Friday 22 August 2014

146. No.113 अघिल्लो श्लोकको वांकी भगवान आफ्नो प्रकृति द्वारा अवतार लिनुहुन्छ र अनेक किसिमका लीलाहरु गर्नुहुन्छ ।

No.113
अघिल्लो श्लोकको वांकी
भगवान आफ्नो प्रकृति द्वारा अवतार लिनुहुन्छ र अनेक किसिमका लीलाहरु गर्नुहुन्छ । अग्नि स्वयं केही गर्दैन, उसको प्रकाशिका शक्ति प्रकाशित गरिदिन्छ, दाहिका शक्ति जलाइदिन्छ ।  त्यस्तै भगवान स्वयं केही गर्नुहुन्न, उहाँको दिव्य शक्ति नै सबै काम गर्छ । शास्त्रहरुमा सीताजी भन्नुहुन्छ, 'रावण मार्ने जस्ता सबै काम मैले गरेको हो, रामजीले केही गर्नुभएको छैन ।'
मनुष्य र मनुष्यको शक्ति जस्तो भगवान र उहाँको शक्ति हो । त्यो शक्तिलाई भगवान भन्दा छुट्टै पनि भन्न सकिंदैन, भगवानसँग  एक पनि भन्न सकिंदैन । मनुष्यमा भएको शक्ति उसले आफूवाट छुट्टयाएर देखाउन सक्तैन, त्यसैले ऊ उसको शक्तिदेखि छुट्टै छैन । मनुष्य रहन्छ, तर उसको शक्ति घटी वढी रहन्छ, त्यसैले त्यो शक्ति मनुष्यसंग एकै पनि छैन । यदि त्यो शक्तिको मनुष्यसँग एकता हुँदो हो त त्यो मनुष्यको स्वरूपसँग सँधै रहनु पर्ने, घट्नु वढ्नु नपर्ने । अतः भगवान र उहाँको शक्तिलाई भिन्न अथवा अभिन्न केही पनि भन्न सकिंदैन । दार्शनिकहरुले यसलाई भिन्न पनि भनेनन्, अभिन्न पनि भनेनन् । त्यो शक्ति अनिर्वचनीय छ । भगवान श्रीकृष्णका उपासक त्यो शक्तिलाई श्रीजी (राधाजी) भन्छन् ।
पुरुष र स्त्री दुई भए जस्तो श्रीकृष्ण र श्रीजी दुई होइनन् । ज्ञानमा त द्वैतमा अद्वैत हुन्छ अर्थात् दुई भएर एक हुन्छ र भक्तिमा अद्वैतको द्वैत हुन्छ अर्थात् एक भएर पनि दुई हुन्छन् । जीव र ब्रह्म एक भए 'ज्ञान' हुन्छ, एकै ब्रह्म दुई रुप भए 'भक्ति' हुन्छ । एकै अद्वैत-तत्व प्रेमको लीला गर्न, प्रेमको आस्वादन गर्न सम्पूर्ण जीवहरुलाइ प्रेमको आनन्द दिन श्रीकृष्ण र श्रीजी दुई रूपमा प्रकट हुन्छ । दुई रुप हुँदा पनि दुईमा कुन ठूलो र कुन सानो, कुन प्रेमी र कुन प्रेमास्पद ? यो कुरा थाहा हुँदैन । यी दुवै एक अर्को भन्दा विलक्षण देखिन्छन् । दुवै एक अर्काप्रति आकृष्ट हुन्छन् । श्रीजी देखेर भगवान प्रसन्न हुनुहुन्छ र भगवान देखेर श्रीजी प्रसन्न । दुबैको परस्पर प्रेम-लीलाले रसको वृद्धि हुन्छ । यसैलाई रास भन्छन् ।
भगवानका शक्तिहरु अनन्त छन्, अपार छन् । उहाँको दिव्य शक्तिहरुमा ऐश्वर्य-शक्ति पनि छ र माधुर्य-शक्ति पनि । ऐश्वर्य शक्ति द्वारा भगवानले गर्ने जस्तो विचित्र र महान कार्य अरु कोही गर्न सक्तैन । ऐश्वर्य शक्तिको कारण उहाँमा महत्ता, विलक्षणता, अलौकिकता देखिन्छ । माधुर्य शक्तिमा भगवान आफ्नो ऐश्वर्य विर्सनु हुन्छ । भगवानलाई पनि मोहित गर्ने माधुर्य शक्तिमा मधुरता, मिठास हुन्छ, जसले गर्दा भगवान वडो मधुर र प्रिय लाग्नुहुन्छ । भगवानले गोठालाहरुसँग खेल्दा उहाँको माधुर्य-शक्ति प्रकट रहन्छ । यो खेलमा ऐश्वर्य-शक्ति प्रकट भएको भए सारा खेल नै विग्रन्थ्यो, गोठालाहरु डराउँथे र भगवानसँग खेल्न पनि सक्तैनथे । यसै गरी भगवान कहिं मित्ररूपले, कहिं पुत्ररूपले र कहिं पतिरूपले प्रकट हुनु भएको वेला उहाँको ऐश्वर्य-शक्ति लुकिरहेको हुन्छ र माधुर्य-शक्ति प्रकट रहन्छ । तात्पर्य, भगवान भक्तहरुको भाव अनुसार उनीहरुलाई आनन्दित गर्न आफ्नो ऐश्वर्य-शक्ति लुकाएर माधुर्य-शक्ति प्रकट गरिदिनु हुन्छ ।
माधुर्य-शक्ति प्रकट भएको वेला ऐश्वर्य-शक्ति र ऐश्वर्य-शक्ति प्रकट भएको वेला माधुर्य-शक्ति प्रकट हुँदैन । माधुर्य-भावमा शंका भएको वेलामा ऐश्वर्य-शक्ति प्रकट हुन्छ । जस्तो माधुर्य-शक्ति प्रकट रहँदा भगवान् श्रीकृष्ण वाच्छाहरु खोज्नुहुन्छ । तर 'वाच्छाहरु कहाँ गए ?' भन्ने शंका हुँदा ऐश्वर्य-शक्ति प्रकट हुन्छ र भगवान तत्काल थाहा पाउनु हुन्छ, वाच्छाहरु ब्रह्माजीले लिएर गए ।
भगवानमा भएको सौन्दर्य-शक्तिले सबै प्राणी भगवानमा आकृष्ट हुन्छन् । भगवान श्रीकृष्णको सौन्दर्य देखेर मथुरामा वस्ने स्त्रीहरु आकृष्ट भएको चर्चा श्रीमद्भागवतमा छ । अर्को शब्दमा, भगवानको दिव्य सौन्दर्यमा प्रेमी, विरक्त, ज्ञानी, मूर्ख, वैरी, असुर र राक्षस पनि आकृष्ट हुन्छन् ।
भगवानसँग विमुख रहने व्यक्तिको अगाडि भगवान आफ्नो योगमायामा लुकिरहनु हुन्छ र साधारण मनुष्य जस्तै देखिनुहुन्छ । मनुष्य जति जति भगवानको सम्मुख हुन्छ, भगवान पनि त्यति त्यति आफूलाई प्रकट गर्नुहुन्छ । यही योगमायाको आश्रय लिएर भगवान विचित्र विचित्र लीलाहरू गर्नुहुन्छ ।
भगवानदेखि विमुख मूढ पुरुषको अगाडि दुई पर्दाहरु रहन्छन् -- एउटा त उनीहरुको मूढताको र अर्को भगवानको योगमायाको । आफ्नो मूढता रहंदा भगवानको प्रभाव साक्षात् आफू अगाडि प्रकट हुँदा पनि ऊ त्यो प्रभाव बुझ्न सक्तैन; जस्तो, द्रौपदीको चीर-हरण गर्न दुःशासन आफ्नो पूरा वल लगाउँछ, उसका हातहरु थाक्छन्; तर साडीको अन्त आउँदैन । यसरी त्यत्रो सभामा भगवानको ऐश्वर्य प्रकट भयो । तर मूढ़ताले गर्दा दुःशासन, दुर्योधन, कर्ण आदिमा द्रौपदीले भगवान पुकार्दा मात्र पनि  त्यत्रो विलक्षण घटना भएको कुराले  कुनै असर परेन । उनीहरुको मनमा 'एउटा स्त्रीको पनि चीर-हरण गर्न सक्तैनौं भने के गर्न सक्छौं ?' भन्ने पनि परेन । यो कुरामा उनीहरुको दृष्टि नै गएन । भगवानको प्रभाव आफ्नै अगाडि देख्दा देख्दै पनि उनीहरुले  त्यो प्रभाव जान्न सकेनन् ।
यदि हामीले आफ्नो मूढता (अज्ञान) हटायौं भने हामीलाई आफ्नो स्वरूपको अथवा परमात्मतत्वको बोध त हुन्छ, तर भगवानको दर्शन हुँदैन । भगवानले आफ्नो योगमायाको पर्दा हटाएपछि नै हामीलाई परमात्माको दर्शन हुन्छ । आफ्नो अज्ञान हटाउने त हाम्रो हातको कुरो हो, तर योगमायालाइ हटाउने हाम्रो हातको कुरो होइन । हामी सर्वथा भगवानको भयौं भने भगवान आफ्नो शक्तिले हाम्रो अज्ञान मेटाउनु हुन्छ र दर्शन पनि दिनुहुन्छ ।
 

भगवानवाट हुने जति लीलाहरू सबै योगमायाको आश्रय द्वारा  नै हुन्छन्  । यही कारण उहाँका लीलाहरु देख्न सकिन्छ, अनुभव गर्न सकिन्छ । यदि उहाँले योगमायाको आश्रय नलिए उहाँको लीला कसैले देख्न सक्तैन, त्यसको आस्वादन गर्न सक्तैन ।
अवतारको अर्थ हो -- तल ओर्लनु । सबै ठाउँमा परिपूर्ण रहने सच्चिदानन्दघन परमात्मा आफ्ना अनन्य भक्तहरुको इच्छा पूरा गर्न निकै कृपा गरेर एक विशेष स्थानमा अवतार लिनुहुन्छ र सानो वन्नुहुन्छ । अरु व्यक्तिको प्रभाव या महत्व ठूलो हुँदा देखिन्छ, तर भगवानको प्रभाव या महत्व सानो हुँदा देखिन्छ। कारण, अपार, असीम, अनन्त भएर पनि भगवान सानो जस्तो वन्नुहुन्छ -- यही उहाँको विलक्षणता हो । जस्तो, भगवान अनन्त ब्रह्माण्डहरु धारण गर्नुहुन्छ; परन्तु एउटा पर्वतलाई धारण गर्दा उहाँ 'गिरिधारी' नामले प्रसिद्ध हुनुभयो । अनन्त ब्रह्माण्ड रौँ रौँमा रहेको परमेश्वरले एउटा पर्वत उठाउनु कुन ठूलो कुरो भयो र ? तर सानो कुरामा नै भगवानको ठूलो कुरा हुन्छ । यस्तो प्रकारले अवतार लिनुमा नै भगवानको विशेषता छ ।
साधारण व्यक्ति रहेको स्थितिमा आएर भगवान त्यस्तै लीला गर्नुहुन्छ । उहाँ विल्कुल सीधा साधा साधारण वालक जस्तो वनेर लीला गर्नुहुन्छ । गोठालाहरुसँग खेल्दा उहाँ अरु गोठालाहरुसँग हार्नु पनि हुन्छ । खेलमा आफू हार्दा भगवान घोडा वन्नुहुन्छ, जित्ने गोठालो भगवानरूपी घोडा चढ्छ । यो भगवानको विशेष महत्ता हो ।
भगवानको प्रभाव जान्ने ज्ञानी महात्माहरु त उहाँको स्वरूपमा मस्त रहन्छन्; तर भक्तहरुलाई उहाँको साधारण अज्ञानी वालकको जस्तो लीला वडो विचित्र र मीठो लाग्छ । त्यहाँ ज्ञानीहरुको ज्ञान चल्दैन । ज्ञानीहरूका शिरोमणि ब्रह्माजी पनि भगवानको लीला देखेर अचम्ममा पर्नुभयो । ठूला ठूला ऋषि-मुनि, योगी-तपस्वी, सन्त-महात्मा पनि उहाँको लीलाको रहस्य जान्न सक्तैनन् र यो विषयमा लाटो जस्तो हुन्छन् । भगवानले नै कृपा गरेर आफ्ना प्यारा अन्तरंग भक्तहरुलाई आफ्नो लीलाको वारेमा थाहा दिन चाहनु भयो भने ती भक्तहरु मात्रै उहाँको लीलाको तत्व जान्न पाउँछन् । गाई चराउँदा, गोठालाहरुसँग खेल्दा पनि भगवान धेरै विलक्षण कार्य गर्नुहुन्छ, ठूला ठूला वलवान् राक्षसहरुलाई पनि कुनै परिश्रम विना खतम गरिदिनु हुन्छ । सानो वालक वन्दा पनि उहाँको प्रभाव जस्ताको तस्तै रहन्छ ।

भगवान् प्रकृतिको सहायताले नै क्रिया, लीला गर्नुहुन्छ । तर भगवान् मनुष्य जस्तो प्रकृतिको अधीन हुनुहुन्न । कारण, भगवानलाई प्रकृति 'पर' छैन, अभिन्न छ । भगवानलाई प्रकृतिमा रहेका मनुष्यको अगाडि आउनु छ; यही कारण उहाँलाई प्रकृति स्वीकार गरेर प्रकट हुनु परेको छ । त्यसो भए मात्रै व्यक्तिहरु उहाँलाई देख्न सक्छन् ।

No comments:

Post a Comment