Sunday 21 September 2014

174 No. 143 Ch5 श्लोक २ संन्यास (सांख्ययोग) र कर्मयोग दुवैले कल्याण गर्छन् । तर ती दुईमा पनि ...

No. 143

भगवानले भन्नुभयो 

श्लोक २  

संन्यास (सांख्ययोग) र कर्मयोग दुवैले कल्याण गर्छन् । तर ती दुईमा पनि कर्मसंन्यास (सांख्ययोग) भन्दा कर्मयोग श्रेष्ठ छ ।

भगवानको सिद्धान्त अनुसार सांख्ययोग र कर्मयोगको पालन प्रत्येक वर्ण, आश्रम, सम्प्रदायका व्यक्तिहरु गर्न सक्छन् । किनकि उहाँको सिद्धान्त कुनै वर्ण, आश्रम, सम्प्रदायलाई लिएर हुने होइन । यही अध्यायको पहिलो श्लोकमा अर्जुनले कर्महरु पूर्णरूपले छोडेर विधिपूर्वक ज्ञान सिक्ने प्रणालीलाई 'कर्मसंन्यास' भन्ने नाम दिएका छन् । तर भगवानको सिद्धान्त अनुसार ज्ञान-प्राप्तिकोलागि सांख्ययोगको पालन प्रत्येक मनुष्य स्वतन्त्रतासँग गर्न सक्छ र त्यसको पालन गर्न कर्महरु पूर्णरूपले त्याग गर्नुपर्ने आवश्यकता छैन । यसैले भगवान प्रचलित मतको पनि आदर गर्दै आफ्नो सिद्धान्त अनुसार अर्जुनको प्रश्नको उत्तर दिनुहुन्छ । 

यो श्लोकमा आएको संन्यास पदको अर्थ 'सांख्ययोग' हो, कर्महरुको स्वरूपले नै त्याग होइन । अर्जुनको प्रश्न अनुसार भगवान कर्महरुको पूरै त्यागवाट संन्यासको विवेचन नगरेर कर्म गरी गरी ज्ञान पाउने सांख्ययोगको मार्गको विवेचन गर्नुहुन्छ । त्यही सांख्ययोग द्वारा मनुष्य प्रत्येक वर्ण, आश्रम, सम्प्रदायमा रही रही सबै परिस्थितिमा स्वतन्त्रतापूर्वक ज्ञान पाउन सक्छ अर्थात् आफ्नो कल्याण गर्न सक्छ । 

सांख्ययोगको साधनामा विवेक-विचारको मुख्यता रहन्छ । विवेकपूर्वक तीव्र वैराग्य नभई यो साधना सफल हुँदैन । यो साधनामा संसारको स्वतन्त्र सत्ताको अभाव भएर परमात्मतत्वतिर नै दृष्टि रहन्छ । राग नमेटिई संसारको स्वतन्त्र सत्ताको अभाव हुन धेरै कठिन छ । यसैले भगवानले देहाभिमानीहरुकोलागि यो साधन क्लेषयुक्त भन्नुभएको छ ।यही अध्यायको छैठौं श्लोकमा पनि भगवान भन्नुहुन्छ, कर्मयोगको साधन नगरी संन्यासको साधन हुन गाह्रो छ; किनकि संसारवाट राग हटाउने सजिलो उपाय नै कर्मयोग हो। 

हामी सबै मनुष्यहरुमा कर्म गर्ने राग अनादिकालदेखि नै चलिआएको छ । यो राग मेटाउन कर्म गर्नु पर्ने आवश्यकता छ । तर ती कर्म कुन भावले र कुन उद्देश्यले कसरी गर्दा, राग-द्वेष मेटिने हो, त्यस्तो कर्तव्य-कर्म गर्ने कलालाई 'कर्मयोग' भन्छन् । कर्मयोगमा कर्म सानो अथवा ठूलोमा दृष्टि हुँदैन । आफ्नो अगाडि आएको जुनसुकै कर्म निष्कामभावले अरुको हितकोलागि गर्ने हो । आफ्नोलागि कुनै कर्म नगर्दा नै कर्मसँग सम्बन्ध-विच्छेद हुन्छ । आफ्नोलागि कुनै कर्म नगर्ने भनेको, कर्महरुको सट्टा आफ़्नोलागि केही पनि पाउने इच्छा नहुनु । केही न केही पाउने इच्छा रहुन्जेल कर्मसँग सम्बन्ध वनिरहन्छ । 

अर्जुनको प्रश्न थियो: सांख्ययोग र कर्मयोग -- यी दुई साधनहरुमा कुन चाहिं साधन साँच्चि नै कल्याण गर्ने खालको छ ? यसको उत्तरमा भगवान भन्नुहुन्छ, 'हे अर्जुन ! यी दुवै साधन निश्चयपूर्वक नै कल्याण गर्ने खालका छन् । किनकि यी दुवै द्वारा समताकै प्राप्ति हुन्छ ।' यही अध्यायको आउँदा चौथो-पाँचौं श्लोकमा भगवानले यही कुराको पुष्टि गर्नुभएको छ ।तेर्हौं अध्यायमा भगवानवाट सांख्ययोग र कर्मयोग -- दुवैवाट परमात्मतत्वको अनुभव हुने कुरा भएको छ । यसैले यी दुवै साधन परमात्मतत्वका स्वतन्त्र साधन हुन् । 

सांख्ययोगका दुई भेद छन् -- (१) कर्महरुको स्वरूपले नै त्याग गर्नुपर्ने सांख्ययोग र (२) कर्महरुको स्वरूपले नै त्याग नगरेर उपलब्ध हुने सांख्ययोग । यहाँ यो प्रसङ्ग दुवै प्रकारको सांख्ययोगको वाचक हो। 

अव आउने तेस्रो श्लोकमा भगवान यी शब्दहरुलाई व्याख्या गर्दै भन्नुहुन्छ, कर्मयोगीलाई नित्यसंन्यासी भन्ने बुझ्नु पर्छ; किनकि कर्मयोगी सजिलैसँग संसार-बन्धनदेखि मुक्त हुन्छ । त्यसपछि छैठौं श्लोकमा उहाँ भन्नुहुन्छ, कर्मयोग विना सांख्ययोगको साधन हुन गाह्रो छ । त्यसैले कर्मयोगी नै चांडै ब्रह्म पाउँछ । तात्पर्य, सांख्ययोगमा कर्मयोगको आवश्यकता छ, तर कर्मयोगमा सांख्ययोगको आवश्यकता छैन ।यसैले दुवै साधनहरु कल्याण गर्ने भए पनि भगवान कर्मयोगलाई नै श्रेष्ठ भन्नुहुन्छ ।

कर्मयोगी लोकसंग्रहकोलागि कर्म गर्छ । लोकसंग्रहको तात्पर्य, निःस्वार्थभावले लोक-मर्यादा सुरक्षित राख्न, जनता जनार्दनलाई नराम्रो वाटोवाट हटाएर राम्रो मार्गमा लगाउन कर्म गर्ने अर्थात् केवल अरुको हितकोलागि कर्म गर्ने । यही लोकसंग्रहलाई, कर्मयोगलाई गीतामा 'यज्ञार्थ कर्म' पनि भनिन्छ । आफ़्नोलागि मात्रै कर्म गर्ने मान्छे वाँधिन्छ । परन्तु कर्मयोगी निःस्वार्थभावले खालि अरुको हितकोलागि नै कर्म गर्छ; यही कारण ऊ कर्मबन्धनवाट सजिलैसँग मुक्त हुन्छ । यसैले कर्मयोग श्रेष्ठ छ । 

कर्मयोगको साधन हरेक परिस्थितिमा हरेक व्यक्ति द्वारा गर्न सकिन्छ । तर अर्जुनले लिन खोजेको कर्मसंन्यास विशेष परिस्थितिमा मात्र गर्न सकिन्छ; किनकि तत्वज्ञ महापुरुष पाइनु, उहाँमा आफ्नो श्रद्धा हुनु र उहाँसँग गएर वस्नु जस्ता परिस्थिति हरेक मनुष्यले पाउन सम्भव छैन । अतः प्रचलित प्रणालीको सांख्ययोगको साधन कुनै विशेष परिस्थितिमा मात्रै हुन सक्छ; तर कर्मयोगको साधन हरेक परिस्थितिमा र हरेक व्यक्तिकोलागि साध्य छ ।     यही कारण कर्मयोग श्रेष्ठ छ । 

आफ्नो अगाडि उपस्थित परिस्थितिको उपयोग गर्नु कर्मयोग हो । युद्ध जस्तो घोर परिस्थितिमा पनि कर्मयोगको पालन गर्न सकिन्छ । कर्मयोगको पालन गर्न मनुष्य कुनै पनि परिस्थितिमा असमर्थ र पराधीन छैन; किनकि कर्मयोगमा केही पनि पाउने इच्छाको त्याग हुन्छ । केही न केही पाउने इच्छा रहँदा नै कर्तव्य-कर्म गर्न असमर्थता र पराधीनताको अनुभव हुन्छ । 

कर्तृत्व र भोक्तृत्व नै संसार हो । सांख्ययोगी र कर्मयोगी दुबैलाई संसारसँग सम्बन्ध-विच्छेद गर्नु छ । यसैले यी दुवै साधकहरुलाई कर्तृत्व र भोक्तृत्व हटाउने आवश्यकता छ ।तीव्र वैराग्य र तीक्ष्ण बुद्धि भएको साधक सांख्ययोगी हुन्छ र उसैले कर्तृत्व मेट्छ । तर तीव्र वैराग्य र तीक्ष्ण बुद्धि नभए पनि कर्मयोगी अरुको हितकोलागि सबै कर्म गरेर भोक्तृत्व मेटाउँछ ।यसरी सांख्ययोगी कर्तृत्व त्यागेर संसारवाट मुक्त हुन्छ र कर्मयोगी भोक्तृत्व अर्थात् केही पाउने इच्छा त्यागेर मुक्त हुन्छ । यो नियम नै छ, कर्तृत्वको त्याग गरे भोक्तृत्वको त्याग र भोक्तृत्वको त्याग गरे कर्तृत्वको त्याग स्वतः (आफैं) हुन्छ । केही न केही पाउने इच्छाले नै कर्तृत्व हुने हो । आफ़्नोलागि कुनै पनि प्रकारको सुखभोगको इच्छा नभएको कर्म क्रिया मात्रै हो, कर्म होइन । कुनै यन्त्रमा कर्तृत्व नहुने जस्तो कर्मयोगीमा पनि कर्तृत्व रहँदैन ।

साधकलाई संसारका प्राणी, पदार्थ, परिस्थितिमा आफ्नो राग देखिन्छ । त्यो राग ऊ आफ्नो बन्धनको मुख्य कारण मान्दछ र त्यो बन्धन हटाउने चेष्टा पनि गर्छ । त्यो राग हटाउन कर्मयोगी कुनै पनि प्राणी, पदार्थ आदिलाई आफ्नो मान्दैन, आफ्नोलागि मान्दैन र आफ़्नोलागि केही पनि खोज्दैन । क्रियाहरुवाट सुख लिने भाव नरहँदा कर्मयोगीका क्रियाहरु परिणाममा सबैको हित र वर्तमानमा सबैको प्रसन्नता र र सुखकोलागि नै हुन्छ ।क्रियाहरुवाट सुख लिने भाव हुँदा क्रियाहरुमा अभिमान (कर्तृत्व) र ममता हुन्छ । परन्तु ती क्रियाहरुवाट सुख लिने भाव विल्कुलै नरहँदा कर्तृत्व समाप्त हुन्छ । किनकि क्रियाहरु दोषी होइनन् क्रियाजन्य आसक्ति र क्रियाहरुको फल खोज्नु नै दोषी हो । क्रियाजन्य सुख नलिने तथा क्रियाहरुको फल नखोज्ने साधकको कर्तृत्व रहन नै कसरी सक्छ र ? किनकि कर्तृत्व टिक्ने नै भोक्तृत्वमा हो । भोक्तृत्व नरहँदा कर्तृत्व आफ्नो उद्देश्यमा (जसकोलागि कर्म गरिएको हो) एक परमात्मतत्व शेष (वांकी) रहन्छ । 

कर्मयोगीको 'अहम्' (व्यक्तित्व) चांडै र सजिलोसँग नाश हुन्छ तर ज्ञानयोगीको 'अहम्' (व्यक्तित्व) धेरै पछिसम्म पनि रहिरहन्छ । कारण, 'म सेवक हुँ' (केवल सेव्यकोलागि सेवक हुँ, आफ्नोलागि होइन) भन्ने मान्दा कर्मयोगीको 'अहम्' पनि सेव्यको सेवामा लाग्छ, परन्तु 'म मुमुक्षु हुँ' भन्ने मान्दा ज्ञानयोगीको 'अहम्' ऊसँग रहिरहन्छ । कर्मयोगी आफ्नोलागि केही पनि नगरेर खालि अरुको हितकोलागि सबै कर्म गर्छ, तर ज्ञानयोगी आफ्नो हितकोलागि साधन गर्छ । आफ्नो हितकोलागि साधन गर्दा 'अहम्' जस्ता-को-तस्तो वनिरहन्छ । 

ज्ञानयोगको मुख्य कुरो -- संसारको स्वतन्त्र सत्ताको अभाव गर्ने र कर्मयोगको मुख्य कुरो --रागको अभाव गर्ने । ज्ञानयोगी विचार द्वारा संसारको सत्ताको अभाव त गर्न खोज्छ, तर पदार्थहरुमा राग रही रही संसारको स्वतन्त्र सत्ताको अभाव हुन धेरै गाहारो छ । ज्ञानयोगको साधकलाई विचारकालमा पदार्थहरुको स्वतन्त्र सत्ताको अभाव देखिए पनि तर व्यवहारकालमा ती पदार्थहरुको स्वतन्त्र सत्ताको अनुभव हुन्छ। तर कर्मयोगको साधकको लक्ष अरुलाई सुख पुर्याउने भएकोले उसको संसारप्रतिको राग स्वतः(आफैं) मेटिन्छ । अझ, आफूले पाएको सामग्रीको त्याग गर्न कर्मयोगीलाई जस्तो सजिलो ज्ञानयोगीलाई हुँदैन ।ज्ञानयोगको दृष्टिले कुनै वस्तुलाई माया भन्ने बुझेर त्यो वस्तुको त्याग गर्न गाहारो हुन्छ; तर त्यही वस्तु कसैलाई काम लागेको अथवा काम लाग्ने देखेर त्यसको त्याग गर्न सजिलो हुन्छ । जस्तो, हामीसँग रहिरहेको कम्बल (blanket) कसैलाई काम लाग्ने जानेर त्यसको त्याग गर्नु अर्थात् त्यो कम्बलसँगको आफ्नो राग हटाउने काम सजिलो छ, तर (यदि तीव्र वैराग्य नभए) तिनै कम्बलहरुलाई विचारद्वारा अनित्य, क्षणभंगुर, स्वप्न मायामय पदार्थ भन्ने सम्झेर यसै हिंडिदिनु गाह्रो छ । अर्को कुरा,(तीव्र वैराग्य छैन भने) माया भन्ने सम्झेर त्याग गर्ने क्रममा हामीलाई सुखबुद्धि नभएको वस्तुको त्याग गर्न त सजिलोसँग हुन्छ, तर हाम्रो सुखबुद्धि भएको वस्तुको त्याग हामीवाट गाहारोसँग हुन्छ । परन्तु अरुलाई काम लाग्ने भन्ने थाहा पाउँदा हामीलाई सुखबुद्धि भएको वस्तुको त्याग गर्न पनि सजिलो नै हुन्छ । जस्तो, हामीले खाना खाँदा हाम्रो थालको रोटी झिक्नु परे हामी सामान्यतया चिसो, वासी र सुकेको रोटी झिक्छौँ । तर, त्यही रोटी कसैलाई दिनु परे हामी राम्रो रोटी झिक्छौँ, नराम्रो रोटी झिक्दैनौं । यसैले कर्मयोगको प्रणालीले राग नहटाई सांख्ययोगको साधन निकै कठिन छ । विचारवाट पदार्थहरुको स्वतन्त्र सत्ता नमान्दा नमान्दै पनि तिनमा स्वाभाविक राग रहेको कारण भोगहरुमा फसेर पतनसम्म हुने सम्भावना रहन्छ ।                        

खालि असत् को ज्ञानले, असत् भनेको यस्तो हो भन्ने जानेर मात्रै रागको निवृत्ति हुँदैन । जस्तो, सिनेमामा देखिने पदार्थहरुको कुनै सत्ता नै छैन भन्ने जान्दा जान्दै पनि हामीलाई सिनेमामा राग (आकर्षण) हुन्छ । सिनेमा हेर्दा चरित्र,समय, नेत्र-शक्ति र धन -- यी चारैको नाश हुन्छ भन्ने जान्दा जान्दै पनि रागले गर्दा हामी सिनेमा हेर्छौं । यो कुराले सिद्ध भयो, वस्तुको सत्ता नहुँदा पनि ती वस्तुमा राग अथवा सम्बन्ध रहन सक्छ । राग नभए वस्तुको सत्ता मान्दा तिनमा राग उत्पन्न हुँदैन । यसैले साधकको मुख्य काम हो -- राग हटाउने, सत्ताको अभाव गर्ने होइन ; किनकि हामीलाई बाँध्ने राग अथवा सम्बन्ध नै हो, सत्ता होइन । पदार्थ चाहे सत् होस् चाहे असत्, चाहे सत् असत् देखि विलक्षण होस्, त्यसमा राग छ भने त्यसले हामीलाई बाँधिहाल्छ । वास्तवमा हामीलाई कुनै पनि पदार्थ बाँध्दैन, रागवाट हुने सम्बन्धले नै बाँध्छ । त्यसैले राग मेटाउने जिम्मेवारी हाम्रै हो । 

वाचक ज्ञानी भन्दा कर्म गर्ने व्यक्ति श्रेष्ठ छ । त्यसमाथि, कर्मयोगको नै आचरण गर्ने व्यक्तिको त कुरै के गर्नु ? ज्ञानयोगी आफ्नोलागि उपयोगी हुन्छ, तर कर्मयोगी संसारभरीकोलागि नै उपयोगी हुन्छ । संसारकोलागि उपयोगी हुने व्यक्ति आफ्नोलागि पनि उपयोगी भइ नै हाल्छ । यसैमा कर्मयोगको विशेषता छ । 

सांख्ययोग विना कर्मयोग हुन सक्छ, तर कर्मयोग विना सांख्य हुन कठिन छ । त्यसैले सांख्ययोग भन्दा कर्मयोग विशेष छ । सांख्ययोग भन्दा कर्मयोग श्रेष्ठ छ र कर्मयोग भन्दा भक्तियोग श्रेष्ठ छ । यसैले गीतामा पहिले सांख्ययोग, त्यसपछि कर्मयोग र त्यसपछि भक्तियोग -- यो क्रमले विवेचन भएको छ । 

फलमा कर्मयोग र ज्ञानयोग एकै हुन् । साधनमा कर्मयोग र भक्तियोग एकै छन्; किनकि कर्मयोग र भक्तियोग दुवैमा अरुलाई सुख पुर्याउने भाव रहन्छ । कर्म गर्न कर्मी र कर्मयोगी एकै हुन् तथा तत्वज्ञ महापुरुष र भगवान पनि कर्म गर्नमा एकै छन् । यस्तो प्रकारले कर्मी, ज्ञानयोगी, भक्तियोगी र भगवान -- यी चारैसँग कर्मयोगी सँगै हुन्छ । यही नै कर्मयोगको विशेषता हो ।

सांख्ययोगमा अहम् को सूक्ष्म संस्कार रहन सक्छ, तर कर्मयोगमा क्रिया र पदार्थसँग पूरापूर सम्बन्ध-विच्छेद हुने हुँदा अहम् को सूक्ष्म संस्कार पनि रहँदैन । कर्मयोगमा अकर्म (अभाव) शेष (वांकी) रहन्छ र सांख्ययोगमा आत्मा शेष रहन्छ ।   

Song: Narayana_Stotram
- Bhagwan Shri Adi Shankaracharya

No comments:

Post a Comment