Sunday 21 September 2014

172 No.139 श्लोक ४१ योग (समता) द्वारा सम्पूर्ण कर्महरुवाट सम्बन्ध-विच्छेद भएका र विवेकज्ञानद्वारा सबै शंकाहरु नाश भएका स्वरूप परायण मनुष्यलाई कर्महरुले बाँध्दैनन् ।

No.139

श्लोक ४१ 

योग (समता) द्वारा सम्पूर्ण कर्महरुवाट सम्बन्ध-विच्छेद भएका र विवेकज्ञानद्वारा सबै शंकाहरु नाश भएका स्वरूप परायण मनुष्यलाई कर्महरुले बाँध्दैनन् ।

शरीर, इन्द्रियहरु, मन, बुद्धि आदि वस्तुहरु हामीले पाइएका हुन्, ती वस्तुहरु हाम्रा जस्ता पनि लाग्छन् । तर ती हामीलाई मिलेका वस्तुहरु अरुको सेवाकोलागि हुन्, हाम्रो आफ्नो अधिकार जमाउन होइन । यस्तो विचार गरेर हामीले यी वस्तुहरुलाई अरुको सेवामा (उनीहरुको नै भन्ने निश्चय गरेर) लगाइ दिन सक्नु पर्छ । त्यसो गर्दा, कर्महरु र वस्तुहरुको प्रवाह संसारतिर हुन्छ र आफ्नो स्वतःसिद्ध समताको अनुभव हामीलाई  हुन्छ । यसरी योग (समता) द्वारा कर्महरुसँग सम्बन्ध-विच्छेद भएका व्यक्तिहरु 'योगसंन्यस्तकर्मा' हुन् ।

कर्ममा अकर्म र अकर्ममा कर्म देख्ने कर्मयोगी कर्म गर्दा अथवा कर्म नगर्दा पनि -- दुवै अवस्थामा 'असंग' (आसक्ति छोडेको) हुन्छ । यही कर्मयोगी 'योगसंन्यस्तकर्मा' हुन्छ ।

हामीमा भित्र मनमा शंका हुन्छ, 'कर्महरु गर्दा गर्दै कर्महरुसँग सम्बन्ध-विच्छेद कसरी हुने होला ?  आफ़्नोलागि केही नगरे आफ्नो कल्याण कसरी होला ? भन्ने । हामीमा यस्तो शंका हुनु हामीले कर्मको तत्व राम्ररी नजान्नाले नै हो । हामीले कर्मको तत्व राम्रोसँग जानेपछि हाम्रा सबै शंकाहरु निवारण हुन्छन् । शंका मेटिएपछि हामीलाई स्पष्ट ज्ञान हुन्छ, कर्महरु र तिनका फलहरुको आदि र अन्त हुन्छ, तर स्वरूप जस्ता-को-तस्तो रहन्छ । यही कारण, सम्पूर्ण कर्महरुको सम्बन्ध 'पर' (संसार)सँग छ, 'स्व' (स्वरूप)सँग विल्कुलै छैन । यो दृष्टिले हेर्दा, आफ़्नोलागि कर्म गरे कर्महरुसँग हाम्रो सम्बन्ध जोडिन्छ र निष्कामभावपूर्वक केवल अरुकोलागि कर्म गरे कर्महरुसँग हाम्रो सम्बन्ध-विच्छेद हुन्छ । यो कुरावाट सिद्ध हुन्छ, हाम्रो आफ्नो कल्याण अरुकोलागि कर्म गर्दा नै हुन्छ, आफ्नोलागि कर्म गर्दा हुँदैन ।

कर्मयोगीको उद्देश्य स्वरूपबोध गर्ने हुन्छ, यसैले ऊ सँधै स्वरूपपरायण रहन्छ । उसका सम्पूर्ण कर्महरु संसारकोलागि नै हुन्छन्, आफ्नोलागि हुँदैनन् । ऊवाट सेवा त अरुकोलागि हुन्छ, उसका खानु-पिउनु, सुत्नु-उठ्नु आदि जीवन-निर्वाहका सम्पूर्ण क्रियाहरु पनि अरुको हितकोलागि नै हुन्छन्; किनकि उसको सम्पूर्ण क्रियाहरुको सम्बन्ध संसारसँग छ, स्वरूपसँग छैन । 

आफ़्नोलागि कुनै पनि कर्म नगरे कर्मयोगीको सबै कर्महरुसँग सम्बन्ध विच्छेद हुन्छ अर्थात् ऊ सँधैकोलागि संसार-बन्धनदेखि पूर्णरूपले मुक्त हुन्छ । कर्म वास्तवमा बन्धन गर्ने हुँदै होइनन्, कर्महरुमा फलको इच्छा, ममता, आसक्ति र कर्तृत्वाभिमान नै वाँध्छ हामीलाई ।बाँध्ने स्वार्थभावले नै हो, निःस्वार्थभावले होइन । 

xx यस्तो चिन्हले मेरो आफ्नो सोचाइवाट लेखिएको कुरा हो भन्ने बुझाउँछ हजुरहरुलाई ।
हामी सबै आफूले गरेको कर्म निःस्वार्थभाववाट भएको छ भन्ने दलील गर्छौं । तर त्यसमा कति प्रतिशत स्वार्थ भाव छ भन्ने कुरा हामी हाम्रो विचार, वोलीको र कर्मको आधारमा मुल्यांकन गर्न सक्छौं । महाभारतमा प्रसङ्ग छ, धर्म के हो, अधर्म के हो ? भन्ने । यसको उत्तर: 

'आत्मन: प्रतिकूलानि परेषाम् न समाचरेत्', अर्थ, 'आफूलाई प्रतिकूल (नराम्रो) लाग्ने काम अरुलाई नगर्नु' । अर्को शब्दमा, आफूलाई के राम्रो लाग्छ, त्यो वस्तु अरुलाई दिनु, आफूलाई अरुले कस्तो व्यवहार गरेको मन पर्छ, त्यो व्यवहार अरुलाई गर्नु, आफूलाई अरुवाट कस्तो (राम्रो)शब्द सुन्न मन लाग्छ, त्यस्तो शब्द अरुसँग प्रयोग गर्नु । अर्को शब्दमा, यो श्लोकले हामीलाई यो भन्छ, 'तिमी र तिमीले भन्ठानेको 'अरु'मा कुनै भेद नै छैन' । 

अव विचार गरौँ, हामीले दिनभरी गर्ने कर्महरु माथिका उपदेशहरुको आधारमा भएका छन् त ? मेरो उत्तर छ, 'छैन' । हामी भन्छौं, 'यी मेरा वस्तु, व्यक्ति र पदार्थ मेरा हुन्, यसमा मेरो पूर्ण अधिकार छ, मेरो स्वामित्व छ, मलाई जे मन लाग्छ मैले त्यही गर्न पाउनु पर्छ ।' हाम्रा यस्ता धारणाहरु हाम्रा आफ्ना विचार र अनुभववाट आएका होइनन् त ! हामी आफैं आफ्नो शास्त्र वनाउँछौं, आफ्ना आफ्ना शास्त्रलाई ठीक मान्छौं, त्यसैको डम्फु फुक्छौँ, त्यसैको आधारमा आफ्नो र अरुको मुल्यांकन गर्छौं, अझ त्यसैको आधारमा हाम्रा समस्त क्रियाकलाप भइ पनि रहेका छन् । हाम्रो आफ्नो विचारको आधार नै शास्त्रीय छैन । सबै देशलाई नै संविधानको जरुरत छ भने हामीलाई कुनै नियम, विधानको जरुरत छैन त ? यसैले, वैदिक संस्कृति अनुसार हाम्रा समक्ष शास्त्रहरु मौजूद छन् । हाम्रो आफ्नो देशमा संविधानको आवश्यकता भए जस्तै हाम्रा आफ्ना व्यक्तिगत जीवनकालागि पनि कुनै मूल्य, कुनै मान्यताको आवश्यकता छैन त हामीलाई ? यो कुरा तर्फ दृष्टि नै जाँदैन हाम्रो । खालि भोग र संग्रहमा लागेका छौं हामी । भोगको इच्छा पूरा गर्न र संग्रह गर्न पाए हामी आँखा नै देख्दैनौं । मैले आफूले पढेको र गुरु मुखवाट सुनेको, 'भोग गर्ने भोगीलाई कहिले पनि सुख हुँदैन । भोगमा रत मनुष्यले दुःख भोग्नै पर्छ ।' अव यहाँ प्रश्न हुन्छ: भोग के हो ? आवश्यकता के हो ? यही कुराको स्पष्ट निरूपण गीताको कर्मयोगले गर्छ ।
  
आजलाई यत्ति, अरु पछि । मेरो कुरा पढ्ने मान्छेलाई मेरो कुरा पच्न पनि त पर्यो नि !

यो श्लोकको व्याख्या नै हामीले मानेको धर्मको व्याख्या अनुसार छ कि छैन भन्ने बुझ्नु पर्यो हामीले । सूक्ष्मरूपले विचार गर्दा, हामीले जे सुकै भने पनि साधारण अवस्थामा हामीवाट हुने कर्म सबै स्वार्थभावले नै प्रेरित छन् । यसो हुनुको मूल कारण, हामीले जानेदेखि हालसम्म हाम्रा अधीनमा भएका समस्त धन-सम्पत्ति, अझ हाम्रा शरीर, इन्द्रियहरु, मन, बुद्धि र मन, बुद्धि द्वारा हामीवाट हुने क्रियाकलापलाई हामीले हाम्रा आफ्ना भन्ने मानेका छौं । त्यही धारणा अनुसार हामीले के धर्म हो र के अधर्म हो भन्ने पनि हामीलाई थाहा छैन, अथवा यो विषयमा हाम्रो आफ्नै धारणा छ । जहाँ आफ्नो आफ्नो धारणा भयो, त्यहाँ मारामारी, विवाद शुरु भइहाल्छ ।

No comments:

Post a Comment