No. 141
श्लोक ४२
यसैले
हे भरतवंशी अर्जुन ! हृदयमा रहेको यो अज्ञानवाट उत्पन्न आफ्नो संशय
ज्ञानरूप तरवारले काटेर योग (समता)मा स्थित होऊ र युद्धकोलागि खडा होऊ ।
अघिल्लो
श्लोकमा भगवानले वताउनु भयो, समता द्वारा सम्बन्ध-विच्छेद गरेको र ज्ञान
द्वारा समस्त संशय नष्ट गरेको आत्मपरायण कर्मयोगीलाई कर्मले वाँध्दैनन् ।
अव यो श्लोकमा उहाँ अर्जुनलाई त्यस्तै जानेर कर्म गर्न प्रेरणा दिनुहुन्छ
।
अर्जुनको हृदयमा संशय थियो -- युद्धरूप घोर
कर्मले मेरो कल्याण कसरी होला ? आफ्नो कल्याणकोलागि म कर्मयोगको अनुष्ठान
गरौँ कि ज्ञानयोगको ? अर्जुनको यही शंका हटाउन भगवान अर्जुनलाई उत्साहित
गर्नुहुन्छ; किनकि संशय रही रही कर्तव्य पालन ठीक किसिमले हुन सक्तैन ।
सबै
संशयहरू अज्ञानवाट अर्थात् कर्महरुको र योगको तत्व ठीक ठीक नबुझ्नाले
उत्पन्न हुन्छन् । क्रियाहरु र पदार्थहरु आफ्नो र आफ़्नोलागि मान्नु नै
अज्ञान हो । यो अज्ञान रहुन्जेल अन्तःकरणमा संशय रहन्छन; किनकि क्रियाहरु र
पदार्थ विनाशी छन् र स्वरूप अविनाशी छ ।
यो
अध्यायको महत्व नै कर्मयोग तत्वले जान्नमा छ । किनकि कर्म गर्दा गर्दै कर्म
जान्नु पर्ने ठूलो आवश्यकता छ । ठीकसँग नबुझी गरेको कुनै कर्म
राम्ररी सम्पन्न हुँदैन ।राम्रोसँग बुझेर गरिएका कर्मवाट मनुष्य वाँधिदैन ।
कर्म गर्ने विद्या राम्ररी जान्ने मनुष्यको संशयहरू नाश हुन्छन् । कर्म
गर्ने विद्या हो -- आफ़्नोलागि केही नगर्ने ।
अर्जुन
आफ्नो धनुषवाण फ्याँकेर रथको वीचमा वसेका थिए । उनले भगवानसँग युद्ध
नगर्ने आफ्नो मनशाय प्रकट गरेका थिए । यही सन्दर्भमा भगवान अर्जुनलाई योगमा
स्थित भएर युद्धकोलागि खडा हुने आज्ञा दिनुहुन्छ ।
संसारमा
रात दिन कति कर्महरु भैरहेका छन्, तर ती कर्ममा हाम्रो राग-द्वेष नभएकोले
हामीलाई ती कर्मवाट दुःख सुख केही हुँदैन, हामी ती कर्महरुदेखि निर्लिप्त
रहन्छौं । हामीमा राग-द्वेष भएका कर्महरुले नै हामीलाई बाँध्ने हुन् ।
किनकि कर्महरुसँग हाम्रो सम्बन्ध जोडिने राग-द्वेषले नै हो । राग-द्वेष
नरहेर समता आएपछि कर्महरुसँग हाम्रो सम्बन्ध जुट्दैन र कर्म बन्धनदेखि
हामी मुक्त हुन्छौं ।
अर्जुन
युद्धलाई पाप भन्ने ठान्थे । यसैले भगवान् अर्जुनलाई समतामा रहेर युद्ध
गर्ने आज्ञा दिनुहुन्छ; किनकि समतामा स्थित भएर युद्ध गर्दा पाप लाग्दैन ।
यसैले समतामा स्थित भएर युद्ध गर्नु नै कर्म-बन्धनदेखि छुट्नु हो ।
आफ्नो
स्वरूपको विचार गर्दा, स्वरूपमा समता स्वतःसिद्ध छ । प्रत्येक कर्मको
आरम्भ र अन्त हुन्छ । तर स्वरूप निरन्तर जस्ताको तस्तो रहन्छ । कर्म र
फलहरु अनेक हुन्छन्, तर स्वरूप एक नै रहन्छ । अतः कुनै पनि कर्म आफ़्नोलागि
नगरे र कुनै पनि पदार्थ आफ्नो र आफ़्नोलागि नमाने क्रिया-पदार्थरूप
संसारदेखि सर्वथा सम्बन्ध-विच्छेद हुन्छ, त्यसपछि स्वतःसिद्ध समताको आफूमा
आफैं अनुभव हुन्छ ।
xx
यो चौथो
अध्यायको नाम ज्ञानकर्मसंन्यासयोग रहेको छ । ज्ञान भन्नाले आफ्नो स्वरूपको
ज्ञान भन्ने बुझ्नु पर्यो हामीले । यहाँ ज्ञान शब्दले कुनै विषय र पदार्थको
ज्ञान नभएर आफ्नो ज्ञान, आफ्नो स्वरूपको ज्ञानलाई बुझाउँछ । अव प्रश्न छ:
हामी को हौँ त ? । यो सन्दर्भमा एउटा सानो कथा प्रस्तुत हुन्छ ।
कुनै
एउटा राजा जंगलमा शिकार खेल्न गएछन् । उनी त्यो जंगलमा हराएर एउटा साधु
भएको कुटीमा पुगेछन् । ती राजाले साधुलाई सोधेछन्, 'हजुर को ?' साधुको
जवाफ: 'थाहा छैन' । फेरि राजाले प्रश्न सोधेछन्, 'हजुर कहाँवाट आएको ?'
साधुको जवाफ: 'थाहा छैन' । फेरि राजाले सोधेछन्, 'हजुर कहाँ जाने ?
साधुको जवाफ: 'थाहा छैन' । राजालाई कस्तो कस्तो लाग्यो । केही अघि उनलाई
एउटा व्यक्तिले 'हजुरले संसारमा सबभन्दा मुर्ख कुनै व्यक्तिलाई भेट्नु भयो
भने यो तक्मा लगाइदिनु होला' भनेर एउटा तक्मा दिएको रहेछ ।राजाले सोचे,
'यो भन्दा मुर्ख व्यक्ति कोही पनि छैन' । अनि उनले त्यो तक्मा त्यो साधुलाई
लगाइदिएछन् ।
केही समयपछि ती तक्मा
पाएका साधुले त्यही राजा निकै विरामी भएको कुरा सुनेछन् ।उनी राजदरवार गए र
कुनै प्रकारले ती मृत्यु शैयामा रहेका राजाले भेटे । अव साधुले राजालाई
प्रश्न गरे: 'तिमी को हो ? राजाको जवाफ: 'थाहा छैन' । साधुले फेरि सोधे:
'तिमी कहाँवाट आएको? राजाको जवाफ: 'थाहा छैन' । फेरि पनि साधुले सोधे:
'तिमी कहाँ जाने ?' राजाको जवाफ: 'थाहा छैन' ।
त्यसपछि
ती साधुले आफूले धेरै अघि त्यही राजावाट पाएको मुर्खको उपाधिको तक्मा ती
राजालाई नै फिर्ता दिएछन् । राजाले ती साधुको महत्व बुझे र ती साधुको शरणमा
परे, ती साधुवाट राजाले ज्ञान पाएपछि राजाको शोक,चिन्ता र भय हरायो ।
ती
राजा समझदार भएको भए साधुसंगको साधुसँगको पहिलो भेटमा 'थाहा छैन' भन्ने
जवाफले उनमा जिज्ञासा हुनु पर्थ्यो, 'साधुले किन यस्तो भनेका होलान्' भनेर
। त्यो वेला राजा पद र ऐश्वर्यको मदमा थिए, साधुको जवाफको गहिराइमा जान
सकेनन् र अरु प्रश्न पनि गर्न सकेनन् । पछि राजा बुढा भए, रोगी भए, उनलाई
पद र ऐश्वर्यको कुनै महत्व रहेन, उनमा वैराग्य भयो । उनले धेरै अघि दर्शन
पाएका साधुमा उनको कल्याण गर्ने करुणा भयो, तिनै साधुवाट नै राजाको कल्याण
भयो । भनिन्छ, साधुको केही समयको भेटले पनि व्यक्तिको कल्याण हुन्छ । Leo
Tolstoyको Three Questionsले पनि यही कुरा बुझाउँछ । हामीले यो सोच्नु
पर्यो, अहिले हाम्रो वल हुँदा हुँदै, हामीमा शक्ति हुँदा हुँदै हामीले
आफ्नो उद्धारको उपाय के होला ? अहिले हामीले 'म,म' भनिरहेको तत्व के होला ?
हाम्रो यो शरीर कसरी वनेको होला ? हामीलाई, हाम्रो शरीरलाई चलाउने तत्व के
होला ? कस्तो होला ? भन्ने । भगवान शंकराचार्य आफ्नो 'भज गोविन्दम्' भन्ने
ग्रन्थमा यही कुरा भन्नुहुन्छ,
'कस्त्वम् कोहम् कुत आयातः, का मे जननी को मे तात । इति परिभावय सर्वमसारम्, विश्वम् त्यक्त्वा स्वप्न विचारम् ।
अर्थ,
'तिमी को ? म को ? तिमी, म कहाँवाट आएको ? मेरो आमा को, मेरो वावु को ?
यस्तो कुरा राम्ररी विचार गर । यो बुझ्नकोलागि यो जाग्रत अवस्था छोडेर
स्वप्न अवस्थाको विचार गर ।'
गीतामा युद्ध
भन्ने शब्द महाभारत युद्धको प्रसंगमा आएको भए पनि यसलाई हामीले हाम्रो
आफ्नो व्यवहार भन्ने बुझ्नु पर्छ । जस्तो 'समतामा रहेर युद्ध गर' भन्ने
भगवानको वचन हाम्रोलागि 'समतामा रहेर व्यवहार गर'भनेको हो भन्ने बुझ्नु
पर्यो हामीले ।
संन्यासी नै भए पनि उसले आफ्नो
आश्रम अनुसारको नीति नियमको पालना गर्नै पर्छ । केही नगरे पनि उसले आफ्नो
जीवन-निर्वाहकोलागि न्युनतम क्रिया त गर्नै पर्यो । उसवाट त्यति क्रिया
नभए पनि साधारण क्रियाहरु, जस्तो, सुत्ने, उठ्ने, खाने, पिउने आदि
क्रियाहरु त भैरहेका छन् । त्यस्तै, हामीले पनि हाम्रो गृहस्थ आश्रम
अनुसारको कर्तव्य-कर्म गर्नुपर्छ । गृहस्थ आश्रमले नै अरु तीन आश्रमको
रक्षा गरी रहेको हुन्छ । गृहस्थले नै ब्रह्मचारीहरुको पालन पोषण गर्नु
पर्यो, हैन भने समाजमा असल नागरिकको निर्माण कसरी हुने ? गृहस्थीले नै बुढा
बुढीको पालन पोषण गर्नु पर्यो, हैन भने हाम्रा बुढा बुढी वावु आमा कसरी
वाँच्ने ? हामी बुढो भएपछि कसरी वाँच्ने ? गृहस्थीले नै साधु संन्यासीको
पालन पोषण गर्नु पर्यो, हैन भने हामीलाई ज्ञान कसले दिने ? यही सन्दर्भमा
भगवान शंकराचार्य भन्नुहुन्छ, 'ज्ञेयम् गीता नाम सहस्रम्, ध्येयम् श्रीपति
रुपमजस्रम् । नेयम् सज्जनसंगे चित्तम्, देयम् दीनजनाय च वित्तम्'। अर्थ,
गीता र विष्णुसहस्रानामको ज्ञान आफ्नो जीवनमा लगाउनु, चतुर्भुज विष्णुको
ध्यान गर्नु, सज्जनसँगको संगतमा मन लगाउनु, दीनदुःखीलाई धन-सम्पत्ति दिनु ।
यहाँ धन-सम्पत्तिको अर्थ खालि रुपियाँ पैसा, घर खेत आदि नभएर अरु कुराहरु
पनि बुझ्नु पर्छ, जस्तै कुनै आँखा नदेख्ने व्यक्तिलाई वाटो कटाइदिनु पनि
पालन-पोषण हो, पढ्न नजान्ने र नसक्ने व्यक्तिलाई पढाइ दिनु पनि पालन-पोषण
हो, कुनै भोजन, वस्त्र, वास, अझ आश्वासन नपाएको व्यक्तिलाई ती कुराहरु
प्रदान गर्नु पनि पालन-पोषण हो । हाम्रो शास्त्रले हाम्रो सोचाइलाइ
संकीर्णतावाट विशालतामा लग्न मदत गर्छ । केही अघिसम्म त्यही शब्दको प्रयोग
सानो घेरामा गर्ने हाम्रो बुद्धि विशाल गर्न हाम्रा शास्त्रले हामीलाई मदत
गर्छन् ।
आजलाई यत्ति । अरु पछि ।
No comments:
Post a Comment