Sunday 21 September 2014

166 No. 133 श्लोक २९, ३० अरु कति प्राणायाम परायण योगीहरु अपानमा प्राणलाई (पूरक गरेर) प्राण र अपानको गति रोकेर

No. 133

श्लोक २९, ३० 

अरु कति प्राणायाम परायण योगीहरु अपानमा प्राणलाई (पूरक गरेर) प्राण र अपानको गति रोकेर (कुम्भक गरेर) फेरि प्राणमा अपानलाई (रेचक) गर्छन्; तथा अरु (कति) नियमित आहार गर्ने व्यक्तिहरु प्राणलाई प्राणहरुमा हवन गर्ने गर्छन् । यी सबै साधकहरु यज्ञहरुद्वारा पापहरुको नाश गर्ने र यज्ञहरु जान्ने व्यक्तिहरु हुन् । 

प्राणको स्थान हृदय (माथि) तथा अपानको स्थान गुदद्वार (तल) छ । स्वास वाहिर निकाल्दा वायुको गति माथितिर र स्वास भित्र लैजाँदा वायुको गति तलतिर हुन्छ ।यसैले स्वास वाहिर निकाल्नु 'प्राण'को काम हो स्वास भित्र लैजानु 'अपान'को काम हो । योगीहरू पहिले वाहिरको वायुलाई देव्रे नाक (चन्द्रनाडी) द्वारा भित्र लैजान्छन् । त्यो वायु हृदयमा स्थित प्राणवायुसँग नाभि हुँदै स्वाभाविक नै अपानमा लीन हुन्छ । यसलाई 'पूरक' भन्छन् ।त्यसपछि उनीहरु प्राणवायु र अपानवायु -- दुबैको गति रोकिदिन्छन् । न त स्वास वाहिर जान्छ र स्वास भित्र आउँछ । यसलाई 'कुम्भक' भन्छन् । त्यसपछि उनीहरु भित्री वायुलाई दाहिने नासिका (सूर्यनाडी) द्वारा वाहिर निकाल्छन् । त्यो वायु स्वाभाविक नै प्राणवायुलाई तथा त्यसको पछि पछि अपानवायुलाई सँगै लिएर वाहिर निक्लन्छ । यही प्रक्रियालाई  नै प्राणवायुमा अपानवायुको हवन गर्ने भनिएको हो । यसलाई 'रेचक' भन्छन् । चार भगवानको नामले पूरक, सोह्र भगवानको नामले कुम्भक र आठ भगवानको नामले रेचक गरिन्छ । 

यसरी योगीहरू पहिले चन्द्रनाडीले पूरक, अनि कुम्भक र अनि सूर्यनाडीले रेचक गर्छन् । त्यसपछि सूर्यनाडीले पूरक, अन्ति कुम्भक र अनि चन्द्रनाडीले रेचक गर्छन् । यस्तो किसिमले पटक पटक पूरक-कुम्भक-रेचक गर्नु प्राणायामरुप यज्ञ हो । परमात्मप्राप्तिको उद्देश्यले निष्कामभावपूर्वक परायण भएपछि सबै पाप नष्ट हुन्छन् ।

नियमित आहार-विहार गर्ने साधक नै प्राणहरुलाई प्राणहरुमा हवन गर्न सक्छन् । धेरै या वहुत कम भोजन गर्ने अथवा विल्कुल भोजन नगर्ने व्यक्ति प्राणायाम गर्न सक्तैन । 

प्राणहरुलाई प्राणहरुमा हवन गर्ने तात्पर्य -- प्राणलाई प्राणमा र अपानलाई अपानमा हवन गर्ने अर्थात् प्राण र अपानलाई आफ्नो आफ्नो स्थानमा रोक्ने । न स्वास वाहिर निकाल्ने र न स्वास भित्र लग्ने । यसलाई 'स्तम्भवृत्ति' प्राणायाम पनि भन्छन् । यो प्राणायामले वृत्तिहरु स्वाभाविक नै शान्त हुन्छन् र पापहरुको नाश हुन्छ ।  केवल परमात्मप्राप्तिको उद्देश्य राखेर प्राणायाम गर्दा अन्तःकारण निर्मल हुन्छ र परमात्मप्राप्ति हुन्छ ।

चौविसौं श्लोकदेखि तीसौं श्लोकको पूर्वार्धसम्म वर्णन गरिएका यज्ञहरु अनुष्ठान गर्ने साधकहरुको सम्पूर्ण पापहरु नष्ट हुन्छन् र उनीहरुलाई अविनाशी परमात्मतत्व प्राप्त   हुन्छ । 

वास्तवमा सम्पूर्ण यज्ञहरु केवल कर्महरुवाट सम्बन्ध-विच्छेद गर्न नै हो भन्ने कुरा जान्ने साधकलाई 'यज्ञवित्' भनिन्छ अर्थात् त्यस्तो साधकले यज्ञको तत्व जानेको हुन्छ । कर्महरुवाट पूरापूर सम्बन्ध-विच्छेद भएपछि परमात्म तत्वको अनुभव हुन्छ । परमात्मतत्वको अनुभव गर्न यज्ञ नगर्ने, यो लोक र परलोक (स्वर्ग) को विनाशी भोगहरुकोलागि यज्ञ गर्नेहरु यज्ञको तत्व जान्दैनन् । किनकि विनाशी पदार्थहरुको कामना नै बन्धनको कारण हो । त्यसैले, मनमा कामना-वासना राखेर परिश्रमपूर्वक ठूला ठूला यज्ञ गरे पनि जन्म-मरणको बन्धन वनिरहन्छ ।

यज्ञ गर्दा अग्निमा आहुति दिइन्छ । आहुति दिइने वस्तुहरुको रुप पहिले छुट्टै छुट्टै हुन्छ; तर अग्निमा आहुतिमा दिइसकेपछि तिनको रुप छुट्टै रहँदैन, सबै वस्तु अग्निरूप नै हुन्छन् । यस्तै प्रकारले परमात्मप्राप्तिकोलागि यज्ञरूपले वर्णन गरिएका साधनहरु आहुति दिने तात्पर्य हो, आहुति दिइने वस्तुहरुको छुट्टै सत्ता नै नरहोस्, सबै स्वाहा होउन् ।साधनहरुको छुट्टै सत्ता रहुन्जेल वास्तवमा तिनीहरुको आहुति नै दिइएको छैन अर्थात् यज्ञको अनुष्ठान नै भएन ।

यही अध्यायमा भगवान कर्महरुको तत्व (कर्ममा अकर्म)को वर्णन गर्नुहुन्छ । कर्मको तत्व हो -- कर्म गरिरहँदा पनि ती कर्महरुसँग नवाँधिने । कर्महरुसँग एउटा मात्रै साधन हो -- यज्ञ । अग्निमा हालिएका सबै वस्तुहरु स्वाहा भएजस्तै केवल लोकहितकोलागि गरिने सबै यज्ञ स्वाहा हुन्छन् । 

निष्कामभावपूर्वक केवल लोकहितार्थ गरिएका साधारण भन्दा साधारण कर्म पनि परामात्मा प्राप्ति गराउने हुन्छ । परन्तु सकामभावपूर्वक गरिएका ठूला भन्दा ठूला कर्महरुद्वारा पनि परमात्मा प्राप्ति हुँदैन । कारण, उत्पत्ति-विनाशशील पदार्थहरुको कामना नै बाँध्ने खालका हुन्छन् । पदार्थ र क्रियारुप संसारसँग सम्बन्ध मानेकोले सबै व्यक्तिहरुमा पदार्थ पाउने र कर्म गर्ने राग रहन्छ । यो रागवाट मनुष्यलाई 'मलाइ केही न केही मिलिरहोस् र म केही न केही गरिरहूँ' भन्ने विचार हुन्छ । यसैलाई 'पाउने कामना' र 'गर्ने वेग' भन्छन् ।

मनुष्यमा रहेको 'पाउने कामना' वास्तवमा आफ्नो अंशी परमात्मा नै पाउने भोक हो; तर परमात्मादेखि विमुख र संसारसँग विमुख भएको कारण मनुष्य यो भोकलाई सांसारिक पदार्थहरुवाट नै मेट्न खोज्छ । संसारिक पदार्थ विनाशी छन् र जीव अविनाशी छ । अविनाशीको भोक विनाशी पदार्थवाट कसरी मेटिन सक्छ ? तर संसारको सम्मुखता रहुन्जेल पाउने कामना वनिरहन्छ । मनुष्यमा पाउने कामना रहुन्जेल गर्ने वेग रहन्छ । यसरी पाउने कामना र गर्ने वेग वनुन्जेल जन्म मरण छुट्दैन । यी दुई वेगवाट छुट्ने उपाय हो -- केही पनि पाउने कामना नराखेर केवल अरुको हितकोलागि कर्म गर्ने । यसैलाई लोकसंग्रह, यज्ञार्थ कर्म, लोकहितार्थ कर्म आदि नामहरुले पनि भनिन्छ । 

केवल अरुको हितकोलागि कर्म गर्दा संसारसँग सम्बन्ध छुट्छ र असंगता आउँछ । केवल भगवानकोलागि कर्म गरिए संसारसँग सम्बन्ध छुटेर असंगता त आइ नै हाल्छ, यो असंगता सँगै भगवानको 'प्रेम' प्राप्त हुन्छ ।                                                                                             
निःस्वार्थभावले केवल अरुको हितकोलागि कर्तव्यकर्म गर्नुको नाम 'यज्ञ' हो । यज्ञवाट सबै कर्म अकर्म हुन्छन् अर्थात् वांधने खालका हुँदैनन् । यो प्रकरणमा जम्मा वारह यज्ञ वताइएका छन् । ती हुन् --

(१) ब्रह्मयज्ञ -- प्रत्येक कर्ममा कर्ता, करण, क्रिया, पदार्थ सबैलाई ब्रह्मरूपले अनुभव गर्ने । (२) भगवदर्पणरुप यज्ञ -- सम्पूर्ण क्रियाहरु पदार्थहरु केवल भगवानको र भगवानकोलागि नै मान्ने ।
(३) अभिन्नतारुप यज्ञ -- असत् देखि सर्वथा विमुख भएर परमात्मामा लीन हुने अर्थात् परमात्मादेखि भिन्न आफ्नो स्वतन्त्र सत्ता नराख्ने । 
 अघिल्लो श्लोकको नै वांकी 

(४) संयमरुप यज्ञ -- एकान्तकालमा आफ्नो इन्द्रियहरुलाई विषयहरुमा प्रवृत्त हुन नदिने ।(५) विषय-हवनरुप यज्ञ -- व्यवहार गर्दा इन्द्रियहरुको संयोग विषयहरुसँग हुँदा पनि तिनमा राग-द्वेष पैदा हुन नदिने ।
(६) समाधिरुप यज्ञ -- मन-बुद्धि सहित सम्पूर्ण इन्द्रियहरु र प्राणहरुको क्रियाहरु रोकेर ज्ञान द्वारा प्रकाशित समाधिमा स्थित हुने ।
(७) द्रव्ययज्ञ -- सम्पूर्ण पदार्थहरु निःस्वार्थभावले अरुको सेवामा लगाइदिने ।
(८) तपोयज्ञ -- आफ्नो कर्तव्यको पालनमा आउने कठिनाइहरु प्रसन्नतापूर्वक सहने ।
(९) योगयज्ञ -- कार्यको सिद्धि-असिद्धिमा तथा फलको प्राप्ति-अप्रप्तिमा सम रहने ।
(१०) स्वाध्यायरुप ज्ञानयज्ञ -- अरुको हितकोलागि सत्-शास्त्रहरू पठन-पाठन, नाम-जप आदि गर्ने ।
(११) प्राणायामरूप यज्ञ -- पूरक, कुम्भक र रेचकपूर्वक प्राणायाम गर्ने ।
(१२) स्तम्भवृत्ति (चतुर्थ) प्राणायामरुप यज्ञ -- नियमित आहार गर्दै प्राण र अपानलाई आफ्नो-आफ्नो स्थानहरुमा रोक्ने ।

यी सबै यज्ञहरुको तात्पर्य, हाम्रो सम्पूर्ण क्रियाहरु यज्ञरुप हुनु पर्छ, त्यसो भए मात्रै जीवन सफल हुन्छ । हामीलाई आफ़्नोलागि केही गर्नु छैन । क्रिया र पदार्थसँग हाम्रो कुनै सम्बन्ध छैन । हाम्रो सम्बन्ध परमात्मासँग छ । यो सम्बन्ध क्रिया र पदार्थदेखि रहित छ ।     

No comments:

Post a Comment