No.105
अझ पनि पहिला दुई श्लोकको नै वांकी
काम जडको सम्बन्धले र जडमा
नै हुन्छ । तादात्म्य हुँदा यो काम स्वयंमा प्रतीत हुन्छ । जडको सम्बन्ध
नरहे 'काम' छँदै छैन । यसैले यहाँ 'काम'लाई मार्ने भन्नुको तात्पर्य,
'काम'को पूरापूर अभाव वताउनुमा नै छ । यसको विपरीत यदि 'काम' अर्थात्
कामनाको सत्ता मानेर त्यसलाई हटाउने चेष्ट गर्यौं भने कामना मेटाउन कठिन छ ।
कारण कि वास्तवमा कामनाको स्वतन्त्र सत्ता छँदै छैन । कामना उत्पन्न हुन्छ
र उत्पन्न हुने वस्तुको नाश हुन्छ, यो त नियमै हो । नयाँ कामना गरेनौं भने
पहिलेका कामनाहरु आफैं मेटिन्छन् । यसैले, कामना मेटाउने तात्पर्य हो,
नयाँ कामना नगर्ने ।
शरीर आदि संसारिक पदार्थलाई 'म',
'मेरो, र 'मेरोलागि' मान्दा नै आफूमा कमीको अनुभव हुने हो । तर भूलले गर्दा
हामी त्यो कमीको पूर्ति पनि संसारिक पदार्थहरुवाट गर्न खोज्छौं ।
त्यसैले हामी ती पदार्थहरुको कामना गर्न थाल्छौं । तर आजसम्म संसारिक
पदार्थहरुवाट कसैको पनि कमीको पूर्ति भएको छैन, हुने पनि छैन, हुँदा पनि
हुँदैन, हुन सक्ने पनि होइन । किनकि स्वयं अविनाशी छ र पदार्थ नाशवान् छ ।
स्वयं अविनाशी भएर पनि विनाशीको कामना गर्दा लाभ त कुनै हुने होइन, अरु
कुनै हानि हुन पनि वांकी रहँदैन । यसैले भगवान कामनालाई शत्रु वताउंदै यो
कामनालाई मार्ने आज्ञा दिनुहुन्छ ।
यो कामनाको नाश कर्मयोगद्वारा
सुगमताले हुन्छ । कारण, कर्मयोगको साधक संसारको सानो भन्दा सानो अथवा
ठूलो भन्दा ठूलो प्रत्येक क्रिया परमात्मप्राप्तिको उद्देश्य राखेर अरुको
हितकोलागि नै गर्छ, कामनाको पूर्तिकोलागि गर्दैन । उ प्रत्येक क्रिया
निष्कामभावले एवं अरुको हित र सुखकोलागि नै गर्छ, आफ्नोलागि कहिले केही
गर्दैन । ऊसँग भएको समय, समझ, सामग्री र सामर्थ्य उसको आफ्नो होइन, सबै पछि
पाइएका हुन्, यसैले कुनै वेला पनि ऊवाट छुट्न सक्छन् । यसैले कर्मयोगी ती
वस्तुहरुलाइ कहिले पनि आफ्नो र आफ्नोलागि मान्दैन र निःस्वार्थ भावले
(संसारको नै मानेर) संसारको नै सेवामा लगाइदिन्छ, आफूसँग राख्दैन । आफ्नो
नमान्दा नै त्यो कर्मयोगी संसारका सबै वस्तुलाई अरुको सेवामा लगाइ दिन सक्छ
।
कर्मयोगी आफ्नोलागि केही पनि गर्दैन,
आफ्नोलागि केही पनि चाहँदैन र आफ्नो भन्ने केही पनि मान्दैन । यसैले उसका
कामनाहरुको नाश सजिलोसँग हुन्छ । कामनाहरुको नाश भएपछि उसको उद्देश्यको
पूर्ति हुन्छ र ऊ आफू-आफूमा नै आफूले आफूलाई पाएर कृतकृत्य, ज्ञातज्ञातव्य र
प्राप्त-प्राप्तव्य हुन्छ अर्थात् उसकोलागि केही गर्न, जान्न र पाउन
वांकी रहँदैन ।
भगवानले इन्द्रियहरु, मन र बुद्धिको नाम त लिनुभयो, तर 'अहम्'को नाम लिनुभएन । अहम् बुद्धि भन्दा पर छ ।
स्वरूपको
साक्षात्कार नहुन्जेल अहम् मा काम रहन्छ । सुख छ स्वरूपमा, तर कामले गर्दा
मनुष्य जडतालाई सत्ता र महत्व दिएर जडतावाट सुख लिन खोज्छ । जडतासँग
सम्बन्ध रहुन्जेल काम रहन्छ, जडतासँग सम्बन्ध-विच्छेद भएपछि 'प्रेम' हुन्छ ।
'काम' आफूमा छ । आफूमा भएकोले नै काम
हाम्रोलागि वाधक हुन्छ । यदि यो काम आफूमा नभएर (इन्द्रिय-मन-बुद्धि)मा
हुँदो हो त हामीलाई के वाधा हुन्थ्यो र ? आफूमा काम भएर नै 'स्वयं'
सुखी-दुःखी हुने हो, कर्ता-भोक्ता हुने हो । वास्तविक दृष्टिले हेर्ने हो
भने काम पनि आफूमा मानिएको मात्रै हो, आफूमा छैन, त्यसैले यो मेटिन सक्छ ।
त्यसैले काम आफूमा छ, तर मानिएको छ ।
अहम् मा रहने वस्तुलाई मनुष्य आफूमा छ
भन्ने मानिदिन्छ । आफूमा अहम् मानिएको छ र त्यो अहम् मा काम रहन्छ ।
त्यसैले अहम् रहुन्जेल अहम् को जातिको आकर्षण अर्थात् 'काम' रहन्छ । अहम्
नहुँदा स्वयंको जातिको आकर्षण अर्थात् 'प्रेम' हुन्छ । काममा संसारतिर र
प्रेममा परमात्मातिर आकर्षण हुन्छ ।
सम्पूर्ण त्रिलोकी, अनन्त ब्रहाण्ड
विषय हुन् । विषय इन्द्रियहरुको एक देशमा छन्, इन्द्रियहरु मनको एक देशमा
छन्, मन बुद्धिको एक देशमा छ, बुद्धि अहम् को एक देशमा छ र अहम् चेतन
(स्वरूप)को एक देशमा छ । अतः चेतन अत्यन्त महान् छ । यो चेतन अन्तर्गत
सम्पूर्ण त्रिलोकी, अनन्त ब्रह्माण्ड विद्यमान छन् । तर अपरा प्रकृतिको एक
अंश अहम् सँग आफ्नो सम्बन्ध जोडेको कारण मनुष्य आफूलाई अत्यन्त सानो
(एकदेशीय) देख्छ ।
No comments:
Post a Comment