Sunday 21 September 2014

168 No 135 श्लोक ३४ त्यो तत्वज्ञान तत्वदर्शी ज्ञानी महापुरुषकहाँ गएर बुझ ।

No 135 

श्लोक ३४ 

त्यो तत्वज्ञान तत्वदर्शी ज्ञानी महापुरुषकहाँ गएर बुझ । तत्वज्ञानी महापुरुषलाइ दण्डवत् प्रणाम गरेर, उहाँको सेवा गरेर सरलतापूर्वक प्रश्न गरे ती तत्वदर्शी (अनुभवी) ज्ञानी (शास्त्रज्ञ) महापुरुष तिमीलाई त्यो तत्वज्ञानको उपदेश दिनेछन् ।

अर्जुनले पहिले भनेका थिए, 'युद्धमा स्वजनलाई मार्नु म आफ्नो हित देख्दिन,' 'यी आततायीलाई मार्दा त हामीलाई पाप लाग्छ,' 'युद्ध गर्नु भन्दा म भिक्षा मागेर जीवन-निर्वाह गर्नु श्रेष्ठ सम्झन्छु,' आदि आदि । यसरी अर्जुन युद्धरूप कर्तव्य-कर्म नगर्नु श्रेष्ठ सम्झन्छन् ।तर भगवानको मत अनुसार ज्ञानप्राप्तिकोलागि कर्महरुको त्याग गर्नु आवश्यक छैन ।यहाँ भगवानले अर्जुनलाई यसो पनि भने जस्तो लाग्छ, 'यदि तिमी कर्महरुको स्वरूपले नै त्याग गरेर ज्ञान पाउनुलाई श्रेष्ठ मान्छौ भने तिमी कुनै तत्वदर्शी ज्ञानी महापुरुषकहाँ गएर विधिपूर्वक ज्ञान प्राप्त गर, म तिमीलाई यस्तो उपदेश दिन्न ।' 

वास्तवमा, यहाँ भगवानको अभिप्राय अर्जुनलाई ज्ञानी महापुरुषकहाँ पठाउने नभएर उनलाई चेताउने प्रयास भए जस्तो लाग्छ । जस्तो, कुनै महापुरुष कसैलाई उसको कल्याणको कुरा गरिरहेको वेला त्यो सुन्ने व्यक्तिको श्रद्धाको कमीको कारणले उसलाई त्यो उपदेश ठीक लाग्दैन भने ती महापुरुषले त्यो व्यक्तिलाई भनिदिन्छन्, 'तिमी कुनै ज्ञानी महापुरुषकहाँ गएर आफ्नो कल्याणको उपाय सोध ।' यसै गरी भगवानले पनि अर्जुनलाई यसो भनिरहे जस्तो लाग्छ, 'यदि तिमीलाई मेरो कुरा ठीक लाग्दैन भने तिमी कुनै ज्ञानी महापुरुषकहाँ गएर प्रचलित प्रणाली द्वारा ज्ञान प्राप्त गर ।' ज्ञान प्राप्त गर्ने प्रचलित प्रणाली हो -- कर्महरु स्वरूपले नै त्यागेर, जिज्ञासापूर्वक श्रोत्रिय र ब्रहमनिष्ठ गुरुकहाँ गएर विधिपूर्वक ज्ञान प्राप्त गर्ने । 

आउँदा केही पछिका श्लोकहरुमा भगवान अर्जुनलाई भन्नुहुन्छ, 'यही तत्वज्ञान तिमीलाई आफ्नो कर्तव्य-कर्म गर्दा गर्दै (कर्मयोग सिद्ध हुने वित्तिकै) अरु कुनै साधन नै नगरी आफैं प्राप्त हुनेछ । तत्वज्ञानकोलागि कुनै अरु व्यक्तिकहाँ जानै पर्दैन ।' 

ज्ञानप्राप्तिकोलागि गुरुकहाँ गएर उहाँलाई साष्टांग दण्डवत् गर्नुपर्छ । तात्पर्य, गुरुसँग नीच पुरुष जस्तो रहनु । यसो गर्दा आफ्नो गुरुको कहिले पनि निरादर, तिरस्कार हुँदैन । नम्रता, सरलता र जिज्ञासुभावले उहाँसँग वस्नु र सेवा गर्नु । आफू आफैं गुरुमा समर्पित भइदिने, उहाँको अधीनमा रहने । शरीर र वस्तुहरु -- दुवै उहाँमा अर्पण गर्ने । साष्टांग दण्डवत् प्रणाम द्वारा आफ्नो शरीर र सेवाले आफ्ना वस्तुहरु गुरुलाई अर्पण गर्ने । 

शरीर र वस्तुहरुले गुरुको सेवा गर्ने । उहाँ प्रसन्न हुने काम गर्ने । उहाँको प्रसन्नता पाउनु छ भने आफूले आफूलाई सँधै उहाँको अधीन गरिदिने । उहाँको मन, संकेत, आज्ञा अनुकूल व्यवहार गर्ने । यही वास्तविक सेवा हो । 

सन्त-महापुरुषलाई गर्ने सब भन्दा ठूलो सेवा हो -- उहाँको सिद्धान्तहरु अनुसार आफ्नो जीवन विताउने । कारण कि उहाँहरुलाई आफ्नो सिद्धान्त जति आफ्नो शरीर पनि प्रिय हुँदैन । सिद्धान्त रक्षाकोलागि नै उहाँहरु आफ्नो शरीरसम्म त्यागिदिन्छन् । यसैले साँचो सेवक गुरुको सिद्धान्तहरु दृढतापूर्वक पालन गर्छ ।

परमात्मतत्व जान्न जिज्ञासुभावले सरलता र विनम्रतापूर्वक प्रश्न गर्नुपर्छ । आफ्नो विद्वत्ता देखाउन अथवा गुरुको परीक्षा गर्न प्रश्न गर्नु हुन्न ।

म को हुँ ? संसार के हो ? बन्धन के हो ? मोक्ष के हो ? परमात्मतत्वको अनुभव कसरी हुन सक्छ ? मेरो साधनमा के के वाधाहरु छन् ? ती वाधाहरु कसरी हटाउने ? तत्व किन बुझिरहिएको छैन ? जस्ता प्रश्न आफ्नो बोधकोलागि जिज्ञासा अनुसार गर्नुपर्छ ।

आफूले मानेको गुरु महापुरुषलाई परमात्मतत्वको अनुभव भएको हुनु पर्छ; र उहाँलाई वेदहरु र शास्त्रहरूको राम्रो ज्ञान भएको हुनुपर्छ । त्यस्ता तत्वदर्शी र ज्ञानी महापुरुषकहाँ गएर मात्रै ज्ञान प्राप्त गर्नुपर्छ ।

अन्तःकरणको शुद्धि अनुसार ज्ञानको अधिकारी तीन प्रकारका हुन्छन् -- उत्तम, मध्यम र कनिष्ठ । उत्तम अधिकारीलाई श्रवण मात्रैले तत्वज्ञान हुन्छ । मध्यम अधिकारीलाई श्रवण, मनन र निदिध्यासन गरेर तत्वज्ञान हुन्छ । कनिष्ठ अधिकारी तत्व बुझ्न धेरै किसिमका शंकाहरु गर्ने गर्छ । ती शंकाहरु समाधान गर्न वेदहरु र शास्त्रहरुको ठीक-ठीक ज्ञान हुनु आवश्यक छ; किनकि त्यस्तो समयमा केवल युक्तिहरुले तत्व बुझाउन सकिंदैन । अतः यदि गुरु तत्वदर्शी त छ तर ज्ञानी छैन भने त्यो गुरु आफ्नो चेलोको किसिम किसिमका शंकाहरुको समाधान गर्न सक्तैन । फेरि, यदि गुरु शास्त्रको ज्ञाता त छ तर तत्वदर्शी छैन भने उसका कुराहरुले श्रोतालाई ज्ञान गराउन सक्तैनन् । त्यस्तो गुरुले कुराहरु सुनाउन सक्छ, पुस्तकहरु पढाउन सक्छ, तर शिष्यलाई बोध गराउन सक्तैन । यसैले गुरु तत्वदर्शी र ज्ञानी दुवै हुनु निकै जरूरी छ ।

'महापुरुषलाई दण्डवत् प्रणाम गरे, उहाँको सेवा गरे र उहाँसँग सरलतापूर्वक प्रश्न गरे उहाँ तिमीलाई तत्वज्ञानको उपदेश दिनुहुन्छ' भन्ने वाक्यको अर्थ यो होइन कि महापुरुषलाई यी सबै कुराको आशा (अपेक्षा) रहन्छ । वास्तवमा, त्यस्ता महापुरुषलाई प्रणाम, सेवा आदिको अलिकति मात्र पनि भोक हुँदैन । यहाँ यस्तो भाव छ, साधकले यस्तो किसिमले जिज्ञासा गर्छ र सरलता-पूर्वक महापुरुषकहाँ गएर वस्छ भने त्यो महापुरुषको अन्तःकरणमा ऊ प्रति विशेष भाव पैदा हुन्छ । यस्तो विशेष भावले साधकलाई ज्यादै लाभ हुन्छ ।साधक यदि यसरी गुरुकहाँ वस्दैन भने ज्ञान पाउँदा पनि ऊ त्यो ज्ञानलाई ग्रहण गर्न सक्तैन ।

यहाँ आएको ज्ञान शब्द तत्वज्ञान अथवा स्वरूप-बोधको वाचक हो । वास्तवमा ज्ञान स्वरूपको हुँदैन, संसारको हुन्छ । संसारको ज्ञान हुने वित्तिकै संसारसँग सम्बन्ध-विच्छेद हुन्छ र स्वतः सिद्ध स्वरूपको अनुभव हुन्छ । 

यहाँ भन्न खोजिएको, महापुरुष साधकलाई ज्ञानको उपदेश त दिन्छन्, तर त्यो ज्ञानले साधकलाई बोध भइ नै हाल्छ भन्ने छैन । यहाँ यो बुझ्नु पर्छ हामीले, श्रद्धावान् साधकले मात्रै ज्ञान प्राप्त गर्न सक्छ । किनकि श्रद्धा अन्तःकरणको वस्तु हो; तर प्रणाम, सेवा, प्रश्न आदि कपटपूर्वक पनि गर्न सकिन्छ । यसैले यहाँ महापुरुषवाट खालि ज्ञान दिइने मात्रै कुरा भयो, शिष्य द्वारा ज्ञान पाउने नपाउने कुरोको उल्लेख छैन ।

श्लोक ३५ 

यस्तो तत्वज्ञान अनुभव गरेपछि तिमीलाई फेरि यस्तो प्रकारले मोह हुँदैन र हे अर्जुन ! यही तत्वज्ञानले तिमी सम्पूर्ण प्राणीहरुलाइ नि:शेषभावले पहिले आफूमा र त्यसपछि म सच्चिदानन्दघन परमात्मामा देख्नेछौ । 

पहिलो श्लोकमा भगवानले भन्नुभयो, ती महापुरुष तिमीलाई तत्वज्ञानको उपदेश दिनेछन्, तर उपदेश सुनेर मात्रै वास्तविक बोध अर्थात् स्वरूपको यथार्थ बोध हुन्छ भन्न सकिंदैन । फेरि वास्तविक बोधको वर्णन पनि कोही गर्न सक्तैन । किनकि वास्तविक बोध करण-निरपेक्ष छ अर्थात् मन, वाणी भन्दा पर छ । अतः वास्तविक बोध स्वयं द्वारा स्वयंलाई हुन्छ र मनुष्यले आफ्नो विवेकलाइ महत्व दिएपछि हुन्छ । विवेकलाई महत्व दिएपछि 
अविवेक सर्वथा मेटिन्छ र त्यही विवेक नै वास्तविक बोध भैदिन्छ र जडतासँग सर्वथा सम्बन्ध-विच्छेद गराइदिन्छ । वास्तविक बोध भएपछि फेरि कहिले मोह हुँदैन ।  

गीताको पहिलो अध्यायमा अर्जुनको मोह प्रकट हुन्छ कि युद्धमा सबै कुटुम्बी, नाता गोता मरे भने उनीहरुलाई पिण्ड दिने को होला ? पिण्ड-पानी नपाएपछि उनीहरु नरकमा खस्छन् ।वांचेका स्त्रीहरु बच्चाहरुको पालन कसरी होला ? तत्वज्ञान भएपछि यस्तो मोह रहँदैन । बोध भएपछि संसारसँग म र मेरो पनको सम्बन्ध हुँदैन । त्यसपछि पुनः मोह हुने प्रश्न नै रहँदैन । 

तत्वज्ञान हुने वित्तिकै 'मेरो सत्ता सर्वत्र परिपूर्ण छ र त्यही सत्ता अन्तर्गत नै सबै ब्रह्माण्ड छ' भन्ने अनुभव हुन्छ । स्वप्नवाट उठेको पुरुषले स्वप्नको सृष्टिलाई आफूमा नै देखे जस्तै तत्वज्ञान भएपछि मनुष्य सम्पूर्ण प्राणीहरु(जगत्) लाई आफूमा देख्छ । 

तत्वज्ञान प्राप्त गर्ने प्रचलित प्रक्रिया अनुसार भगवान भन्नु हुन्छ, गुरुवाट विधिपूर्वक (श्रवण, मनन र निदिध्यासनपूर्वक) तत्वज्ञान प्राप्त गरेपछि साधक पहिले आफ्नो स्वरूपमा सम्पूर्ण प्राणीहरु देख्छ -- यो 'त्वम्' पदको अनुभव हो । फेरि त्यही स्वरूप तथा सम्पूर्ण प्राणीहरुलाई एक सच्चिदानन्दघन परमात्मामा देख्छ -- यो 'तत्' पदको अनुभव भयो । यसै गरी उसलाई पहिले 'त्वम्' (स्वरूप) को र त्यसपछि 'तत्' (परमात्मतत्व) सँग 'त्वम्'को एकताको अनुभव हुन्छ । एक ब्रह्म मात्रै शेष रहन्छ । यस्तो अवस्थामा दृग, दृश्य र दर्शन तीनै रहँदैनन् । परन्तु अरुको दृष्टिमा उसको आफ्नो भनिने अन्तःकरणमा देखिने भावलाई लिएर भगवान भन्नुहुन्छ, 'ऊ सबैमा मलाई देख्छ' । 

स्थूल दृष्टिले हेर्दा समुद्र र लहरहरुमा भिन्नता देखिन्छ । लहरहरु समुद्रमा नै उठी रहन्छन् र लीन भई रहन्छन् । परन्तु समुद्र र लहरहरुको छुट्टै सत्ता छैन । सत्ता त खालि जल-तत्वको मात्रै छ । जल-तत्वमा न समुद्र छ, न लहरहरु नै छन् ।पृथ्वीसँग सम्बन्ध भएकोले समुद्र पनि सीमित छ र लहरहरु पनि; तर जल-तत्व सीमित छैन ।अतः समुद्र र लहरहरु नहेरेर एक जल-तत्व देख्नु नै यथार्थ दृष्टि  हो । यसै गरी संसाररुप समुद्र र शरीररुप लहरहरुमा भिन्नता देखिन्छ । शरीर संसारमा नै उत्पन्न र नष्ट भइरहन्छ । परन्तु  वास्तवमा संसार र शरीर-समुदायको स्वतन्त्र सत्ता छैन ।सत्ता खालि परमात्मतत्वको मात्रै छ । परमात्मतत्वमा न संसार छ, न शरीर । प्रकृतिसँग सम्बन्ध भएकोले संसार पनि सीमित छ र शरीर पनि । परन्तु परमात्मतत्व सीमित छैन । अतः संसार र शरीरहरु नदेखेर  एक परमात्मतत्व मात्रै देख्नु यथार्थ दृष्टि हो ।

तत्वज्ञान अथवा अज्ञानको नाश एकै चोटी हुन्छ र सँधैकोलागि हुन्छ । तात्पर्य, तत्वज्ञानको आवृत्ति (दोहोरिने क्रिया) हुँदैन । यो ज्ञान एक चोटी अनुभवमा आएपछि आइहाल्यो । कारण, अज्ञानको स्वतन्त्र सत्ता नै छैन भने फेरि अज्ञान कसरी हुने ? अतः नित्य-निवृत्त अज्ञानको नै निवृत्ति हुन्छ र नित्यप्राप्त तत्वको नै प्राप्ति हुन्छ ।

स्वयं सत्तामात्र र बोधस्वरूप हो । बोधको अनादर गर्दा हामीले असत् लाई स्वीकार गरेर अविवेक भयो । तात्पर्य, बोधसँग विमुख भएर हामीले असत् लाई सत्ता दियौं र असत् लाई सत्ता दिंदा विवेकको अनादर भयो । वास्तवमा बोधको अनादर गरेको होइन, अनादिकालदेखि अनादर छ । बोध एकै चोटी हुन्छ र सँधैकोलागि हुन्छ ।

तत्वज्ञान भएपछि फेरि मोह हुँदैन, किनकि वास्तवमा मोह छँदै छैन ।जगत् जीव अन्तर्गत छ र जीव परमात्मा अन्तर्गत छ । यसैले साधक पहिले जगत् आफूमा देख्छ, पछि आफूलाई परमात्मामा देख्छ । आत्मज्ञानमा निजानन्द (आफ्नो स्वरूपको आनन्द) छ र परमात्मज्ञानमा परम् आनन्द छ । लौकिक निष्ठा (कर्मयोग तथा ज्ञानयोग)मा आत्मज्ञानको अनुभव हुन्छ र अलौकिक निष्ठा (भक्तियोग)मा परमात्मज्ञानको अनुभव हुन्छ । 

सबै भगवान नै हो -- यस्तो समग्रको ज्ञान 'परमात्मज्ञान' हो । आत्मज्ञानले मुक्ति हुन्छ, तर आत्मज्ञानमा सूक्ष्म अहम् को गन्ध रहन्छ ।यो अहम् को गन्धले गर्दा दार्शनिकहरुमा मतभेद रहन्छ । सूक्ष्म अहम् को गन्ध नभए मतभेद हुँदैन ।परन्तु परमात्मज्ञानमा सूक्ष्म अहम् को गन्ध पनि रहँदैन र त्यही अहम् वाट पैदा हुने सम्पूर्ण दार्शनिक मतभेद समाप्त हुन्छन् । तात्पर्य, जवसम्म 'आत्मनि' छ, त्यो वेलासम्म दार्शनिक मतभेद छन् ।'वासुदेवःसर्वम्'को अनुभव भएपछि सबै मतभेद मेटिन्छन् मतभेद मेटिएपछि एक परमात्मा सिवाय अर्को कुनै सत्ता रहँदैन ।   

No comments:

Post a Comment