Friday 22 August 2014

139. No. 106 Ch 4 श्लोक १ मैले अविनाशी योग (कर्मयोग) सूर्यलाई भनेको थिएँ,

No. 106
अव चारौं अध्याय शुरु हुन्छ ।
श्लोक १
मैले  अविनाशी योग (कर्मयोग) सूर्यलाई भनेको थिएँ, त्यसपछि सूर्यले आफ्ना छोरा वैवश्वत मनुलाई भने र मनुले आफ्ना छोरा राजा इक्ष्वाकुलाइ  भने ।
यहाँ भगवानले उल्लेख गर्नुभएका व्यक्तिहरु (सूर्य, मनु र इक्ष्वाकु) सबै गृहस्थी थिए र उनीहरुले गृहस्थाश्रममा रही रही कर्मयोग द्वारा परमसिद्धि पाएका थिए । 
पुराणमा र उपनिषद्हरुमा पनि कर्मयोगको वर्णन आउँछ, तर गीतामा जस्तो कर्मयोगको विस्तृत वर्णन अन्त कतै पनि आउँदैन । गीतामा भगवानले धेरै युक्तिहरुले सरल तरिकाले कर्मयोगको विवेचन गर्नुभएको छ ।
भगवान नित्य हुनुहुन्छ र उहाँको अंश जीवात्मा पनि नित्य छ तथा भगवानसँग जीवको सम्बन्ध पनि नित्य छ । त्यसैले भगवात्प्राप्तिका सबै मार्गहरु (योगमार्ग, ज्ञानमार्ग, भक्तिमार्ग) पनि नित्य छन् । यो अध्यायमा भगवान कर्मयोगको नित्यताको प्रतिपादन गर्नुहुन्छ ।
परमात्मासँग जीवात्माको स्वतःसिद्ध सम्बन्ध (नित्ययोग) छ । साधकलाई परमात्माको हुनलाई केही गर्नु पर्दैन, किनभने ऊ परमात्माको नै हो । तर अनित्य क्रिया, पदार्थ, घटनासँग सम्बन्ध मान्दा नै उसलाई 'नित्ययोग' अर्थात् परमात्मासँग आफ्नो नित्यसम्बन्धको अनुभव हुँदैन । अतः अनित्यसँग मानिएको सम्बन्ध मेटाउनकोलागि कर्मयोगी शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि  समस्त वस्तुहरुलाई   
संसारको नै सेवामा लगाइदिन्छ ।  त्यो कर्मयोगीले मानेको हुन्छ, सानो भन्दा सानो धूलोको कण पनि विशाल पृथ्वीको नै  अंश भए जस्तै यो शरीर पनि विशाल ब्रह्माण्डको नै एक अंश हो । यस्तो मान्दा 'कर्म' संसारकोलागि हुन्छन् तर 'योग' (नित्ययोग) आफ़्नोलागि हुनेछ अर्थात् नित्ययोगको अनुभव हुनेछ ।
भगवान साधकहरुलाई यस्तो संकेत गर्नुहुन्छ, जस्तो सूर्य सँधै नै कर्म गरिरहन्छन् र सबैलाई प्रकाशित गरिरहँदा पनि निर्लिप्त रहनछन्, त्यस्तै साधकहरुले पनि प्राप्त परिस्थिति अनुसार आफ्नो आफ्नो कर्तव्य-कर्मको पालन स्वयं गरिरहनुपर्छ र अरुलाई पनि कर्मयोगको शिक्षा दिएर लोकसंग्रह गर्दै जीवन विताउनु पर्छ र स्वयं ती कर्तव्य-कर्मवाट निर्लिप्त (निष्काम, निर्मम र अनासक्त) रहनु पर्छ ।
सृष्टिमा सूर्य सबैका आदि हुन् । सृष्टिको रचनाको समयमा पनि सूर्य जस्तो पूर्वकल्पमा थिए, त्यस्तै प्रकट भए । ती (सबैको आदि) सूर्यलाई भगवानले अविनाशी कर्मयोगको उपदेश दिनुभयो । यसवाट सिद्ध भयो, भगवान सबैको आदिगुरु हुनुहुन्छ र कर्मयोग पनि अनादि हो ।  भगवान अर्जुनलाई भनिरहनु भएको छ, 'तिमीलाई मैले वताइरहेको कर्मयोग आजको कुरा होइन, अर्थात् सँधै रहिरहेको योग हो ।'
प्रश्न छ; भगवानले सृष्टिको शुरुमा सूर्यलाई कर्मयोगको उपदेश किन दिनुभयो ?
उत्तर:

(१) सृष्टिको आरम्भमा भगवानले सूर्यलाई नै कर्मयोगको अधिकारी जानेर उनलाई सर्वप्रथम यो योगको उपदेश दिनुभयो ।

(२) सृष्टिमा सर्वप्रथम उत्पन्न भएकोलाई नै उपदेश दिइन्छ। उपदेश दिनुको तात्पर्य हो -- कर्तव्यको बोध गराउनु । सृष्टिमा सर्वप्रथम सूर्यको उत्पत्ति भयो, त्यसपछि सूर्यवाट समस्त लोक उत्पन्न भए । सबैलाई उत्पन्न गर्ने सूर्यलाई सर्वप्रथम उपदेश दिइनुको अभिप्राय: सूर्यवाट उत्पन्न सम्पूर्ण सृष्टिलाई परम्पराले कर्मयोग सुलभ गराइदिनु ।
(३) सूर्य सम्पूर्ण जगत् का नेत्र हुन् । उनीवाट नै सबैलाई ज्ञान प्राप्त हुन्छ एवं उनको उदय हुँदा प्रायः समस्त प्राणी जाग्रत हुन्छन् र आफ्नो आफ्नो कर्ममा लाग्छन् । सूर्यवाट नै मनुष्यहरुमा कर्तव्य-परायणता आउँछ । सूर्यलाई सम्पूर्ण जगत् को आत्मा पनि भनिएको छ । त्यसैले सूर्यलाई प्राप्त उपदेश सम्पूर्ण प्राणीहरुलाई पनि प्राप्त हुन्छ । यही कारण भगवानले सर्वप्रथम सूर्यलाई नै उपदेश दिनुभयो ।
वास्तवमा नारायणरूपले उपदेश दिनु र सूर्यको रूपमा उपदेश ग्रहण गर्नु भगवानको लीला मान्नुपर्छ । यो लीला संसारको हितकोलागि धेरै आवश्यक थियो । अर्जुन पनि ठूला ज्ञानी नर-ऋषिको अवतार थिए, तर लोकसंग्रहकोलागि उनलाई पनि उपदेश लिने आवश्यकता पर्यो । यस्तै प्रकारले भगवानले स्वयं ज्ञानस्वरूप सूर्यलाई उपदेश दिनुभयो । यो उपदेशले संसारको महान् उपकार भएको छ, भइरहेछ, पछि पनि भइ रहनेछ ।
कर्मयोग गृहस्थहरुको खास विद्या हो । ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र संन्यास -- यी चारै आश्रमहरुमा गृहस्थ आश्रम नै मुख्य हो; किनकि गृहस्थ आश्रमवाट नै अरु आश्रम वन्छन् र वढ़छन् । हामीले गृहस्थाश्रम रही रही आफ्नो कर्तव्य-कर्म पालन गरेर सजिलैसँग परमात्मप्राप्ति गर्न सक्छौं । परमात्मप्राप्तिकोलागि आश्रम वदल्ने जरुरत छैन हामीलाई । भगवानले सूर्य, मनु, इक्ष्वाकु आदि राजाहरुको नाम लिएर यो वताउनु भयो, कल्पको शुरुमा गृहस्थहरुले नै कर्मयोगको विद्या जाने र गृहस्थाश्रममा रहेर  नै उनीहरुले कामनाको नाश गरेर परमात्म-तत्व प्राप्त गरे । स्वयं भगवान श्रीकृष्ण र अर्जुन पनि गृहस्थ नै हुनुहुन्थ्यो । यसैले भगवान अर्जुनको माध्यमवाट हामी सबै गृहस्थहरुलाई उपदेश दिनुहुन्छ 'तिमीहरु आफ्नो घरको विद्या 'कर्मयोग' पालना गर्दै घरमा नै वसी वसी परमात्मा प्राप्त गर्न सक्छौ, तिमीहरुलाई अन्त कतै जानु पर्दैन ।'
गृहस्थ भएर पनि अर्जुन प्राप्त कर्तव्य-कर्म (युद्ध) छोडेर भिक्षाको अन्नले जीविका चलाउन श्रेष्ठ सम्झन्छन् अर्थात् आफ्नो कल्याणकोलागि गृहस्थ-आश्रम भन्दा संन्यास आश्रमलाई श्रेष्ठ मान्छन् । यही परिप्रेक्षमा भगवान अर्जुनलाई भन्नुहुन्छ, 'तिमी पनि राजघरानाको श्रेष्ठ गृहस्थ हौ, कर्मयोग तिम्रो घरको मुख्य विद्या हो, यसैले यही विद्या पालन गर्नु तिम्रोलागि श्रेयस्कर  छ । सन्यासीले पाउने परमात्मतत्व कर्मयोगी गृहस्थाश्रममा  वसेर सुखपूर्वक प्राप्त गर्न सक्छ । अतः कर्मयोग गृहस्थहरुको मुख्य विद्या हो, अरु आश्रमीहरु पनि यो विद्या पालन गरेर परमात्मतत्व प्राप्त गर्न सक्छन् । प्राप्त परिस्थितिको सदुपयोग नै कर्मयोग हो । अतः कर्मयोग पालन कुनै पनि वर्ण, आश्रम, सम्प्रदाय, देश, कालमा गर्न सकिन्छ ।
कुनै पनि  विद्यामा श्रेष्ठ र प्रभावशाली पुरुषहरुको नाम लिंदा त्यो विद्याको महिमा प्रकट हुन्छ, त्यसो गर्दा अरु अरु पनि त्यस्तै गर्न उत्साहित हुन्छन् । मनमा संसारिक पदार्थहरुको महत्व भएको व्यक्तिहरुमा ऐश्वर्यशाली राजाहरुको प्रभाव धेरै  पर्छ । यसैले भगवान सृष्टिको आरम्भमा हुने सूर्य र मनुको नाम लिएर कर्मयोग पालन गर्ने प्रेरणा गर्नुहुन्छ हामीलाई ।

No comments:

Post a Comment