Sunday 21 September 2014

167 No.134 श्लोक ३१ हे कुरुवंशिहरुमा श्रेष्ठ अर्जुन ! यज्ञवाट वचेको अमृतको अनुभव गर्ने व्यक्तिहरु सनातन परब्रह्म परमात्मा पाउँछन् ।

No.134 

श्लोक ३१ 

हे कुरुवंशिहरुमा श्रेष्ठ अर्जुन ! यज्ञवाट वचेको अमृतको अनुभव गर्ने व्यक्तिहरु सनातन परब्रह्म परमात्मा पाउँछन् । यज्ञ नगर्ने मनुष्यकोलागि यो मनुष्यलोक नै सुखदायक छैन भने परलोक कसरी सुखदायक होला ?

यज्ञ गरे अर्थात् निष्कामभावपूर्वक अरुलाई  सुख पुर्याए समताको अनुभव हुन्छ । यही अनुभवलाई 'यज्ञशिष्ट अमृत'को अनुभव भनिएको  हो । अमृत अर्थात् अमरताको अनुभव गर्ने व्यक्ति सनातन परब्रह्म परमात्मा पाउँछन् ।

 स्वरूपले मनुष्य अमर छ । मर्ने वस्तुहरुको संगले नै मनुष्यलाई मृत्युको अनुभव हुन्छ । यी वस्तुहरुलाई संसारको हितमा लगाउँदा मनुष्य असंग हुन्छ, त्यसपछि उसलाई अमरताको अनुभव हुन्छ । 

सम्पूर्ण कर्तव्य केवल कर्तव्य सम्झेर गरियो भने त्यो कर्म यज्ञ हुन्छ । केवल अरुको हितकोलागि गरिने कर्म नै कर्तव्य हुन्छ । आफ़्नोलागि गरिने कर्म कर्तव्य हुँदैन, खालि कर्म हुन्छ, जसवाट मनुष्य बाँधिन्छ । यसैले यज्ञमा दिनु नै दिनु हुन्छ, लिनु केवल निर्वाह मात्रकोलागि हुन्छ । शरीर यज्ञ गर्न समर्थ रहोस् भन्ने दृष्टिले शरीर-निर्वाहकोलागि वस्तुहरुको उपयोग गर्नु पनि यज्ञको अन्तर्गत नै पर्छ । मनुष्य-शरीर यज्ञकोलागि नै हो ।यो शरीरलाई मान-वड़ाई, सुख-आराम आदिमा लगाउनु बन्धनकारक हो । केवल यज्ञकोलागि कर्म गरे मनुष्य बन्धनरहित (मुक्त) हुन्छ र उसलाई सनातन ब्रह्मको प्राप्ति हुन्छ ।  

अर्जुन मार्फत् हामीलाई भगवान भन्नुहुन्छ,'यज्ञ गर्दैनौ भने तिमीलाई यो लोक पनि लाभदायक हुँदैन, परलोकको त कुरै के गर्नु पर्यो र ? खालि स्वार्थभावले (आफ़्नोलागि) कर्म गरे यो लोकमा संघर्ष हुन्छ र सुख-शान्ति भंग हुनेछ र परलोकमा पनि कल्याण हुने छैन ।

आफ्नो कर्तव्य नगरे घरमा पनि भेद र संघर्ष हुन्छ, खटपट हुन्छ । घरमा कुनै व्यक्ति स्वार्थी छ भने त्यो घरका अरु व्यक्तिलाई त्यो व्यक्ति घरमा वसेको पनि मन पर्दैन । स्वार्थ त्यागेर आफ्नो कर्तव्यले सबैलाई सुख पुर्याउनु घरमा अथवा संसारमा वस्ने विद्या हो । 
आफ्नो कर्तव्यको पालनले अरुलाई पनि कर्तव्य-पालनको प्रेरणा मिल्छ । यसो गर्यो भने घरमा सुख र शान्ति स्वाभावले नै आउँछ । तर आफ्नो कर्तव्यको पालन नगरे यो लोकमा सुखपूर्वक वाँच्न पनि मुश्किल पर्छ भने अरु लोकको त कुरै के गर्नु ! तर आफ्नो कर्तव्यको पालन ठीकसँग गर्यो भने यो लोक पनि सुखदायक हुन्छ र परलोक पनि ।

श्लोक ३२ 

यसरी अरु पनि धेरै किसिमका यज्ञ वेदका वाणीमा भनिएका छन् । ती सबै यज्ञहरुलाई तिमी कर्मजन्य भन्ने बुझ । यस्तो किसिमले जानेर यज्ञ गरे तिमी कर्मबन्धनवाट छुट्ने छौ । 

हालै प्रस्तुत वारह यज्ञ भन्दा वाहेक अरु पनि अनेक प्रकारका यज्ञहरुको वेदका वाणीहरुमा विस्तारले  वर्णन छन् । किनकि साधकहरुको प्रकृति अनुसार उनीहरुको निष्ठा वेग्ला-वेग्लै हुन्छन्, त्यही अनुसार तिनका साधन पनि वेग्ला-वेग्लै हुन्छन् । 

वेद्हरुमा सकाम कर्मको अनुष्ठानको वर्णन पनि विस्तृत छ । तर ती सबै अनुष्ठानवाट नाशवान् फलको नै प्राप्ति हुन्छ, अविनाशी फलको हुँदैन । यसैले वेदहरुमा वर्णित सकाम अनुष्ठान गर्ने मनुष्य स्वर्गलोक जान्छन् र पुण्य सकिएपछि फेरि मृत्युलोकमा आउँछन् ।यसरी उनीहरु जन्म-मरणको बन्धनमा परिरहन्छन् । परन्तु यहाँ, यो श्लोकमा ती सकाम अनुष्ठानहरुको कुरा भएको छैन । यहाँ त निष्कामकर्मरुप अनुष्ठानवाट परमात्माको प्राप्ति गराउने यज्ञको कुरा भएको छ । 

वेदमा स्वर्गप्राप्तिको साधनरुप सकाम अनुष्ठानहरुको मात्रै वर्णन छैन । त्यहाँ परमात्मप्राप्तिको साधनरूप श्रवण, मनन,निदिध्यासन, प्राणायाम, समाधि आदि अनुष्ठानहरुको पनि वर्णन छ भन्ने भाव यो प्रसंगको छ । 

अर्जुन आफ्नो कल्याण त चाहन्छन्, तर युद्धरूप कर्तव्य-कर्मलाई पाप भन्ने मानेर त्यसको त्याग गर्न चाहन्छन् । यसैले भगवान अर्जुनलाई भन्नुहुन्छ, 'युद्धरुप कर्तव्यकर्म त्यागेर आफ्नो कल्याणकोलागि तिमीले गर्ने साधन पनि त कर्म नै हो। वास्तवमा कल्याण कर्मले हुने होइन, कर्महरुसँग पूरापूर सम्बन्ध-विच्छेद हुँदा नै हुन्छ ।यसैले तिमी युद्धरुप कर्तव्य-कर्म पनि निर्लिप्त भएर गर्छौ भने तिम्रो कल्याण हुनेछ, किनकि बाँध्ने कर्मले होइन, (कर्म र त्यसको फलको) आसक्तिले नै बाँध्छ ।  युद्ध त तिम्रो सहज कर्म (स्वधर्म) हो, यो सहज कर्म गर्न सजिलो पनि छ ।'

यहाँ, अझ यो अध्यायमा, भगवान भन्नुहुन्छ, 'मलाइ कर्मफलमा स्पृहा छैन, त्यही कारण मलाई कर्म बाँधदैनन् भन्ने कुरा जान्ने व्यक्ति पनि कर्मवाट वाँधिंदैन ।' तात्पर्य, कर्म गरी रहंदा पनि ती कर्महरुदेखि निर्लिप्त रहने विद्या सिकेर त्यसको अनुभव  गरेको व्यक्ति कर्म -बन्धनदेखि मुक्त हुन्छ ।' उहाँको भाव छ, मुमुक्षु (मोक्षको चाहना राख्ने ) पुरुषले  पनि यस्तो जानेर कर्म गर्दै आएका छन् । कर्मदेखि निर्लिप्त रहने यही तत्व विस्तारले भन्नको लागि भगवानले प्रतिज्ञा गर्नु भयो र यो तत्व जानेको फलवाट मुक्त भइने कुरा उहाँले भन्नु भयो । तात्पर्य, फलको इच्छा छोडेर केवल लोकहितार्थ कर्म गरे मनुष्य कर्म-बन्धनदेखि मुक्त हुन्छ । 

संसारमा अनगिन्ति क्रियाहरु हुन्छन्; तर मनुष्य जुन क्रियासँग आफ्नो सम्बन्ध जोडछ, त्यही क्रियासँग बाँधिन्छ । तर शरीर अथवा संसारसँग हुने कुनै पनि क्रियासँग मनुष्य सम्बन्ध जोडदैन भने ऊ कर्म-बन्धनदेखि मुक्त हुन्छ । 

श्लोक ३३ 

हे परंतप अर्जुन ! द्रव्यमय यज्ञ भन्दा ज्ञानयज्ञ श्रेष्ठ छ । सम्पूर्ण कर्म र पदार्थ ज्ञान (तत्वज्ञान)मा समाप्त (लीन) हुन्छन् । 

द्रव्यहरु (पदार्थहरु) तथा कर्महरुको आवश्यकता हुने यज्ञहरु 'द्रव्ययज्ञ' हुन्छन् । 'द्रव्य' शब्दसँग 'मय' को अर्थ प्रचुर मात्रा भन्ने बुझ्नु पर्छ । यही कारण द्रव्यमय यज्ञ भन्दा ज्ञानयज्ञ श्रेष्ठ छ; किनकि ज्ञानयज्ञमा द्रव्य र कर्मको आवश्यकता  हुँदैन । 

सबै यज्ञलाई भगवानले कर्मजन्य भन्नुभयो । तर यहाँ भगवान भन्नुहुन्छ, सम्पूर्ण कर्म ज्ञानयज्ञमा परिसमाप्त हुन्छ अर्थात् ज्ञान कर्मजन्य होइन, विवेक-विचारजन्य हो । यहाँ वर्णित ज्ञानयज्ञ पहिले उल्लेख भएका वारह ज्ञानयज्ञको वाचक नभएर आउँदो श्लोकमा व्याख्या हुने ज्ञान प्राप्त गर्ने प्रचलित प्रक्रियाको वाचक हो । पहिले वर्णन भएको वारह यज्ञहरुको वाचक यहाँ 'द्रव्यमय यज्ञ' हो द्रव्यमय यज्ञ समाप्त गरिएपछि नै ज्ञानयज्ञ गरिन्छ ।

सूक्ष्म दृष्टिले हेर्दा ज्ञानयज्ञ पनि केही हदसम्म क्रियाजन्य नै भए पनि यसमा विचार-विवेकको प्रधानता रहन्छ ।

मनुष्यले आफ्नोलागि कर्म गरुन्जेल उसको सम्बन्ध क्रियाहरु र पदार्थहरुसँग वनिरहन्छ । क्रियाहरु र पदार्थहरुसँग सम्बन्ध रहुन्जेल अन्तःकरणमा अशुद्धि रहन्छ, यसैले आफ्नोलागि कर्म नगर्दा नै अन्तःकरण शुद्ध हुन्छ । 

अन्तःकरणमा तीन दोष रहन्छन् -- मल (संचित पाप), विक्षेप (मनको चंचलता) र आवरण (अज्ञान) । आफ़्नोलागि कुनै पनि कर्म नगरे अर्थात् संसारको सेवाकोलागि मात्रै कर्म गरे साधकको अन्तःकरणमा रहेको मल र विक्षेप -- दुवै दोष मेटिन्छन् ।त्यसपछि त्यो साधक ज्ञानप्राप्ति द्वारा आवरण-दोष (अज्ञान) मेट्नकोलागि कर्महरु स्वरूपले नै छोडेर गुरुकहाँ जान्छ । त्यो वेला साधक कर्महरु र पदार्थहरुवाट माथि उठ्छ अर्थात् कर्म र पदार्थ उसको लक्ष रहँदैनन्, चिन्मय तत्व नै उसको लक्ष रहन्छ । यसैलाई सम्पूर्ण कर्महरु र पदार्थहरु तत्वज्ञानमा समाप्त हुने भनिएको हो ।

ज्ञानप्राप्तिको प्रचलित प्रक्रिया 

शास्त्रहरुमा ज्ञानप्राप्तिकोलागि आठ आन्तरिक साधन वताइएका छन् ।ती हुन्, (१) विवेक, (२) वैराग्य, (३) शमादि षट्सम्पत्ति (शम, दम, श्रद्धा, उपरति, तितिक्षा र समाधान), (४) मुमुक्षुता (५) श्रवण, (६) मनन, (७) निदिध्यासन, (८) तत्वपदार्थशोधन ।यिनीहरुमा पहिलो साधन विवेक हो । सत् र असत् लाई छुट्टा छुट्टै जान्नुलाई 'विवेक' भनिन्छ ।सत् र असत् लाई छुट्टा छुट्टै जानेर असत् को त्याग गर्नु अथवा संसारवाट विमुख हुनु 'वैराग्य' हो । शमादि षट्सम्पत्तिमा मनलाई विषयहरुवाट हटाउनु 'शम' हो । इन्द्रियहरूलाई विषयहरुवाट हटाउनु 'दम' हो । ईश्वर, शास्त्र आदिमा पूज्यभावपूर्वक प्रत्यक्ष भन्दा पनि धेरै विश्वास गर्नु 'श्रद्धा' हो । आफ्ना बुद्धिका वृत्तिहरु संसारवाट हट्नु 'उपरति' हो ।जाडो-गर्मी आदि द्वन्द्वहरु सहनु, तिनको उपेक्षा गर्नु 'तितिक्षा' हो ।अन्तःकरणमा शंकाहरु नहुनु 'समाधान' हो ।यसपछि अर्को साधन हो -- मुमुक्षुता । संसारदेखि छुट्ने इच्छा मुमुक्षुता हो ।

मुमुक्षुता जाग्रत भएपछि साधक पदार्थ र कर्महरु स्वरूपैले त्यागेर श्रोत्रिय र ब्रह्मनिष्ठ गुरुकहाँ जान्छ । गुरुसँग निवास गर्दै, केही समय विताउँदै शास्त्रहरू सुनेर शास्त्रहरूको आशयको निर्णय गर्नुलाई 'श्रवण' भनिन्छ । श्रवणवाट प्रमाणगत संशय हट्छ । परमात्मतत्वको युक्ति-प्रयुक्तिहरुवाट चिन्तन गर्नु 'मनन' हो । मननद्वारा प्रमेयगत शंका हट्छ । संसारको सत्ता मान्नु र परमात्माको सत्ता नमान्नुलाई 'विपरीत भावना' भनिन्छ ।विपरीत भावना हटाउनु 'निदिध्यासन' हो । सम्पूर्ण प्राकृत पदार्थसँग सम्बन्ध-विच्छेद होस् र केवल एक चिनमय-तत्व वांकी रहोस् -- यो 'तत्वपदार्थशोधन' हो । यसैलाई तत्व-साक्षात्कार भन्छन् । 

यी सबै साधनहरुको तात्पर्य हो -- असाधन अर्थात् असत् सँगको सम्बन्धको त्याग । त्याज्य (त्यागिने) वस्तु आफ़्नोलागि हुँदैन, तर त्यागको परिणाम (तत्वसाक्षात्कार) आफ्नोलागि हुन्छ । 

द्रव्यमय यज्ञमा क्रिया तथा पदार्थको मुख्यता भएकोले यो यज्ञ करणसापेक्ष हो ।ज्ञानयज्ञमा विवेक-विचारको मुख्यता भएकोले यो करणनिरपेक्ष हो । यसैले द्रव्यमय यज्ञ भन्दा ज्ञानयज्ञ श्रेष्ठ छ । ज्ञानयज्ञमा सम्पूर्ण क्रियाहरु र पदार्थहरुसँग सम्बन्ध-विच्छेद हुन्छ अर्थात् तत्वज्ञान भएपछि केही पनि गर्न, जान्न र पाउन शेष रहँदैन; किनकि एक परमात्मा सिवाय अरु सत्ता छँदै छैन । 

No comments:

Post a Comment