको कल्याण गर्ने उद्देश्यले नै अवतार लिनुहुन्छ र लीलाहरू गर्नुहुन्छ । त्यसैले, उहाँका लीलाहरू पढे, सुने, ती लीलाहरुको चिन्तन गरे मात्रै पनि स्वाभाविक  नै त्यो उद्देश्यको सिद्धि हुन्छ ।
यही अध्यायको चौथो श्लोकमा अर्जुनले भगवानसँग खालि उहाँको 'जन्म'को विषयमा सोधेका थिए; परन्तु यहाँ भगवानले अर्जुनले नसोधिकनै आफ्नो तर्फवाट 'कर्म'को विषयमा भन्न शुरु गर्नु भयो । यसमा भगवानको यस्तो अभिप्राय देखिन्छ, 'मेरो कर्म दिव्य भए जस्तै तिम्रो कर्म पनि दिव्य हुनुपर्छ ।' किनकि मनुष्य-जन्म दिव्य हुन सक्तैन, तर उसको कर्म अवश्य दिव्य हुन सक्छन्; किनकि आफ्नो जन्म दिव्य वनाउन नै उसको जन्म भएको हो । कर्महरुमा दिव्यता (शुद्धि) योगले आउँछ । वाँधने स्वभाव भएको कर्ममा  दिव्यता आएपछि तिनै कर्म मुक्ति दिने वन्छन् । कर्म दिव्य (फलेच्छा, ममता, आसक्तिदेखि रहित) भएपछि कर्ता एक त ती कर्महरुवाट वाँधिंदैन, अर्को, ऊ पुराना कर्महरुवाट पनि वाँधिंदैन, मुक्त हुन्छ र अर्को, ऊ द्वारा हुने कर्महरुवाट अरुलाई पनि स्वतः हित भइरहन्छ ।
गम्भीरतापूर्वक विचार गर्ने हो भने उत्पत्ति-विनाशशील वस्तुहरुसंग आफ्नो सम्बन्ध मान्दा नै कर्महरुमा मलिनता आउँछ र ती कर्महरु वाँधने हुन्छन् । विनाशीसँग आफ्नो सम्बन्ध मान्दा अन्तःकरण, कर्म र पदार्थ, तीनै मलिन हुन्छन् र विनाशीसँग मानिएको सम्बन्ध छुटेपछि यी तीनै स्वतः पवित्र हुन्छन् । अतः विनाशीसँग मानिएको सम्बन्ध नै मूल वाधा हो ।
अजन्मा र अविनाशी हुँदा हुँदै तथा सम्पूर्ण प्राणीहरुको ईश्वर हुँदा हुँदै पनि भगवान खालि जीवहरुको हितकोलागि आफ्नो प्रकृतिलाई अधीन गरेर स्वतन्त्रतापूर्वक युग-युगमा मनुष्य आदिको रूपमा अवतार लिनुहुन्छ -- यो तत्व जान्नु अर्थात् दृढतापूर्वक मान्नु भगवानको जन्महरुको दिव्यता जान्नु हो ।
सम्पूर्ण क्रियाहरु गरिरहँदा पनि भगवान अकर्ता नै हुनुहुन्छ अर्थात् उहाँमा गर्ने अभिमान छैन र कुनै पनि कर्मफलमा उहाँको स्पृहा (फलेच्छा) छैन -- यो तत्व जान्नु भगवानका कर्महरुको दिव्यता जान्नु हो ।
भगवानको जन्ममा स्वाभाविक नै सम्पूर्ण जीवहरुको हितैषिता र कर्ममा निर्लिप्तता भए जस्तै मनुष्यमा पनि सबै जीवहरुको हितैषिता आउनु नै वास्तवमा भगवानको जन्म र कर्मको तत्व जान्नु हो ।
भगवानलाई त्रिलोकीमा न त केही गर्नु वांकी छ र न केही पाउनु नै वांकी छ । तैपनि उहाँ केवल जीवहरुको उद्धारकोलागि कृपापूर्वक यो भूमण्डलमा अवतार लिनुहुन्छ र किसिम किसिमका अलौकिक लीलाहरु गर्नुहुन्छ । ती लीलाहरु गाउँदा, सुन्दा, पढ्दा र चिन्तन  गर्दा भगवानसँग सम्बन्ध जोडिन्छ । भगवानसँग सम्बन्ध जोडिएपछि संसारसँगको सम्बन्ध छुट्छ । संसारसँग सम्बन्ध छुटेपछि पुनर्जन्म हुँदैन अर्थात् मनुष्य जन्म-मरणरुप बन्धनदेखि मुक्त हुन्छ ।
वास्तवमा कर्म बन्धनकारक हुँदैनन् । कर्महरुमा वाँधने शक्ति पनि केवल मनुष्यले नै वनाएको (कामना) हो । कामना पूर्तिकोलागि रागपूर्वक आफ़्नोलागि कर्म गर्दा नै मनुष्य कर्महरुसँग वाँधिन्छ । त्यसपछि जति जति कामना वढ्छ, त्यति त्यति उ पापहरुमा प्रवृत्त हुन थाल्छ । यस्तो प्रकारले उसको कर्म अत्यन्त मलिन हुन्छ, जसले गर्दा ऊ वारम्वार नीच योनिहरुमा र नरकहरुमा खसिरहन्छ । तर जव ऊ केवल अरुको सेवाकोलागि निष्कामभावपूर्वक कर्म गर्छ, त्यो वेला उसको कर्महरुमा दिव्यता, विलक्षणता आउन थाल्छ । यसरी कामनाको सर्वथा नाश भएपछि उसका कर्महरु दिव्य हुन्छन् अर्थात् बन्धनकारक हुँदैनन् । त्यसपछि उसको पुनर्जन्मको प्रश्न नै रहँदैन ।

नाशवान् कर्महरुसँग आफ्नो सम्बन्ध मान्दा नै नित्यप्राप्त परमात्मा पनि अप्राप्त प्रतीत हुनुहुन्छ । निष्कामभावपूर्वक केवल अरुको हितकोलागि सम्पूर्ण कर्म गरे मात्रै कर्महरुको प्रवाह केवल संसारतिर हुन्छ र नित्यप्राप्त परमात्माको अनुभव हुन्छ ।

जीवहरुमाथिको महान् कृपा नै भगवानको जन्ममा कारण हो -- यस्तो किसिमले भगवानको जन्मको दिव्यता जान्दा नै मनुष्यको भगवानमा भक्ति हुन्छ । भक्तिले भगवानको प्राप्ति हुन्छ । भगवानको कर्महरुको दिव्यता जान्दा मनुष्यको कर्महरु पनि दिव्य हुन्छन् अर्थात् तिनीहरु बन्धनकारक नभएर आफ्नो र अरुको पनि कल्याण गर्ने हुन्छन् । यसो भएपछि संसारसँग सम्बन्ध विच्छेदपूर्वक भगवानको प्राप्ति हुन्छ ।

सम्पूर्ण कर्म आरम्भ र समाप्त हुने खालका छन् (र कर्मको फलस्वरूप जे पाइन्छ, ती पनि अनित्य र नाशवान् नै हुन्छन्); परन्तु स्वयं (जीवात्मा) नित्य-निरन्तर रहने खालको छ । अतः वास्तवमा स्वयंको कर्महरुसँग कुनै सम्बन्ध छैन; खालि सम्बन्ध मानिएको मात्रै हो । अतः सम्पूर्ण कर्महरु गरिरहे पनि ती कर्महरुसँग आफ्नो सम्बन्ध छँदै छैन -- यस्तो अनुभव गर्यो भने हाम्रा कर्म दिव्य हुन्छन् । यही कर्महरुको तत्व हो । यही कर्मयोग हो ।
क्रियाशील प्रकृतिसँग तादात्म्य भएको कारण मनुष्यमा कर्म गर्ने वेग रहन्छ । ऊ क्षण मात्रै पनि कर्म नगरी रहँदैन । ऊ संसारमा देख्छ, कर्म गरेर नै सिद्धि हुन्छ । यही कारण ऊ परमात्माको प्राप्ति पनि कर्मद्वारा नै गर्न खोज्छ, तर यसो गर्न खोज्नु उसको महान् भूल हो । कारण कि नाशवान् कर्महरु द्वारा नाशवान् वस्तु पाइन्छ, अविनाशीको प्राप्ति हुँदैन । अविनाशीको प्राप्ति त कर्महरुसँग सम्बन्धविच्छेद भएर नै हुन्छ । कर्महरुसँग सम्बन्ध-विच्छेद कर्मयोगमा (ज्ञानयोग भन्दा पनि) सजिलोसंग हुन्छ । किनकि कर्मयोगमा स्थूल, सूक्ष्म र कारण शरीरहरुवाट सम्पूर्ण कर्म निष्कामभावपूर्वक केवल संसारको हितकोलागि हुने हुँदा कर्महरुको प्रवाह संसारतिर हुन्छ र आफ्नो चाहिं कर्महरुसँग सम्बन्ध-विच्छेद हुन्छ ।
मनुष्यले कर्महरुवाट चाहने सिद्धि, परमात्मतत्व स्वतःसिद्ध (नित्यप्राप्त) छ । स्वतःसिद्ध वस्तुकोलागि के गर्नु ? प्राप्त भएको वस्तुलाई कसरी प्राप्त गर्नु ? पहिले अप्राप्त वस्तुलाई प्राप्त गर्न पो केही गर्नु पर्यो त !
एउटा उत्पत्ति हुन्छ, एउटा खोज हुन्छ । स्वतन्त्र सत्ता नभएको वस्तुको उत्पत्ति हुन्छ, त्यो वस्तुको पहिले अभाव छ र पछि पनि जसको विनाश हुन्छ । खोज त्यसैको हुन्छ, जसको स्वतन्त्र सत्ता छ, पहिलेदेखि नै विद्यमान छ र नित्य-निरन्तर रहन्छ तर क्रिया र पदार्थरूप संसारको महत्व हुँदा ढाकिएको छ । मनुष्यले क्रियाहरु र पदार्थहरु केवल अरुको सेवामा 
लगाइदिएपछि क्रिया र पदार्थरूप संसारसँग स्वतः सम्बन्ध-विच्छेद र नित्यप्राप्त परमात्माको साक्षात् अनुभव हुन्छ । यही नै नित्यप्राप्तको खोज हो ।
कर्तव्य कर्महरु नगरी प्रमाद, आलस्य गर्नु र कर्तव्य-कर्महरु गरेर ती कर्महरुको फलको इच्छा राख्नु -- यी दुवै कारणवाट मनुष्यलाई नित्यप्राप्त परमात्माको अनुभवमा वाधा हुन्छ । यो वाधा हटाउने एक मात्र उपाय हो -- फलको इच्छा नराखेर अरुको सेवाको रूपमा कर्तव्य-कर्म गर्ने । फलको इच्छा नराखेर कर्तव्य-कर्म गरे कर्महरुदेखि सम्बन्ध-विच्छेद हुन्छ । कर्महरुसँग सम्बन्ध-विच्छेद हुने वित्तिकै परमात्मासँगको स्वतःसिद्ध नित्य सम्बन्धको अनुभव हुन्छ ।
निष्कामभावले खालि अरुको हितकोलागि सेवा गरे अथवा भगवानकोलागि कर्म (पूजा) गरे ती कर्म दिव्य मुक्तिदायक हुन्छन् । परन्तु कामनापूर्वक आफ्नोलागि गरिएको कर्म मलिन, बन्धनकारक हुन्छन् ।
कर्महरुमा कर्तृत्व नहुनु नै दिव्यता हो । आफ़्नोलागि केही नगरे कर्तृत्व रहँदैन ।

भगवानको सानो भन्दा सानो तथा ठूलो भन्दा ठूलो प्रत्येक क्रिया 'लीला' हुन्छ । लीलामा भगवान साधारण मनुष्य जस्तो क्रिया गर्दै निर्लिप्त रहनुहुन्छ । भगवानको लीला दिव्य हुन्छ । यो दिव्यता देवताहरुको दिव्यता भन्दा विलक्षण हुन्छ । देवताहरुको दिव्यता मनुष्यहरुको अपेक्षाले हुने भएकोले सापेक्ष र सीमित हुन्छ, तर भगवानको दिव्यता निरपेक्ष र असीम हुन्छ । जीवन्मुक्त, तत्वज्ञ, भगवत्प्रेमी महापुरुषहरुको क्रियाहरु पनि दिव्य हुन्छन्, तर ती क्रियाहरु पनि भगवल्लीला जस्तो हुँदैन । भगवानको साधारण लीला पनि अत्यन्त अलौकिक हुन्छन् । भगवानको रासलीला लौकिक देखिए पनि रासलीला पढ्ने-सुन्ने गर्यो भने साधकको काम-वृत्तिको नाश हुन्छ ।

यो जगत् भगवानको आदि अवतार हो । भगवान् नै जगतरूपले प्रकट हुनुभएको छ । परन्तु जीवले भोगको आसक्तिले गर्दा जगतलाई भगवतरूपले स्वीकार नगरेर नाशवान् जगतरूपले नै धारण गरी राखेको छ । यस्तो धारणा मेटाउन साधकले मान्नुपर्छ, जे देखिएको छ, त्यो भगवानको स्वरूप हो र जे भइरहेछ, त्यो भगवानको लीला हो । यस्तो मान्दा, स्वीकार गर्दा जगत जगतरूपले रहँदैन र 'भगवान सिवाय केही छैन' भन्ने अनुभव हुनेछ । अर्को शब्दमा, संसार लुप्त हुन्छ र केवल भगवान रहनुहुन्छ । कारण, प्रत्येक वस्तु तथा व्यक्तिलाई भगवानको स्वरूप र प्रत्येक क्रियालाई भगवल्लीला मान्दा भोगासक्ति राग, द्वेष रहँदैनन् । भोगको आसक्ति नाश भएपछि पहिले देखिएका लौकिक क्रियाहरु अलौकिक भगवानको लीलारूपले देखिन थाल्छ र जहाँ पहिले भोगको आसक्ति थियो, त्यहाँ भगवत्प्रेम  हुनेछ ।

भगवानले गर्ने लीला उहाँले लिएको रुप (शरीर) अनुसार नै हुन्छ । उहाँले मूर्तिको रुप धारण गरेको वेला उहाँ मूर्ति जस्तो अचल हुने लीला गर्नुहुन्छ । उहाँ अचल नरहे अर्चावतार कसरी हुने ? भगवानले राम, कृष्ण रुप लिनुभयो र मत्स्य, कच्छप आदि रुप पनि लिनुभयो । उहाँले जस्तो रुप लिनुभयो, त्यस्तै लीला गर्नुभयो । जस्तो, वराह अवतारमा भगवानले सुंगुर वनेर लीला गर्नुभयो र वामनावतारमा ब्रह्मचारी ब्राह्मण वनेर लीला गर्नुभयो । यसवाट हामीले यो सम्झनु पर्यो, अहिले जे भइरहेछ, ती सब भगवानका लीला भइरहेछन् ।

No comments:

Post a Comment