Sunday 21 September 2014

171 No. 138 श्लोक ४० विवेकहीन र श्रद्धारहित संशयात्मा मनुष्यको पतन हुन्छ ।

No. 138 

श्लोक ४०   

विवेकहीन र श्रद्धारहित संशयात्मा मनुष्यको पतन हुन्छ । यस्ता संशयात्मा मनुष्यकोलागि न यो लोक हितकारक छ र न सुख नै छ ।

विवेक राम्रोसँग जाग्रत नभएको तथा जाग्रत भएको विवेकलाई पनि महत्व नदिने, साथै अश्रद्धालु संशययुक्त पुरुषको पारमार्थिक मार्गवाट पतन हुन्छ । किनकि संशययुक्त व्यक्ति आफ्नो बुद्धि शिक्षाले रहित हुन्छ, त्यस्तो पुरुष अरुको कुरो पनि सुन्दैन । त्यस्तो पुरुषको संशय कसरी नष्ट हुने ? संशय नष्ट नभई उसको उन्नति कसरी हुने ?

किसिमका किसिमका कुराहरु सुन्दा 'यो ठीक हो अथवा त्यो ठीक हो' -- भन्ने निर्णय गर्न नसक्ने सन्देहयुक्त पुरुष संशयात्मा हो । पारमार्थिक मार्गमा लागेको साधकमा संशय हुनु स्वाभाविक हो; किनकि ऊ कुनै विषय पढ्दा केही कुरा बुझ्छ, केही कुरा बुझ्दैन । पूरै नबुझेको विषयमा संशय हुँदैन र पूरै बुझेको विषयमा पनि संशय हुँदैन । त्यसैले संशय सँधै अधूरो ज्ञानमा नै हुन्छ, यसैलाई अज्ञान पनि भन्छन् । यसैले, संशय हुनु हानिकारक छैन, तर संशयलाई समाधान नगर्नु र त्यो संशय आफूमा रहिरहन दिनु चाहिं हानिकारक हो । संशय हटाउने चेष्टा (कोशीस) नगर्दा त्यही संशय 'सिद्धान्त' वनिदिन्छ । संशय नहट्दा मनुष्य विचार गर्छ, 'पारमार्थिक मार्गमा सबै गोलमाल छ' । यस्तो सोचेर ऊ पारमार्थिक मार्ग छोडिदिन्छ तथा नास्तिक वन्छ । परिणामस्वरूप उसको पतन हुन्छ । यसैले आफूभित्र संशय रहँदा साधकलाई नराम्रो लाग्नु पर्छ । संशय नराम्रो लागेपछि जिज्ञासा जाग्रत हुन्छ ।त्यो जिज्ञासा पूर्ति भएपछि संशय-विनाशक ज्ञान प्राप्त हुन्छ ।

खोज गर्नु नै साधकको लक्षण हो । उसले इन्द्रियहरु र मनले देखेको कुरालाई नै सत्य मान्छ भने ऊ त्यहिं नै रोकिन्छ, अगाडि वढ्न सक्तैन । साधकले निरन्तर अघि वढी नै रहनु पर्छ । संशय अलिकति पनि वांकी रहुन्जेल कहिले पनि सन्तोष गर्नु हुन्न । यसो हुँदा उसको संशय सन्त-महात्माहरुवाट अथवा ग्रन्थहरुवाट कुनै-न-कुनै प्रकारले हट्छ । संशय हटाउने अरु कोही पाइएन भने पनि भगवत्कृपाले हट्छ । 

जीवात्मा परमात्माको अंश हो । यसैले, यो जीवलाई आफ्नो अंशी परमात्मा प्राप्तगर्ने इच्छाको भोक जाग्रत हुन्छ । आफ्नो इच्छा पूरा नहुँदा व्यक्तिलाई दुःख हुन्छ, त्यो वेला भगवान त्यो जीवको दुःख सहन सक्नुहुन्न । अतः त्यो इच्छा पूर्ति भगवान स्वयं गर्नुहुन्छ । त्यस्तै, साधकलाई आफ्नो भित्र स्थित संशयवाट व्याकुलता अथवा दुःख भएको वेला भगवानलाई साधकको त्यो दुःख असह्य हुन्छ । उसको संशय हटाउनकोलागि भगवानसँग प्रार्थना गर्नु पर्दैन, त्यो संशय हटाएर भगवान स्वतः उसको त्यो दु:ख मेट्नु हुन्छ । संशयात्मा पुरुषको पुकार स्वतः भगवानसम्म पुग्छ । 

संशयले गर्दा नै साधकको वास्तविक उन्नति रोकिन्छ, त्यसैले साधकले संशय हटाउनै पर्छ ।यो श्लोकमा संशयात्मा भइकन 'अज्ञ' र 'अश्रद्धालु' मनुष्यको वर्णन छ | तात्पर्य, भित्र संशय रहँदा पनि त्यो मनुष्यको न त विवेकवती बुद्धि छ, न ऊ अरुले भनेको कुरो नै मान्छ । यसैले त्यस्तो मनुष्यको पतन भएर उसको यो लोक पनि विग्रन्छ, परलोक पनि, न उसलाई सुख नै छ ।

संशयात्मा व्यक्तिको लोक व्यवहार पनि विग्रन्छ । किनकि उसको प्रत्येक क्रियामा संशय गर्ने वानी नै वसिसकेको हुन्छ । यस्तो व्यक्तिलाई परलोकमा पनि कल्याण हुँदैन । यो लोकमा र परलोकमा कल्याण हुने मुख्य उपाय नै निश्चायात्मिका बुद्धि हो । संसारको मान्छे द्विविधामा रहने हुनाले कुनै एक निश्चय गर्न सक्तैन । भित्र संशय रहिरहने हुनाले उसको मनमा सुख शान्ति पनि हुन सक्तैन । यसैले विवेकवती बुद्धि र श्रद्धा द्वारा आफ्नो शंका हटाउनै पर्छ ।

दुई छुट्टा छुट्टै कुरा सुन्दा अथवा पढ्दा शंका हुन सक्छ । त्यस्तो शंका कि त विवेक विचार द्वारा मेटिन सक्छ, कि शास्त्र तथा सन्त-महापुरुषहरुको कुराहरु श्रद्धापूर्वक मान्दा । यसैले यदि हामीमा अज्ञान छ भने हामीले आफ्नो विवेक विचार वढाउनु पर्छ र यदि अश्रद्धा छ भने श्रद्धा वढाउनु पर्छ, किनकि यी दुई मध्ये कुनै एउटाको सहायता विना हाम्रो संशय हट्दैन ।

ज्ञान भए पनि संशय मेटिन्छ, श्रद्धा भए पनि संशय मेटिन्छ । तर ज्ञान र श्रद्धा दुवै भएनन् भने संशय मेटिने कुरै आएन । ज्ञान र विवेक दुबै नभएको संशयात्मा न आफू जान्दछ र न अरुको कुरा मान्दछ । यस्तो व्यक्तिको पतन भइहाल्छ ।      

गीताको पहिलो छ अध्यायसम्म कर्मयोगको उल्लेख छ । हुन त यहाँ सातदेखि वारह अध्यायसम्म उपासना (योग)को र तेरह देखि अठार अध्यायसम्म ज्ञानयोगको पनि प्रसङ्ग छ । 

गीताको ज्ञान नै अर्जुनको मोहवाट शुरु भयो । अर्जुनले आफ्नो कर्तव्य कर्म (युद्ध) लाई घोर कर्म भन्ने ठाने र संन्यासीको भिक्षाचर्यालाई आफ्नो कर्तव्य कर्म भन्ने माने । सबै गडवड यहींवाट शुरु भयो । वर्णाश्रम धर्म अनुसार चारै जातको र चारै वर्णको आफ्नो आफ्नो कर्तव्य कर्म हुन्छ । अर्जुनलाई यो कुरा थाहा नभएको पनि होइन । तर युद्ध जस्तो जटिल परिस्थितिमा उनलाई मोह भइदियो । त्यही मोहले गर्दा युद्धको मैदान छोडेर अर्जुनलाई संन्यासी हुन मन लाग्यो । यही कुरालाई reinforce गर्न अर्जुन गीताको पहिलो अध्यायमा भगवानलाई युद्ध गर्दा हुने वेफाइदाहरु प्रस्तुत गर्छन् । यस्तो संकटपूर्ण समयमा अर्जुनको यस्तो कुरा सुनेर, भगवान अर्जुनको त्यस्तो गति देखेर हाँस्नु भयो । त्यसैले गीतामा 'प्रहसंन्निव', अर्थ, 'हाँसे जस्तो' भन्ने शब्द आउँछ । अर्को शब्दमा, अर्जुनको त्यस्तो मानसिक असहजतामा भगवान अर्जुनलाई हाँसी हाँसी उपदेश दिनुहुन्छ । 

अर्जुन महारथी भएर युद्धभूमिमा आएका छन्, भगवान कुनै पनि अस्त्र शस्त्र नलिने प्रतिज्ञा गरेर अर्जुनको रथ चलाउने सारथी भएर आउनु भएको छ । साधारण अवस्थामा कुनै रथ चलाउने सारथीको ज्ञान कति हुन्छ र ? उसको काम त महारथीले 'जहाँ जा' भन्छ, त्यहीं जाने न हो, 'जे गर्' भन्छ, त्यही गर्ने हो । गीतामा पनि अर्जुन महारथीको भूमिकामा भगवानलाई 'सेनयोरुभयोर्मध्ये रथम् स्थापय मेच्युत', 'दुई सेनाहरुको वीचमा मेरो रथ खडा गर्नुहोस्' भन्छन्  । हुन त अर्जुनले आफ्नो ओहोदा अनुसार भगवानलाई यो काम गर्न भनेका हुन्, तर यो भन्दा पछिल्ला श्लोकहरुमा आएको अर्जुनको अभिव्यक्तिले दुर्योधनप्रतिको द्वेष र ईर्ष्या भाव देखाउँछ । भगवानले अर्जुनको यो भाव थाहा पाउनु भयो र अर्जुनको आज्ञा अनुसार दुई सेनाको वीचमा, अझ भीष्म र द्रोणाचार्यको वीचमा लगेर अर्जुनको रथ खडा गरिदिनु भयो । 

आफ्नो अगाडि आफ्ना वाजे र गुरुलाई देखेर अर्जुनलाई मोह भयो । त्यसपछि उनलाई युद्ध गर्न  मन लागेन तर उनले आफ्नो यो कमजोरी स्वीकार्न सकेनन् र पण्डित जस्तो शास्त्रको कुरा भगवानसँग गर्न लागे । तर भगवानले अर्जुनलाई संन्यासी हुने सल्लाह दिनु भएन, कर्मयोगी वन्ने सल्लाह दिनुभयो । 

गीताकै अनुसार पनि संन्यासी शब्दको अर्थ आजकल हामीले देख्ने सुन्तला रङको लुगा लगाउने जोगी होइन । यहाँको संन्यासी जुन सुकै वर्ण र आश्रमको  हुन सक्छ । गीताले त सबै प्राणीहरुको शरीरलाई नै लुगा भन्छ । गीताको संन्यासीको अर्थ हो, सबै संकल्पको त्याग गरेको व्यक्ति । यस्तो व्यक्ति कुनै विशेष वर्ण र आश्रमको हुनु नपर्ने भयो । 

हाम्रो वैदिक मान्यताले आश्रमको अर्थ उमेर अनुसार गर्छ । मनुष्यको औसत उमेर सय वर्ष मानिएको छ । त्यसमा पहिलो २५ वर्ष ब्रह्मचर्याश्रम, दोस्रो २५ वर्ष गृहस्थाश्रम, तेस्रो वानप्रस्थाश्रम तेस्रो २५ वर्ष र संन्यसाश्रम चौथो २५ वर्ष भन्ने निर्धारण गरिएको छ । 

यहाँ अर्जुन गृहस्थाश्रमको धर्म अनुसार युद्ध गर्न तत्पर छन् । महाभारतको युद्द किन हुन लागेको, के कारणले हुन लागेको आदि कुराको जवाफ अर्जुनसँग छ । तर यही वेला अर्जुनलाई मोह भइदियो, उनको mood swing भयो, उनी भगवानलाई अहिले आफ्नो अगाडि उपस्थित युद्ध नगर्ने र संन्यासी भएर भिक्षा मागेर जीवन विताउने कुरा गर्न थाले ।मोह भएपछि व्यक्ति सुल्टोलाई उल्टो र उल्टोलाई सुल्टो देख्छ, त्यही अनुसार निर्णय गर्न तत्पर हुन्छ । तर शास्त्र भन्छ, मोहको, राग-द्वेषको प्रभाव परेको अवस्थामा हामीले कहिले पनि, सानो अथवा ठूलो, निर्णय लिनुहुँदैन । किनकि त्यस्तो वेलामा लिइएको निर्णय सँधै गलत हुन्छ, गलत निर्णयको फल पनि गलत नै हुन्छ, त्यस्तो निर्णयको परिणाम दुःखदायी नै हुन्छ ।

यस्तो अवस्थामा भगवान अर्जुनलाई संन्यासी वन्न सल्लाह दिनु हुन्न, गृहस्थ आश्रममा नै वसेर आफ्नो कर्मलाई कर्मयोग गर्ने प्रेरणा दिनुहुन्छ अर्जुनलाई । हामीले सामान्य अवस्थामा गरिने जति क्रियाहरु सबै कर्म नै हुन्छन् । क्रियामा कर्तृत्व (doership) भयो भने त्यो क्रिया कर्म हुन्छ । तर क्रियामा doership भएन भने त्यही कर्म कर्मयोग वन्छ । अर्जुन भगवानलाई भन्छन्, 'म युद्ध जस्तो घोर कर्म नगरेर संन्यासीले जस्तो भिक्षा मागेर खान्छु' । तर भगवान भन्नुहुन्छ, 'कुनै कर्म, सानो अथवा ठूलो,पनि हुँदैन, घोर अथवा सौम्य हुँदैन । हामीले आफूले गर्ने कर्म घोर हुने नै त्यो कर्ममा आसक्ति भएर हो । यदि कुनै कर्म गर्दा कर्ता (कर्म गर्ने व्यक्ति) मा फलको इच्छा र आसक्ति छैन भने त्यो कर्म कर्मयोग हुन्छ । त्यसैले, गीताको पहिलो छ अध्यायमा भगवान अर्जुनलाई कर्म गर्ने कला सिकाउनु हुन्छ । कर्म गर्ने कला भनेको, कर्ममा भएको आसक्तिको त्याग गर्ने  कर्ममा आसक्ति हुने भनेको -- 'मैले जे जस्तो गरेर कर्म गरे पनि फल चाहिं मैले भनेको जस्तो हुनु पर्छ' भन्ने हो । कर्मको फल खोज्ने व्यक्तिको ध्यान कर्ममा भन्दा कर्मको फलमा वढी रहन्छ । यसो हुँदा कर्ममा जानु पर्ने जति ध्यान जाँदैन र फलस्वरूप त्यो कर्मको फल आफूले सोचे जस्तो हुँदैन । 

सँधै त होइन, कुनै कुनै वेला मेरो लेखाइको अन्तमा मेरो आफ्नो व्याख्या भनौं, मैले गरिरहेको चिन्तन आउँछ । आज पनि त्यस्तै भएको छ । यही सन्दर्भमा मलाइ लाग्छ, कर्मयोगले निष्काम कर्म गर्ने प्रेरणा दिन्छ । यसो विचार गरौँ, के हामीले सबै कर्म कुनै किसिमको फलको आशा नराखी गरेका छौं त ! यदि कुनै फलको आशा राखेर गरेका छौं भने हाम्रो कर्म कर्मयोग नभएर कर्म मात्रै भयो । 

भनिन्छ, सबै व्यक्तिका तीन एषणाहरु हुन्छन -- (१) पुत्रैषणा (छोरोको इच्छा); (२) वित्तैषणा (धन पाउने इच्छा) र लोकैषणा (कीर्तिको इच्छा) । ती तीनमध्ये एकको मात्रै पनि एषणा हामीमा छ भने हामीवाट 'कर्मयोग' हुँदैन । कर्मलाई कर्मयोग वनाउने कला गीताले सिकाउँछ हामीलाई । मलाई केही दिन अघिदेखि विचार आइरहेको छ, आजकल वहुचर्चित 'परोपकार' भन्ने शब्द गीतामा कहाँ fit होला त ? केही समयपछि जवाफ पनि पाइयो, यो शब्द गीतामा धेरै पटक उल्लेखित 'लोकसंग्रह' शब्द हो । लोकसंग्रह गर्न सक्ने क्षमता कर्मयोगीमा हुन्छ । कर्मयोगीको आसक्ति र फलेच्छा छुटेको हुन्छ, उसलाई कुनै कर्म गरेर 'आफूले केही पाउँला' भन्ने किन्चित् मात्र पनि आशा हुँदैन । त्यसैले, मेरो विचारमा कर्मयोगी नै परोपकारी हो, कर्मयोगी नै लोकसंग्रह गर्ने व्यक्ति हो, कर्मयोगी नै फलको आशा र कुनै कर्मको फलको इच्छा नखोज्ने संन्यासी पनि हो ।

यस्तै छन् हजुर, मेरा कुरा, जति गरे पनि सकिंदैनन् । प्रसंगवश फेरि फेरि पनि यस्ता कुराहरु भइ नै रहने छन् । 

No comments:

Post a Comment