Sunday 21 September 2014

169 No 136 श्लोक ३६ यदि तिमी सबै पापीहरु भन्दा पापी छौ भने पनि ज्ञानरूपी डुंगा द्वारा निःसन्देह सम्पूर्ण पाप-समुद्रवाट राम्रोसँग तर्नेछौ ।

No 136 

श्लोक ३६ 

यदि तिमी सबै पापीहरु भन्दा पापी छौ भने पनि ज्ञानरूपी डुंगा द्वारा निःसन्देह सम्पूर्ण पाप-समुद्रवाट राम्रोसँग तर्नेछौ ।  

पाप गर्नेहरुका तीन श्रेणी हुन्छन् -- (१) 'पापकृत्' (पाप गर्ने), (२) 'पापकृत्तर' (दुइ पापीहरुमध्ये वढी पाप गर्ने) र (३) 'पापकृत्तम' (सम्पूर्ण पापीहरुमा सबै भन्दा वढी पाप गर्ने व्यक्ति) । यहाँ भगवान अर्जुनलाई भन्नुहुन्छ, तिमी सम्पूर्ण पापीहरु मध्ये अत्यन्त पाप गर्ने व्यक्ति छौ भने पनि तत्वज्ञानले सम्पूर्ण पापहरुदेखि तर्नेछौ ।              

भगवानको यस्तो वचन आफ्नो चेलोलाई आश्वासन दिने खालको छ । सबै पापहरु छोडेर साधनमा लाग्ने व्यक्तिको त कुरै के गर्नु पर्यो र ! तर पहिले पाप गरेको व्यक्तिले पनि जिज्ञासा जाग्रत भएपछि आफ्नो उद्धारको वारे निराश हुनु नपर्ने भयो । कारण कि पापी भन्दा पापी मनुष्य पनि उसले चाहे यही जन्ममा अहिले नै आफ्नो कल्याण गर्न सक्छ । वर्तमानका पाप जति वाधक पुराना पाप हुँदैनन् । कुनै व्यक्तिले अहिले वर्तमानमा पाप गर्न छोडेर 'म अवदेखि कहिले पनि पाप गर्ने छैन र खालि तत्वज्ञान पाउनेछु' भन्ने निश्चय गर्यो भने उसका पापहरु नाश हुन धेरै समय लाग्दैन ।

सय वर्षदेखि अँध्यारो भैरहेको कुनै ठाउँमा वत्ति वाल्यो भने त्यो अँध्यारो हटाएर प्रकाश गर्न त्यो वत्तिलाई सय वर्ष लाग्दैन, वत्ति वाल्ने वित्तिकै अँध्यारो मेटिन्छ । यसै गरी तत्वज्ञान हुने वित्तिकै पहिले गरिएका सम्पूर्ण पाप तत्काल नष्ट हुन्छन् । 

यहाँ भन्न खोजिएको आशय, प्रायः यस्ता मनुष्य परमात्मामा लाग्दैनन्; तर यस्ता व्यक्ति परमात्मामा लाग्न सक्तैनन् भन्ने कुरो चाहिं होइन । कुनै महापुरुषको संगतले अथवा कुनै घटना, परिस्थिति, वातावरण आदिको प्रभावले त्यस्तो मानिसमा यस्तो निश्चय हुन सक्छ, 'अव मलाई परमात्माको ज्ञान प्राप्त गर्नु नै पर्छ' । त्यस्तो दृढ निश्चयले त्यो व्यक्ति पाप-समुद्रवाट राम्रोसँग पार तर्न सक्छ ।

यस्तै प्रसंग भगवानले नवौं अध्यायमा अनन्यभावले आफ्नो भजन गर्नेकोलागि भन्नुभएको छ, 'ठूलो दुराचारी मनुष्यले पनि यदि 'अवदेखि म भगवानको मात्रै भजन गर्छु' भन्ने निश्चय मात्रै गर्यो भने पनि उसको धेरै चाँडो कल्याण हुन सक्छ ।'                   

पाप हुने नै प्रकृतिको कार्य शरीर र संसारको सम्बन्धले हो । तत्वज्ञान भएपछि शरीर र संसारसँग सर्वथा सम्बन्ध-विच्छेद हुन्छ, त्यसपछि पाप रहन नै कसरी सक्छ र !

परमात्माको स्वतःसिद्ध ज्ञानसँग एक हुनु नै ज्ञानरुप नौका (डुंगा) पाउनु हो । मनुष्य जति नै पापी भए पनि ज्ञानरूपी नौकाले सम्पूर्ण पाप-समुद्र राम्रोसँग तर्न सक्छ । यो ज्ञानरुप नौका कहिले पनि टुट्ने, फुट्ने हुँदैन, यसमा कहिले प्वाल पर्दैन र यो कहिले पनि डुब्दैन । यो ज्ञानरूपी डुंगा मनुष्यलाई पापसमुद्रवाट पार लगाउँछ । 

यो ज्ञानरूपी डुंगा पाउने एक मात्र उपाय हो -- ज्ञानयज्ञ । यो ज्ञानयज्ञ शुरुदेखि नै विवेकलाई लिएर अघि वढ्छ र 'तत्वज्ञान' मा यसको पूर्णता हुन्छ । पूर्णता भएपछि अलिकति पनि पाप रहँदैन । 

श्लोक ३७ 

हे अर्जुन ! दन्दनी वलेको अग्निले दाउराहरु भस्म गरे जस्तै ज्ञानरूपी अग्नि सम्पूर्ण कर्महरु सर्वथा भस्म गरिदिन्छ । 

अघिल्लो श्लोकमा भगवानले ज्ञानरूपी डुंगा द्वारा पाप सागर तर्ने कुरा गर्नु भयो । यो कुराले यस्तो प्रश्न पैदा गर्छ, पापसमुद्र अलिकति मात्रै भए पनि शेष रहन्छ, फेरि त्यसको के होला ? अतः भगवान फेरि अरुको दृष्टान्त दिंदै भन्नुहुन्छ, प्रज्वलित (दन्दनी दन्केको) अग्निले काठ आदि सम्पूर्ण इन्धनहरु भस्म गरे जस्तै ज्ञानरूपी अग्निले पनि सम्पूर्ण पापहरु किञ्चित् मात्र पनि वांकी नराखी भस्म गरिदिन्छ । 

अग्निले काठ भस्म गरे जस्तै तत्वज्ञानरूपी अग्निले संचित, प्रारब्ध र क्रियमाण -- तीनै कर्महरु भस्म गरिदिन्छ । अग्निमा काठ अलिकति पनि वांकी नरहे जस्तै तत्वज्ञानमा सम्पूर्ण कर्महरुको विल्कुल अभाव हुन्छ । तात्पर्य, ज्ञान भएपछि कर्महरुसँग अथवा संसारसँग पूरा सम्बन्ध-विच्छेद हुन्छ । सम्बन्ध-विच्छेद भएपछि संसारको स्वतन्त्र सत्ताको अनुभव हुँदैन, एक परमात्मतत्व मात्रै शेष रहन्छ । 

वास्तवमा सम्पूर्ण क्रियाहरु प्रकृति द्वारा नै हुन्छन् । ती क्रियाहरुसँग आफ्नो सम्बन्ध मान्दा कर्म हुन्छन् । नशाहरुमा रक्त-प्रवाह हुनु, शरीर वालकवाट जवान हुनु, सास भित्र वाहिर गर्नु, भोजन आदि क्रियाहरु हुने समष्टि प्रकृतिवाट नै खानु-पिउनु, हिंड्नु, वस्नु, देख्नु, वोल्नु आदि क्रियाहरु पनि हुन्छन् । परन्तु मनुष्य अज्ञानले गर्दा ती क्रियाहरुसँग आफ्नो सम्बन्ध मान्छ अर्थात् आफूलाई ती क्रियाहरुको कर्ता मान्छ । यसले गर्दा ती क्रियाहरु 'कर्म' वनेर मनुष्यलाई वांधिदिन्छन् । यस्तो किसिमले मानिएका सम्बन्धले नै कर्म हुन्छ, नभए त क्रियाहरु नै हुन्छन् ।

तत्वज्ञान भएपछि अनेक जन्महरुका संचित कर्म सर्वथा नष्ट हुन्छन् । किनकि सबै संचित कर्म कै आश्रित रहन्छन्; त्यसैले ज्ञान हुने वित्तिकै ती कर्महरु नष्ट हुन्छन् । तत्वज्ञानमा  कर्तृत्वाभिमान रहँदैन; अतः सबै क्रियमाण कर्म अकर्म हुन्छन् अथवा फलजनक (फल दिने) हुँदैनन् । प्रारब्ध कर्मको घटना-अंश (अनुकूल-प्रतिकूल परिस्थिति) शरीर रहुन्जेल रहन्छ; परन्तु ज्ञानीलाई त्यसको कुनै असर पर्दैन । कारण कि तत्वज्ञान भएपछि भोक्तृत्व रहँदैन; त्यसैले अनुकूल-प्रतिकूल परिस्थिति आफ्नो अगाडि आउँदा पनि ज्ञानी सुखी-दुःखी हुँदैन ।यसरी तत्वज्ञान भएपछि संचित, प्रारब्ध र क्रियमाण -- तीनै कर्महरुसँग अलिकति पनि सम्बन्ध रहँदैन । कर्महरुसँग आफ्नो सम्बन्ध नरहँदा कर्म रहँदैनन्, भस्म वांकी रहन्छन् अर्थात् सबै कर्म अकर्म हुन्छन् ।

No comments:

Post a Comment