Friday 22 August 2014

148 No. 115 श्लोक ८ साधुहरुको (भक्तहरु)रक्षा गर्न, पापकर्म गर्नेको विनाश गर्न र धर्मको भलिभाँति स्थापना गर्न म युग-युगमा प्रकट हुने गर्छु ।

No. 115
श्लोक ८
साधुहरुको (भक्तहरु)रक्षा गर्न, पापकर्म गर्नेको विनाश गर्न र धर्मको भलिभाँति स्थापना गर्न म युग-युगमा प्रकट हुने गर्छु ।
साधु मनुष्यहरूवाट नै अधर्मको नाश र धर्मको प्रचार हुन्छ, यसैले उहाँको रक्षा गर्न भगवान अवतार लिनुहुन्छ ।
अरुको हित गर्ने स्वभाव भएका, भगवानको नाम, रुप, गुण, प्रभाव, लीलाको श्रद्धा-प्रेमपूर्वक स्मरण, कीर्तन आदि गर्ने र सर्व साधारणमा पनि यसको प्रचार गर्ने भगवानको आश्रित भक्तहरुलाई साधु भनिन्छ ।

परमात्म-प्राप्तिको मात्रै उद्देश्य भएका व्यक्तिहरु साधु हुन् र नाशवान् संसारको उद्देश्य भएका व्यक्तिहरु असाधु हुन् । असत् र परिवर्तनशील वस्तुमा सद्भाव गर्दा, तिनीहरुलाई महत्व दिंदा कामनाहरु पैदा हुन्छन् । कामना नष्ट हुँदै जाँदा साधुता वढ्दै जान्छ, कामनाहरु वढ्दै जाँदा साधुता लुप्त हुन्छ । किनकि असाधुताको मूल हेतु नै कामना हो । साधुता द्वारा आफ्नो उद्धार र सर्व साधारणको स्वतः उपकार हुन्छ ।
साधु पुरुषका भावहरु र क्रियाहरुमा पशु, पक्षी, वृक्ष, पर्वत, मनुष्य, देवता, पितृ, ऋषि, मुनि सबैप्रति  हित भरिएको हुन्छ । यदि कसैले साधु पुरुषको मनको भाव थाहा पाए भने उनीहरु साधु पुरुषको दास हुन्थे । यसको विपरीत यदि कसैले दुष्ट पुरुषको मनको भावहरु थाहा पाए ती दुष्टले दिनभरी कति चोटी पिटाइ खान्थे ।
यहाँ शंका हुन्छ, भगवानले साधु पुरुषहरुको रक्षा गर्नुहुन्छ भने किन संसारमा साधु पुरुषले दुःख पाएको देखिन्छ ? यसको उत्तर: साधु पुरुषको रक्षा भनेको उनीहरुको भावहरुको रक्षा गर्ने हो, उनीहरुको शरीर, धन-सम्पत्ति, मान-वडाई आदिको रक्षा होइन; किनकि साधुहरु सांसारिक पदार्थहरुलाई महत्व दिंदैनन् । भगवान पनि यी वस्तुहरुलाई महत्व दिनुहुन्न; किनकि सांसारिक पदार्थहरुलाई महत्व दिंदा नै असाधुता पैदा हुने हो ।  

 
भक्तहरुमा सांसारिक पदार्थहरुको महत्व हुँदै हुँदैन, त्यसैले उनीहरु भक्त भनिएका हुन् । भक्तहरु प्रतिकूलता (दुःखदायी-परिस्थिति)मा विशेष प्रसन्न हुन्छन्, किनकि प्रतिकूलतावाट हुने जस्तो आध्यात्मिक लाभ अरु कुनै साधनले पनि हुँदैन । वास्तवमा भक्ति वढ्ने पनि प्रतिकूलताले नै हो । सांसारिक राग, आसक्तिले नै पतन हुन्छ र प्रतिकूलताले त्यो राग छुट्छ । यसैले भगवानले भक्तहरुलाई प्रतिकूलता पठाउनु पनि भक्तको रक्षा गर्नु नै हो ।

दुष्ट मनुष्य अधर्मको प्रचार र धर्मको नाश गर्छन्, यही कारण उनीहरुको विनाश गर्न भगवान अवतार लिनुहुन्छ ।
कामना ज्यादै वढेको कारण झूठ, कपट, छल, वेइमानी आदि दुर्गुण, दुराचार मा लागेका मनुष्यहरु निरपराध, सद्गुण, सदाचारी साधुहरुलाई अत्याचार गर्ने, अरुको अहित गर्ने, प्रवृत्ति र निवृत्ति नजान्ने, भगवान र वेद-शास्त्रहरूको विरोध गर्ने स्वभाव भएका मनुष्यहरूलाई भगवान 'दुष्ट' भन्नुहुन्छ । यस्ता दुष्टहरु आसुरी सम्पत्तिमा डुबेका हुनाले यिनीहरुको आचरण पनि त्यस्तै हुन्छ । भगवानको अवतारको एउटा कारण यस्ता दुष्टहरूको विनाश गर्नु हो ।
यहाँ एउटा शंका: भगवान त सबै प्राणीहरुमा सम हुनुहुन्छ र उहाँका कोही पनि वैरी छैनन्, फेरि उहाँ दुष्टको विनाश किन गर्नुहुन्छ ?
उत्तर: सम्पूर्ण प्राणीहरुको परम सुहृद हुँदा भगवानका कोही पनि वैरी हुँदैनन्, परन्तु भक्तहरुलाई अपराध गर्ने मनुष्य भगवानको वैरी हुन्छ । 
भगवानको 'भक्तभक्तिमान्' भन्ने नाम आउँछ भागवतमा । त्यसैले भक्तहरुलाई कष्ट दिने दुष्टहरुको विनाश भगवान आफैं गर्नुहुन्छ । पापको विनाश भक्त गर्छन्, पापीहरुको विनाश भगवान स्वयं गर्नुहुन्छ ।
साधुहरुको परित्राण गर्नमा भगवानको कृपा भए जस्तै दुष्टहरुको विनाश गर्नमा पनि भगवानको कृपा छ । दुष्टहरुको विनाश गरेर भगवान उनीहरुलाई शुद्ध, पवित्र  वनाउनु हुन्छ ।

सन्त-महात्माहरु धर्मको स्थापना त गर्छन्, तर दुष्टहरुको विनाश गर्ने काम उनीहरु गर्दैनन् । दुष्टहरुको विनाश गर्ने काम भगवान् आफू राख्नुहुन्छ ।
      
माता र पिता -- दुवै समानरूपले वालकको हित चाहन्छन् । वालकले नपढेको वेला, वदमासी गरेको वेला माता र पिता दुवै त्यो वालकलाई सम्झाउँछन् । तैपनि वालकले आफ्नो वदमासी छोडेन भने पिता उसलाई थप्पड पनि हान्छन् । तर वालक पितासँग डराएको वेला माता पितालाई थप्पड हान्न रोक्छिन् । माता पतिव्रता भए पनि, पतिको अनुसरण गर्नु उनको धर्म भए पनि असल माताले पति सँगसंगै वालकलाई पिटदिनन् । वालकको रक्षा गर्दा उनको पातिव्रत्य धर्म नष्ट हुँदैन । किनकि वास्तवमा पिता पनि वालकलाई थप्पड दिन चाहँदैन, ऊ त खालि उसको दुर्गुण-दुराचार हटाउन चाहन्छ । यसै गरी, भगवान पिता जस्तो हुनुहुन्छ र उहाँको भक्त माता समान । भगवान र सन्त-महात्मा मनुष्यहरूलाई सम्झाउनु हुन्छ । तैपनि मनुष्यले दुष्टता छोडेन भने उसको विनाश गर्न भगवानलाई नै अवतार लिएर आउनु पर्छ । यदि मनुष्यले आफ्नो दुष्टता छोडछ भने उसलाई पिटनै किन पर्छ र ?
निर्गुण-ब्रह्म प्रकृति, माया, अज्ञान आदिको विरोधी होइन, वरु यिनीहरुलाई सत्ता-स्फूर्ति दिने तथा यिनीहरुको पोषक हो । तात्पर्य, प्रकृति, मायामा भएको सामर्थ्य सबै निर्गुण ब्रह्मको नै हो । यस्तै किसिमले सगुण भगवान पनि कुनै जीवलाई द्वेष, वैर अथवा विरोध गर्नुहुन्न, समानरीतिले सबैलाई सामर्थ्य दिनुहुन्छ, सबैको पोषण गर्नुहुन्छ।
भगवानले रचेको पृथ्वी पनि वस्नकोलागि सबैलाई वरावर स्थान दिन्छिन् । महात्मालाई वस्न  विशेष स्थान दिने, दुष्टलाई वस्न स्थानै नदिने काम पृथ्वीवाट हुँदैन । त्यस्तै, अन्नले सबैको भोक हटाउँछ, जल सबैको प्यास समानरूपले मेट्छ, वायु सबैलाई एकै प्राणवायु एकै किसिमको दिन्छ, सूर्य सबैलाई एकै किसिमको प्रकाश दिन्छ । यदि पृथ्वी, अन्न, जल आदिले दुष्टलाई स्थान, अन्न, जल दिएनन् भने दुष्ट वांचनै सक्तैनन् । यसरी जव भगवानको विधान अनुसार चल्ने पृथ्वी, अन्न, जल, वायु, सूर्य आदिमा पनि यति उदारता, समता छ भने यो विधानको विधायक (भगवान)मा कति विलक्षण उदारता, समता होला । भगवान त उदारताको भण्डार नै हुनुहुन्छ । यदि विधायक (भगवान) र उहाँको विधानतिर अलिकति मात्रै पनि दृष्टि गयो भने मनुष्य कति गद्गद हुने थियो र भगवानको चरणमा उसको प्रेम हुने थियो ।
दुष्ट पुरुषहरुसँग भगवानको विरोध छैन, खालि उनीहरुको दुष्कर्महरुसँग विरोध छ । किनकि दुष्कर्मले  संसारको तथा ती दुष्टहरुको पनि अहित गर्छ । भगवान सर्वसमर्थ हुनुहुन्छ; अतः उहाँ संसारको तथा ती दुष्टहरुको पनि हित गर्न नै दुष्टहरुको विनाश गर्नुहुन्छ । उहाँ द्वारा मारिएका दुष्टहरुलाई भगवान आफ्नै धाममा पठाउनु हुन्छ । यो उहाँको उदारता हो ।       

एउटा प्रश्न उठ्छ: यदि हामीले  पाप-कर्म गरिरह्यौं भने के हामीलाई पनि मार्न भगवान आउनुहुन्छ ? यदि यस्तो हो भने भगवान द्वारा मारिए हाम्रो कल्याण नै हुनेछ । यदि त्यसो हो भने यस्तो संयम गर्नुपर्ने श्रमसाध्य सद्गुण-सदाचारको पालना नै किन गर्नु प्रर्यो र ?
उत्तर छ : वास्तवमा भगवान त्यस्ता व्यक्तिलाई मार्न अवतार लिनुहुन्छ, जो भगवानवाट भन्दा अरुवाट मर्न नै सक्तैनन् । अर्को कुरो, हामी जति शुभ कर्ममा लाग्छौं, त्यति नै हामीलाई पुण्य हुन्छ, अशुभ कर्महरुमा लागिरहँदा यदि वीचमा नै मरियो भने अथवा अरु कसैले मारिदियो भने खराव हुन सक्छ ! भगवानको हातवाट मरेर मुक्त हुने लालसा कसरी पूरा होला ! यसैले अशुभ कर्म गर्न नै हुँदैन ।

निष्कामभावको उपदेश, आदेश र प्रचार नै धर्मको स्थापना हो । कारण कि निष्कामभावलाई कर्महरुले र असत् वस्तुलाई  सत्ता दिएर तिनलाई महत्व दिनाले अधर्म वढ्छ, जसवाट मनुष्य दुष्ट स्वभावको हुन्छ । यसैले भगवान अवतार लिएर आफ्नो आचरण द्वारा निष्कामभावको प्रचार गर्नुहुन्छ । निष्कामभावको प्रचारले धर्मको स्थापना स्वतः हुन्छ ।
धर्मको आश्रय भगवान हुनुहुन्छ, यसैले शाश्वत धर्मको संस्थापना गर्न भगवान अवतार लिनुहुन्छ । संस्थापनको अर्थ हो -- सम्यक् स्थापना गर्नु । तात्पर्य, धर्मको कहिले पनि नाश हुँदैन केवल ह्रास हुन्छ । धर्मको ह्रास भएपछि भगवान फेरि त्यो धर्मलाई राम्रोसँग स्थापना गर्नुहुन्छ ।
आवश्यकता अनुसार भगवान युग युगमा अवतार लिनुहुन्छ । एकै युगमा जति चोटी आवश्यकता पर्छ, त्यति चोटी अवतार लिनुहुन्छ भगवान । 'कारक' पुरुष र सन्त महात्माहरुको रूपमा पनि भगवानको अवतार हुने गर्छ । भगवान र कारक पुरुषको अवतार 'नैमित्तिक' हो, तर सन्त महत्माहरुको अवतार 'नित्य' हो ।
अर्को प्रश्न छ: भगवान त सर्वसमर्थ हुनुहुन्छ, फेरि सन्तहरुको रक्षा गर्न, दुष्टहरुको विनाश गर्न र धर्मको स्थापना गर्न भगवान अवतार नै नलिई किन गर्न सक्नुहुन्न ?
उत्तर: भगवानले अवतार नलिई यस्तो काम गर्न सक्नुहुन्न भन्ने कुरो होइन । भगवान अवतार नै नलिई अनायास नै सबै काम गर्न सक्नुहुन्छ र गरी पनि रहनु भएको छ, तैपनि जीवहरुलाई विशेष कृपा गरेर उनीहरुको अझ वढी हित गर्न भगवान स्वयं अवतीर्ण हुनुहुन्छ । अवतारकालमा भगवानको दर्शन, स्पर्श, वार्तालाप आदिले, भविष्यमा उहाँको दिव्य लीलाहरुको श्रवण, चिन्तन र ध्यानले तथा उहाँको उपदेश अनुसार आचरण गरे व्यक्तिहरुको सहजै उद्धार होस् भन्ने एक रीति भगवान अवतार लिएर नै चलाउनु हुन्छ ।
भगवानका केही प्रेमी भक्त भगवानसँग खेल्न चाहन्छन्, उहाँसँग वस्न चाहन्छन् । उनीहरुको इच्छा पूरा गर्न पनि भगवान अवतार लिनुहुन्छ र उनीहरु सामुन्ने आएर उनीहरु जस्तै खेल्नुहुन्छ ।
जुन युगमा जति कार्य आवश्यक हुन्छ, भगवान त्यही अनुसार अवतार लिएर त्यो कार्य पूरा गर्नुहुन्छ । यसैले भगवानको अवतारमा त भेद हुन्छ, तर स्वयं भगवानमा कुनै भेद हुँदैन । भगवान सबै अवतारमा पूर्ण हुनुहुन्छ र पूर्ण नै रहनुहुन्छ ।
भगवानलाई न त कुनै कर्तव्य छ र न उहाँलाई केही पाउन नै वांकी छ, तैपनि उहाँ समय-समयमा अवतार लिएर केवल संसारको हित गर्न सबै कर्म गर्नुहुन्छ । यसैले हामीहरुले पनि केवल अरुको हितकोलागि नै कर्तव्य कर्म गर्नुपर्छ ।
चौथो श्लोकमा आएको अर्जुनको प्रश्नको उत्तरमा भगवानले मनुष्यहरुको जन्म र आफ्नो जन्म (अवतार) मा तीन अन्तर वताउनु भएको छ ।
(१) जान्नमा अन्तर -- मनुष्यहरुको र भगवानको धेरै जन्महरू भइसके । ती सबै जन्महरू वारे मनुष्य जान्दैन, तर भगवान जान्नुहुन्छ ।
(२) जन्ममा अन्तर -- मनुष्य प्रकृतिको परवश भएर, आफूले गरेका पाप-पुण्यको फल भोग्न र फलभोगपूर्वक परमात्माको प्राप्ति गर्न जन्म लिन्छ । तर भगवान आफ्नो प्रकृतिलाई अधीन गरेर स्वाधीनतापूर्वक आफ्नो योगमायाद्वारा स्वयं प्रकट हुनुहुन्छ ।
(३) कार्यमा अन्तर -- साधारणतः मनुष्य आफ्नो कामनाहरुको पूर्तिकोलागि कार्य गर्छन् । यस्तो कार्य मनुष्यजन्मको ध्येय होइन। तर भगवान केवल सम्पूर्ण जीवहरुको कल्याणकोलागि कार्य गर्नुहुन्छ ।

No comments:

Post a Comment