No. 137
सबै
साधकलाई श्रद्धा-विश्वास र विवेकको आवश्यकता पर्छ । हो, कर्मयोग तथा
ज्ञानयोगमा विवेकको मुख्यता छ र भक्तियोगमा श्रद्धा-विश्वासको मुख्यता छ ।
आरम्भमा 'तत्वज्ञान छ' भन्ने श्रद्धा हुनेछ, त्यसैले साधक त्यो तत्वज्ञानको
प्राप्तिकोलागि साधन गर्नेछ ।
हामी अझै पनि गीताको
चौथो अध्यायको चर्चामा नै छौं । हालै अनुवाद भइरहेको पूर्ण भाग मेरा
साथी सुबोध प्रधानले वनाउनु भएको ब्लगवाट प्राप्त गर्न सकिन्छ । लिंकको
नाम हो -- http:indiradidi-hajurma. blogspot.com
श्लोक ३८
यो
मनुष्य लोकमा ज्ञान जस्तो पवित्र गर्ने अर्को कुनै साधन छैन । योग
राम्रोसँग सिद्ध भएको कर्मयोगी त्यो तत्वज्ञान अवश्य नै स्वयं आफूले आफैंमा
पाउँछ ।
मनुष्यलोकमा नै सबै पवित्रता पाइने
हुनाले पवित्रता प्राप्त गर्ने अधिकार र अवसर मनुष्य-शरीरमा नै छ । यस्तो
अधिकार अरु कुनै शरीरमा छैन । अरु अरु लोकहरुको अधिकार पनि मनुष्यलोकवाट नै
मिल्छ ।
संसारको स्वतन्त्र सत्ता मान्दा तथा
त्यसवाट सुख लिने इच्छाले नै सम्पूर्ण दोष, पाप हुन्छन् । तत्वज्ञान भएपछि
संसारको स्वतन्त्र सत्ता नै रहँदैन, सबै पापको नाश हुन्छ र महान् पवित्रता
आउँछ । यसैले ज्ञान समान पवित्र गर्ने अर्को कुनै साधन नै छैन ।
संसारमा
यज्ञ, दान, तप, व्रत, उपवास, जप, ध्यान, प्राणायाम आदि समस्त साधन तथा
गंगा, यमुना, गोदावरी समस्त तीर्थ सबै मनुष्यका पापहरु नाश गरेर उसलाई
पवित्र गर्छन् । परन्तु ती सबैमा पनि तत्वज्ञान समान पवित्र गर्ने कुनै पनि
साधन, तीर्थ छैन, किनकि ती सबै तत्वज्ञानका साधन हुन् र तत्वज्ञान ती
सबैको साध्य हो ।
परमात्मा पवित्रहरुको
पनि पवित्र हुनुहुन्छ -- 'पवित्राणाम् पवित्रम्' भन्ने कुरो
विष्णुसहस्रनाममा उल्लेख छ । त्यही परमपवित्र परमात्माको अनुभव गराउने
भएकोले तत्वज्ञान पनि अत्यन्त पवित्र छ । कर्मयोग सिद्ध भएको अर्थात्
कर्मयोगको अनुष्ठान पूरापूर पूर्ण भएको महापुरुषलाई यहाँ 'योगसंसिद्ध'
भनिएको छ । छैठौं अध्यायमा यही कर्मयोगीलाइ 'योगारूढ' भनियो । योगारूढ़ हुनु
कर्मयोगको अन्तिम अवस्था हो । योगारूढ़ हुने वित्तिकै तत्वज्ञान हुन्छ ।
तत्वबोध भएपछि संसारसँग सर्वथा सम्बन्ध-विच्छेद हुन्छ ।
कर्मयोगको
मुख्य कुरो -- केही पनि आफ्नो नमानेर सम्पूर्ण कर्म संसारको हितकोलागि
गर्ने, आफ्नोलागि केही पनि नगर्ने । यसो गर्दा सामग्री र क्रिया-शक्ति --
दुबैको प्रवाह संसारको सेवामा हुन्छ । संसारको सेवामा प्रवाह भएपछि 'म सेवक
हुँ' भन्ने (अहम् को) भाव पनि रहँदैन केवल सेवा रहन्छ । यसरी सेवकले सेवा
वनेर सेव्यमा लीन भएपछि प्रकृतिको कार्य शरीर तथा संसारसँग पूर्णरूपले
वियोग (सम्बन्ध-विच्छेद) हुन्छ । वियोग भएपछि संसारको स्वतन्त्र सत्ता
रहँदैन, खालि क्रिया मात्रै रहन्छ । यसैलाई योगको संसिद्धि अर्थात् सम्यक्
सिद्धि भन्छन् ।
कर्म र फलको आसक्तिले नै योगको
अनुभव हुँदैन । वास्तवमा कर्महरु र पदार्थहरुसँग सम्बन्ध-विच्छेद
स्वतःसिद्ध छ । कारण, कर्म र पदार्थ अनित्य (आदि अन्त भएका) छन् र आफ्नो
स्वरूप नित्य छ । अनित्य कर्महरुले नित्य स्वरूपको प्राप्ति कसरी पाइन्छ ?
यसैले कर्म द्वारा स्वरूप पाउनु छैन भन्ने मान्नु 'कर्मविज्ञान'
हो । कर्मविज्ञानको अनुभव भएपछि कर्मफलसँग सम्बन्ध-विच्छेद हुन्छ अर्थात्
कर्मजन्य सुख लिने आसक्ति सँधैको लागि मेटिन्छ । यस्तो आसक्ति मेटिने
वित्तिकै परमात्मासँग आफ्नो स्वाभाविक नित्य-सम्बन्धको अनुभव हुन्छ । यस्तो
अनुभव हुनुलाई 'योगविज्ञान' भन्छन् ।योगविज्ञानको अनुभव हुनु नै योगको
संसिद्धि हो ।
तत्वज्ञान द्वारा सम्पूर्ण कर्म
भस्म हुन्छन् र यो तत्वज्ञान जस्तो पवित्र गर्ने साधन संसारमा अरु केही छैन
। यही तत्वज्ञान कर्मयोगी योगसंसिद्ध भएपछि अरु कुनै साधन विना स्वयं
आफूले आफूमा तत्काल प्राप्त गर्छ ।
यही अध्यायमा
केही श्लोक अघि वर्णन भइसक्यो, प्रचलित प्रणाली अनुसार कर्महरु छोडेर
गुरुकहाँ गएपछि गुरुले तत्वज्ञानको उपदेश दिनुहुन्छ ।तर गुरुले त उपदेश
दिनुहोला, तर त्यो उपदेशले तत्वज्ञान भइ नै हाल्छ भन्ने निश्चित छैन । फेरि
पनि भगवान यहाँ वताउनु हुन्छ, कर्मयोगको प्रणालीले कर्म गर्ने मनुष्यलाई
योगसंसिद्धि भएपछि तत्वज्ञान भइ नै हाल्छ ।
यो
श्लोकमा भगवानको आशय, तत्वज्ञान प्राप्त गर्न कर्मयोगीलाई कुनै गुरुको,
ग्रन्थको अथवा अरु कुनै साधनको आवश्यकता छैन । कर्मयोगको विधिले
कर्तव्य-कर्म गरिरहँदा नै उसलाई आफूलाई आफैंमा तत्वज्ञान हुन्छ ।
परमात्मा
सबै ठाउँमा परिपूर्ण भएकोले आफूमा पनि हुनुहुन्छ । जहाँ साधक 'म छु या
हुँ' रूपले आफूलाई मान्छ, त्यहीं परमात्मा विराजमान हुनुहुन्छ । तर
परमात्मादेखि विमुख भएर संसारसँग आफ्नो सम्बन्ध मानेको कारण आफूमा स्थित
परमात्माको अनुभव नभएको हो । कर्मयोगको ठीक-ठीक अनुष्ठान गरे संसारसँग
सम्बन्ध-विच्छेद हुन्छ अर्थात् संसारसँग तादात्म्य, ममता र कामना मेटिन्छ र
साधकलाई आफूमा नै तत्वको सुखपूर्वक अनुभव हुन्छ ।
परमात्मतत्वको
ज्ञान करणनिरपेक्ष छ । यसैले त्यसको अनुभव आफैंले आफैंमा नै हुन सक्छ,
इन्द्रियहरु, मन, बुद्धि आदि करणहरुवाट होइन । साधकले यो तत्वज्ञान जान्ने
जति नै प्रयत्न गरे पनि अन्तमा ऊ आफूमा आफैंले तत्वज्ञान जान्ने छ । श्रवण,
मनन जस्ता साधन तत्वज्ञान प्राप्त गर्नमा असम्भावना, विपरीत भावना आदि
ज्ञानका वाधाहरुलाई हटाउने परम्परागत साधन मान्न सकिन्छ, तर वास्तविक बोध
आफूले आफैंमा हुन्छ । किनकि मन, बुद्धि सबै जड हुन् । जड द्वारा जडदेखि
सर्वथा अतीत चिन्मय-तत्व कसरी जानिने ? तत्वको अनुभव
जडसँगको सम्बन्ध-विच्छेदवाट हुन्छ, जडद्वारा होइन । जस्तो, आँखाले संसारलाई
देख्न सकिन्छ तर आँखाले आँखालाई देख्न सकिंदैन । तर यो भन्न सकिन्छ,
जसद्वारा देख्न सकिन्छ, त्यो नै आँखा हो । यसैले जो सबैलाई जान्ने छ, उसलाई
को द्वारा जानिने ? परन्तु जसवाट सम्पूर्ण वस्तुहरुको ज्ञान हुन्छ, त्यही
परमात्मतत्व हो ।
यही अध्यायको तेंत्तिसौं
श्लोकदेखि सैंतिसौं श्लोकसम्म भगवानले गर्नुभएको ज्ञानको प्रशंसाले
ज्ञानयोगको विशेष महिमाको वर्णन भए जस्तो लाग्छ हामीलाई । तर यहाँ भगवानले
अर्जुनलाई यस्तो भनेको जस्तो लाग्छ, 'यस्तो महान् र पवित्र तत्वज्ञान, जुन
ज्ञान जान्नकोलागि म तिमीलाई तत्वदर्शी महापुरुषकहाँ जाने पनि आज्ञा
दिइरहेछु, तिमी आफैं कर्मयोगवाट अवश्य प्राप्त गर्न सक्छौ । यसरी
ज्ञानयोगको प्रशंसा सँगसंगै यी श्लोकहरु घुमाउरो पाराले कर्मयोगको
विशेषता, वताउनकोलागि हो । अर्जुन ज्ञानीहरुकहाँ गएर ज्ञान सिकोस् भन्ने
आशय भगवानको होइन । उहाँको आशय हो, 'यति गाह्रोसँग ज्ञानीहरूकहाँ गएर,
उहाँहरुको सेवा गरेर र विनयपूर्वक प्रश्नोत्तर गरेर तथा श्रवण, मनन र
निदिध्यासन गरेर प्राप्त गर्ने ज्ञान तिमीलाई कर्मयोगको विधिले प्राप्त
कर्तव्य-कर्म (युद्ध)को पालन गरे प्राप्त हुनेछ । मैले अहिले तिमीलाई
गरेको प्रेरणा अनुसार तत्वदर्शी महापुरुषकहाँ गएर प्राप्त गर्ने ज्ञान पनि
तिमी पाइ नै हाल्नेछौ भन्ने पक्का पनि छैन । किनकि तिमीले गुरु वनाइने
व्यक्ति तत्वदर्शी नै होला भन्ने के थाहा ? फेरि त्यो महापुरुष प्रति
तिम्रो श्रद्धाको कमी पनि रहन सक्छ । अर्को कुरो, यस्तो प्रकारको
प्रक्रियामा संशय तथा विलम्व (ढिलाइ)को सम्भावना पनि रहन्छ । परन्तु
कर्मयोगद्वारा अरु व्यक्तिको सहायता विना अवश्यै र तत्कालै त्यो
तत्वज्ञानको अनुभव हुन्छ । यही कारण म तिम्रोलागि कर्मयोग नै ठीक ठान्छु ।
त्यसैले म तिमीलाई प्रचलित प्रणाली अनुसार ज्ञानको उपदेश गर्दिन ।'
भगवान
महापुरुषहरुको पनि महापुरुष हुनुहुन्छ । अतः भगवानले अरु महापुरुषकहाँ गएर
ज्ञान सिक्ने कुरो अर्जुनलाई कसरी भन्नु हुन्थ्यो ? यही प्रसंगमा भगवानले
कर्मयोगको प्रशंसा गरेर अर्जुनलाई समतामा स्थित भएर युद्ध गर्ने
स्पष्टरूपले आज्ञा दिनुभएको छ ।
अपवित्रता
संसारको सम्बन्धले आउँछ । तत्वज्ञान भएपछि संसारको अत्यन्त अभाव हुन्छ,
जसले गर्दा अपवित्रता रहने प्रश्न नै आउँदैन । यसैले ज्ञानमा अलिकति मात्रै
पनि अपवित्रता, जडता, विकार छैन ।
श्लोक ३९
जितेन्द्रिय तथा साधनपरायण र श्रद्धावान् मनुष्य ज्ञान प्राप्त गर्छ र ज्ञान प्राप्त भएपछि तत्काल उसलाई परम शान्ति मिल्छ ।
यो
श्लोकले श्रद्धावान् पुरुषलाई ज्ञान प्राप्त हुने वर्णन गर्छ । आफूमा
श्रद्धाको कमी हुँदा हुँदै पनि कुनै व्यक्ति आफूलाई श्रद्धा भएको भन्ने
मानिदिन्छ । यसैले श्रद्धाको पहिचानकोलागि दुई विशेषण दिनु भयो -- '
संयतेन्द्रिय:' र 'तत्पर:' ।
इन्द्रियहरु
पूर्णरूपले वशमा गर्ने व्यक्ति 'संयतेन्द्रिय:' हो र आफ्नो साधनामा
तत्परतापूर्वक लागेको व्यक्ति 'तत्पर:' हो । साधनमा तत्परताको कसी हो --
इन्द्रियहरु संयत हुनु । संयत नभएका इन्द्रियहरु विषय भोगहरु तिर जान
सक्छन् । यसले गर्दा साधनपरायणतामा कमी हुन्छ ।
परमात्मामा, महापुरुषहरुमा, धर्ममा र शास्त्रहरुमा प्रत्यक्ष जस्तो आदरपूर्वक विश्वास हुनुलाई 'श्रद्धा' भनिन्छ ।
परमात्मतत्वको अनुभव
नहुन्जेल साधकलाई परमात्मामा प्रत्यक्ष भन्दा पनि ठूलो विश्वास हुनु पर्छ
। वास्तवमा परमात्मामा देश, काल, आदिको भेद छैन, केवल मानिएको भेद हो ।
भेद मानेको कारण नै परमात्मा सर्वत्र विद्यमान रहँदा रहँदै पनि हाम्रो
अनुभवमा आउनु भएको छैन । यसैले 'परमात्मा आफूमा हुनुहुन्छ' भन्ने मान्नु नै
श्रद्धा हो । कुनै व्यक्ति यदि परमात्मा प्राप्त गर्न खोज्छ र 'परमात्मा
आफूमा हुनुहुन्छ' भन्ने श्रद्धा उसमा छ भने उसलाई परमात्मतत्वको अनुभव
अवश्य हुन्छ ।
संसार प्रतिक्षण नाशमा गइ नै रहेछ,
एक क्षण पनि टिक्तैन । केवल परमात्माको सत्ताले नै संसार सत्तावान्
देखिइरहेछ । यसरी संसारको स्वतन्त्र सत्तालाई नमानेर एउटा परमात्माको सत्ता
मात्रै मान्नु श्रद्धा हो । यस्तो श्रद्धा भएपछि तुरुन्तै ज्ञान हुन्छ
।
हाम्रा इन्द्रियहरु संयत नहुँदा अर्कोको
(संसारको) परायणता, अर्कोको (संसारको)आदर हुन्छ । साधन-परायणता नहुन्जेल
पूर्ण श्रद्धा पनि हुँदैन । पूर्ण श्रद्धा नभएको कारण नै तत्वको अनुभवमा
ढिलो हुने हो, हैन भने नित्य-प्राप्त तत्वको अनुभवमा ढिलाइ हुने कारण नै
छैन ।
यही अध्यायमा भगवानले गुरुकहाँ गएर
विधिपूर्वक ज्ञान प्राप्त गर्ने प्रणालीकोलागि तीन साधनहरु वताउनु भयो । ती
हुन् -- प्रणिपात, परिप्रश्न र सेवा । यहाँ यो श्लोकमा भगवानले ज्ञान
प्राप्त गर्ने एक साधन 'श्रद्धा' भन्नुभयो । चौतिसौं श्लोकमा गुरु द्वारा
केवल ज्ञानको उपदेश दिने कुरा आयो; त्यो उपदेशले ज्ञान पाइएला भन्ने
निश्चित छैन । तर यो श्लोकमा भनिएको साधन (श्रद्धा) ले निश्चितरूपले ज्ञान
पाइन्छ । कारण हो, चौंतीसौं श्लोकको साधन वहिरंगी (वाहिरीया) भएकोले
कपटभावले तथा साधारणभावले पनि गर्न सकिन्छ; तर यो श्लोकमा वर्णित साधन
अन्तरंगी (भित्री) भएकोले यस्तो साधन (श्रद्धा) कपटभावले अथवा साधारणभावले
गर्न सकिन्न । यसैले ज्ञान प्राप्त गराउने निश्चित् साधन श्रद्धा नै हो ।
'मलाई
यही परमात्मतत्वको बोध गर्नु पर्यो र अनुभव पनि गर्नु पर्यो, त्यो अनुभव
मलाई अहिले नै हुनुपर्यो' भन्नु नै श्रद्धा हो । 'तत्व पनि विद्यमान छ, म
पनि विद्यमान छु र तत्वको अनुभव गर्न पनि चाहन्छु भने किन ढिलो गर्ने ?'
भन्ने भावलाई पनि श्रद्धा भनिन्छ ।
अनौठो
कुरो छ, नित्य-निरन्तर विद्यमान रहने प्रिय नलाग्ने र निरन्तर वदलिइरहने,
अभावमा गइरहने संसार प्रिय लाग्दो रहेछ । यसमा यही कारण हो, एक क्षण पनि
एकै स्थितिमा रहन नसक्ने, निरन्तर नै अभावमा गइरहने संसारलाई हामी स्थायी
मान्छौं; स्थायी मानेर नै यो संसारवाट स्थायी सुख लिन खोज्छौं, तर हाम्रो
यो चाहना पूरा हुनु सर्वथा असम्भव छ ।
सुख
लिन नै हामी संसारलाई आफ्नो मान्छौं । तर हामीले यो पनि बुझ्नु पर्यो, यो
संसार कुनै कालमा पनि हाम्रो होइन । हामीवाट कहिले पनि नछुट्टिने र हामी
पनि त्यसवाट छुट्टिन नसक्ने तत्व नै हाम्रो आफ्नो वस्तु हो । संसार
हाम्रो आफ्नो भएको भए हरेक परिस्थिति हामीसँग रहन्थ्यो । तर न परिस्थिति
हामीसँग रहन्छ, न हामी नै परिस्थितिसँग रहन्छौं ।यसैले, यो संसार हाम्रो
आफ्नो हुँदै होइन । हामीले संसार देख्ने अन्तःकरण र इन्द्रियहरु पनि हाम्रा
आफ्ना होइनन्, यिनलाई आफ्नो मानेको हाम्रो आफ्नै भूलले हो । तर, यिनीहरुमा
(अन्तःकरण र इन्द्रियहरु) पनि हाम्रो कुनै अधिकार चल्दैन । वास्तवमा विचार
गर्दा, हाम्रा इन्द्रियहरु सहित सम्पूर्ण संसार प्रलयतिर गैरहेछ, यसको
स्थिति छँदै छैन ।
संसारको प्रतीति मात्रै छ,
यसैले, यसको प्राप्ति छँदै छैन, अथवा हामी यसलाई पाउनै सक्तैनौं । क्षण
क्षण नाशतिर लम्किरहेको संसारलाई कहाँ समाउने, कसरी च्याप्ने ? संसार
स्वरूपसम्म पुग्नै सक्तैन, तर स्वरूप सबै ठाउँमा सत्तारूपले विद्यमान छ ।
संसारको स्वतन्त्र अस्तित्व छैन, तर स्वयंको (आफ्नो)
अस्तित्व नित्य-निरन्तर रहन्छ । स्वरूपको अर्थात् आफ्नो
हुनुपनाको प्रत्यक्ष हामीलाई अनुभव हुन्छ । स्वरूप (आफू) अपरिवर्तनशील छ ।
यदि स्वरूप पनि परिवर्तनशील हुँदो हो त संसारको परिवर्तन कसले देख्ने ?
हामीलाई संसारको निरन्तर परिवर्तन र अभावको अनुभव त हुन्छ, तर आफ्नो
परिवर्तनको अथवा आफ्नो अभावको अनुभव कहिले हुँदैन । यस्तो हुँदा हुँदै पनि
परिवर्तनशील शरीरसँग आफूलाई मिलाएर शरीरको परिवर्तनलाई भूलले आफ्नो
परिवर्तन मानिदिन्छौं हामी । शरीरसँग सम्बन्ध मानेर शरीरको अवस्थालाई आफ्नो
अवस्था हामी मान्छौं । विचार गरौँ, शरीरको अवस्थासँग हामी एकै हुने भए
एउटा अवस्था जाँदा र अर्को अवस्था आउँदा हामी पनि जानुपर्ने । यसवाट सिद्ध
हुन्छ, आउने जाने अवस्था अर्कै हो र हामी अर्कै हौँ । यस्तो किसिमको
आफ्नो स्वतःसिद्ध स्वरूपको अनुभव हुनु 'ज्ञान' हो ।
संसारको
उत्पत्ति भन्दा पहिले पनि रहने, संसारको स्थितिमा पनि रहने र संसार नष्ट
भएपछि पनि रहने तत्व 'छ, हो' नामले भनिन्छ । परन्तु उत्पन्न हुनु भन्दा
पहिले नभएको र नष्ट भएपछि पनि नरहने र वीचमा पनि निरन्तर नाशतर्फ
गइरहने वस्तु 'छैन, हैन' नामले भनिन्छ । 'छैन, हैन' को प्रतीति हुन्छ,
प्राप्ति हुँदैन । जे 'छ, हो' त्यो त 'छ, हो' नै र जे 'छैन, हैन' त्यो छँदै
छैन । 'छैन, हैन'लाई 'छैन, हैन' रूपले मान्दै 'छ, हो'लाई 'हो, छ' रूपले
मान्नु नै श्रद्धा हो, जुन श्रद्धावाट नित्यसिद्ध ज्ञान प्राप्त हुन्छ ।
परम
शान्तिको तत्काल अनुभव नहुनुको कारण -- आफूसँग भएको वस्तु आफूमा नखोजेर
वाहिर अरु ठाउँमा खोज्नु । परमशान्ति प्राणीमात्रमा स्वतःसिद्ध छ । परन्तु
मनुष्य परमशान्ति स्वरूप परमात्मासंग विमुख हुन्छ र सांसारिक वस्तुहरुमा
शान्ति खोज्छ । यसैले अनेक जन्महरूसम्म शान्तिको खोजमा भट्कीरहँदा पनि
उसलाई शान्ति मिल्दैन । उत्पत्ति-विनाशशील वस्तुहरुमा कसरी शान्ति मिल्न
सक्छ र ? तत्वज्ञानको अनुभव भएपछि दुःखरुप संसारसँग सँधैकोलागि
सम्बन्ध-विच्छेद हुन्छ, स्वतःसिद्ध परमशान्तिको तत्काल अनुभव हुन्छ ।
No comments:
Post a Comment