Friday 22 August 2014

145. No. 112 Ch4 श्लोक ६ म अजन्मा र अविनाशीस्वरूप हुँदा हुँदै पनि र सम्पूर्ण प्राणीहरुको ईश्वर हुँदा हुँदै पनि आफ्नो

No. 112
श्लोक ६
 
म अजन्मा र अविनाशीस्वरूप हुँदा हुँदै पनि र सम्पूर्ण प्राणीहरुको ईश्वर हुँदा हुँदै पनि आफ्नो प्रकृतिलाई अधीन गरेर आफ्नो योगमायाद्वारा आफैं प्रकट हुन्छु ।
यो चौथो अध्यायको छैठौं श्लोकमा छ कुराको वर्णन छ । अज, अव्यय र ईश्वर --- यी तीन कुराहरु भगवानका हुन्; प्रकृति र योगमाया -- यी दुई कुरा भगवानका शक्तिको हो र यौटा कुरा भगवान प्रकट हुनु हो ।
भगवान यहाँ वताउनुहुन्छ, साधारण मनुष्यहरू जस्तो न त मेरो जन्म छ र न मेरो मरण नै छ । मनुष्य जन्म लिन्छन् र मर्छन्; तर म 'अजन्मा' भएर पनि प्रकट हुन्छु र अविनाशी भएर पनि अन्तरधान हुन्छु । प्रकट हुनु र अन्तर्धान हुनु -- दुवै मेरा अलौकिक लीला हुन् ।
गीता भन्छ, सम्पूर्ण प्राणीहरु जन्म भन्दा पहिले अप्रकट (अव्यक्त) थिए र मरेपछि पनि अप्रकट (अव्यक्त) हुने खालका छन्, खालि वीचमा नै प्रकट (व्यक्त) छन् । परन्तु भगवान सूर्य जस्तो सँधै प्रकट रहनुहुन्छ । तात्पर्य, सूर्य उदय हुनु भन्दा पहिले पनि जस्ताको तस्तो रहन्छ र अस्त भएपछि पनि जस्ताको तस्तो रहन्छ अर्थात् सूर्य सँधै  नै रहन्छ; तर स्थान भेदले गर्दा, स्थानविशेषका व्यक्तिहरुको दृष्टिमा सूर्यको उदय र अस्त भएको देखिन्छ । यस्तै भगवान प्रकट हुनु र अन्तर्धान हुनु अरु व्यक्तिहरुको दृष्टिमा हो, तर वास्तवमा भगवान सँधै प्रकट रहनुहुन्छ ।
अरु प्राणीहरु कर्महरुमा  परतन्त्र भएर जन्म लिन्छन्, तर यस्तो जन्म   भगवानको हुँदैन । कर्महरुको परतन्त्रता द्वारा जन्म हुँदा दुई कुरा हुन्छन् -- आयु र सुख-दुःखको भोग । भगवानमा यी दुवै हुँदैनन् ।
साधारण प्राणीहरु जन्मेपछि उनीहरुको शरीर पहिले वालक हुन्छ; फेरि ठूलो भएर युवक या युवती हुन्छ, फेरि वृद्ध हुन्छ र मर्छ । तर भगवानमा यस्ता परिवर्तन हुँदैनन् । उहाँ अवतार लिएर वाललीला गर्नुहुन्छ र किशोर अवस्था (पन्ध्र वर्षको अवस्था) सम्म वढ्ने लीला गर्नुहुन्छ । किशोर अवस्था पुगेपछि उहाँ नित्य-किशोर नै रहनुहुन्छ । सयौं वर्ष वित्दा पनि भगवान त्यस्तै सुन्दर स्वरूप रहनुहुन्छ । त्यसैले भगवानका चित्रहरुमा दाह्री -जुँगा हुँदैनन् । यसरी अरु प्राणी जस्तो न त भगवानको जन्म हुन्छ, न परिवर्तन हुन्छ न मृत्यु नै हुन्छ ।
सम्पूर्ण प्राणीहरुको ईश्वर (महान् शासक) रहँदा पनि भगवान अवतारको वेला सानो भन्दा सानो वालक वन्नुहुन्छ; परन्तु वालक वन्दा पनि उहाँको ईश्वरभाव (शासकत्व)मा कुनै कमी आउँदैन । यही कारण, श्रीकृष्णले छैठीको दिनमा पूतना राक्षसीलाई मार्नुभयो । पूतनाको शरीर अढाई योजन (एक योजनमा चार कोश हुन्छ)को महान् भयङ्कर थियो । उहाँमा ईश्वरभाव नहुँदो हो त जन्मेको छ दिनको दिन पूतनाको बध  कसरी हुन्थ्यो ? भगवानले तीन महिनाको अवस्थामा शकटासुरलाई, एक वर्षको अवस्थामा तृणावर्तलाई र पाँच वर्षको अवस्थामा अघासुरलाई मार्नुभयो । यस्तो किसिमले भगवानले वाल्यावस्थामा नै अनेक राक्षसहरुलाई मार्नुभयो । सात वर्षको अवस्थामा नै उहाँले गोवर्धन पर्वतलाई एक औंलाले उठाउनु भयो ।
सम्पूर्ण प्राणीहरुको ईश्वर भएर पनि भगवान् अवतार समयमा सानो भन्दा सानो पनि वन्नुहुन्छ र सानो भन्दा सानो काम पनि गर्नु हुन्छ । वास्तवमा यही भगवानको भगवत्ता हो । भगवान् अर्जुनको घोडाहरु हाँक्नुहुन्छ र उनको आज्ञा पालन पनि गर्नुहुन्छ, तैपनि भगवानको अर्जुनमा र अरु प्राणीहरुमा पनि ईश्वरभाव जस्ताको तस्तै छ । सारथि हुँदा पनि उहाँ अर्जुनलाई गीताको उपदेश दिनुहुन्छ ।
भगवान् को शुद्ध प्रकृति सत्व, रज र तम गुणहरुदेखि छुट्टै छ । यो शुद्ध प्रकृति भगवानको स्वकीय सच्चिनान्दघन स्वरूप हो । यही प्रकृतिलाई संधिनी-शक्ति, सम्वित्-शक्ति, र आल्हादिनी-शक्ति भन्छन् । यसैलाई चिन्मयशक्ति, कृपाशक्ति पनि भनिन्छ श्रीराधाजी, श्रीसीताजी आदि पनि यिनै शक्ति हुन् । भगवान प्राप्त गराउने 'भक्ति' र 'ब्रह्मविद्या' पनि यही हो ।
प्रकृति भगवानको शक्ति हो । अग्निमा दुई शक्ति रहन्छन् -- प्रकाशिका र दाहिका । प्रकाशिका-शक्ति अन्धकार हटाएर प्रकाश गराइदिन्छ तथा भय पनि मेटाउँछ । दाहिका-शक्ति वस्तुलाई  जलाउँछ, पकाइ पनि दिन्छ एवं चिसो पनि हटाउँछ । यी दुवै शक्तिहरु अग्नि भन्दा भिन्न पनि छैनन् र अभिन्न पनि छैनन् । भिन्न यो कारण छैनन्, यिनीहरु अग्निरूप नै हुन् अर्थात् यिनीहरुलाई अग्निवाट छुट्टयाउन सकिंदैन र अभिन्न यो कारण छैनन्, अग्नि रहँदा रहँदै पनि मन्त्र, औषधिवाट अग्निको दाहिका शक्ति कुण्ठित गराउन सकिन्छ । त्यस्तै नै भगवानमा रहने शक्ति पनि भगवानदेखि भिन्न र अभिन्न दुवै हुन सक्छन् ।
हामीले आगो वाल्ने सलाईमा अग्निको सत्ता त सँधै रहन्छ, तर सलाईको दाहिका-शक्ति लुकेको हुन्छ । त्यस्तै भगवान् सम्पूर्ण देश, काल, वस्तु, व्यक्ति आदिमा सँधै रहनुहुन्छ, तर उहाँको शक्ति लुकिरहेको हुन्छ । त्यो शक्तिलाई अधिष्ठित गरेर अर्थात् आफुलाई वशमा गरेर, त्यही शक्ति द्वारा भगवान प्रकट हुनुहुन्छ । जवसम्म अग्नि आफ्नो प्रकाशिका र दाहिका शक्ति लिएर प्रकट हुँदैन, तवसम्म सँधै रहे पनि अग्नि देखिंदैन । जवसम्म भगवान् आफ्नो शक्ति लिएर प्रकट हुनुहुन्न, तवसम्म भगवान हरदम रहे पनि देखिनु हुन्न ।
        
राधाजी, सीताजी, रुक्मिणीजी सबै भगवानका निजी दिव्य शक्तिहरु  हुन् । भगवान सामान्यरूपले सबै ठाउँमा रहे पनि कुनै काम गर्नुहुन्न । उहाँले काम गर्नु पर्दा आफ्नो दिव्य शक्तिलाई लिएर नै गर्नुहुन्छ । त्यही दिव्य शक्तिद्वारा भगवान् विचित्र-विचित्र लीलाहरु गर्नुहुन्छ । उहाँका दिव्य लीलाहरू सुनेर, गाएर र सम्झेर पनि हामी पवित्र हुन्छौं र आफ्नो उद्धार गर्छौं ।
निर्गुण-उपासनामा त्यही शक्ति 'ब्रह्मविद्या' हुन्छ, सगुण-उपासनामा त्यही शक्ति भक्ति हुन्छ । जीव भगवानको नै अंश हो । जव जीव अरुमा मानिएको ममता हटाएर एक मात्र भगवानको स्वतःसिद्ध वास्तविक आत्मीयता जाग्रत गर्छ, त्यो वेला भगवानको शक्ति उसमा भक्तिरूपले प्रकट हुन्छ । यो भक्ति यति विलक्षण छ कि यसले निराकार भगवानलाई पनि साकाररूपले प्रकट गरिदिन्छ, भगवानलाई पनि खिंच्छ । यो भक्ति दिने पनि भगवान नै हो ।

भगवानको भक्तिरूप शक्तिका दुई रूप छन् -- विरह र मिलन । भगवान विरह पनि पठाउनु हुन्छ र मिलन पनि । भगवानले विरह पठाउँदा भक्त भगवान विना व्याकुल हुन्छ । व्याकुलताको अग्निमा संसारको आसक्ति जल्छ, वल्छ र भगवान प्रकट हुनुहुन्छ । ज्ञानमार्गमा भगवानको शक्ति पहिले उत्कट जिज्ञासाको रूपमा आउँछ । (जुन जिज्ञासाले गर्दा तत्व नजानुञ्जेल साधकलाई शान्ति हुँदैन ) र ब्रह्मविद्या-रूपले जीवको अज्ञानको नाश गरेर उसको वास्तविक स्वरूप प्रकाशित गरिदिन्छ । तर भगवानद्वारा विरहरूपले पठाइने दिव्यशक्ति यति विलक्षण छ, यसले  भगवान कहाँ हुनुहुन्छ ? म के गरौँ ? कहाँ जाउँ ? भन्ने विचारले भक्तलाई व्याकुल गराउँछ । यही व्याकुलता भक्तको सबै पाप नाश गरेर भगवानलाई  साकाररूपले प्रकट गरिदिन्छ । व्याकुलताले गर्ने जस्तो काम विवेक विचारपूर्वक गरिएको साधनले गर्न सक्तैन ।  

No comments:

Post a Comment