No. 109
श्लोक ३ (चारौं आध्याय)
अर्जुन
भगवानलाई आफ्नो सखा नै मान्थे, अव भगवान यो श्लोकमा आफ्नो सखा अर्जुनलाई
दास्य सखा भन्नुहुन्छ । आदेश या उपदेश दास अथवा शिष्यलाई नै दिइन्छ, सखालाइ
होइन । अर्जुन भगवानको शरण भएपछि नै भगवानको उपदेश शुरु भयो गीतामा ।
आफ्नो
सखालाई भन्न नसकिने कुरो पनि आफ्नो शरणागत शिष्यलाई भन्न सकिन्छ । अर्जुन
भगवानसँग दोस्रो अध्यायमा भन्छन्,'म हजुरको शिष्य हुँ, यसैले हजुरको शरण
भएको मलाई शिक्षा दिनुहोस् ।' यसैले भगवान अर्जुन समक्ष आफूलाई प्रकट
गर्नुहुन्छ, रहस्य खोलिदिनुहुन्छ ।
भगवानप्रति
अर्जुनको धेरै विशेष भाव थियो, त्यसैले त उनले वैभव र अस्त्र-शस्त्रले
सुसज्जित 'नारायणी सेना'को त्याग गरेर निःशस्त्र भगवानलाई आफ्नो 'सारथि'
वनाए ।
हामी
जस्ता साधारण व्यक्ति भगवानले दिनुभएको वस्तुहरुलाई आफ्नो मानिहाल्छन्
(जुन आफ्नो हुँदै होइन), तर भगवानलाई आफ्नो मान्दैनन् (जो वास्तवमा आफ्नो
हुनुहुन्छ) । त्यस्ता व्यक्तिहरु वैभवशाली भगवान नदेखेर उहाँको वैभव मात्रै
देख्छन् । वैभवलाई साँचो मान्दा उनीहरुको दृष्टि भ्रमित हुन्छ । यसो
हुँदा उनीहरुको दृष्टि भगवान तिर जाँदै जाँदैन । कति व्यक्ति त वैभव
पाउनलाई नै भगवानको भजन गर्छन् । भगवान चाह्यो भने वैभव त पछि लागिहाल्छ,
तर वैभव चाहँदा भगवान आउन सक्नु हुन्न । वैभव भक्तको चरणमा आउँछ, परन्तु
साँचो भक्त वैभव पाउन भगवानको भजन गर्दैनन् । उनीहरु वैभव चाहँदैनन, भगवान
नै चाहन्छन् । वैभव चाहने व्यक्ति वैभवको दास हुन्छन्, भगवान चाहने मनुष्य
भगवानको भक्त हुन्छन् । अर्जुनले वैभव त्यागेर भगवान स्वीकार गरे, यही
कारण, युद्ध क्षेत्रमा भीष्म, द्रोण, युधिष्ठिर आदि महापुरुष हुँदा हुँदै
पनि खालि अर्जुनले मात्रै गीताको उपदेश सुन्न पाए र पछि उनलाई राज्य पनि
मिल्यो ।
भगवान
भन्नुहुन्छ, 'हे अर्जुन ! मैले यो भन्दा अघिल्ला दुई अध्याय ( दोस्रो र
तेस्रो) मा तिमीलाई कर्मयोगको विषयमा जे भनें, त्यो ज्ञान पूर्ण छ ।'
उहाँ भन्नुहुन्छ, 'सृष्टिको शुरुमा मैले सूर्यलाई भनेको ज्ञान अहिले
तिमीलाई भनेको हुँ । धेरै समय वितेकोले त्यो ज्ञान थियो र म पनि अप्रकट
थिएँ । अव म अवतार लिएर प्रकट भएको छु र यो योग (कर्मयोग) पनि पुनः प्रकट
गरेको छु । त्यसैले अनादिकालदेखि मनुष्यहरूलाइ कर्मबन्धनवाट मुक्त गर्दै
आएको कर्मयोग अव अरु मनुष्यहरुलाई पनि कर्मबन्धनवाट मुक्त गर्नेछ ।' यहाँ
भगवान 'उत्तम रहस्य' प्रकट गर्नुहुन्छ, 'मैले नै सृष्टिको शुरुमा सूर्यलाई
उपदेश दिएको ज्ञान अहिले तिमीलाई भनें ।'
भगवानले
अर्जुनलाई यसो भने जस्तो लाग्छ, 'तिम्रो सारथि वनेर तिम्रो आज्ञाको पालन
गर्ने भएर पनि म तिमीलाई त्यही उपदेश दिइरहेछु, जुन उपदेश मैले सृष्टिको
आदिमा सूर्यलाई दिएको थिएँ । म साक्षात् उही छु र अहिले अवतार लिएर
गुप्तरीतिले प्रकट भएको छु -- यो कुरो निकै रहस्य छ । तिमी मेरो भक्त र
प्रिय सखा भएको यो रहस्य म अहिले तिमीसँग प्रकट गर्दैछु ।'
साधारण
मनुष्यको कुरा के गर्ने, साधकको दृष्टि पनि उपदेशतिर वढी उपदेष्टातिर
(उपदेश गर्ने व्यक्ति)तिर कम जान्छ । यो प्रसंग सुन्दा-पढ्दा उपदिष्ट
'योग'तिर त दृष्टि जान्छ, तर उपदेष्टा भगवान श्रीकृष्ण नै आदि नारायण
हुनुहुन्छ भन्नेतिर दृष्टि जाँदैन । साधारण तरिकाले बुझ्न नसकिने कुरो
रहस्य हुन्छ । भगवान यहाँ 'रहस्य' शब्दले यो भन्नुहुन्छ, साधकको दृष्टि
सर्वथा भगवानतिर हुनुपर्छ ।
आफूले
आफूलाई 'उपदेष्टा' भनेर भगवान आफूलाई सम्पूर्ण मानवको गुरु भन्ने आशय
व्यक्त गर्नुहुन्छ । कुनै नाटककार नाटक खेलेको वेलामा दर्शकहरुको
अगाडि आफ्नो सक्कली स्वरूप प्रकट गर्दैन, त कुनै आत्मीय व्यक्ति अगाडि
आफूलाई प्रकट गरिदिन्छ । त्यस्तै मनुष्य अवतारको समयमा पनि भगवान अर्जुनको
सामुन्ने आफ्नो ईश्वरभाव प्रकट गरिदिनु हुन्छ, जुन कुरो लुकाउनु पर्ने
थियो, त्यही कुरो यहाँ प्रकट भयो। यही उत्तम रहस्य हो ।
कर्मयोगलाई
पनि उत्तम रहस्य मान्न सकिन्छ । जुन कर्मले जीव वान्धिन्छ, त्यही कर्मले
मुक्त हुने कुरो नै उत्तम रहस्य भयो । पदार्थहरुलाई आफ्नो मानेर आफ़्नोलागि
कर्म गर्दा बन्धन हुन्छ र पदार्थहरुलाई आफ्नो नमानेर (अरुको मानेर) केवल
अरुको हितकोलागि निःस्वार्थभावपूर्वक सेवा गरे मुक्ति हुन्छ ।
अनुकूलता-प्रतिकूलता, धनवत्ता-निर्धनता, स्वस्थता-रुग्णता जस्ता
परिस्थितिमा पनि यो कर्मयोगको पालन स्वतन्त्रतापूर्वक गर्न सकिन्छ ।
कर्मयोगको रहस्यमा तीन कुरा मुख्य छन् ।
(१)
मेरो केही छैन (होइन) । किनकि मेरो स्वरूप सत् (अविनाशी) हो र जे सुकै
मिलेको छ, ती सबै असत् हुन्, फेरि असत् मेरो कसरी हुन सक्छ? अनित्यको
सम्बन्ध नित्यसँग कसरी हुन सक्छ ?
(२)
मेरोलागि केही चाहिंदैन । किनकी स्वरूप (सत्)मा कहिले पनि अपूर्ति या कमी
नै हुँदैन, फेरि कुन वस्तुको कामना गर्नु । अनुत्पन्न अविनाशी तत्वकोलागि
उत्पन्न हुने नाशवान् वस्तु कसरी काम लाग्छन् ?
(३)
आफ़्नोलागि केही गर्नु छैन । यसमा पहिलो कारण हो, स्वयं चेतन परमात्माको
अंश हो र कर्म जड हो । स्वयं नित्य-निरन्तर रहन्छ, तर कर्मको र त्यसको फलको
आदि र अन्त हुन्छ । यसैले आफ़्नोलागि कर्म गर्दा आदि-अन्तवाला कर्म र फलसँग
सम्बन्ध जोडिन्छ । कर्म र फलको त अन्त हुन्छ, तर तिनीहरुसंगको आसक्ति
आफूभित्र रहिरहन्छ । यो आसक्ति नै बन्धनको कारण हो ।
अर्को कारण, 'गर्ने' दायित्व गर्न सक्नेलाई, गर्न सक्ने योग्यता हुनेलाई र केही पाउन खोज्नेलाई नै हुन्छ । निष्क्रिय, निर्विकार, अपरिवर्तनशील र पूर्ण भएको कारण चेतन स्वरूप शरीरको सम्बन्ध नभई केही गर्न सक्तैन । यसैले यो विधान मान्नै पर्छ, स्वरूपलाई आफ़्नोलागि केही गर्नु छैन ।
अर्को कारण, 'गर्ने' दायित्व गर्न सक्नेलाई, गर्न सक्ने योग्यता हुनेलाई र केही पाउन खोज्नेलाई नै हुन्छ । निष्क्रिय, निर्विकार, अपरिवर्तनशील र पूर्ण भएको कारण चेतन स्वरूप शरीरको सम्बन्ध नभई केही गर्न सक्तैन । यसैले यो विधान मान्नै पर्छ, स्वरूपलाई आफ़्नोलागि केही गर्नु छैन ।
तेस्रो
कारण हो, स्वरूप सत् छ र पूर्ण छ । अतः उसमा कहिले कमी नै आउँदैन । आउने
सम्भावना पनि छैन । कमी नआएको कारण स्वरूपमा केही पाउने इच्छा पनि हुँदैन ।
यसवाट सिद्ध हुन्छ, स्वरूपमा 'गर्ने' दायित्व छैन, अर्थात् उसलाई
आफ़्नोलागि केही गर्नु छैन ।
कर्मयोगमा
'कर्म' संसारकोलागि हुन्छन्, र 'योग' आफ़्नोलागि हुन्छ । परन्तु आफ़्नोलागि
कर्म गर्दा योगको अनुभव हुँदैन । कर्महरुको प्रवाह पूरा-का-पूरा संसारतिर
लागे 'योग' हुन्छ । कारण कि शरीर, इन्द्रियहरु मन, बुद्धि, पदार्थ, धन,
सम्पत्ति जे जति हामीसँग छन्, ती सबै संसारसँग अभिन्न छन्, संसारका नै हुन्
र तिनलाई संसारको सेवामा नै लगाउने हो । अतः पदार्थ र क्रियारूप संसारसँग
सम्बन्ध-विच्छेद गर्न अरुकोलागि कर्म गर्नु छ । यही कर्मयोग हो । कर्मयोग
सिद्ध भएपछि गर्ने राग, पाउने लालसा, वाँच्ने इच्छा र मर्ने डर सबै
मेटिन्छन् ।
सूर्यको
प्रकाशमा मनुष्यहरू अनेक कर्म गर्छन्, तर सूर्यलाई ती कर्महरुसँग आफ्नो
कुनै पनि सम्बन्ध हुँदैन, त्यस्तै नै 'स्वयं' चेतनको प्रकाशमा सम्पूर्ण
कर्म हुन्छन्, तर 'स्वयं'को ती कर्महरुसँग कुनै पनि सम्बन्ध हुँदैन । किनकि
'स्वयं' चेतन तथा अपरिवर्तनशील छ र कर्म जड तथा परिवर्तनशील छन् । परन्तु
जव 'स्वयं' भूलले ती पदार्थहरु र कर्महरुसँग अलिकति मात्रै पनि सम्बन्ध
जोड्छ, अर्थात् तिनीहरुलाई आफ्नो र आफ़्नोलागि मान्छ, त्यसपछि ती कर्मले
अवश्य नै उसलाई वाँध्छन् ।
नियत
-कर्मको कुनै पनि हालतमा त्याग नगर्नु तथा नियत समयमा कार्यकोलागि तत्पर
रहनु पनि सूर्यको विलक्षणता हो । कर्मयोगी पनि सूर्य जस्तो आफ्नो नियत
कर्महरु नियत समयमा गर्न सँधै तत्पर रहन्छ ।
कर्मयोगको
ठीक ठीक पालन गरियो भने हामीमा ज्ञानको संस्कार भए ज्ञानको प्राप्ति अथवा
भक्तिको संस्कार भए भक्तिको प्राप्ति स्वतः हुन्छ । कर्मयोगको पालन गर्दा
आफ्नो मात्रै होइन, सम्पूर्ण संसारको परम हित हुन्छ । अरुले देखून् या
नदेखून्, बुझून् या नबुझून्, मानून् या नमानून्, आफ्नो कर्तव्यको ठीक ठीक
पालन गरे अरुलाई पनि कर्तव्य-पालनको प्रेरणा स्वतः मिल्छ र यसरी सबैको सेवा
पनि हुन्छ ।
गीतामा भगवानले आफ्नो उपदेशको आरम्भमा सम्पुर्ण मनुष्यको,
सम्पूर्ण जीवको अनुभवको वर्णन गर्नुभएको छ । 'म छु' -- आफ्नो सत्ता
(हुनुपना)को अनुभव स्थावर-जंगम सबै प्राणीहरुको छ । 'म छु'को अनुभव वृक्ष,
पर्वत आदिमा पनि छ, तर उनीहरु व्यक्त गर्न सक्तैनन् । पशु-पक्षीमा त यो
अनुभव देख्न नै सकिन्छ । जस्तो, पशु-पक्षी एक आपसमा झगडा गर्दा आफ्नो
सत्तालाई लिएर नै झगडा हुन्छ । यदि आफ्नो छुट्टै सत्ताको अनुभव नहुने भए
उनीहरु किन झगडा गर्थे ? हामीलाई यो कुराको प्रत्यक्ष अनुभव छ, तर हामी यो
अनुभवतिर दृष्टि नै दिंदैनौं, यो अनुभवको आदर नै गर्दैनौं । यो अनुभव अथवा
विवेकलाई निजज्ञान भन्छन् । यो विवेक सबैमा स्वतः छ र भगवत्प्रदत्त
(भगवानवाट मिलेको) छ ।
इन्द्रियहरु,मन,
बुद्धि प्रकृतिका अंश हुन्, यसैले यीवाट हुने ज्ञान प्रकृतिजन्य छ ।
शास्त्रहरू पढेर सुनेर इन्द्रियहरुद्वारा पाइएको पारमार्थिक ज्ञान
प्रकृतिजन्य नै हो । परमात्मतत्व यो प्रकृतिजन्य ज्ञान भन्दा अत्यन्त
विलक्षण छ । त्यसैले परमात्मतत्व निजज्ञान (स्वयंद्वारा हुने ज्ञान)वाट नै
जान्न सकिन्छ । निजज्ञान अर्थात् विवेकको महत्व दिइयो भने 'म को हुँ'? मेरो
के हो ? जड र चेतन के हो ? प्रकृति र परमात्मा के हो ?' यस्ता कुरा जान्ने
शक्ति आउँछ । यही विवेक कर्मयोगमा पनि काम लाग्छ ।
कर्मयोगमा
विवेकको तीन कुराहरु मुख्य छन् -- (१) आफ्नो हुनुपना (म छु, म हुँ)मा
सन्देह छैन र (२) अहिले पाइएका वस्तुहरुमा आफ्नो कुनै अधिकार छैन; किनकि ती
पहिले पनि आफ्ना थिएनन्, पछि पनि आफ्ना रहँदैनन् । म (स्वयं) निरन्तर
रहन्छु र यहाँ पाइएका वस्तुहरु -- शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि
निरन्तर वदलिई रहन्छन् र यिनीहरुको निरन्तर वियोग भइरहन्छ । कर्महरुको
आरम्भ र समाप्ति भए जस्तै ती कर्महरुको फलको पनि संयोग र वियोग हुन्छ ।
यसैले कर्महरु र पदार्थहरुको सम्बन्ध संसारसँग छ, स्वयंसँग छैन । यसरी
विवेक जाग्रत हुने वित्तिकै कामनाको नाश हुन्छ । कामनाको नाश हुँदा
स्वतःसिद्ध निष्कामता प्रकट हुन्छ अर्थात् पूर्णतः सिद्धि हुन्छ ।
कामनाले
विवेक ढाकिन्छ । स्वार्थबुद्धि, भोग-बुद्धि, संग्रह-बुद्धि राख्दा मनुष्य
आफ्नो कर्तव्यको ठीक-ठीक निर्णय गर्न सक्तैन । उ आफ्ना मानसिक उल्झन् लाई
उल्झनले नै अर्थात् शरीर-इन्द्रियहरु, मन, बुद्धिले नै सुल्झाउन चाहन्छ र
यही कारण वर्तमान परिस्थिति वदल्ने नै उद्योग गर्छ । तर परिस्थिति वदल्ने
आफ्नो वशको कुरो होइन । त्यसैले उल्झन् सुल्झिनु भन्दा झन् झन्
उल्झिइरहन्छन् । विवेक जाग्रत भएपछि स्वार्थ-बुद्धि, भोग-बुद्धि,
संग्रह-बुद्धि रहँदैन, आफ्नो कर्तव्य स्पष्ट देखिन थाल्छ र सबै प्रकारका
उल्झन् हरु स्वतः सुल्झिन्छन् ।
वाहिरी
परिस्थिति कर्महरु अनुसार नै वन्छन् अर्थात् कर्महरुका नै फल हुन् ।
धनवत्ता-निर्धनता, निन्दा-स्तुति, आदर-निरादर, यस-अपयश, लाभ-हानि,
जन्म-मरण, स्वस्थता-रुग्णता जस्ता सबै परिस्थितिहरु कर्महरुका अधीन छन् ।
शुभ र अशुभ कर्महरुको फलस्वरूप अनुकूल र प्रतिकूल परिस्थिति आफ्नो अगाडि
आउँछन्, तर ती परिस्थितिहरुसँग सम्बन्ध जोडेर, तिनीहरुलाई आफ्नो मानेर
सुखी-दुःखी हुनु मूर्खता हो । तात्पर्य, अनुकूल र प्रतिकूल परिस्थिति आउनु त
कर्महरुका फल हुन्, ती फलहरुवाट सुखी-दुःखी हुनु मूर्खताको फल हो ।
कर्महरुको फल मेटाउनु आफ्नो हातको कुरा होइन, तर मूर्खता मेटाउनु आफ्नो
हातको कुरा हो । मेटाउन सकिने मूर्खतालाई मेटाउन सक्तैनौं, वदल्न नसकिने
परिस्थितिलाई वदल्न खोज्छौं -- यही नै हाम्रो ठूलो भूल हो । यही कारण,
हामीले आफ्नो विवेकलाई महत्व दिएर यस्तो मूर्खता मेटाउनु पर्छ र अनुकूल र
प्रतिकूल परिस्थितिहरुलाई सदुपयोग गर्दै ती परिस्थितिहरु भन्दा माथि उठ्नु
अर्थात् असंग हुनुपर्छ । कुनै पनि परिस्थितिसँग सम्बन्ध नजोडेर तिनको
सदुपयोग गर्ने अर्थात् अनुकूल परिस्थितिमा अरुको सेवा गर्ने तथा प्रतिकूल
परिस्थितिमा दुःखी नहुने अर्थात् सुखको इच्छा नगर्ने व्यक्ति नै
संसार-बन्धनदेखि सुगमतापूर्वक मुक्त हुन्छ ।
हामीले
नखोजी आउने प्रतिकूल परिस्थिति पहिले गरिएका अशुभ (पाप) कर्महरुको नै फल
हुन् । यसैले, पाप कर्म त गर्नै हुँदैन । कसैलाई कष्ट पुग्ने काम सपनामा
गर्नु हुँदैन । तर वर्तमानमा पाप कर्म नगर्दा पनि पुराना पाप कर्महरुका
फलस्वरूप परिस्थिति आउँदा अन्तःकरणमा चिन्ता, शोक, भय पनि आउँछन् । यही
कारण हामी चिन्ता शोकलाई धेरै परिचित वनाउँछौं, अर्थात् चिन्ता, शोक, भय
आउँदा सुखी-दुःखी हुन्छौं । हामीले यो विचार गर्नुपर्छ, 'आउने जाने
परिस्थितिसँग सम्बन्ध जोडेर चिन्ता, शोक गर्नु गल्ति हो, अव यो गल्ति म
कहिले पनि गर्दिन'। यस्तो गर्यो भने चिन्ता,शोक आउन छोड्छन् ।
विवेक पूर्ण
जाग्रत नहुँदा पनि कर्मयोगीमा एक निश्चयात्मिका बुद्धि रहन्छ, आफ्नो
नभएकोसँग सम्बन्ध विच्छेद गर्ने र सांसारिक सुखहरु नभोगेर केवल सेवा गर्ने ।
यो निश्चयात्मिका बुद्धिको कारण हाम्रो अन्तःकरणमा सांसारिक सुखहरुको
महत्व रहँदैन । त्यसपछि 'भोगहरुमा सुख छ' भन्ने भ्रम हामीलाई कसैले पनि
पार्न सक्तैन । यही एक निश्चय अटल राख्दा नै हाम्रो कल्याण हुन्छ ।
सत्संग-स्वाध्यायले यस्तो निश्चयात्मिका बुद्धिलाई बल पुग्छ । अतः हरेक
साधकले (हामीले) यस्तो कल्याणकारी निश्चय वनाउनै पर्छ । यस्तो निश्चय वनाउन
हामी सबै स्वाधीन छौं, पराधीन छैनौं । यसमा कसैको अलिकति पनि सहायताको
आवश्यकता छैन, यसो गर्न हामी सबै बलवान् छौं ।
No comments:
Post a Comment