Sunday 21 September 2014

165 No. 132 श्लोक २७ अरु योगीहरू सम्पूर्ण इन्द्रियका क्रियाहरुलाई र प्राणहरुका क्रियाहरुलाई ज्ञानद्वारा प्रकाशित

No. 132
श्लोक २७

अरु योगीहरू सम्पूर्ण इन्द्रियका क्रियाहरुलाई र प्राणहरुका क्रियाहरुलाई ज्ञानद्वारा प्रकाशित आत्मसंयमयोग (समाधियोग)रुप अग्निमा हवन क्रिया गर्छन् ।      

यो श्लोकमा समाधिलाइ यज्ञको रुप दिइएको छ । केही योगीहरु दसै इन्द्रियहरुका क्रियाहरुलाई समाधिमा हवन गर्छन् । तात्पर्य, समाधि-अवस्थामा मन-बुद्धिसहित सम्पूर्ण इन्द्रियहरु (ज्ञानेन्द्रियहरु र कर्मेन्द्रियहरु) का क्रियाहरु रोकिन्छन् । इन्द्रियहरु पूरै निश्चल र शान्त हुन्छन् । 

समाधिरूप यज्ञमा प्राणहरुका क्रियाहरुको पनि हवन हुन्छ अर्थात् समाधिकालमा प्राणहरुका क्रियाहरु पनि रोकिन्छन् । समाधिमा प्राणहरुको गति रोक्ने दुइ तरिका छन् । 

एउटा हठयोगको समाधि हुन्छ, जुन समाधिमा प्राणहरुलाई रोक्न कुम्भक (प्राणायाम) गरिन्छ । कुम्भकको अभ्यास गर्दा गर्दा प्राण रोकिन्छ । यो रोकिने क्रम केही समयकोलागि मात्रै नभएर घन्टौं, दिनौं सम्म पनि रोकिइरहन सक्छ ।यस्तो प्राणायामले आयु वढ्छ ।

अर्को प्रकारको समाधिमा मनलाई एकाग्र गरिन्छ । मन सर्वथा एकाग्र भएपछि प्राणहरुको गति आफैं रोकिन्छ । 

समाधि र निद्रा -- दुबैमा कारणशरीरसँग सम्बन्ध रहन्छ । यसैले वाहिरवाट दुबैको समान अवस्था देखिन्छ । त्यसैले यहाँ समाधि र निद्रामा परस्पर भिन्नता सिद्ध गरिएको छ । तात्पर्य, वाहिरवाट समान देखिए पनि समाधिकालमा 'एक सच्चिदानन्द परमात्मा नै सर्वत्र परिपूर्ण हुनुहुन्छ' भन्ने ज्ञान प्रकाशित (जाग्रत) रहन्छ र निद्राकालमा वृत्तिहरु अविद्यामा लीन हुन्छन् । समाधिकालमा प्राणहरुको गति रोकिन्छ र निद्राकालमा प्राणहरुको गति चलिरहन्छ । त्यसैले निद्रा आएपछि समाधि लाग्दैन ।  

समाधिरुप यज्ञ गर्ने योगीहरू इन्द्रियहरु तथा प्राणहरुको क्रियाहरुलाई समाधियोगरुप अग्निमा हवन गर्छन् अर्थात् मनबुद्धिसहित सम्पूर्ण इन्द्रियहरु र प्राणहरुका क्रियाहरुलाई रोकेर समाधिमा रहन्छन् । समाधिकालमा सम्पूर्ण इन्द्रियहरु र प्राणको चंचलता हराउँछ । सच्चिदानन्दघन परमात्माको ज्ञान मात्रै जाग्रत रहन्छ ।

श्लोक २८ 

अरु पनि कडा ब्रत गर्ने प्रयत्नशील साधक द्रव्यमय यज्ञ गर्छन् र अरु कति तपोयज्ञ गर्छन् र अरु धेरै साधक योगयज्ञ गर्छन् तथा अरु स्वाध्यायरुप ज्ञानयज्ञ गर्छन् । 

अहिंसा, सत्य, अस्तेय (चोरी नगर्ने), ब्रह्मचर्य, र अपरिग्रह (आफ्नो भोगकोलागि संग्रह नगर्ने) -- यी पाँच नियम हुन् । यी नियमहरुलाई 'महाव्रत' भन्छन् । शास्त्रहरुमा यी महाव्रतहरुको धेरै प्रशंसा, महिमा छ । यी व्रतहरुको महत्व साधकलाई संसारदेखि विमुख गराउनुमा छ । यी व्रतहरु पालन गर्ने साधकहरुलाई यहाँ 'संशितव्रता:' भनिएको छ ।  यस्ता साधकहरु आफ्नो व्रतको अनुष्ठानमा प्रयत्नशील भएको कारण उनीहरुलाई 'यत्नशील' पनि भनिएको हो ।

यो श्लोकमा 'द्रव्ययज्ञ' भनेको संसारको हितको उद्देश्यले कुवा, तलाउ, मन्दिर, धर्मशाला आदि वनाउनु, अभावमा परेका व्यक्तिलाई अन्न, जल, वस्त्र (लुगा, कपडा) औषधि, पुस्तक आदि दिनु, दान हो । अर्को अर्थमा, आफूसँग रहेको द्रव्य (तीनै शरीरहरुसहित सम्पूर्ण पदार्थहरु) आफ्नो र आफ़्नोलागि नमानेर निःस्वार्थभावले जसलाई दान दिइएको हो उसैको मानेर उसैको सेवामा लगाइदिए द्रव्ययज्ञ सिद्ध हुन्छ । 

हामीसँग भएका शरीर सहित समस्त  वस्तुहरुवाट नै यज्ञ हुन सक्छ, त्यो भन्दा धेरैको आवश्यकता छैन हामीलाई । हामी पनि एउटा वालकवाट पाउन सक्ने जति मात्रै आशा गर्छौं भने सर्वव्यापी भगवान तथा संसार हामीवाट हाम्रो क्षमता भन्दा धेरैको आशा किन राख्थे ?

आफ्नो कर्तव्य (स्वधर्म) पालनमा आइपर्ने प्रतिकूलताहरू, कठिनाइहरु प्रसन्नतापूर्वक सहनु 'तपोयज्ञ' हो । लोकहितकोलागि एकादशीको  आदिको व्रत वस्नु, मौन धारण गर्नु आदि पनि 'तपोयज्ञ' अर्थात् तपस्यारुप यज्ञ हुन् । परन्तु प्रतिकूल भन्दा प्रतिकूल परिस्थिति, वस्तु, व्यक्ति, घटना आइपर्दा पनि साधकले प्रसन्नतापूर्वक आफ्नो कर्तव्यको पालन गरिरहने, आफ्नो कर्तव्यवाट अलिकति पनि विचलित नहुने नै सब भन्दा ठूलो तपस्या हो । यस्तो तपस्याले चांडै सिद्धि पाइन्छ । 

कतै कुनै ठाउँमा गाउँभरीको फोहोर रहँदा नराम्रो देखिन्छ । तर तिनै फोहोर खेतमा पर्यो भने त्यो फोहोर खेतिकोलागि मल वन्छ । त्यस्तै, प्रतिकूलता खराव जस्तो देखिए पनि त्यो प्रतिकूलतालाई हामी फोहोर फाले जस्तो फालिदिन्छौं अर्थात् त्यसलाई महत्व दिंदैनौ, तर त्यही प्रतिकूलता आफ्नो कर्तव्य-पालनको निमित्त राम्रो साधन हो । यसैले प्रतिकूल भन्दा प्रतिकूल परिस्थितिलाई सहर्ष सहनु जस्तो अर्को कुनै तप हुँदैन । भोगहरुमा आसक्ति रहँदा अनुकूलता राम्रो र प्रतिकूलता नराम्रो लाग्ने हो । यही कारण प्रतिकूलताको महत्व हाम्रो समझमा आउँदैन । 

यहाँ वर्णित योग अन्तःकरणको समताकोलागि हो । समताको अर्थ -- कुनै पनि कामको पूर्ति या अपूर्तिमा, फलको प्राप्ति या अप्राप्तिमा, अनुकूल र प्रतिकूल परिस्थितिमा, निन्दा या स्तुतिमा, आदर र अनादरमा सम रहनु अर्थात् अन्तःकरणमा हलचल, राग-द्वेष, हर्ष-शोक, सुख-दुःख नहुनु । यसरी सम रहनु नै 'योगयज्ञ' हो ।

केवल लोकहितकोलागि गीता, रामायण, भागवत आदि तथा वेद, उपनिषद्को आफ्नो अधिकार अनुसार मनन-विचारपूर्वक पठन-पाठन गर्नु, आफ्नो वृत्तिहरु तथा जीवनको अध्ययन गर्नु जस्ता सबै स्वाध्यायरुप ज्ञानयज्ञ हुन् ।

गीताको अन्तमा भगवानले भन्नुभयो, 'गीता-शास्त्रको अध्ययन गर्ने व्यक्तिद्वारा म ज्ञानयज्ञले पूजित हुनेछु भन्ने मेरो मत छ' ।तात्पर्य, गीताको स्वाध्याय 'ज्ञानयज्ञ' हो । गीताको भावलाई गहिरोसँग विचार गर्नु, गीताको भावहरुलाई राम्रोसँग बुझ्ने चेष्टा गर्नु आदि पनि स्वाध्यायरुप ज्ञानयज्ञ नै हुन् । 

No comments:

Post a Comment