No 142
अव पाँचौं अध्याय शुरु हुन्छ ।
अर्जुनले भने
श्लोक १
हे
कृष्ण ! हजुर कर्महरुको स्वरूपले नै त्याग गर्ने कुरा पनि गर्नुहुन्छ र
फेरि कर्मयोगको प्रशंसा गर्नुहुन्छ । त्यसैले यी दुई साधनहरुमध्ये जुन
चाहिं साधन कल्याणकारक छ, त्यही साधन मेरोलागि भन्नुहोस् ।
बन्धु-बान्धवप्रतिको
स्नेहले गर्दा अर्जुनको मनमा युद्ध नगर्ने भाव उठेको थियो । यो कुराको
समर्थनमा उनले पहिलो अध्यायमा धेरै तर्क युक्तिहरु पनि पेश गरे । उनले
युद्ध गर्दा पाप हुने कुरा पनि गरे । हुँदा हुँदा उनले त भिक्षाको अन्न
खाएर जीवन-निर्वाह गर्न श्रेष्ठ माने । यही आधारमा उनले भगवानलाई भने, 'म
कुनै पनि स्थितिमा युद्ध गर्दिन।
धेरै
जसो वक्ता (आफूसँग वोल्ने व्यक्ति)को शब्दहरुको अर्थ श्रोता (सुन्ने
व्यक्ति) आफ्नो विचार अनुसार नै लगाउने गर्छन् । स्वजनहरु (आफ्ना
बन्धु-बान्धव)लाई देखेर अर्जुनलाई हृदयमा मोह पैदा भयो र फलस्वरूप, उनलाई
युद्धरुप कर्मको त्याग उचित लाग्न थाल्यो । अतः भगवानको शब्दहरुलाई पनि उनी
आफ्नो विचार अनुसार नै अर्थ लगाउँदै छन्, भगवान कर्महरुको स्वरूपले नै
त्याग गरेर प्रचलित प्रणाली अनुसार तत्वज्ञानको प्रशंसा गरिरहनु भएको छ ।
चौथो
अध्यायमा भगवानले कर्मयोगीलाई कुनै अरु साधन विना नै तत्वज्ञान प्राप्त
हुने कुरा गर्नु भयो । यही कुरालाई लक्ष गरेर अर्जुन भगवानलाई भन्छन्,
'कहिले हजुर ज्ञानयोगको प्रशंसा गर्नुहुन्छ र कहिले कर्मयोगको प्रशंसा
गर्नुहुन्छ ।' यसो भन्नुको तात्पर्य, अर्जुनलाई कर्म नै नगरेर 'जोगी' भएर
भिक्षाको अन्न खाएर वाँच्न सजिलो जस्तो लागिरहेछ अर्जुनलाई । अर्को शब्दमा,
अर्जुन हाम्रो समाजको पनि प्रतिनिधित्व गरिरहेछन् । हामीलाई सुन्नमा आउँछ,
'यस्तो दुःख गर्नु भन्दा त जोगी हुनु राम्रो,' आदि, आदि । यस्ता
अभिव्यक्तिहरु जोगीको जोगीपनमा भन्दा पनि कर्म नगर्ने बहाना मात्रै हो
।
अर्जुनले
सोधेको प्रश्नको जवाफमा भगवान भन्नुहुन्छ, तिम्रोलागि कर्मयोग श्रेष्ठ छ ।
कर्मयोगी सुखसँग संसार-बन्धनवाट छुट्छ । कर्मयोग विना सांख्ययोगको साधन
हुन कठिन छ; परन्तु कर्मयोगी छिट्टै ब्रह्म प्राप्त गर्छ । यस्तो प्रकारले
भगवान अर्जुनलाई भन्नुहुन्छ, 'कर्मयोग नै तिम्रोलागि चांडै र सजिलोसँग
ब्रह्मको प्राप्ति गराउने खालको छ; अतः तिमी कर्मयोगको नै अनुष्ठान गर ।'
अर्जुनलाई
खास गरेर आफ्नो कल्याणको नै इच्छा थियो । त्यसैले उनी वारम्वार भगवानसँग
श्रेयको नै जिज्ञासा राख्छन् । कल्याण हुनमा इच्छाको प्रधानता हुन्छ ।
साधनको सफलतामा ढिलाइ हुने मुख्य कारण नै कल्याणको इच्छा पूर्णरूपले जाग्रत
नहुनु हो । तीव्र वैराग्य नभएका साधकमा पनि कल्याणको इच्छा जाग्रत छ भने
कर्मयोगको साधन सुगमतापूर्वक हुन सक्छ । अर्जुनको हृदयमा भोगहरुदेखि पूर्ण
वैराग्य छैन, तर उनमा आफ्नो कल्याणको इच्छा छ, यसैले उनी कर्मयोगका अधिकारी
हुन् ।
पहिलो
अध्यायको वत्तिसौं र दोस्रो अध्यायको आठौँ श्लोक पढ्दा लाग्छ, अर्जुन
मृत्युलोकको राज्यको त के कुरा, त्रिलोकीको राज्य पनि चाहँदैनन् । परन्तु
उनी राज्य र भोग विल्कुल नै चाहँदैनन् भन्ने कुरा पनि होइन । उनी भन्छन्,
युद्धमा कुटुम्बीहरुलाई मारेर म राज्य र विजय चाहन्न । यो भनाइको तात्पर्य,
'कुटुम्बीहरुलाई नमारी राज्य मिल्छ भने म लिन तयार छु ।' दोस्रो अध्यायमा
पनि उनी यही भन्छन्, गुरुजनहरुलाई मारेर राज्य भोग्नु ठीक छैन । यो कुरावाट
पनि यही अर्थ लाग्छ, गुरुहरु नमारी राज्य मिल्यो भने अर्जुनलाई स्वीकार छ ।
अर्जुन फेरि भन्छन्, 'कसले जित्छ भन्ने हामीलाई थाहा पनि छैन र उनीहरुलाई
मारेर हामी वाँच्न पनि चाहँदैनौं '। यसको तात्पर्य हो, 'यदि हाम्रो विजय
निश्चित छ र उनीहरु नमारी राज्य पाइन्छ भने म लिन तयार छु ।' यही सन्दर्भमा
भगवान भन्नुहुन्छ, 'हे अर्जुन ! यदि तिमी युद्धमा मारियौ भने तिमीलाई
स्वर्ग मिल्ने छ र जित्यौ भने राज्य मिल्ने छ, तिम्रो दुवै हातमा लड्डु
हुनेछ ।' अर्जुनको मनमा स्वर्ग र संसारको राज्यको अलिकति पनि इच्छा
नभइदिएको भए भगवान यस्तो भन्नुहुन्नथ्यो । त्यसैले अर्जुनको हृदयमा प्रतीत
हुने वैराग्य स्थायी वैराग्य होइन । परन्तु उनमा आफ्नो कल्याणको इच्छा छ ।
xx
माथिका
कुराहरु अध्ययन गर्दा देखिन्छ, अर्जुनलाई मोह भयो, यही मोहसँग वैराग्य पनि
भयो । शास्त्रमा दुई किसिमको वैराग्यको उल्लेख छ -- (१) तीव्र वैराग्य र
(२) क्षणिक वैराग्य । क्षणिक वैराग्यलाई स्मशान वैराग्य पनि भन्छन् । आफ्नो
परिस्थिति प्रतिकूल हुँदा स्मशान वैराग्य हुन्छ, तर केही समयपछि त्यो
प्रतिकूलता विस्तारै विस्तारै विर्संदै गइन्छ, त्यो घटना पनि विर्संदै
गइन्छ र त्यो वैराग्य पनि हराउँछ । हामी मध्ये धेरैलाई यस्तो स्मशान
वैराग्य आइरहन्छ र गइ पनि रहन्छ । यही प्रसंगमा कवीरको कथा छ ।
एक
दिन कवीरलाई भेट्न कोही व्यक्ति उनको घरमा गएछन् । घरका मान्छेले ती
व्यक्तिलाई कवीर स्मशान गएको कुरा भनेछन् । ती व्यक्तिले स्मशान गएर
कवीरलाई स्मशानमा नै भेट्ने इच्छा व्यक्त गरेछन् । तर कवीरलाई पहिले
नभेटेको हुनाले उनले कवीरको पहिचान उनको परिवारको सदस्यलाई सोधेछन् ।
कवीरको पहिचान उनको शिरको टोपीमा कल्की छ भन्ने थाहा भयो ।
ती
व्यक्ति स्मशानघाट गए, तर त्यहाँ उपस्थित सबै व्यक्तिको टोपीमा कल्की भएको
देखेपछि ती व्यक्ति कवीरलाई कसरी चिन्ने होला भनेर छक्क परे र चिन्तित पनि
भए । उनको मनमा अर्को कुनै उपाय पनि आएन र उनी त्यही स्मशानघाटमा वसिरहे ।
त्यहाँ स्मशानको सबै काम सकियो, एक एक गर्दै मशानमा जम्मा भएका व्यक्तिहरु
आफ्नो आफ्नो वाटो लाग्न थाले । तर आश्चर्य, मशानवाट आफ्नो घरमा लाग्ने
व्यक्तिहरु अलि पर पुगेपछि तिनीहरुको टोपीको कल्की फुतुफुतु खस्न थाल्यो ।
हुँदा हुँदा ती सबै मलामीहरुको टोपीको कल्की खस्यो, तर कवीरको टोपीको कल्की
खसेन । यसो हुँदा कवीरलाई चिन्न त्यो व्यक्तिलाई गाह्रो भएन |
त्यो
व्यक्तिले कवीरलाई भेटेपछि अरुको कल्की चाहिं मशानवाट फर्केपछि खसेको तर
कवीरको कल्की चाहिं नखसेको कारण सोध्यो । कवीरले भन्नुभयो,'अरुको वैराग्य
केही क्षणकोलागि मात्रै थियो, उनीहरु मसानमा वसुन्जेल यो संसारमा दुःख भएको
अनुभव गरे र त्यही किसिमको कुरा पनि गरे, तर मसानवाट फर्केपछि उनीहरुले
त्यो कुरा विर्से र संसारकै मारामारीमा लागे ।' तर कवीरको कल्की चाहिं
मसानवाट फर्केपछि पनि खसेन, किनकि उनको वैराग्य स्थायी थियो । यही तीव्र
वैराग्यको कारणले नै कवीर सन्त बने ।
यही
प्रसंगमा यहाँ चर्चा भइरहेको अर्जुनको वैराग्य स्मशान वैराग्य थियो ।
अर्को शब्दमा, अर्जुनमा सत्व गुणको प्रभाव छ । सत्वगुणी व्यक्ति आफ्नो
अधिकार चाहन्छ तर मारामारी नगरीकन । साधारण हिसावमा हेर्ने हो भने अर्जुन
अरु साधारण व्यक्ति भन्दा माथि उठेका व्यक्ति हुन् । झगडा गरेर आफ्नो
अधिकार लिनुभन्दा उनी आफ्नो अधिकार छोड्न पनि तयार छन् । तर अर्कोतिर
दुर्योधन सम्पत्ति पाउन अरुलाई मार्न पनि तयार छ । यी विल्कुल भिन्न
चरित्रको कथा नै महाभारत हो । यही महाभारत भित्रको गीताले हामीलाई हामी
भित्र भएको महाभारतको युद्ध (मानसिक स्थिति भनौं) पनि कसरी तह लगाउने भन्ने
विधिको राम्रोसँग वर्णन गर्छ ।
हाम्रा
शास्त्रहरुले साधकहरुलाई सोझै 'यसो गर' भन्दैन । तर वेदका, उपनिषद्का
मन्त्रहरु गुरुवाट सुनेर, गुरुको निर्देशन अनुसार, श्रवण, मनन र निदिध्यासन
द्वारा ती शास्त्रका गूढ अर्थ आफैं नै निकालेर आफ्नो व्यवहारमा लगाउनु
पर्छ । किनभने सबैको सोचाइ, घटना र परिवेश अलग अलग हुने भएकोले एकै किसिमको
उपदेश सबै चेलाहरुलाई दिनु हुँदैन गुरुले । त्यसैले शास्त्रीय गुरुले
आफ्नो अगाडि कुनै ग्रन्थ नराखी उपदेश नै दिंदैनन् । जस्तो, एउटा परिवारमा
रहने व्यक्तिले त्यो भान्छामा नै पाकेको खाना खान्छन्, तर तिनै खानावाट ती
मान्छेको blood group अर्कै हुन्छ, चिन्तन अलग हुन्छ, व्यवहार अलग हुन्छ ।
त्यस्तै एकै कक्षामा पढ्ने विद्यार्थीहरुले एकै गुरुवाट एकै शिक्षा लिए पनि
उनीहरुको धारणा शक्ति अलग भए जस्तै अध्यात्मविद्याको साधकक क्षमता पनि
यस्तै हो ।शास्त्रवाट आफूलाई चाहिएको जस्तो ज्ञान आफ्नो जीवनमा लगाउने काम त
हाम्रै हो । तर शास्त्र नपढी शास्त्रको कुरो कसरी बुझ्नु र त्यसको
उपदेशलाई कसरी जीवनमा उतार्नु ?
आजलाई यत्ति, अरु पछि निवेदन गर्ने नै छु ।
No comments:
Post a Comment