No. 111
श्रीभगवानले भन्नुभयो
श्लोक ५
हे परन्तप अर्जुन ! मेरो र तिम्रो धेरै जन्म भैसके । ती जन्महरू म जान्दछु, तर तिमी जान्दैनौ ।
तेस्रो श्लोकमा
भगवानले आफूलाई प्रिय सखा भन्नुभएको सुनेर चौथो श्लोकमा अर्जुन आफ्नो मनको
कुरा भगवानसँग खुलेर गर्छन् । अर्जुनलाई भगवानको जन्म-रहस्य जान्न प्रवल
जिज्ञासा भयो । यसैले भगवान अर्जुनको सामुन्ने मित्रताको नाताले आफ्नो
जन्मको रहस्य प्रकट गर्नुहुन्छ । श्रोताको प्रवल जिज्ञासा भए वक्ता आफ्नो
रहस्य लुकाएर राख्न सक्तैन । यसैले, सन्त-महात्माहरु आफूमा विशेष श्रद्धा
राख्नेहरुलाई आफूले आफैंलाई प्रकट गर्न सक्छन् ।
वेला वेलामा मेरो र
तिम्रो धेरै जन्म भैसैकेका छन् । मेरो जन्म (परमात्मा)को किसिम अर्कै छ, र
तिम्रो (जीवको) जन्म अर्कै किसिमको छ । तात्पर्य, मेरो र तिम्रो धेरै
जन्म भए पनि ती जन्म छुट्टा छुट्टै किसिमका छन् ।
दोस्रो अध्यायमा
भगवानले अर्जुनलाई भन्नुभयो, 'म (भगवान) र तिमी तथा यहाँ जम्मा भएका सबै
राजाहरु (जीव) पहिले थिएनन् र पछि पनि रहँदैनन् भन्ने कुरा हुँदै होइन ।'
तात्पर्य, भगवान र उहाँको अंश जीवात्मा दुवै अनादि र नित्य छन् ।
संसारमा आफ्नो
पूर्वजन्मको ज्ञान हुने 'जातिस्मर' जीव पनि हुन्छन् । यस्ता साधना गरेर
सिद्ध भएका यस्ता महापुरुष 'युन्जान योगी' भनिन्छन् । साधनामा अभ्यास
गर्दा यस्ता व्यक्तिहरुको वृत्ति धेरै तेज भैसकेको हुन्छ, जहाँ वृत्ति
लगायो, त्यहींको ज्ञान यिनीहरुलाई हुन्छ । यस्ता योगी पनि कुनै सीमासम्म
मात्रै आफ्नो पुरानो जन्मको ज्ञान गर्न सक्छन्, सबै जन्मको होइन । यसको
विपरीत भगवान 'युक्तयोगी', साधना नै नगरी स्वतःसिद्ध नित्य योगी,
भनिनुहुन्छ । उहाँलाई आफ्नो जन्महरू जान्न कुनै वृत्ति लगाउनु पर्दैन,
आफ्नो र सम्पूर्ण जीवहरुको पनि जन्महरुको स्वतःस्वाभाविक ज्ञान उहाँमा सँधै
वनिरहन्छ । उहाँमा भूत, भविष्य र वर्तमानको भेद छैन, उल्टो उहाँको अखण्ड
ज्ञानमा सबै सँधै वर्तमान नै रहन्छ । कारण कि भगवान सम्पूर्ण देश, काल,
वस्तु, व्यक्ति, परिस्थिति आदिमा पूर्णरूपले रहँदा पनि यिनीहरु भन्दा
सर्वथा अतीत रहनुहुन्छ ।
'म सबैलाई जान्दछु'
भन्ने अभिव्यक्तिवाट हामी जस्ता साधकलाई यस्तो अनुभूति हुन्छ, हामी पनि
भगवानको जानकारीमा छौं, भगवान हामीलाई निरन्तर हेरिरहनु भएको छ । हामी जे
जस्तो भए पनि छौं त भगवानकै ज्ञानमा ।
आफ्नो जन्म नजान्नमा
मूल हेतु हो -- अन्तःकरणमा नाशवान् पदार्थहरुको आकर्षण, महत्व हुनु ।
यही कारण हाम्रो ज्ञान विकसित नहुने हो । अर्जुनको अन्तःकरणमा नाशवान्
पदार्थहरुको, व्यक्तिहरुको महत्व थियो, यही कारण उनी कुटुम्बीहरु मर्ने
भयले युद्ध गर्न चाहँदैनथे । अतः नाशवान् पदार्थहरुको कामना भएको कारण
उनी आफ्नो पूर्वजन्महरु जान्दैनथे ।
ममता-आसक्तिपूर्वक
आफ्नो सुखभोग र आरामकोलागि धनादि पदार्थ संग्रह गर्नुलाई 'परिग्रह' भन्छन् ।
परिग्रहको सर्वथा परित्याग गर्नु अर्थात् आफ्नो सुख, आरामकोलागि कुनै पनि
वस्तुको संग्रह नगर्नु 'अपरिग्रह' भनिन्छ । अपरिग्रह्को दृढता भएपछि
पूर्वजन्मको ज्ञान हुन्छ ।
संसार (क्रिया र पदार्थ) सदैव
परिवर्तनशील र असत् छ; अतः उसमा अभाव (कमी) हुनु निश्चित छ । अभावरुप
संसारसँग सम्बन्ध विच्छेद जोडेको कारण मनुष्यलाई आफूमा पनि अभाव देखिन
थाल्छ । अभाव देखिनाले उसमा आफ्नो अभावको पूर्ति होस्, फेरि फेरि यस्ता
चिज मिलि रहून् भन्ने कामना पैदा हुन्छ । यस्तै कामनाको पूर्तिमा नै
मनुष्य दिन रात लागिरहन्छ । तर कामनाको पूर्ति कहिले पनि हुँदैन ।
कामनाहरुले गर्दा नै मनुष्य बेहोश जस्तो हुन्छ । अतः यस्ता मनुष्यको अनेक
जन्महरुको ज्ञान हुने कुरै छोडौं, वर्तमान कर्तव्यको पनि ज्ञान (के
गरिरहेछु र के गर्नुपर्छ) पनि हुँदैन ।
No comments:
Post a Comment