Wednesday 25 June 2014

109. No. 77 पहिलो श्लोकको वांकी अंश साधकले उसको सुखको मूल कारण निष्कामतालाई मान्छ,

No. 77 

पहिलो श्लोकको वांकी अंश 

साधकले उसको सुखको मूल कारण निष्कामतालाई मान्छ, तर संसारमा आसक्त मनुष्य वस्तुहरुको प्राप्तिमा सुख मान्छन् र वस्तुहरु नपाउँदा दुःख मान्छन् । यदि आसक्त मनुष्यले पनि साधकले  जस्तो यथार्थ दृष्टिले निष्कामभावलाई महत्त्व दिए भने उनीहरुलाई पनि स्वतःसिद्ध निष्कामताको अनुभव हुन्छ । 

सकाम मनुष्यलाई नै कर्मयोगको अधिकारी भनिएको छ । सकाम मनुष्यहरुको प्रीति, तृप्ति र सन्तुष्टि संसारमा हुन्छ । तर यहाँ यो प्रकरणमा कर्मयोगद्वारा सिद्ध महापुरुषहरुको स्थितिको वर्णन गर्दै भगवान भन्नुहुन्छ, ती सिद्ध पुरुषको प्रीति, तृप्ति र सन्तुष्टि सकाम मनुष्यको जस्तो संसारमा नभएर आफैं आफूमा   (स्वरूप)मा नै हुन्छ । 

वास्तवमा, प्रीति, तृप्ति र सन्तुष्टि -- यी तीनै छुट्टा छुट्टै नहुँदा नहुँदै पनि संसारसँगको सम्बन्धले छुट्टै जस्तो लाग्छन् । यही कारण, संसारसँग सम्बन्ध भएकोले नै त्यो महापुरुषको प्रीति, तृप्ति र सन्तुष्टि खालि  एक तत्व (स्वरूप)मा नै हुन्छ । त्यो कर्मयोगीको प्रीति, तृप्ति र सन्तुष्टिमा कुनै प्रकारको कमी रहँदैन र उसलाई तत्व सिवाय अरु केहीको  आवश्यकता पनि रहँदैन । 

व्यक्तिकोलागि विधान गरिएको कर्मको उद्देश्य परम कल्याणस्वरूप परमात्मा प्राप्त गर्नु हो । कुनै पनि साधन -- कर्मयोग, ज्ञानयोग अथवा भक्तियोग -- द्वारा त्यो तत्वको सिद्धि भए मनुष्यकोलागि केही गर्न, जान्न अथवा पाउन शेष रहँदैन । यही नै मनुष्यजीवनको सफलता हो ।

हामीलाई वास्तविक स्वरूपमा किञ्चित मात्र अभाव नरहँदा पनि हामीले संसारसँग सम्बन्ध मानेर आफूमा अभाव भएको ठान्यौं । यही कारण शरीरलाई 'म' र 'मेरो' मानेर 'आफ़्नोलागि कर्म गर्यौं । यसो हुनाले नै हाम्रोलागि कर्तव्य वांकी रही रहेको छ । तर यदि हामीले 'आफ़्नोलागि' केही पनि नगरेर 'अरुकोलागि' अर्थात् शरीर, इन्द्रियहरु, मन, बुद्धिकोलागि , प्राणीहरुकोलागि, माता, पिता, स्त्री, पुत्र, परिवारकोलागि , समाजकोलागि, देशकोलागि र जगतकोलागि सम्पूर्ण कर्म गर्यौं भने संसारसँग हाम्रो सम्बन्ध-विच्छेद हुन्छ । संसारसँग सम्बन्ध-विच्छेद भएपछि हाम्रो आफ़्नोलागि कुनै कर्तव्य शेष रहँदैन । कारण कि स्वरूपमा कुनै क्रिया हुँदैन । सबै क्रियाहरु सांसारिक वस्तुहरु द्वारा  नै हुन्छन् । संसारसँग सम्बन्ध हुनेलाई नै कर्तव्य छ ।
केही न केही पाउने कामनाले कर्म हुन्छ र कामना अभावले पैदा हुन्छ । सिद्ध महापुरुषमा कुनै 

अभाव हुँदैन फेरि उनकोलागि गर्ने कसरी ?
कर्मयोगद्वारा सिद्ध महापुरुषको रति, तृप्ति र सन्तुष्टि आफैंमा भएपछि ऊ कृत-कृत्य, ज्ञात-ज्ञातव्य र प्राप्त-प्राप्तव्य हुन्छ, त्यसपछि त्यो महापुरुष विधि-निषेधदेखि माथि उठ्छ । अव उसलाई शास्त्रको शासन रहँदैन, तैपनि उसका समस्त क्रियाहरु स्वाभाविक नै शास्त्र अनुकूल तथा अरुकोलागि आदर्श हुन्छन् । 

केही पनि गर्न वांकी नरहँदा पनि त्यो महापुरुषवाट कुनै पनि क्रिया हुँदै हुँदैन भन्ने होइन । ऊ द्वारा लोकसंग्रहकोलागि क्रियाहरु स्वतः भैरहन्छन् । जस्तो हाम्रो आँखाहरु चिम्लनु, खुल्नु, स्वासहरु आउनु-जानु, भोजन पच्नु आदि क्रियाहरु स्वतः हुन्छन्, त्यस्तै कर्मयोगी महापुरुषद्वारा सबै शास्त्र अनुकूल आदर्शरुप क्रियाहरु पनि, कर्तृत्वाभिमान नभएकोले, स्वतः हुन्छ ।

कर्मयोगी निःस्वार्थ भावले संसारको सेवाकोलागि नै सम्पूर्ण कर्म गर्छ । गंगाजलद्वारा गंगाको पूजन भए जस्तै संसारवाट पाइएका शरीर, इन्द्रियहरु, मन, बुद्धि र अहंलाइ संसारको नै सेवामा लगाइदिए चिन्मय स्वरूप शेष रहन्छ । यसैले उसको प्रीति, तृप्ति र सन्तुष्टि स्वरूपमा नै हुन्छ ।
सांसारिक विधि र निषेध दुवै वास्तवमा निषेध नै हुन्; किनकि यी दुवै सँधै रहिरहने होइनन् । यसैले संसारदेखि सम्बन्ध-विच्छेद भएपछि कर्मयोगीकोलागि कुनै विधि निषेध नै रहँदैन ।          

 

No comments:

Post a Comment