Friday 22 August 2014

141. No.108 श्लोक २ हे परंतप ! यस्तो किसिमले परम्परावाट प्राप्त यो कर्मयोग राजर्षीहरुले जाने,

No.108
श्लोक २

हे परंतप ! यस्तो किसिमले परम्परावाट प्राप्त यो कर्मयोग राजर्षीहरुले जाने,  समय वित्दै जाँदा यो  योग  मनुष्यलोकमा लुप्त जस्तो भयो ।

सूर्य, मनु, इक्ष्वाकु राजाहरुले यो कर्मयोगलाइ राम्ररी जाने र यसको आचरण आफूले पनि गरे र आफ्ना  प्रजाहरुलाई पनि गराए । यसरी राजर्षीहरुवाट यो कर्मयोगको परम्परा चल्यो । यो कर्मयोग राजाहरुको (क्षत्रियहरु) खास (निजी) विद्या हो । यही कारण प्रत्येक राजाले यो विद्या जान्नुपर्छ । प्राचीनकालमा कर्मयोग जान्ने राजाहरु भोगहरुमा आसक्त नभई सुचारुरूपले राज्यको संचालन गर्ने गर्थे । प्रजाको हितमा उनीहरुको स्वाभाविक प्रवृत्ति हुन्थ्यो । ती राजाहरु प्रजासँग लिएका करको रकम प्रजाको नै हितमा लगाइदिन्थे, आफ्नो स्वार्थकोलागि अलिकति पनि  करको धन खर्च गर्दैनथे । आफ्नो जीवन निर्वाहकोलागि उनीहरु छुट्टै खेती आदि काम गराउँथे । कर्मयोगको पालन गरेको कारण ती राजाहरुलाई विलक्षण ज्ञान र भक्ति प्राप्त थियो । यही कारण, ठूला ऋषिहरु पनि ज्ञानकोलागि ती राजाहरुकहाँ जान्थे । महर्षि व्यासका छोरा शुकदेवजी ज्ञान-प्राप्तिकोलागि जनक राजाकहाँ गएको प्रसंग शास्त्रमा उल्लेख छ । त्यस्तै, ब्रह्मविद्या सिक्न छ ऋषिहरु मिलेर महाराज अश्वपतिकहाँ गएका थिए ।

परमात्मा नित्य हुनुहुन्छ र उहाँको प्राप्तिको साधन -- कर्मयोग, ज्ञानयोग, भक्तियोग पनि परमात्मा द्वारा निश्चित गरिएको हुनाले नित्य छ । त्यसैले, यी साधनहरुको कहिले पनि अभाव हुँदैन । यी योगहरु कसैको आचरणमा आएको नदेखिए पनि नित्य छन् । यसैले यो प्रसंगमा आएको 'नष्ट' शब्द नाश भन्ने नभई लुप्त, अप्रकट भन्नु नै हो, अभाव भन्नु होइन । यहाँ भगवानको अभिप्राय, यो अविनाशी कर्मयोगको तत्वले वर्णन गर्ने ग्रन्थहरुको र यसको तत्व जान्ने तथा यसलाई आचरणमा ल्याउने श्रेष्ठ पुरुषहरुको अभाव भएको जस्तो देखिनु हो ।

भगवान भन्नुहुन्छ, 'कल्पको शुरुमा मैले यो कर्मयोग सूर्यलाई भनेको थिएँ, फेरि परम्पराले यो ज्ञान (कर्मयोग) राजर्षीहरुले जाने । यसरी केही न केही अन्तर पर्दै गयो र धेरै समय वितेपछि अव यो कर्मयोग मनुष्यलोकमा लुप्तप्रायः भएको छ ।' यही कारण हो, वर्तमानमा पनि यो कर्मयोग सुन्न र देख्न धेरै कम पाइन्छ ।

कर्मयोगको आचरण लुप्तप्रायः भए पनि कर्मयोगको सिद्धान्त (आफ़्नोलागि केही नगर्ने) सँधै नै रहन्छ । किनकि यो सिद्धान्त आचरणमा नल्याई कुनै पनि योग (ज्ञानयोग, भक्तियोग)को साधन निरन्तर हुन सक्तैन । कर्म त सबै व्यक्तिलाई गर्नै पर्छ । ज्ञानयोगी विवेकद्वारा कर्महरूलाई नाशवान् मानेर कर्महरुसँग सम्बन्ध-विच्छेद गर्छ र भक्तियोगी कर्महरूलाई भगवानमा अर्पण गरेर कर्महरुसँग सम्बन्ध-विच्छेद गर्छ । अर्को शब्दमा, ज्ञानयोगी र भक्तियोगीले  कर्मयोगको सिद्धान्त त मान्नै पर्छ, कर्मयोगको सिद्धान्तको अनुष्ठान नगरे पनि । तात्पर्य, वर्तमानमा कर्मयोग लुप्तप्रायः भए पनि सिद्धान्तको रूपमा त विद्यमान नै छ ।

गहिरिएर हेर्दा, कर्मयोगमा 'कर्म' लुप्त भएको छैन, तर (कर्महरुको प्रवाह आफूतिर हुँदा) 'योग' नै लुप्त भएको हो ।  कर्म गरेर संसारको पदार्थ पाइए जस्तै परमात्मा पनि कर्म गरेर पाइन्छ भन्ने कुरो साधकहरुको मनमा गडेर रहेको हुन्छ । तर 'परमात्मा नित्यप्राप्त छ' भन्ने वास्ताविकतातिर उनीहरुको ध्यान नै जाँदैन । 'कर्म' सँधै संसारकोलागि नै हुन्छ र 'योग' सँधै आफ्नोलागि हुन्छ । 'योग'कोलागि कर्म भन्ने  कुरा त स्वतः सिद्ध छ । त्यसैले योग कर्म गरेर प्राप्त हुन्छ भन्ने मान्नु नै 'योग' लुप्त हुनु हो ।

मनुष्य शरीर कर्मयोग पालन गर्न अर्थात् निःस्वार्थभावले अरुको सेवा गर्न पाइएको हो । परन्तु हालै मनुष्यहरू रात-दिन आफ्नो सुख-सुबिधा, सम्मान आदि पाउनमा नै लागिरहेछन् । स्वार्थ धेरै वढेकोले अरुको सेवा गर्नेतिर उनीहरुको ध्यान नै जाँदैन । अतः मनुष्य शरीर पाइएको उद्देश्य विर्सनु नै कर्मयोग लुप्त हुनु हो । 

हामी सेवाद्वारा पशु-पक्षीदेखि लिएर मनुष्य, देवता, पितृ, ऋषि, सन्त-महात्मा र भगवानसम्मलाई आफ्नो वशमा गर्न सक्छौं। परन्तु सेवाभाव विर्सेर मनुष्य स्वयं भोगहरुको वशमा पर्यो, जसको परिणाम महान् दुःखदायी हुनेछ । यही नै कर्मयोग लोप हुनु हो ।

No comments:

Post a Comment